site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रविधिले व्यक्तिगत चिठी लेखन घट्यो

दाङ । प्रविधिको विकाससँगै हुलाक कार्यालयमार्फत आदानप्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ । एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउनको लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिगत चिठीपत्रमा कमी आएको हो ।

व्यक्तिको नाममा दैनिक करिब १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले जानकारी दिए । धेरैजसो सरकारी कार्यालयका चिठीपत्रहरू आदानप्रदानको काम हुने उनले बताए । ९० प्रतिशत चिठीपत्र विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयका आउने गरेको उनको भनाइ छ ।

उनका अनुसार यहाँ हाल दैनिक सरदर २०० वटा चिठी आउँछन् । दाङका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरू आउने गरेको उनले बताए । चिठीपत्रमा कमी आए पनि प्रविधिको विकाससँगै नयाँ काम तथा क्षेत्राधिकार बढेको प्रमुख बस्नेत बताउँछन् ।

Argakhachi Cement Island Ad

केही वर्षयता सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन तथा रिपोर्टिङ, प्रेस प्रतिनिधि प्रमाणपत्र, अनलाइन सञ्चारमाध्यम, छापा माध्यमहरूको लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानीलगायत काम पनि हुलाक कार्यालयमार्फत हुने गरेको बस्नेतले जानकारी दिए ।

यसअघि, चिठीपत्र आदानप्रदान, बचत बैंक सेवा, ५०० वाटसम्मको रेडियोको नवीकरणलगायत काम हुलाकमार्फत हुँदै आएको थियो ।

जिल्ला हुलाक कार्यालय दाङले बचत बैंक सेवा सञ्चालन गर्दै आएको छ । जसमा तीन करोड ३५ लाख पाँच हजार १९८ रुपैयाँ नगद जम्मा भएको छ भने दुई करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ भुक्तानी गरिएको उनले बताए ।

चिठी इन्क्वायरी सिस्टम
जिल्ला हुलाक कार्यालयले चिठी इन्क्वायरी सिस्टम लागु गरेको छ । यो सिस्टमअन्तर्गत हुलाकमार्फत चिठी पठाएका व्यक्तिले आफूले पठाएको पत्र कहाँ गयो, कस्तो अवस्थामा छ भनेर घरमै बसेर जानकारी पाउन सक्छन् । कार्यालय प्रमुख बस्नेतले पोस्टल इन्टरनल ट्रयाकिङ सिस्टमबाट चिठीको अवस्थाको बारेमा थाहा पाउन सकिने जानकारी दिए ।

५७ लाख बढी राजस्व
जिल्ला हुलाक कार्यालय दाङमा एक वर्षमा ५७ लाख ७७ हजार ५१२ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

हुलाक टिकट बिक्रीबाट ४५ लाख ९९ हजार ४५५ रुपैयाँ, पार्सल भुक्तानी आम्दानीबाट ४८ हजार ८०६, रेडियो रोयल्टीबाट ७१ हजार १३८ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

यस्तै, पत्रिका नवीकरणबाट एक हजार १०, पोस्टबक्स नवीकरणबाट तीन हजार, केबुल नवीकरणबाट २५ हजार, काउन्टर अटोमेसिन आम्दानी एक लाख ९९ हजार ५८५, केबुल रोयल्टीबाट ६ लाख ७८ हजार २८५, एफएम रेडियो इजाजत नवीकरणबाट चार हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

घरबहाल आम्दानी एक लाख ४५ हजार २३४ र एफएम रेडियो लाइसेन्स नवीकरणबाट दुई हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्