site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महाधिवेशनलाई गिज्याइरहेको ५५ दिनदेखिको रिले अनशन 

काठमाडौं । २०५४ सालमा कांग्रेस भएबापत उनी स्वास्थ्य राज्यमन्त्री बने । उनको राजनीतिक यात्रा २०२८ सालबाट सुरु भएको हो । छिमेकी देश भारतको सीतागढीबाट नेपाल विद्यार्थी संघमा प्रवेश गरेसँगै उनको राजनीतिक यात्रा सुरु भयो । उनको नाम हो ब्रजकिशोर सिंह ।

सिंहले उमेरमा सात दशक टेक्दै छन् । अहिले ६७ मा हिँड्दै गरेका उनले प्रजातन्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टीको लागि मधेसबाट ठूलो योगदान गरेका छन् । कांग्रेस भएबापत ०४२ र ०४६ सालको जनआन्दोलन तथा तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासनमा जेल जीवन कटाएको याद ताजै छ उनीसँग । वीरगन्ज, काठमाडौंलगायत विभिन्न स्थानमा १३ पटकभन्दा बढी जेल बसिसकेका छन् सिंह ।

उनी ०४८ सालको निर्वाचनमा रौतहट क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद बने । ०५१ मा पनि सोही क्षेत्रबाट सांसद बने । ०५६ मा माधवकुमार नेपालसँग तथा ०६४ सालको संविधानसभा चुनाव भने हारे ।

उनको घर अहिले पनि जमुनामाई गाउँपालिका वडा नम्बर–१ मै छ, त्यो घरमा धेरै केन्द्रीय र उच्च नेता पुगेका छन् । संगठन विस्तारका लागि कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य उनकै घरमा पुगेका थिए । गिरिजाप्रसाद कोइराला त दुईचोटि पुगेको उनी बताउँछन् । सिंहले पार्टीमा जिल्ला उपसभापति भएर पनि काम गरे ।

विडम्बना ! पार्टी १४औँ महाधिवेशनको महासंग्राममा होमिएको बेला उनै सिंहको आफ्नै वडाबाट क्रियाशील सदस्यता नवीकरण भएन । आफू पीडामा परेको र अपमान गरिएको भन्दै उनी विगत ५५ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसिरहेका छन् । “जिल्ला र क्षेत्रीय सभापतिले मेरो क्रियाशील सदस्यता नवीकरण रोकिदिए, मलाई सदस्यता चाहियो भन्दै म अहिले अनशनमा छु,” उनी भन्छन् ।

सदस्यता सिंहको मात्र नवीकरण नभएको होइन । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का ४१ वडामध्ये ३१ वडामा विवाद छ । अनशनमा रहेका महासमिति सदस्य श्यामचन्द्र झा सात मिटर लामो ब्यानरमा प्रमाणसहित आफूहरू रिले अनशनमा बसेको बताउँछन् । कांग्रेसको विधानानुसार क्रियाशीलको सूची वडा तहले तयार गरेपछि क्षेत्रीय कार्यसमितिलाई पठाउनुपर्ने हुन्छ । तर, रौतहटको क्षेत्र नम्बर–१ मा भने ११ वडाका सभापतिहरूले क्रियाशील सदस्यता नवीकरण र वितरणको फारम पाएका छैनन् ।

१८ वडामा फारम दिइए पनि विधानविपरीत वडाले पठाएको सूचीमा क्षेत्रले नाम काटेर आफूनिकटलाई क्रियाशील दिलाएको झा बताउँछन् । विजयकुमार गच्छदारको फोरम समायोजनको नाममा मापदण्डभन्दा दोब्बर क्रियाशील दिइएको अनशनकारीहरूको आरोप छ ।

“वडा सभापतिहरूले पठाएको नाममा टिपेक्स लगाएर आफूनिकटको नाम हालियो, समायोजनको नाममा दोब्बर नाम परेको छ,” झा भन्छन्, “क्षेत्रीय सभापतिले जिल्ला सभापतिसँग मिलेर एउटा वडामा १८ जनासम्मको नाम काटे ।”

जिल्ला सभापति श्रीकृष्ण यादव र क्षेत्रीय सभापति शान्तिदेवी यादवको डिजाइनमा पार्टी कब्जा गर्ने काम भइरहेको उनीहरूको आरोप छ । जिल्ला र क्षेत्रको मिलेमत्तोमा क्रियाशील सदस्यता फारम नपाएको माधवनारायण नगरपालिका वडा नम्बर–१ का वडा सभापति रामप्रसाद राय यादवले बताए । उमेरले ६५ कटेका सभापति यादवको पनि क्रियाशील सदस्यता नवीकरण भएको छैन ।

“विधानानुसार मैले फारम पाउनुपर्ने हो, मेरो वडाको क्रियाशील निर्णय गर्न पाउनुपर्ने हो, तर मैले पाइनँ,” यादव भन्छन्, “म जस्ता वडा सभापति एक दर्जन छन् अनि कसरी मान्नु हामीले ?”

रौतहट क्षेत्र नम्बर–१ बाट ९८ जना प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरण रोकिएको छ । जसमध्ये एक दर्जन वडा सभापति छन् ।

जिल्ला कार्यसमितिका वर्तमान कोषाध्यक्ष रामश्रेष्ठ प्रसाद साह आफू पनि पीडित भएको बताउँछन् । उमेरले ६३ पुगेका साह तेस्रो कार्यकालका लागि कोषाध्यक्ष पदमा १३औँ महाधिवेशबाट चुनिएका थिए । तर, उनको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भएन । उनले ०५३ सालमा क्रियाशील लिएका थिए । “चुनीचुनी आफूइतरका वर्तमान, पूर्व र पार्टीका क्षमतावान् साथीहरूको नाम काटिएको छ, यो नियोजित हो, रौतहटमा कांग्रेस सिध्याउने प्रपञ्च हो,” साह भन्छन् ।

विगत ५५ दिनदेखि जिल्ला कार्यसमितिका २७ मध्ये १७ नेताहरू सानेपामा छन् । क्षेत्र नम्बर–१ का २७ कार्यसमितिमध्ये २२ जना अनशन बस्न काठमाडौंमा छन् । प्रदेशसभा क्षेत्रीय समितिबाट पनि बहुमत कार्यसमिति सदस्य आन्दोलित भएका छन् । काठमाडौंमा उनीहरू करिब तीन महिनादेखि छन् ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिलाई भनसुन गर्दागर्दै एक महिना बितेको गुनासो उनीहरूको छ । समितिले उजुरीको फाइल नखोलेको भन्दै उनीहरूले विगत ५५ दिनदेखि अनशन शुरु गरेका हुन् । दिउँसो १५ जना र राति पाँचजना अनिवार्य अनशनमा बस्ने गरेका छन् । काठमाडौं बसाइको खर्च स्वयं बेहोरेको उनीहरू बताउँछन् ।

“क्रियाशील छानबिन समिति सदस्य आनन्द ढुंगानाले विधान नमान्दा र उपसभापति विमलेन्द्र निधिले क्रियाशीलमा सिध्याए त हामी के गर्न सक्छौँ,” महासमिति सदस्य श्यामचन्द्र झा भन्छन् ।

अनशनकारीहरूको मागमा केन्द्रीय नेतृत्व दुई भागमा विभाजित छ । संस्थापनइतर समूह रिले अनशनकारीहरूको साथमा छ । तर, संस्थापन पक्षले भने आफूहरूको माग सम्बोधन नगरेको उनीहरूको गुनासो छ ।

धनुषा, बारा, सर्लाहीलगायत जिल्लाको माग सम्बोधन भए पनि आफूहरूलाई बेवास्ता गरेको उनीहरू बताउँछन् । “पार्टी सभापति कार्यालय आउनु हुन्न, मिटिङ यहाँ बस्दैन, हामी बूढानीलकण्ठ पनि पटक–पटक पुग्यौँ,” झा भन्छन्, “हाम्रो माग पूरा नभएसम्म हामी पार्टी कार्यालयबाट अनशन स्थगन गर्दैनौँ ।”

यता, क्रियाशील विवाद समाधन कार्यदलका एक सदस्य भने उनीहरूको हकमा काम भइरहे पनि निर्णयबारे अहिले बोल्न नसकिने बताउँछन् । “हामी काम गर्दै छौँ, २० जिल्लाको सूची सार्वजनिक गर्दा उहाँहरूको माग सम्बोधन हुन्छ होला,” उनी भन्छन् ।

करिब दुई महिनादेखि पूर्वस्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंह, जिल्ला कार्यसमिति कोषाध्यक्ष रामश्रेष्ठ प्रसाद साहसहित महाधिवेशन प्रतिनिधिहरू उदय यादव, हरिचन्द्रप्रसाद यादव, केशव सिंह रिले अनशनमा छन् ।

यस्तै, महासमिति सदस्यहरू श्यामचन्द्र झा, सन्तलाल साह, डा. देवेन्द्रचन्द्र मिश्र रिले अनशनमा छन् । जिल्ला सदस्य सजन साह, शेख इरफान, क्षेत्रीय सदस्य भोगेन्द्र झा, दुर्गावती गाउँपालिकाका सभापति सुकर मियाँ, वडा सभापति रामप्रसाद यादवलगायत नेताहरू पनि रिले अनशनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro