site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस पदाधिकारीको तयारीमा छन् सुनील थापा 

काठमाडौं । १३ साउन २०७७ मा सुनील थापासहित १३ जनाको समूह राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्‍यो । पार्टी प्रवेश गर्दै थापाले आफूहरु बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिबाट प्रभावित भएकाले पिता सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसात गर्ने विचारको संगममा खडा भएको र त्यसैको उपज कांग्रेस रोजेको उल्लेख गरेका थिए । 

त्यतिबेला थापासहितको समूहलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरुले प्रवेश गराए । थापा सहमहामन्त्री पदसहित कांग्रेस प्रवेश गरेका थिए । 

उनीसँग पार्टी प्रवेश गरेका ७ जना केन्द्रीय सदस्य भए । जसमा मोरङबाट रामप्रसाद भट्टराई, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका वृजलाल यादव, काठमाडौंबाट किरण गिरी, ललितपुरका टि.एन योगी र झापाका दिलीप राई थिए । यस्तै कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्यको रुपमा कांग्रेसको सर्वोच्च निकाय अर्थात् केन्द्रीय कार्यसमितिमा पुगे ।

पार्टीको १४ औं महाधिवेशनको सम्मुखमा सहमहामन्त्री थापा र अन्य केन्द्रीय सदस्यहरु कुन पदमा महाधिवेशनमा भिड्छन् भन्ने चासो छ । सभापति देउवा निकट थापासहितको टोली १४ औं महाधिवेशनमा कुन समूह निकट बन्छ भन्ने चासो छ । थापा निकट केन्द्रीय सदस्य किरण गिरी १४ औं महाधिवेशनमा आफूहरु सभापति देउवा टिममा एक ढिक्का भएर रहने बताउँछन् । “हामी महासमिति सदस्य, केन्द्रीय कार्यसमितिमा रहेका सदस्य र स्वयम् सुनील थापा पनि पार्टी सभापति शेरवहादुर देउवासँगै रहेर महाधिवेशनमा होमिन्छौं,”बाह्रखरीलाई प्रतिकृया दिँदै गिरीले भने । 

सहमहामन्त्री थापाको समूह १४ औं महाधिवेशनमा कुन पदमा कसले चुनाव लड्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन ।

महाधिवेशनको चटारो बढेसँगै समूहका नेताहरुले तयारी पनि नगरेका हैनन् । समूहका एक नेता आफूहरु कुन पदमा कसरी उभिने भनेर रणनीति बनाउन पटक पटक छलफल र बैठकमा जुटे पनि निष्कर्ष निस्कन नसकेको बताउँछन् ।

तर, केन्द्रीय सदस्य गिरीले भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपश्चात् मात्र आफूहरु कुन पदमा उठ्ने भनेर छलफलमा जुट्ने बताए । “महाधिवेशन प्रतिनिधिको अवस्था र हाम्रो पोजिसन स्पष्ट भएपछि मात्र हामी कुन पदमा उठ्ने भनेर छलफल सुरु गर्छौँ,अहिले हामी विशुद्ध अधिवेशनमा केन्द्रित छौं,” उनले भने । 

समूहबाट आएका नेताहरुमध्ये सबैभन्दा समस्यामा स्वयम् थापा देखिन्छन् । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा पदाधिकारी बन्न कोषाध्यक्षबाहेक महाधिवेशनमा चुनावी मैदानमै उत्रनुपर्ने हुन्छ । 

सहमहामन्त्री थापालाई पद घटेर केन्द्रीय सदस्य बस्न सहज छैन । सहमहामन्त्रीबाट बढुवा भएर महामन्त्री वा उपसभापति बन्न थापालाई टिमबाट साथ मिल्दैन । किनभने सभापति देउवासँग २ महामन्त्री र २ उपसभापति पदमा अटाउनुपर्ने आकांक्षीको सूची लामै छ । 

पद नपाउने अवस्था देखेका देउवा समूहका पुराना नेताहरु उपसभापति विमलेन्द्र निधि गुटतर्फ लाग्न थालेका छन् । देउवाको तयारी उपसभापतिमा तेस्रो धारका नेता कृष्ण सिटौला र क्षेत्रीय दल परित्याग गरि पुनः मुल पार्टीमा फर्किएका विजयकुमार गच्छदारलाई अटाउने तयारी भए थापाको समूह संकटमा पर्न सक्छ । पार्टीमा मनोनीत पद कोषाध्यक्ष बाहेक अर्को छैन । 

सहमहामन्त्री दोहोर्‍याउन पनि सहज उनलाइ छैन । क्लष्टरबाट चुनिने ८ सहमहामन्त्री थापाले खुला तर्फबाट चुनाव लड्नुपर्ने हुन्छ । महामन्त्री नपाए सहमहामन्त्री बन्ने दाउ देउवा टिमबाट थापा बाहेक अन्य व्यक्तिहरु धेरै छन् । स्वयम् उनकै समूह पनि थापालाई कांग्रेस पदाधिकारी भित्र अट्न त्यति सहज देख्दैनन् । 

“देउवासँग लागेका थापाबाहेकका मानिसहरु धेरै छन्, पद पुर्‍याउनै गाह्रो छ, त्यसैले म सहमहामन्त्री त सजिलो देख्दिन, त्योभन्दा माथिका पदको कुरा त कसरी गर्ने,” एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने ।

थापाले भने देउवालाई उपसभापति बन्ने मनसाय देखाइसकेका छन् । कम्तिमा सहमहामन्त्री पदमै बस्न सकिने गरी थापाको तयारी छ । उनी यतिवेला आफ्नो गृह जिल्ला धनकुटाको  अधिवेशनमा व्यस्त छन् । जिल्लामा संस्थापन पक्षबाट राजनीति अघि बढाइरहेका छन् । “म अहिले गृह जिल्लाको अधिवेशनमा व्यस्त छु, केन्द्रीय राजनीतिमा के गर्छु भन्ने अहिले भन्ने अवस्था छैन,”बाह्रखरीलाई प्रतिक्रिया दिँदै थापाले भने, “पहिले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकियोस् र महाधिवेशन प्रतिनिधिहरुको मोटामोटी हिसाव गर्न पाएपछि मात्र सबैको राय सल्लाहामा म के उमेदवारी घोषणा गर्छु ।”

पार्टी समायोजन भएसँगै ३७ जिल्लाबाट ११ हजार थापा निकट क्रियाशील सदस्य छन् । यो महाधिवेशनलाइ प्रभावित पार्न सक्ने मत हो भन्ने बुझाइ समूहमा छ । 

५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुँदा झापा, धनकुटा, भोजपुरलगायतका जिल्लाहरुमा क्षेत्रीय प्रतिनिधिको रुपमा समूहको उपस्थिति अपेक्षाभन्दा धेरै राम्रो भएकाले आफूहरु निर्णायक शक्ति बन्न सक्ने समूहका एक नेता बताउँछन् । केन्द्रीय सदस्य गिरी भने सबै जिल्लामा वडा अधिवेशन सम्पन्न नभएसम्म आफूहरुको पोजिसन स्पष्ट नहुने तर्क गर्छन् ।

त्यसो त थापाको मात्र होइन केन्द्रीय कार्यसमिति र महासमिति सदस्यहरु फेरि पद दोहोर्‍याउने पक्षमा छन् । एक नेताका अनुसार सातैजना केन्द्रीय सदस्य पुनः सोही पदमा दोहोरिने बताउँछन् । 

“बढीमा ३ जना केन्द्रीय सदस्यमा प्रत्यक्ष लड्छौं, बाँकी केही साथीहरु सभापतिले मनोनयन गर्नुहुन्छ भन्ने मोटामोटी हाम्रो सोचाइ छ,” उनले भने । 

समूहबाट अहिले केन्द्रीय सदस्यमा बहालवालाबाहेक अन्य नयाँ आकांक्षीहरु केन्द्रीय सदस्य लड्छु भन्ने देखिएका छैनन् । ५२ महासमिति सदस्यमध्ये एक तिहाइ सदस्यहरुले पुनः त्यही पदमा दोहोरिने चाहना राखेको ती नेता बताउँछन् । 

यता, केन्द्रीय सदस्य विष्णुविक्रम थापा अहिले नै कुन पदमा लड्ने भन्ने यकिन भइनसकेको बताउँछन् । 

पुनः पद दोहोर्‍याउने तपाईंहरुको तयारी हो भन्ने बाह्रखरीको प्रश्नमा थापा अहिले त्यसमाथि टिप्पणी गर्ने समय आइनसकेको बताउँछन् । 

“पहिला कांग्रेसलाई वडा तहबाटै बलियो बनाऊँ, प्रतिनिधिहरु आउनुहोस् अनि के गर्ने निर्णय गर्छौँ,” उनले भने । 

अर्का केन्द्रीय सदस्य गिरी भने संस्थापन टिमले आफूहरुलाई जुन भूमिका दिन्छ त्यहीअनुसार अघि बढ्ने बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro