site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विवश सम्पादक र साहित्यिक पत्रिकाहरू

अभिव्यक्तिका लागि शब्द चाहिन्छ । यसलाई राम्रो शैलीमा उनेर प्रयोग गर्दा यो सभ्य र सुसंस्कृत भएर शालीन हुन्छ, जसबाट अभिव्यक्तिको खास अर्थ सार्थक हुन सक्दछ । अन्यथा, त्यो अभिव्यक्ति गालीका रूपमा परिणत हुन जान्छ ।

शब्द र शैली छनोट र त्यसलाई शालीन बनाउन साहित्यले सहयोग गर्न सक्दछ । यसका लागि साहित्यको अध्ययन, चिन्तन र मननको आवश्यकता पर्छ र यो आवश्यकताको पूर्ति विशेषतः साहित्यिक पत्रिकाबाट हुने गर्दछ । तर, हामीकहाँ साहित्यिक पत्रिका भने ‘राजबाथ’ले कक्रिएर थला पर्न बाध्य छ, दुःखको क्षण यहाँबाटै प्रारम्भ हुन्छ ।

नेपालमा साहित्यिक पत्रिकाको गरिमामय इतिहासको थालनी ‘शारदा’ मासिकबाट भएको मानिन्छ (यद्यपि, नेपालीमा सर्वप्रथम वि.सं. १९५५ सालमा ‘सुधासागर’ मासिक प्रकाशित भएको थियो ।) एकतन्त्रीय राणाशासनको वि.सं. १९९० को दशकजस्तो अत्यन्त प्रतिकूल अवस्थामा साहित्यको माध्यमबाट भाषा र संस्कतिप्रति जागरूकता ल्याउने उद्देश्य लिएर प्रकाशित ‘शारदा’ साहित्यकारको र पाठकको संख्या बनाउने एउटा छहारीयुक्त ‘चौतारी’को रूपमा प्रतिष्ठित थियो ।

Dabur Nepal
NIC Asia

सुब्बा ऋद्धिबहादुर मल्लजस्तो दूरदर्शी र साहित्यको पारखी सम्पादकको सम्पादनमा प्रकाशित ऐतिहासिक पत्रिका ‘शारदा’ प्रजातन्त्रको प्रादुर्भावसँगै किन विलीन हुँदै गयो भन्ने बुझ्न सकिएको छैन । यस विषयमा सम्पादक सुब्बा ऋद्धिबहादुर मल्लका सुपुत्र प्रसिद्ध साहित्यकारद्वय गोविन्द ‘गोठाले’ र विजय मल्लले खुलस्त गरिदिनुभए हुने थियो । आशा गरौँ, उहाँहरूबाट आवश्यक जानकारी प्राप्त हुनेछ । त्यसो त बनारसबाट काशीबहादुर श्रेष्ठले ‘उदय’ प्रकाशित गरेर साहित्यको सेवा गर्ने क्रम यसै समय सुरु गर्नुभएको थियो ।

वि.सं. २००७ सालमा प्रजातन्त्रको प्रादुर्भावपश्चात् ‘प्रगति’ले नेपाली साहित्यमा ठूलो हलचलका साथ भाषाको क्षेत्रलाई प्रगतिमा डोर्यायो । त्यसको मुद्रण, रचना छनोट र वितरण गर्ने व्यवस्था उत्कृष्ट थियो । त्यो पनि सुन्दर सपनाजस्तै भएर केही अंकको नियमित प्रकाशित हुँदै बन्द भयो !

पञ्चायत व्यवस्थाको सुरुवातसँगै ‘प्रगति’ प्रकाशनमा लागेको ऋण तिर्न र दाल, भात, डुकु (महाकवि देवकोटा जीवनलाई यसै भन्नुहुन्थ्यो)का लागि त्यसका कुशल सम्पादक नारायणप्रसाद बाँस्कोटाले प्रचारप्रसार विभागको ‘डाइरेक्टर’मा जागिर खानुपर्यो । एक प्रकारले त्यो जागिर र त्यसका बाध्यता नेपाली साहित्यका निम्ति दुर्नियति नै थियो र त्यस्तै भयो पनि ।

यसपछि श्यामप्रसाद शर्माले ‘साहित्य’ र शशिकला शर्माले ‘स्वास्नीमान्छे’ प्रकाशित गर्नुभयो । नेपाली साहित्यको दशा यथावत् थियो । त्यस कारण ती दुवै साहित्यिक पत्रिका पनि जोईपोइको झगडाको चपेटामा पर्यो र ‘नौलो छउञ्ज्याल नौपुला गाँस, रहँदा बस्दा जगल्टोको नास’ भयो । पुष्कर लोहनीको सम्पादनमा ‘बगैँचा’, पुरुषोत्तम बस्नेतको सम्पादनमा ‘मुकुट’ र भुवन कोइराला (अहिले ढुंगाना)को सम्पादनमा ‘त्रिफला’ पनि उच्च साहित्य लिएर बजारमा आए, तर ती सबै उज्यालो लिएर आएको भए तापनि विभिन्न कारणवश अन्धकारको गर्तमा परे । यसै बेला ‘धरती’ र ‘सिंहवालोकन’ जस्ता प्रसिद्ध पत्रिका पनि घामछाया हुँदै ओझेलमा परे । सम्पादकको कुशलता र पाठकको चाहना हुँदाहुँदै पनि साहित्यिक पत्रिकाले किन बन्द हुनपर्यो, त्यसको लेखो पनि आजको पिँढीले गरे राम्रै हुनेछ ।

त्यसपछि नेपाल अधिराज्यको राजधानी र मोफसलका धेरै उत्साहीबाट साहित्यिक पत्रिका प्रकाशित हुने गरेका छन् र बन्द पनि भइरहेका छन् । यो क्रम आज पनि छ र भोलि पनि कायम नै रहला ।

यस किसिमको दुर्नियति र अनिष्टका बीचमा पनि आशा र विश्वासको किरण छर्दै सजधज र नियमिततापूर्वक ‘रूपरेखा’ प्रकाशित भयो । यसले पनि ‘शारदा’ले सरस्वतीका वरदपुत्रको संख्या बढाएझँै साहित्यको भरोसा लाग्ने रूपरेखा स्थापित गर्यो । शंकरप्रसाद लामिछानेजस्ता नयाँ शब्द र प्रभावशाली शैली भएका ‘लेखक’लाई चिनायो । तर, त्यो पनि प्रकाशनको रजत वर्ष पुग्दानपुग्दै जोईपोइको मनमुटावलाई डोर्याउँदै साथीसाथी बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवरको मत–मतान्तरबाट बिलाउँदै गयो ।

साहित्यलाई अभीष्टले छोडेको थिएन । त्यसकारण ‘रूपरेखा’ पनि ‘कहाँ जान्छस् बिलाउने हराउनको देशमा’ गयो, जसबाट नेपाली साहित्य र पाठकले ठूलो क्षति व्यहोर्नुपर्यो । र, त्यसको पूर्ति हुन सक्ने छाँटकाँट पनि अहिलेसम्म कहीँ दृष्टिगोचर हुन सकेको छैन ।

वि.सं. २०१८ सालतिर मौलिक शब्द र शैलीबाट नेपाली साहित्यलाई ‘पाइन’ लगाएर चमक्क पारेर उच्च स्थानमा पुर्याएरै छाड्ने दृढताका साथ युवा जोसले परिपूर्ण रोचक घिमिरेले ‘रचना’ द्वैमासिकको प्रकाशन प्रारम्भ गर्नुभयो । आफूसँग भएको पुँजी, आफ्नी पत्नीको पेवापात र गहना अनि ऋण सापटबाट प्राप्त रकमले लगातार २४ वर्षसम्म ‘रचना’लाई उत्कृष्ट बनाएर प्रकाशन गर्नुभयो । तर, ऋण सापटको तिरोभरो गर्न गाह्रो पर्दै गएपछि उहाँको जाँगर पनि सेलाउँदै गयो । र, पुनः प्रजातन्त्रको प्राप्तिसँग ‘रचना’ पनि बन्द भयो ।

साहित्यको पत्रिकासँग प्रजातन्त्रको के अभीष्ट छ, त्यसको खोजी भने कसैले गर्न आवश्यक ठानेको छैन । तर, रोचक घिमिरेजस्तो योग्य र उत्साही युवाका गति पनि शिथिल हुँदै जाँदा हाम्रो समाजमा साहित्यिक पत्रिकाको मर्मबोध गर्न कोही छैन जस्तो लाग्नु स्वाभाविक हो । नत्र भूपि शेरचनजस्ता कविलाई उद्घाटित गर्ने त्यो पत्रिकाको अवस्था त्यस्तो नहुनुपर्ने थियो ।

परिष्कृत र प्रतिष्ठित लेखकसँग लेख–रचना बल्लबल्ल प्राप्त गर्यो अनि त्यसलाई आफ्नै पुँजीबाट छपायो र पुनः त्यो पत्रिकालाई पाठककहाँ उपलब्ध गराउन आफ्नो जुत्ताको तलुवा खियाएर श्रम गर्यो । तर पनि जस र प्रोत्साहन कसैबाट नपाएपछि जस्तै युवा हृदय पनि थकित हुनु स्वाभाविक हो, यसमा रोचक घिमिरे पनि अपवादमा रहन सक्नु भएन । ‘रचना’को मुद्रण, लेख–रचनाको छनोट, छपाइ र नियमित प्रकाशन सुन्दर र उत्कृष्ट भए पनि ‘ढुंगाको भर माटो र माटोको भर ढुंगा’ नै हो । अर्को आवश्यक कला नै थिएन, किनभने चाकडी, चाप्लुसी र चुक्लीमा खप्पिस थिएनन् । तर, हाल रोचक घिमिरेले पुनः साबिककै उत्साह र उमंगका साथ ‘रचना’को प्रकाशन गर्न थाल्नुभएको छ । बोलीको मात्रै त मेरो पनि शुभकामना छ, तर यसबाट हुने त केही होइन । ‘खानापिना कुछ नहीँ नमोनारायणका ढेडी’ जस्तो हो मेरो शुभकामना । हेर्दै जाउँ उहाँको नयाँ प्रयासबाट कहाँसम्म पुग्दोरहेछ, ‘रचना’ पर्खौँ । यसका लागि प्रतीक्षा नै गरौँ हुन्न ?

रचनाको प्रारम्भिक प्रकाशनतिरै अर्को एउटा साहित्यिक पत्रिका मोटो आकार र प्रकारबाट ‘हिमानी’ले चाँडै बजार लियो र साहित्य र साहित्यका पाठकलाई आकर्षित गर्यो । तर, नेपाली साहित्यको दुर्भाग्यका कारण कविवर व्यथित मन्त्री हुनुभयो अनि ‘हिमानी’ पनि मन्त्री पदसँगै सती जान बाध्य भयो । साहित्य र पाठक पुनः ठगिनुपर्ने अवस्था कायम नै भयो । सम्भवतः नेपाली साहित्यको यो दुर्नियति नै हो क्यारे ।

नेपाली साहित्यको माध्यमबाट अगाडि बढ्ने जमर्को अर्का युवक नगेन्द्रराज शर्मा प्रत्येक ऋतुमा ‘अभिव्यक्ति’ प्रकाशित गरिरहनुभएको छ । अटुट रूपमा २६ वर्ष नेपाली साहित्यको सेवामा संलग्न हुँदा पनि ‘जस’ दिने मान्छे देखिएको छैन, बरु उल्टै ‘खै, मैले त अचेल ‘अभिव्यक्ति’ नै पाएको छैन’ भन्ने गुनासो बाटोबाटोमा सुन्नुपरेको छ सम्पादकले । मानौँ, पत्रिका प्रकाशित हुनेबित्तिकै सित्तै भए पनि सम्पादकले उसको घरमा पुर्याउनैपर्छ ।

निःशुल्क पढ्नेको पनि यो दाबी भएपछि साहित्यिक पत्रिकाको विकास कसरी हुन्छ ? खोजेर, किनेर पढ्ने पाठक जहाँ छैनन्, त्यहाँ यस्तो स्थिति त हुन्छ नै । तर, रोचक घिमिरे र नगेन्द्रराज शर्माहरू अथक रूपमा अगाडि बढ्दै जानोस् ! कुनै दिन त शिखरमा पुग्नुहोला, नभए पनि आत्मसन्तुष्टि त प्राप्त हुने नै छ । त्यसैलाई साहित्य–साधनाको सफलता मान्दा पनि के नै घाटा हुन्छ र ! नहुनु त हात लागी छँदै छ, होइन त ?

पाँच वर्षको गुप्तवासपछि पुनः प्रकाशित ‘रचना’मा सम्पादक रोचक घिमिरे आफ्नो सम्पादकीयमा ‘सरकार आफैले अघि सरेर सांस्कृतिक तथा साहित्यिक जागरण र पुनर्निर्माणनिम्ति समर्पित साहित्यिक पत्रिकाहरूलाई सहयोग गर्नुपर्ने हो । तर, साहित्य अथवा साहित्यिक पत्रिकाहरूमा लगानी गर्न अनुत्पादक ठान्ने पारम्परिक मनोवृत्तिले ग्रस्त आजसम्मका कुनै पनि सरकारले नेपालका साहित्यिक पत्रिकालाई लेश मात्र सहयोग गर्ने सदाशयता देखाएनन्’ भन्ने गुनासो गर्नुभएको छ । तर, म भन्दछु– तपाईंप्रति सरकारले सदाशय किन देखाउने हँ ! यसका लागि तपार्इंसँग योग्यता नै छैन, किनभने तपाईं गाली गर्न सक्नु हुन्न, नाता जोड्न सक्नु हुन्न अनि किन सदाशयता ! राजनीति र सत्ताको साहित्यप्रति कुनै आकर्षण हुँदैन । यसका लागि उसका निम्ति ‘साकुल्य’ हुनुपर्छ अनि तपार्इंको गुनासोको के अर्थ ? तपाईंले त्यो गुनासो गर्नु र काटिन लागेको भैँसीले कसाईसँग रुनु एकै छैन र ?

साहित्य र साहित्यिक पत्रिकाको संरक्षण, सम्बद्र्धन र विकास गर्ने कर्तव्य नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको हो । तर, ऊ आफै साहित्यिक पत्रिका प्रकाशित गर्नमा व्यस्त छ । यदि, ऊ साहित्यप्रति उत्तरदायी भएको भए उसले साहित्यिक पत्रिकाका लागि खर्च गरिरहेको वार्षिक रु. ६ लाख निजी पत्रिकालाई अनुदान दिएर त्यसको विकासमा योगदान गर्न सक्थ्यो । तर, गर्दैन । उता, प्रजातन्त्रका नाममा मनपरी गर्दै भोज र भोजमै व्यस्त रहन चाहन्छ र उसले दिने पुरस्कारहरू कसलाई केका निम्ति र किन दिँदै छ भन्ने कुरा पनि खोल्न आवश्यक ठान्दैन । यस्तो पुरस्कार न लिनेलाई स्वाद हुन्छ न सुन्नेका लागि महत्व । पद पाउने र अधिकार लिनेमा मात्र प्रजातन्त्रको उपभोग गर्ने दिनको अन्त्य भएर हामीजस्ता सर्वसाधारणलाई पनि प्रजातन्त्रको बोध हुने पनि दिन कहिलेसम्म आउला कुन्नि !

यसलाई बढी नतानौँ, किनभने लहरो तान्दा पहरो गर्जिन सक्छ । यद्यपि, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सञ्चालन सार्वभौमसत्तासम्पन्न जनताको रगत्–पसिनाबाट संकलित रकमका भरमा भए पनि काम–कारबाहीबाट ऊ सार्वभौमभन्दा धेरैमाथि नै देखिएको छ !

हुन त साहित्यिक पत्रिकाको प्रसारप्रसार र टेवाका निम्ति शिक्षा मन्त्रालयले पनि ध्यान दिन सक्ने थियो । नेपाल अधिराज्यका लगभग ५०० सार्वजनिक पुस्तकालय र क्याम्पसका पुस्तकालयका निम्ति एक–एकप्रति साहित्यिक प्रकाशनहरूको ग्राहक बनाइदिएर अनुदान दिन सकिन्थ्यो । तर, भाषा र साहित्यको विकास हुने र पढ्ने पाठकमा पनि सन्तुष्टि हुने यो कार्य गर्न शिक्षा मन्त्रालयले ध्यानै दिँदैन । अतः यो सुझाव पनि भालुलाई पुराण सुनाउनुजस्तै हो । तैपनि, विचार गरिदिए राम्रो हुने थियो । आशा गरौँ, तर भर नपरौँ !

यता, प्रा. अच्यूतरमण अधिकारी ‘उन्नयन’ प्रकाशनमा रातदिन लागिरहनुभएको छ । मोटा–मोटा विशेषांक निकालेर ‘स्याबासी’ पाउन उद्यत हुनुहुन्छ । यस बाटोमा उहाँ कहाँसम्म पुग्न सक्नुहुन्छ, त्यो भने हेर्नैछ । ‘रत्नश्री’ भने कछुवाको चालमा भए पनि आफ्नो उद्देश्यमा अग्रसर रहेका देखिन्छ ।

जहाँसम्म मोफसलबाट प्रकाशित साहित्यिक पत्रिकाको कुरा छ, झापाबाट स्तरीय रूपमा ‘भानु’ र ‘जुही’ प्रकाशित हुन्थ्यो । त्यो पनि भवानी घिमिरेको राजनीतिको सेपमा ‘भानु’ परेको छ भने प्रा. चूडामणि रेग्मीले झर्रो नेपालीका नाममा हलन्त बहिष्कार गर्ने राममणिको व्याकरण अँगाल्दा ‘जुही’ पनि पढ्नै अप्ठ्यारो हुने चपेटामा परिरहेको छ । तैपनि, आशाको किरण भने बाँकी नै छ ।

अहिलेका लागि मदन पुरस्कार गुठीको मुखपत्रका रूपमा प्रकाशित ‘नेपाली’ त्रैमासिकले नेपाली भाषा र साहित्यको विकासमा मात्र होइन, संरक्षण र सम्बद्र्धनमा पनि योगदान गरिरहेको विश्वास हुन्छ । नेपाली भाषासेवक, अन्वेषक र साधक कमलमणि दीक्षितको कुशल सम्पादनमा प्रकाशित सो पत्रिका नेपाली भाषा र साहित्यका लागि निकै उपयोगी र ज्ञानवद्र्धक साबित भएको छ । अर्थाभावको चपेटामा पर्नुनपर्ने भएकोले यो पत्रिका दीर्घायु पनि छ र त अहिलेसम्म अटुट रूपमा १४७ अंक प्रकाशित भइसकेको छ ।

नेपाली साहित्य र भाषाको विकास चाहनेले ‘नेपाली’को उन्नतिको कामना गरे पुग्छ । उसका निम्ति अरू सहयोग चाहिँदैन पनि । किनभने, ऊ स्वयम् हरेक दृष्टिबाट सक्षम छ ।

अनि धर्म, चरित्र र नैतिकताले संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यबाट नयाँ आकारप्रकार लिँदै प्रकाशित धार्मिक पत्रिका ‘समुदय’ पाठककहाँ पुगिरहेको छ । गीता समुदाय प्रकाशनका तर्फबाट कुलशेखर शर्माको कुशल, निःस्वार्थ र समर्पित सम्पादनबाट प्रकाशित ‘समुदय’मा छापिने लेख–रचना र टिप्पणी निकै उपयोगी, ज्ञानवद्र्धक र रसिलो हुनाले अहिलेसम्म त्यो पत्रिकाको आजीवन सदस्य संख्या नै २०० को लगभगमा पुगिसकेको छ । अतः यसको आयुमा कुनै खड्गो आउला भन्ने शंका नहुनु स्वाभाविक हो ।

‘समुदय’ मा प्रकाशित लेख–रचना र टिप्पणी उत्कृष्ट हुने गरेकोले यो लोकप्रिय हुँदै जानेछ र समाजमा चरित्र र नैतिकता तथा परम्पराको विकास गर्ने कार्यमा पनि यो सक्षम हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

(‘समकालीन’ साप्ताहिकमा प्रकाशित प्रस्तुत निबन्ध लीलासिंह कर्माको निबन्धसंग्रह ‘मान्छे बन्नै सकिएन’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro