site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गालको ऐतिहासिक किल्लामा मर्निङ वाक

हामी पाँच बजे नै हिँड्न तयार भयौँ । बरु, यति चाँडै यहाँ टुकटुक पो पाइएला कि नपाइएला ! 

सार्थक ‘पिक मी’मा लागेको छ । अनुहारभरि उज्यालो पोतेर उसले भन्यो, ‘ल, जुत्ता लगाऔँ । टुकटुक आई पुग्नै लाग्यो ।’

बालकले बिहान उठेपछि हिजो ल्याइदिएको नयाँ नाना खोजेजस्तै भएको छ, हाम्रा लागि गालको समुद्री किनार र ऐतिहासिक किल्ला ! हामी अहिले त्यहीँ जान लागेका ।

त्यहाँ प्राचीन किल्लाका भग्नावशेष, हातहतियार, बुर्जा आदि हेर्न पुगेको छैन । हिजो सूर्यास्त हेर्न पाइएन, सूर्योदयचैँ हेरौँ न त भन्ने पनि छ ।

त्यो किल्ला कति विस्तारित रहेछ भन्ने पनि हामीलाई थाहा छैन । त्यो भग्न किल्लामा मार्निङ वाक गर्न पनि मज्जै हुन्छ । उसै पनि हामी घुम्न/हेर्न आएका मान्छे, हामीले होमस्टेको कोठामा समय बिताउन हुन्छ !

भुकभुके उज्यालो यस्तैलाई भनिँदो हो । दिन पूर्णतः ब्युँझिन बाँकी छ । टुकटुकले हामीलाई भरखरै गालको उही प्राचीन किल्लानेर ल्याएर उतारेको छ ।

हामीले श्रीलंका प्रवेश गरेको आज तेस्रो दिन हो । आज ६ फाल्गुण, २०८१ अर्थात् १८ फेब्रुअरी, २०२५ । हामी गालको ‘ह्याभलक रोड’स्थित ‘जयलत होमस्टे’मा ब्युँझिएका हौँ ।

आजै हामी मिरिसा जान्छौँ, घुम्छौँ र त्यहीँ बस्छौँ । यसरी हामीले आजको दिनलाई गाल र मिरिसाका लागि बाँडफाँट गर्नुपर्नेछ ।

हामी भग्न किल्लामाथि उक्लियौँ । त्यसको पूर्वछेउमा एउटा टावर छ । यसले प्रकाश फ्याँक्छ । यो शान्त बिहान समुद्रको छाल परबाट किल्लाको तल रहेका पत्थरहरूसँग निहुँ खोज्दै आउँछ ।

बिहानको यो शान्त प्रहरमा केही सुनिन्छ भने त्यही छालहरूले गरेको हल्ला सुनिन्छ । यो ब्यँुझिँदो बिहान, ऐतिहासिक किल्ला र छालको यति साह्रो हल्लाका बीच मर्निङ वाक गर्दा कसो होला !

मर्निङ वाक मेरो दैनिकीको एक महत्त्वपूर्ण हिस्सा हो । झन्डै एक दशकयता मैले मर्निङ वाक नगरेका केही दिन मात्र होलान् । घरमा हुँदा हामी मर्निङ वाकका लागि पाँच बजे निस्किन्छौँ । हामी भन्नाले ७३—४५ उमेरभित्रका छ–सातजनाको समूह छ एउटा ।

त्यस रुटमा मर्निङ वाक गर्नेमा अरूभन्दा छिटो हिँड्ने समूह हो हाम्रो । हाम्रो हिँडाइको गति र चाललाई संकेत गरेर कसैले भनिदियो, ‘यो मनिङ वाक होइन, डाँक वाक हो । डाँक बोकेर राजमार्गमा कुद्ने बस तपाईंहरू क–कसलाई याद छ ? डाँक बस कमै रोकिन्छ, अरूलाई उछिनेर कुद्छ । तपाईंहरूको मर्निङ वाक त्यस्तै छ ।’

सार्थक पनि मर्निङ वाकमा निस्किन्छ, तर उसको मर्निङ वाक नियमित हुन सकेको छैन । हामी यो बिहान गालको यस किल्लामा आएका छौँ । मलाई यो संयोग स्मृतिमा गाढा मसीले लेख्न रहर छ । मलाई गालको यस ऐतिहासिक किल्लामा मर्निङ वाक गर्न मन छ ।

म मर्निङ वाकतिर लागेँ । सार्थक भिडियो खिच्नतिर लाग्यो । उसले समुद्र किनारामा केही पन्छीहरू पनि देखेको छ । ऊ त्यता पनि अल्झेको आभास भयो । मर्निङ वाकमा पसिनापसिना भएपछि म सार्थकनजिकै जान्छु ।

किनारामा केही रूपी र तीन–चारवटा अनौठा पन्छीहरू छन् । यी पन्छी सिमकुखुराभन्दा ठूला छन् र मयूरभन्दा साना । ऊ तिनको चाल भिडियोमा टिप्न तन्मयका साथ संलग्न छ ।

गालमा न सूर्यास्त हेर्न पाइयो न त सूर्योदय । घाम बादलको बर्को ओडेर झुल्किएको छ आज ।

सार्थक भन्छ, ‘समुद्रमा सूर्योदय होइन, सूर्यास्त हेर्न मज्जा हुन्छ । अब आज मिरिसामा सूर्यास्त हेर्नुपर्छ । त्यहाँ अझ रमाइलो देखिन्छ ।’

हामी भग्न किल्लामाथि हिँड्दै पश्चिमतर्फ लाग्छौँ । अब थाहा भयो, हामीले हिजो अन्तिम भन्ठानेको किल्ला अन्तिम होइन रहेछ । किल्लाको ठूलो हिस्सा हाम्रो दृष्टिमा पर्नै सकेको रहेनछ । 

हामी अझै पश्चिम आयौँ र उत्तर मोडियौँ ।

किल्लाको यस खण्डमा केही पर्यटकहरू पनि आएका छन् र ती फोटो खिच्दै छन् । वर्षका धेरैजसो दिन पर्यटनमा बिताउने र जहाँसुकै र जहिलेसुकै फोटो खिच्ने मुडमा देखिने यी पर्यटकले आफूले खिचेका फोटाको व्यवस्थापन कसरी गर्छन् होला !

हामीलाई पनि फोटो/भिडियो खिच्न पुगेको छ्रैन । म एउटा किल्लाको शीर्ष भागमा उभिएर पोज लिन्छु र भन्छु, ‘ल, खिच् ।’ बुर्जानजिकै पुग्छु र भन्छु, ‘यो पनि टिप् !’ 

बुर्जा तल अनेक हतियार लिएका विविध वेशभूषाका मानिसहरूको चित्रअंकित छ । ती सबैले क्याप लगाएका छन् र एउटाको क्याप भने हाम्रो दृष्टिमा नेपाली टोपीजस्तै देखिएको छ । 

थाहा भयो, मानिसलाई आफू जहाँ पुगे पनि आफ्नो सांस्कृतिक पहिचानको विषय विशेष लाग्दो रहेछ । आफ्नो संस्कृति आरोपित गर्ने औडाहा हुँदो रहेछ । त्यो चित्रकार नेपाली टोपीसँग परिचित थियो/थिएन – यो हामीले यकिन गर्न सकिने विषय थिएन ।

मेरो बिहानै खाजा खाने बानी । घर छाडे पनि बानीले के छाड्थ्यो ! भोक लाग्न थाल्यो । सार्थकले युट्युबमा ‘जयलत होमस्टे’माथिको रिभ्यु हेर्न भ्याइसकेछ । मैले बोल्नुअघि उही बोल्यो, ‘होमस्टेको अन्टी स्थानीय खाजा तुल्याउन सिपालु हुनुहुन्छ भन्ने छ, के भन्नुहुन्छ ?’

स्थानीय परिकारमाथि हाम्रो गहिरो चासो छ । हिजो बेलुका ‘हङ्ग्री रेस्टुरेन्ट’मा काठबाट बनेको प्लेट र कचौरामा मैले कोतुरोटी दोहोर्‍याएँ, सार्थकले चाउमिन खायो ।

चित्रकलाको ससानो संग्रहालयजस्तै थियो, त्यो रेस्टुरेन्ट । टेबुलमा परिकार आउन्जेल हामी त्यही जीर्णझैँ देखिने घरको भित्तामा अंकित चित्रहरू हेरेर रमाएका थियौँ ।

अहिले सार्थकले अगाडि ल्याएको जानकारी अझ उम्दा थियो । मैले भनेँ, ‘त्यसो भए त अझ मज्जा हुन्छ ।’ 

सार्थकले म्यासेज गर्‍यो र जवाफ पर्खियो । केही समयपछि जवाफ आयो, ‘हुन्छ । खाजा तयार गर्न मलाई एक घण्टाजति लाग्ला ।’

झन्डै आठ बज्न लागेको छ र हामी किल्लाको उत्तरीछेउमा आइपुगेका छौँ । यहाँ एटीएम छ र सार्थक गोजीमा केही श्रीलंकन रुपियाँको जोहो गर्न लागेको छ । यो यहाँको पनि स्कुल समय रहेछ । सडकको दुवैतिरबाट विद्यार्थी र शिक्षक/शिक्षिकाको धुइरो लागेको छ ।

ट्राफिकको भूमिकामा छन्, दुईजना फुच्चे विद्यार्थी । ट्राफिक प्रहरी सडक किनारामा उभिएको छ । फुच्चे विद्यार्थी मोटरलाई रोकिन संकेत गर्छन्, मोटर रोकिन्छ र एक हुल शिक्षक/विद्यार्थी सडक पार हुन्छन् ।

फुच्चे मोटरको आवागमनका लागि संकेत गर्छन् र सडक किनारामा केही शिक्षक/विद्यार्थी जम्मा भएपछि फेरि मोटरलाई रोकिन संकेत गर्दछन् ।

विद्यार्थीलाई आफ्नो वर्गप्रति जिम्मेवार बनाउन, विद्यार्थीको हातमा व्यस्त सडकको ट्राफिक नियम सुम्पिन र नियमको परिपालना कसरी गर्नुपर्छ भन्ने चेत विकासका दृष्टिले हामीलाई यो प्रयोग रमाइलो लाग्छ ।

अब हामी टुकटुकमा होमस्टेतिर दौडिन्छौँ ।

होमस्टे सफा र शान्त त छ नै, यहाँ किचेनका लागि आवश्यक पर्ने यावत् फर्निचर छन् । सार्थक युट्युबमा रिभ्यु हेरेर भन्दै छ, ‘फिनल्यान्डबाट आएको एउटा पर्यटक यस होमस्टेमा तीन हप्ता बसेछ !’

हामीले धेरै पर्खिनु पर्दैन, किस्तीमा नास्ता लिएर होमस्टेवाली महिला पूर्वपट्टिको ढोकामा संकेत दिन आइपुगेको थाहा हुन्छ । किस्तीमा पाँचवटा प्लेटमा विविध परिकारहरू छन् । दुइटा खाली प्लेट छन् । ती खाली प्लेट हामी दुईजनाका लागि हो ।

हामीले यिनै पाँचवटा प्लेटबाट आफूलाई चाहिने परिकार झिकेर आफ्नो प्लेटमा राख्नुपर्छ । यी पाँच प्लेटमध्ये एउटामा हाप्पर छ, अर्कोमा फेनी, अर्कोमा अन्डाकरी, अर्कोमा दाल र एउटा प्लेटमा मेवाका टुक्राहरू ।

होमस्टेवाली महिला प्लेटमा औँल्याएर हामीलाई अर्थ्याउनुहुन्छ, ‘त्यो सेतो हाप्पर हो, स्थानीय परिकार । र, त्योचैँ फेनी । फेनी केही गुलियो हुन्छ । यिनको स्वाद कस्तो लाग्यो, खाइसकेपछि भन्नुहोला ।’

होमस्टेवाली महिला केही गफ गर्ने मुडमा देखिनुहुन्छ । भन्नुभयो, ‘तपार्इंहरू नेपालबाट है ! बम्बैबाट कता पर्छ त्यो ?’

हामीले भन्यौँ, ‘बम्बै इन्डियामा पर्ने सहर हो । नेपाल श्रीलंकाजस्तै स्वतन्त्र राष्ट्र हो । भारत, श्रीलंका र नेपाल सार्कका संस्थापक सदस्य राष्ट्र हुन् ।’

हाप्पर र फेनी हामी यहीँ पहिलोपल्ट चाख्दै छौँ । र, ब्रेकफास्टमा परिकारको यस्तो संयोजन पनि हाम्रा लागि नौलो छ ।

हाम्रा लागि यो ब्रेकफास्ट पर्याप्त छ । तर, यो त ब्रेकफास्ट पो त ! लन्चमा जानु पर्दैन त ?

ब्रेकफास्ट र लन्चका बीचमा अढाई घण्टाजतिको समयान्तर राखेर हामी होमस्टेबाट बिदाबारी भएरै निस्किन्छौँ । लन्चका लागि पनि हामी स्थानीय परिकार पाइने स्थान खोज्दै छौँ । छनोटमा पर्छ, ‘कोकोनट स्याम्बल’ ।

लन्चका लागि एकपटक फेरि टुकटुकले हामीलाई त्यही ऐतिहासिक किल्लाको नजिकनजिक ल्याएर ओराल्छ ।

कोकोनट स्याम्बल अत्यन्त साँगुरो कबलमा सञ्चालित रहेछ । हामी दुईजना एउटा टेबुलमा आमनेसामने हुन्छौँ ।

कोकोनट स्याम्बलका भित्ताभरि अनेकन् मान्छेका नाम र ठेगाना लेखिएका । मैले यस्तो देखेको थिइनँ, उदेक लाग्यो । सार्थकले भन्यो, ‘यस्तो चलन हामीकहाँ पनि छ ।’

कोकोनट स्याम्बलमा माटाको भाँडामा राखिएका रहेछन्, खाद्य परिकार । बफेट सिस्टम । फलफूलको मिश्रण तरकारी मैले त्यही कोप्चो कोकोनट स्याम्बलमा पहिलोपल्ट चाखेँ । पसले केटो फुर्ती लगाउँदै थियो, ‘हामीकहाँ अल्कोहलरहित जिंगर बियर पनि छ !’

त्यो हाम्रो रुचिको पेय थिएन ।

खाने सवालमा हामी ‘भोक मिठो कि भोजन मिठो’ भन्छौँ । हाम्रासामु भोजनका विविध परिकार थिए, हामीमा भोकको अभाव थियो । उत्साहका साथ प्लेटमा राखिएका कोकोनट स्याम्बललगायत कतिपय परिकार हामीले निखार्न सकेनौँ ।

सजिलोका लागि भनिदिए हुन्छ, कोकोनट स्याम्बलका कतिपय परिकार हामीमा विकसित स्वादको अनुकूल थिएनन् ।

हामी अब लोकल बसमा मिरिसा जाने । गालबाट मिरिसा बसमा एक घण्टाको बाटो हो । 

हामी झोला बोकेर पैदल निस्कियौँ ।

गालको ऐतिहासिक किल्लाको उत्तरपश्चिमछेउमा जोडिएको छ, क्रिकेट स्टेडियम । यहीँ केही महिनापहिले सम्पन्न भएको थियो, अस्ट्रेलिया र श्रीलंकाकाबीचको क्रिकेट म्याच ।

आज पनि यहाँ स–सानो म्याच रहेछ । मान्छे झुरुप्प छन् । तिनै मान्छेमध्ये एकजना युवकलाई हामी सोध्छौँ, ‘मिरिसा जाने बस कहाँ लाग्छ ?’

ऊ हाम्रो अघि लाग्यो र हामीलाई बससम्म पुर्‍याएर फेरि क्रिकेट म्याच हेर्न फर्कियो । स्थानीय व्यक्तिको यसप्रकारको सहयोग हाम्रा लागि अनपेक्षित थियो ।

हामीले लगभग बाह्र बजे गाललाई बाई बाई भन्यौँ ।
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro