site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मुक्कुमलुङ

माघको ठिहीमा नङछुरी लागेर मेरा हात कठ्यांग्र्रिएका थिए । झिसमिसे उज्यालोमै नाइटबसले बिर्तामोड बसपार्कमा झारिदिएको थियो । टिकट काउन्टर सुनसान थियो । पहिलेपहिले गाडीबाट झर्न नपाई ‘काँ जाने तपाईं ?’ भन्दै सोध्ने चालक, सहचालकहरू त्यो दिन चुपचाप थिए ।

जब म फुङ्लिङ जाने गाडी खोज्न थालेँ तब मात्र थाहा पाएँ, म जानुपर्ने ठाउँमा हिजैदेखि सवारीसाधन आवतजावत बन्द रहेछ । मुक्कुमलुङमा केबलकार बन्ने भएपछि स्थानीयहरूले त्यसको विरोधमा हडताल गरेका रहेछन् । त्यसको प्रभाव ताप्लेजुङमा मात्रै होइन, पाँचथर, इलाम र झापासम्मै परेको रहेछ ।

मलाई स्थानीयहरूको विरोधसँग कुनै लिनुदिनु थिएन, न त केबलकार बन्नु/नबन्नुमा कुनै रुचि थियो । मलाई त मात्रै समयमै कार्यक्षेत्रमा पुग्नु थियो ।

बिर्तामोड बसपार्कमा कहिले यता त कहिले उता गरिरहेको थिएँ । मैले त्यहाँबाट फुङ्लिङ पुग्ने केही उपाय वा साधन पाइएला भन्ने आशा गरेको थिएँ । कहिले काउन्टरमा त कहिले पार्किङ गरिराखेका बोलेरोतिर पुगेर मैले दुई घण्टा बिताएँ । तथापि, निराशाबाहेक केही मिलेन ।

खबर मिल्यो— फुङ्लिङमा त आगो बलेको छ रे !

‘बिहानैदेखि स्थानीयहरू आन्दोलनमा उत्रिएका छन् । कुनै हालतमा पाथीभरामा केबलकार बन्न नदिने रे !’

‘ल बदाम आयो, बदाम’ भन्दै आएको सेतै कपाल र दाह्री फुलेको बुढोसँग बदाम किनेर म कुत्रुककुत्रुक खान थालेँ । 

एकछिनपछि नजिकैको होटेलमा गएँ र बिनाचिनीको चिया पिउन थालेँ । चिया सुरुप्प पार्दै मैले बसपार्कतिर नियालेँ । बदाम बेच्ने बुढो जताजता मान्छे छन्, त्यतैत्यतै जान्थ्यो ।

चालक र सहचालकहरू गललल हाँस्दै कुरा गर्दै थिए । सार्वजनिक शौचालयको अगाडि प्लास्टिकको रङ खुइलिएको कुर्सीमा बसेर एउटी किशोरी मोबाइल चलाउँदै थिई ।

“सर कहाँसम्म जाने हो ?,” वेटरले मलाई सोध्यो ।

“फुङ्लिङसम्म जानुपर्ने भाइ, कहिलेसम्म खुल्ला भाइ ?,” उसैले बन्द गरेको र खुलाउने पनि उही हो जसरी मैले बुझ्न खोजेँ ।

“अनिश्चितकालीन बन्द हो सर, खुल्ने कुनै टुंगो छैन,” उसले दृढ भएर दिएको उत्तरले म अक्क न बक्क भइगएँ ।

“सर अहिले माथि नजानुस्, बरु घरै फर्किनुस्.,” वेटरले कप उठाउँदै थप्यो ।

“होइन भाइ, कहिले जानु, कहिले आउनु ? फेरि, मेरो त बिदा सकियो, जसरी’नि भोलि त अफिस पुग्नुपर्छ,” मैले आफ्नो विवशता ओकलेँ ।

“त्यसो भए त खर्च हुने भो सर !,” उसले हाँस्दै भन्यो ।

मैले सोचेँ– होटेलमा बसेपछि खर्च त बढ्ने भइगयो नि !

ऊ फेरि मेरो नजिक आयो र भन्यो, “बाइकमा जानुस् सर, बाइकलाई रोक्दैन ।”

“बाइक ! कसको छ र बाइक ? तिमी मिलाउन सक्छौ ?,” मैले सोधेँ ।

“पैसाको लागि यहाँ के गर्दैनन् र सर ! म बोलाइदिम् बाइकवाला ?”

“कति लिन्छ ?”

“त्यो त उसैलाई सोध्नुस् न । बोलाइदिम् ?” 

“बोलाऊ न त ।”

बाइकको पछाडि बसेर म गन्तव्यतिर लागेँ ।

बुधबारे पुगेपछि हामीलाई रोकियो । हातमा प्लेकार्ड बोकेर केही युवा चिच्याइरहेका थिए, ‘केबलकार चाहिँदैन चाहिँदैन !’

उनीहरूले ‘काँ जान लागेको ? जान मिल्दैन’ भनेर केरकार गरे । बाइकचालक भाइले दिएको उत्तरले चित्त नबुझाएर हो कि मलाई’नि केही प्रश्न सोधे ।

सोचेँ– जान दिँदैनन् कि क्या हो ! अलिकति मिलाएर कुरो गर्नुपर्‍यो ।

“त्यहीँ इलामसम्म मात्रै हो । अर्जेन्ट छ । तपाईंहरूको आन्दोलनप्रति मेरो पनि समर्थन छ ।”

बल्ल उनीहरूले जान दिए । बाटो खाली थियो । त्यसैले हामी तीव्र गतिमा अगाडि बढ्यौँ ।

ठाउँठाउँमा चिया पिउन, खाजा खान रोकियौँ । थाहा भयो, इलाम, राँके र फिदिमबाट तराई झर्नुपर्ने मानिसहरू त्यतै रोकिएका रहेछन् ।

फुङ्लिङमा आन्दोलनको रापताप निकै चर्किएको रहेछ । गएको राति नो केबलकार समूहले मसाल जुलुस निकालेको रहेछ ।

केही उग्र युवाले मसालको पुल्ठो व्यक्तिका घर र बैंक ताकेर हानेका रहेछन् । धन्न आगलागी भने हुन पाएनछ ।

‘मुक्कुमलुङ बचाउन हामी एक हौँ एक हौँ... ।’

‘आदिवासीमाथिको ज्यादती बन्द गर् बन्द गर्... ।’

‘प्रहरी ज्यादती बन्द गर् बन्द गर्... ।’

‘आदिवासी एकता जिन्दाबाद जिन्दाबाद’ आदिजस्ता गगनभेदी नारा लगाउँदै स्थानीय आदिवासीहरू सडकमा उत्रिएका रहेछन् ।

एकछिन त सडकपेटीमा बसेर म आन्दोलनकारीहरूलाई हेरेको हेर्‍यै भएँ ।

ढुंगा टिपेर प्रहरीलाई ताकिरहेका आन्दोलनकारीहरूको जोस थामिनसक्नुको थियो । इलामको माङ्सेबुङ, पाँचथरको हिलिहाङ र कञ्चनजंघाको फेदी फक्ताङलुङदेखि मान्छेहरू आएका रहेछन् ।

हुरीझैँ हल्ला फैलियो– फुङ्लिङ बजारदेखि केबलकारको बेस स्टेसन काफ्लेपाटीसम्म कर्फ्यु लाग्यो रे !

म डराउँदै छिटछिटो कोठामा पुगेँ र चैनको सास फेरेँ । कोठाको झ्याल आधा खोलेँ र आधा मुन्टो बाहिर निकालेर बाहिर हेर्न थालेँ ।

स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न भन्दै निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीहरूले टेरपुच्छर लगाएका थिएनन् । प्रहरीहरू उनीहरूलाई रोक्न खोज्थे । के मान्थे ! उल्टै प्रहरीमाथि ढुंगा टिपेर बर्साउन थाले ।

‘मुन्धुमी धार्मिकस्थलको अतिक्रमण बन्द गर्’, ‘मुक्कुमलुङमा सैन्यकरण बन्द गर्’, ‘असक्षम सीडीयोलाई कारबाही गर् कारबाही गर्’, ‘केबलकार खारेज गर्’ यस्तैयस्तै भन्दै, चिच्याउँदै आदिवासीहरू उफ्रिरहेका थिए ।

प्रहरीले अश्रुग्यास छोड्यो, मान्छेहरू आँसु पुछ्दै तितरबितर भए र छिनमै जम्मा भइहाले । फेरि उस्तै उग्र नाराहरू घन्काउन थाले ।

अचानक गोली पड्केको आवाज आयो– ड्याम्म्म ड्याम्म्म... ।

आन्दोलनकारीहरूको भागदौड भयो ।

केही बेरमै आन्दोलनकारीहरू पुनः भेला भएर बीचसडकमा आगो बालेर चर्का नारा लगाउन थालिहाले, ‘राज्य आतंक बन्द गर्’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘असक्षम सीडीयोलाई बर्खास्त गर्’... !

दिन प्रतिदिन आन्दोलन झन् उग्र हुँदै गइरहेको थियो । केही दिन निकै चासोपूर्वक हेरेँ मैले पनि । यताबाट उता घुम्दै, छलिँदै र भौँतारिँदै ।

केन्द्रबाट आदिवासी जातिका नेता, मधेसी नेता आएर आन्दोलनकारीको रगत उमाल्ने भाषण गरे र फर्किए ।

शनिबार बिहान बिउँझिनेबित्तिकै मलाई पाथीभरा माताको दर्शन गर्न मन लाग्यो । केबलकार नबनीकन मुक्कुमलुङलाई आँखाभित्र सजाउने उत्कट चाहनाले तान्यो ।

यदि बनिहाल्यो भने त यसको प्राकृतिक सुन्दरता रहला नरहला ! कृत्रिम सौन्दर्यले ढाकेपछि यहाँको मौलिकता चुँडिएको फूलजसरी ओइलाउँदै जाला !

यस्तै सोच्दै/सम्झँदै म काफ्लेपाटीबाट उकालो लागेँ । तीन घण्टा पैदल हिँडिसकेको मलाई थकाइले भने गाँजिसकेको थिएन ! छ्याङ्ङ खुलेको आकाशतिर हेरेँ, सीमाहीन आकाशजस्तै चिसोको पनि सीमा छैन कि जस्तै लाग्यो मलाई ।

घाम पनि यति चिसो हुन्छ र ! थाहा थिएन । बल्ल थाहा भयो । अन्त थाहा नभएका धेरै कुरा मुक्कुमलुङमै थाहा हुने रहेछ ।

चुन्द्रीमा हालेर ढाडमा बुढीआमालाई बोकेर एक भरिया ओरालो झर्दै थिए । ढुंगेनी उकालो बाटो थियो । माथ्लो फेदीमा पुगेपछि म सुस्ताउन एकछिन बसेँ । त्यहाँ पनि पिठ्युँमा बोकिएर माताकोमा पुग्ने र फर्किनेहरू थिए ।

मलाई पनि पाथीभरा दर्शन गर्न एकपटक बुढीआमालाई ल्याउन मन लागेको थियो । रोगले खोक्रो बन्दै गएकी बुढीआमा सायद यो चारपाँच किलोमिटर उकालो हिँड्न सक्दिनन् । त्यही भएर भरियाहरूसँग कुरा गर्न मन लाग्यो, “दाजु, काफ्लेपाटीदेखि मन्दिरसम्म पुर्‍याएको कति लिनुहुन्छ ?”

“त्यो त वेट हेरेर हुन्छ,” थाकेका दाइले छोटो उत्तर दिए । लागेको होला, यो अहिले मेरो ग्राहक होइन ।

“अलि बुझिनँ दाजु, राम्रोसँग बुझाइदिनु न है,” मैले विनम्र अनुरोध गरेँ ।

त्यसपछि उनले मलाई मजाले बुझाए, शब्दशक्ति र सम्मानको उपज होला सायद ।

“साठीसत्तरी किलोको मान्छे छ भने किलोको एक सयदेखि डेढ सयसम्म लिन्छम् । त्यहाँदेखि माथि वेट छ भने किलोको दुई सय लिन्छम् । अप एन्ड डाउनको हो है फेरि,” अंग्रे्रेजी मिसाएर भरिया दाइले जवाफ दिए । पर्यटकहरूको संगतले होला ।

मैले मुन्टो हल्लाउँदै मनमनै हिसाब गरेँ– आमालाई ल्याउँदा छसात हजार त लाग्नेरहेछ ।

यहाँभन्दा माथि होटेल, पसल केही पाइन्न रै’छ । पानी पनि नपाइने जानकारी बोर्डमा लेखिएको थियो । प्रहरी चौकीमा नाम लेखाएर मात्रै जान पाइने र’छ । यात्रुहरूको सुबिस्ताको लागि ठाउँठाउँमा प्रतीक्षालय बनाइएको थियो ।

कति मिटर उचाइमा आइपुगियो, माताको मन्दिरमा पुग्न कति समय लाग्छ सोको जानकारी समेत दिइएको रहेछ ।

पहिले आउँदा विभिन्न रङका गुराँस फुलेका थिए । अहिले त गुराँस फुल्ने समय पनि होइन, तर फुल्नका लागि पर्खिरहेका गुराँसका बोट काटिएका रहेछन् । गुराँसका ठुटा आँखामा बिझाएर औँलाले कोशमा मिचेँ । निकै बेर दुखिरह्यो ।

थकित भएको म माताको मन्दिरमा पुगेपछि भने फुर्तिलो बनेको थिएँ । त्यहाँ पुग्दा अनायासै हृदय झङ्कृृत भइदियो । आफूलाई कतै स्वर्गको एक टुक्रामा छु कि झैँ आभास हुन थाल्यो ।

माताको दर्शन गर्दै मैले पुजारीसँग निकै कुरा गरेँ । देवी माताको बारेमा धेरै कुरा थाहा पाएँ ।

आन्दोलनको कारण टाढाबाट दर्शनार्थीहरू नआएकाले चहलपहल निकै कम थियो ।

उकालो चढ्दाभन्दा ओरालो झर्न आधा समय मात्रै लाग्यो ।

कोठामा आएर निकै घोत्लिएँ– मुक्कमलुङमा केबलकार बनाउनुपर्छ भन्ने र बन्नै हुँदैन भन्ने कुन पक्ष र तर्क ठिक छ ?

निकै चिन्तन गरेपछि मैले सोचेँ— मैले केबलकार बन्नुपर्छ भने पनि, बन्नु हुँदैन भने पनि हुन्छ चाहिँ के ? बनाउन सरकार पूरा शक्तिका साथ लागिपरेको छ । अश्रुग्यास र गोली बर्साइरहेको छ । उता आन्दोलनकारीहरू केबलकार चाहिँदैन भन्दै ज्यानको बाजी थापेर सडकमा उत्रिएका छन् । बन्द, हडताल, मसाल जुलुस र विभिन्न अभियान चलाइराखेका छन् ।

बुढापाका र असहायलाई बोकेर भरियाहरूले जीविका चलाइराखेका छन् । तल्लो फेदीदेखि माथ्लो फेदीसम्म स–साना व्यापार, व्यवसाय गर्नेहरूले पनि सेवाको साथसाथै अर्थोपार्जन गरिरहेकै छन् ।

फेरि, केबलकार बनेपछि भरियालाई एक पैसा दिनु पनि पर्दैन । हिम्मत हारेकाहरू आशा बोकेर दर्शन गर्न आउने थिए होलान् !

यस्तै मनमन्थन गर्दै ढल्किएँ । खै कसले हो, मलाई चर्को स्वरमा सोध्यो, ‘तेरो कित्ता क्लियर गर्, न यताको न उताको पानीलौरो बनेर नबस् !’

हुटिट्याउँले आकाश थाम्ने कोसिस गरेझैँ मैले पनि केही त गर्नैपर्छ । म जिउँदो लास बनेर बाँच्न चाहन्नँ ! मभित्र अझै मानवता जीवित छ । मैले यस्तो महसुस गरेँ ।

काठमाडौं छोडेको यो महिना दिनमा म, म रहिनँ । मुक्कुमलुङ कसैको पेवा होइन, यहाँ सबै किसिमका फूलहरू फुल्न पाउनुपर्छ । सबैको सहअस्तित्व स्वीकार गर्नुपर्छ । प्राकृतिक सम्पदा र मौलिक संस्कृति पनि जोगाउनुपर्छ । त्यसलाई जोगाउँदै विकास र समृद्धिको मार्गप्रशस्त पनि गर्नुपर्छ ।

म सम्झनाको तरेलीमा बहँदै गएँ । चटक्क भुल्न नसक्ने गरी सुविधाभोगी पुस्ता जबरजस्त रूपले अघि बढिरहेको छ । जीवनयापन गर्ने सवालमा भौतिक र कुरामा प्रगतिशीलताको जमाना आएको छ ।

यो माघको कठ्यांग्रिँ्रदो ठन्डी र त्यो जेठको प्रचण्ड गर्मी सधैँ उस्तै रहँदैन ।
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro