site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापतिका आकांक्षीहरूको गृहजिल्लामै वडा अधिवेशन अनिश्चित 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरिएको छ । निर्वाचन समितिका अनुसार भदौ २३ सम्म ५६ जिल्लाको वडा तहमा अधिवेशन सम्पन्न हुँदै छ ।

तर, कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील विवाद समाधान समितिले जिल्ला–जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद समाधान गर्न नसक्दा २१ जिल्लाको वडा अधिवेशनको अन्योल कायमै छ ।

वडा अधिवेशन नभएका जिल्लाहरूमध्ये अधिकांश १४औँ महाधिवेशनमा सभापतिका आकांक्षीहरूको जिल्ला रहेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै गृहजिल्ला डडेलधुराको वडा अधिवेशन गराउन सकेका छैनन् ।

निर्वाचन समितिका अनुसार आइतबार बेलुका मात्र डडेलधुराको क्रियाशील सदस्यता सूची प्राप्त भएको छ । सूची पाएसँगै डडेलधुराका लागि आवश्यक सामग्रीसहित निर्वाचन अधिकृत जिल्ला गएको सचिव जगन्नाथ श्रेष्ठले बताए ।

वरिष्ठ नेता तथा आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

यस्तै, सभापतिका अर्का आकांक्षी गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जामा पनि वडा अधिवेशन सम्पन्न भएको छ ।

यस्तै, कांग्रेस महामन्त्री तथा सभापतिका अर्का आकांक्षी शशांक कोइरालाको गृहजिल्ला नवलपरासीमा पनि वडा अधिवेशन सम्पन्न भएको छ ।

तर, केन्द्रीय महाधिवेशनमा सभापतिका अर्का आकांक्षी उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा भने वडा अधिवेशन हुन सकेको छैन । निधि धनुषाबाट प्रतिनिधित्व गर्छन् । धनुषामा संगठन समायोजन, फर्जी क्रियाशीलको लफडालगायत विवाद छ ।

विवाद बढ्दै जाँदा निधिइतरका नेताहरू केन्द्रीय कार्यालय सानेपामा अनशन बसेका थिए । अनशनमा बसेका नेता डा. चन्द्रमोहन यादव विवाद समाधान भइनसकेको बताउँछन् ।

सभापतिकै अर्का आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा पनि वडा अधिवेशन हुन सकेको छैन । “खै क्रियाशीलको सूची नै आएको छैन, अधिवेशन त कहिले हुन्छ भन्ने नै भएन,” मोरङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन् ।

यस्तै, पूर्वमहामन्त्री तथा १४औँ महाधिवेशनमा सभापति लागि उमेदवारी घोषणा गरिसकेका नेता प्रकाशमान सिंहको गृहजिल्ला काठमाडौंमा पनि वडा अधिवेशन सुरु हुन सकेको छैन । “३ नम्बर क्षेत्रमा पार्टी समायोजनको विषयमा अलि समस्याचाहिँ थियो, तर सम्पूर्ण जिल्लाको वडा अधिवेशन नै नहुने गरी रोक्नुपर्ने अवस्था थिएन,” काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ सबुज भन्छन् ।

भदौ २६ गतेभित्र सबै जिल्लाको वडा अधिवेशन सम्पन्न भएन भने के गर्ने भन्ने तयारी निर्वाचन समितिले गरेको छैन । केन्द्रीय नेतृत्व पनि चुप छ । निर्वाचन समितिका एक सदस्य मंसिरमा केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका रहेकाले वडा अधिवेशनमा समस्या नहुने तर्क गर्छन् ।

“बहुमत जिल्लाको भयो, अब २१ जिल्लाको आउँदै गर्छ, हामी अधिवेशन गर्दै जान्छौँ,” उनी भन्छन्, “त्यसैले धेरै समस्या नहोला भन्ने हाम्रो बुझाइ छ । तर, आधिकारिक छलफल हुन बाँकी नै छ ।”

देशभर क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न बनेको तीन सदस्यीय कार्यदल पुनः छलफलमा जुटेको छ । नेता सिटौलाको नेतृत्वमा रहेको समितिले आइतबारदेखि छलफल सुरु गरेको एक नेताले जानकारी दिए ।

यसअघि, १० बुँदे सहमति कार्यान्वयन गराउन पाँच सदस्यीय कार्यदल बनाइएको थियो । तर, कार्यदलभित्र देखिएको मतभेदले समस्या झन् जटिल बनेको हो । प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ को विवाद समाधानका लागि भएको सहमति कार्यान्वयन गराउन केन्द्रीय सदस्यद्वय आनन्द ढुंगाना र जीवन परियारलाई जिम्मेवारी दिइएको थियो ।

यस्तै, वाग्मती र गण्डकी प्रदेशका लागि श्याम घिमिरे र प्रदीप पौडेल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।

कार्यदल सदस्य परियार विवाद समाधान कार्यदलको हातमा मात्र नरहेको बताउँछन् । “जति सक्यौँ हामीले गर्‍यौं, अब यो विषय आनन्द दाइ र मैले मात्र टुंगोमा पुर्‍याउँछौँ भन्ने छैन,” उनी भन्छन्, “अब कृष्ण (सिटौला) दाइ, मीनेन्द्र (रिजाल) दाइ र रमेश (लेखक)जीहरू बसेर मिलाउनुहुन्छ ।”

कार्यदलका अर्का एक सदस्य २७ गतेअगावै ६ हजार ७४३ वडाहरूको अधिवेशन सम्पन्न हुने सम्भावना देख्दैनन । “खै मचाहिँ सम्भावना देख्दिनँ, अब कहिले हुन्छ भनेर मिति तोक्ने आधार पनि छैन ।”

सभापति र महामन्त्री असफल बन्दाको नतिजा 
राजनीतिक वृत्तमा कांग्रेसभित्र देखिएको संकटलाई नेतृत्वको लाचारीपनको रूपमा चर्चा भइरहेको छ । विश्लेषक पुरञ्जन आचार्य कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पदीय जिम्मेवारी निर्वाह गर्न नसक्दा कांग्रेस संकटग्रस्त भएको टिप्पणी गर्छन् । “यो त सभापति र महामन्त्री ‘फेलियर’ भएको नतिजा हो,” उनी भन्छन्, “यसको असर महाधिवेशनमा मात्र होइन, अब आउने तीन तहको राष्ट्रिय चुनावमा पनि पर्छ ।”

विधानानुरूप पार्टी सञ्चालन र क्रियाशील सदस्यता वितरण नहुँदा कांग्रेसको वडा अधिवेशन पनि सुरु हुन नसकेको हो । मापदण्ड पालना नहुनु र आफूलाई ‘सेन्टर’मा राखेर विधानको व्याख्या गर्दा समस्या बढेको आचार्यको विश्लेषण छ । “यहाँ विधि र प्रक्रिया बनाउनेभन्दा पनि कसले धेरै भत्काउने भन्ने प्रतिस्पर्धा भयो,” आचार्य भन्छन् ।

देउवा गुट, कोइराला गुट, सिटौला गुट, पौडेल गुटको धर्म निभाउँदा निभाउँदै पार्टी समस्याको खाडलमा फसेको उनको तर्क छ । “कतै वडा अधिवेशन सुरु भइसक्यो, कतै विवाद त कतै क्रियाशील बाँड्ने काम भइरहेको छ,” उनी भन्छन्, “हामीले क्रियाशील दिन सकेनौँ भनेर नेताले आत्मालोचना गर्ने त आशै नगरौँ, गुटको धर्म निभाउँदा निभाउँदै कार्यकर्ताले पनि प्रश्न गर्न सकेनन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro