काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्नकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् ।
एमालेको आन्तरिक विवादमा खेल्न र नेता माधवकुमार नेपाल समूहलाई सजिलो हुने गरी उक्त अध्यादेश ल्याइएको जिकिर ओलीले गरे ।
बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त अध्यादेश गलत ढंगबाट ल्याइएको बताएका हुन् ।
अध्यादेशले सबै पार्टीभित्र समस्या पर्न सक्ने उनले उल्लेख गरे । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)तर्फ लक्षित गर्दै उनले अध्यादेशले पार्टी फुट्ला भन्ने चिन्ता सबैलाई भएको पनि बताए ।
“उहाँहरू थर्कमान हुनुहुन्छ, कतै आफ्नै पार्टीमा पहिरो नजाओस्,” अध्यक्ष ओलीले भने ।
उनले पछिल्लो समय लोकतन्त्रको हुर्मत लिने गरी राजनीतिक घटनाक्रमहरू विकसित भइरहेको समेत बताए ।