site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आशा जगाउन असफल सरकार 

पुष्पकमल दाहाल र उपेन्द्र यादवजस्ता राजनीतिकरूपमा ‘भर नभएका’ र ‘महत्त्वाकांक्षाका कुटुराे’ बोकेर हिँड्नेहरूको बैशाखीमा उभिएका शेरबहादुर देउवाबाट देशमा विधिको शासनको अपेक्षा गर्नुपरेको छ । यद्यपि, अहङ्कारका आधारमा चलाइएको खड्गप्रसाद ओलीकाे सरकार हटाउन भने देउवाकाे भन्दा दाहाल र यादवको भूमिका नै धेरै देखिन्थ्यो । 

ओली हटाउन लाग्दा लोकतन्त्रको माया वा विधिकाे शासन बलियाे बनाउने चाहना दाहाल र देउवामा मात्र हैन स्वयं देउवामा पनि कति थियो भन्ने समयले देखाउला । अहिले नेपाली जनताले मनले नमाने पनि उनीहरूको नियत राम्राे छ भनेर पत्याउन परेको छ । महाभारतको युद्धमा भीष्म, द्रोण, कर्णपछि शल्यलाई सेनापति बनाएर पनि विजयी हुने आशा दुर्योधनले राखेजस्तै ।

ओली नेतृत्वको सरकार हटाउनु परेको कारण राजनीतिक दलका नेताका पनि आआफ्नै होलान् । तर्क, वितर्क, कुतर्क पनि आआफ्नै होलान् । तर, जनता ओलीको शासनबाट आजित भएको कारण चाहिँ उनको अहङ्कार र दम्भको कुशासन हो ।

प्रधानमन्त्रीकै अग्रसरतामा  कोभिड-१९ को महामारीका बेला ‘ठोरीका राम’को शोभायात्रा निकाल्नेजस्ता गैरजिम्मेवार हर्कतमा अभेयस्त थियो अगिल्लो सरकार । 

ओलीलाई हटाएपछि बन्ने सरकार पारदर्शी, उत्तरदायी र जनमुखी होला कि भन्ने जनअपेक्षा थियो । दुर्भाग्य, शेरबहादुर देउवाको सरकारले जनतामा आशा जगाउन सकेन । यथार्थमा त एकाध निर्णयबाटै जनतालाई निराश बनाएको छ । लाग्छ, ओलीले गरेका तर गर्न नहुने जति सबै काम दोहोर्‍याउने कसम खाएको छ देउवा सरकारले । 

‘कठवैद्य’हरुको कुतर्क

अंग्रेजी शब्द ‘क्वाक’को अर्थ नेपाली ‘क्वाँक’ भन्दा फरक छ । कठवैद्य शब्द मैले  अंग्रेजी ‘क्वाक’को अर्थमा प्रयोग गरेको हो ।

फादर कामिल बुल्केको ‘अंग्रेजी हिन्दी कोश’मा दिइएको यो ‘क्वाक’काे अर्थ ‘कठवैद्य’ नेपाली शब्दकोशमा पनि समावेश गरे बेसै होला । 

नेपाली सञ्चार जगत् र सामाजिक सञ्जालमा अहिले तिनै कठवैद्यको कुतर्कले जनमत बनाउन थालेको देखिन्छ । कठवैद्यका कुतर्कले बनाउने भाष्य समाजका लागि ओलीकाे सरकारभन्दा पनि खतरनाक हुनसक्छ । कारण, ओलीको शासन त सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि समाप्त भएको थियो । कठवैद्यका कुतर्कले पारेको प्रभाव मेटाउन त्यति सजिलो हुँदैन । 

कठवैद्यको कुतर्कले गरेको क्षति

त्यसो त कठवैद्यहरूले सबै विषयमा आफ्नै भाष्य बनाएका हुन्छन् । अमेरिकाका अगिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प ‘कठवैद्य’ का उम्दा नमुना थिए । कोभिड-१९ का सम्बन्धमा उनले सावधानी अपनाउनुको साटो गैरजिम्मेवार टिप्पणी गरे । बेलैमा ध्यान नपुग्दा अमेरिका कोभिडबाट ३ करोड ६५ लाख जति संक्रमित भए भने ६ लाख ३५ हजार जतिको ज्यान गयो । नेपाल र भारतमा महामारीका कारण भएको जनधनको क्षतिमा ‘सर्वज्ञानी’ ओली र अहङ्कारी नरेन्द्र मोदीको कठवैद्यीय मूर्खताकाे निष्पक्ष अध्ययन भएमा बल्ल थाहा हुन्थ्यो त्यसको मूल्य ! 

नेपालमा अहिले कोभिड-१९ विरुद्धको खोप लगाउन हुँदैन भन्ने कठवैद्यका कुरा धेरैले सुने भने सङ्क्रमणको भुमरीबाट उम्कन सकिँदैन । नजानेको विषयमा हल्ला मच्चाएर जान्ने पल्टने कठवैद्यले समाजलाई सधै जोखिममा पारिरहने भए । यस्ता कठवैद्य भन्दा पनि जनसञ्चारमा तिनलाई स्थान दिनेहरू समाजका शत्रु हुन् । कुनै बेला परिवार नियोजन गर्नुलाई सराप्नेहरूका कुरा सबैले सुनेका भए अहिले कस्ताे अवस्था हुन्थ्यो होला । 

जनताको संविधान पचाउन मुस्किल 

अहिले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध कुतर्के भाष्य बनाइँदै गरेको देखिन्छ सामाजिक सञ्जाल र सञ्चार माध्यममा । यसमा केहीको राजनीतिक मान्यता छ । त्यो उनीहरूको स्वतन्त्रता हो । तर, आफ्नाे मान्यताका लागि भ्रामक कुतर्क गरेर जनतालाई भ्रममा पार्नु भने अपराध हो ।  

विकृति : संघीयता कि बेथिति ?

संघीयता अहिलेसम्म पूरा कार्यान्वनयन भएको छैन । तर, एउटा कुतर्के जमात भने केही व्यक्तिको बलमासीलाई उदाहरण बनाएर ५ वर्ष पनि अभ्यास नगरेको संघीयता खारेज हुनुपर्छ भन्न थालिसक्यो । एकल शासनको अभ्यास करिब तीन शताब्दीसम्म गरेको हैन र ? एकाध व्यक्तिका गलत क्रियाकलापको दोष संघीयतालाई दिएर खारेज गर्नुपर्छ भन्नु र त्यसभन्दा पनि संघियतालाई ‘विदेशीको एजेन्डा’ भनेर प्रचार गर्नुको भित्री मनसाय पक्कै पनि पवित्र छैन । 

काठमाडौंका मेयरले सबैभन्दा पहिले नयाँ विलासी गाडी किने भने ललितपुर मेयरले पुरानै गाडी मर्मत गरेर चलाए । यस्ताेमा दोष संघीयताकाे  कि व्यक्ति विशेषको ? अनि यिनै कटवैद्यका कुतर्कबाट प्रभावित पार्टीका नेता र मन्त्रीहरू कहिले स्थानीय तहलाई प्रदेशको मातहत राख्ने प्रस्ताव गर्छन् (कांग्रेस महामन्त्री तथा कार्यदल संयोजक पूर्ण खड्काले भने सामाजिक सञ्जालमा त्यस्तो प्रस्ताव नराखिएको स्पष्टीकरण दिएका छन् तर मधेसी दलको चाहना यही थियो भन्ने सबैलाई थाहा छ ।)  त कहिले सुकुम्बासी आयोग फेरि गठन गर्ने घोषणा गर्छन् ।

केही विकृति देखिएका त्यही निहुँमा संघीयता समाप्त पार्न खोज्नु राष्ट्रिय अखण्डतामा प्रहार गर्नु हुनेछ । त्यसो त सबै पार्टीका सबै नेताको चर्को आलोचना भएको छ । तिनीहरूको रहनसहन र जीवनशैली हेर्दा भ्रष्ट, अनैतिक र गैरजिम्मेवार पनि देखिन्छन् । त्यसो भए अब पार्टीमै प्रतिबन्ध लगाउने ? स्वदेशी हावापानी, माटो सुहाउँदो ‘पञ्चायतका प्रेत ’  कति खुसी हुन्थ्यो होला ?

समाज अगाडि बढ्दा औडाहा

धर्मनिरपेक्षतामाथिको आक्रमण त झन् चर्को छ र धेरै अलमलिएका छन् । ‘हिन्दु राज्य’ कायम गर्नुपर्छ भन्नेहरूमध्ये धेरै थाहा नपाएरै र केही जानीबुझीकनै धर्मनिरपेक्षताले नेपालबाट सनातन धर्मको अस्तित्व समाप्त हुन्छ भन्ने ठान्दा रहेछन् । उनीहरूलाई के थाहा धर्मनिरपेक्षताकाे विरोधका लागि अगाडि सारिएको  ‘हिन्दु राज्य’को गन्तव्य अन्ततः हिन्दु अधिराज्य नै हो ।

अर्थात्, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता नेपालकाे संविधानमा रहेका प्रगतिशील विशेषताकाे विरोध गर्नेहरू मूलतः एउटै थैलीका चट्टाबट्टा हुन् । भन्न नसकेरमात्रै हो उनीहरूलाई सबैभन्दा बढी मन नपर्ने त लोकतन्त्र नै हो । अनि, जनताका छाेराले बनाएको संविधान नै तिनलाई पचेको छैन ।  

ताबेदारका सन्तानको छटपटी

यथार्थमा शाहहरूसँगै बाहिरबाट काठमाडौं भित्रिएका सैनिक र भारदारका सन्तानलाई राणा शासन हटाइएकोमा राणाहरूलाई भन्दा पनि बढी असन्तुष्टि थियो । ‘खुकुरीदल’ त्यसैको प्रतिनिधि उदाहरण हो । पञ्चायतमा उनीहरू धेरैको पञ्च वा कर्मचारीका रूपमा एकलौटी हैकम थियो ।

तर, २००७ देखि सुरु भएको शासनमा जनताको पहुँच २०४६ र ६३ पछि निकै व्यापक भयो । अहिलेको ती सामन्तका ताबेदार र तिनका सन्तानको छटपटी कहिले कुनै त कहिले कुनै नाममा प्रकट भइरहेको देखिन्छ । 

गौर गर्नेहो भने स्पष्टै देखिन्छ - धर्मनिरेक्षता, गणतन्त्र र संघीयताको विरोध गर्ने अनुहार एउटै वा उस्तै छ । गोर्खामा राजावादीले निकालेको जुलुसमा धर्मनिरपेक्षता र गणतन्त्रका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन (अमेरिकी अनुदान सहयोग)को पनि विरोधमा नारा लागेको समाचार छ ।

आफ्नो यो लोकतन्त्र विरोधी अनुहार लुकाउन उनीहरू अरूलाई विदेशीको दलाल, देशबेचुवा भनिदिन्छन् । तिनका आँखाले २००७ देखि नै नेपाली जनताले गरेको क्रान्ति, आन्दोलन सबै विदेशीको इसारामा भएका देख्छन् ।
र अन्त्यमा

महाकवि देवकोटाको घर भत्काउनेदेखि सुँगुर आदि इत्यादिको स्मारक, भ्युटावर बनाउन  राज्यको सम्पत्ति खर्च गर्ने मूर्खतापूर्ण बदमासी र बेइमानीका लागि निर्णयकर्ताबाट भरताल गराउने परिपाटी आवश्यक देखियो । नत्र यी द्रव्यपिचासहरूले कुनै दिन स्वयम्भू, पशुपति वा कृष्णमन्दिर पनि ‘सपिङ कम्प्लेक्स’ बनाउन भन्दै भत्काइदिनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro