site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कर्णालीकी छोरी !

भर्खरै रात्रिबस चढेँ । नेपालगन्जबाट नारायणगढ जान भनेर साँझ ७ बजेको बस चढेको हुँ । खाली सिटको झ्यालपट्टि बसेँ ।

केही समयपछि ट्राउजर, भेस्ट र जुत्ता लगाएकी, कपाल काटेर अलिक छोटो पारेकी १६/१७ वर्षजतिकी यौटी पातली किशोरी मेरो छेउमा बस्न आइपुगिन् । उनले लेडिजसँग सिट नमिलाइदिएकोमा केही बेर कन्डक्टरसित गनगन गरिन् ।

कोरोनाको बेला एक त गाडी पाउनै मुस्किल ! कन्डक्टरले रोजीछाडी सिट कता मिलाओस् ! बरु, उसले मलाई झ्यालको सिट छोडिदिएर छेउमा बसिदिन अनुरोध गर्यो । 
“झ्यालको सिट भनेर मसित तेत्रो भाडा लिएको होइन ?” मैले प्रतिवाद गरेँ । 
अनि ती किशोरीतिर हेर्दै सोधेँ, “तिमी सुनकलीजस्तै भलिबल खेलाडी हौ कि क्या हो ?”

Dabur Nepal

उनको ड्रेस खेलाडीको जस्तै भएकाले मेरो दिमागमा त्यस्तो कुरा आएको थियो ।
तर, उनले बडो आत्मविश्वाससाथ भनिन्, “हैन । म पूर्णिमा हमालजस्तै फुटबल खेलाडी पो बन्न खोज्दै छुु ।” 
वाह ! कस्तो आत्मविश्वास भएकी केटी रै’छिन् ! ती किशोरीका बारेमा जान्ने जिज्ञासा जागेर आयो ।

“तपार्इंले भनेर होइन, यो नानीको मुख हेरर म सिट छोड्दै छु” भनेर कन्डक्टरलाई हकार्दै ती किशोरीलाई मैले झ्यालपट्टिको सिट छोडिदिएँ ।
उनी सिटमा बसेको केही बेरपछि गाडी गुड्न थाल्यो ।

किशोरी सायद धेरै थाकेकी थिइन् । गाडी हिँड्नेबित्तिकै भुसुक्क निदाइन् !
के काम परेर हो, एक घण्टाजतिमा गाडी रोकियो । किशोरी पनि ब्युँझिइन् ।

“निद्रा पुग्यो ?” मैले सोधेँ ।
कुराकानीका क्रममा थाहा लाग्यो, ती किशोरी कर्णालीको कुनै विकट जिल्लाकी रहिछन् । नेपालगन्ज आउन त्यसै दिन बिहान घरबाट हिँडेकी । लगभग ६÷७ घण्टा हिँडेर छिमेकी जिल्लाको विमानस्थल पुगेर हवाईजहाज चढी नेपालगन्ज ओर्लेकी रै’छिन् ! 
त्यसपछिको यात्रा नाइट गाडीमा रहेछ ।

घरदेखिको यात्रामा उनले पिठ्युँमा यौटा र हातमा यौटा गह्रौँ झोला पनि बोक्नु परेको रहेछ । त्यसैले उनी थाकेर लखतरान भएकी रहिछन् । अनि त गाडीमा बस्नासाथै निद्राले छोपेको रहेछ !
मलाई उनका बारेमा थप जान्ने इच्छा भयो ।
उनी बताउन थालिन् ।

उनी काठमाडौंकोे राम्रै नाम चलेको उच्च माविमा १२ कक्षा पढ्दी रहिछन् । लकडाउन सुरु भएपछि घर गएकी, १२ को परीक्षा हुने भएकोले काठमाडौं जान लागेकी रै’छिन् ।

उनकी आमा आफैँ पनि एउटा निजी प्राथमिक विद्यालयको प्रिन्सिपल रहिछन् । उनको बाबाको भने जागिर रहेनछ । कृषि र समाजसेवामा लागेका रहेछन् । उनका दाइ भने विदेशतिर गएका रहेछन् । 
उनको घरको आम्दानीको स्रोत आमाको जागिर र दाइले पठाउने गरेको अलि–अलि पैसा नै रहेछ ।

“मेरो पढाइका लागि बाबा–ममीले कत्रो दुःखजिलो गर्नुभा’को छ । ममाथि यत्रो खर्च गर्नुभा’को छ ।” यति भन्दै उनले लामो सास फेरिन् ।

६ कक्षासम्म आमाले पढाउने स्कुल र १० कक्षासम्म गाउँकै विद्यालयमा पढेकी उनी ११ पढ्न भने काठमाडौं गएकी रहिछन् । उनी १० कक्षासम्म सधैँ पहिलो हुन्थिन् रे ।

“११ क्लासबाट भने सहरका विद्यार्थीसित छु । म दुर्गम गाउँको सरकारी स्कुल पढेकीले तिनलाई कसरी जित्न सकुँला र !” उनले मन खोलिन् । 
“११ क्लास जिल्लामै वा नेपालगन्जमा पढ्न मन लागेन ?” मैले सोधेँ ।
“गाउँमा राम्रो स्कुल नै छैन । अंग्रेजी त नेपाली स्टाइलमा बोलेर पढाउँछन् ! अनि कसरी अंग्रेजी भाषा सिक्नु । अरू विषय पनि तेस्तै हो ! राम्रोसित पढाउन सक्ने टिचर त हाम्रो ठाउँमा को आउँथ्यो र अंकल...।” खेद प्रकट गरेको भाकामा उनले भनिन् ।

नेपालगन्जमा चाहिँ धेरै गर्मी हुने भएकोले उसलाई मनै पर्दैन रे । जिउमा घमौरा आएर हैरान बनाउँछ रे !

उनको नजिकका आफन्त इन्जिनियर काठमाडौंमा घर बनाएर बसेका रहेछन् । सुरुमा त उनी तिनकै घरमा बसेर पढ्न थालिछन् । 
“तर, म पढ्न बसेकीलाई पनि खाली काम अह्राउँथे ! म पढ्नु कि काम गर्नु अंकल ? त्यही भएर कलेजकै होस्टेलमा बस्न थालेँ ।” उनले बताइन् ।

मैले उनको होस्टेल बस्दाको दिनचर्या जान्न चाहेँ । 
“ठिकै छ अंकल । काम गर्नु पर्दैन । गाउँमा जस्तो २÷३ घण्टा हिँडेर पढ्न जानु पर्दैन । गाउँमा जस्तो अँध्यारो हुँदैन । पढ्न चाहनेलाई पढ्ने वातावरण छ ।” उनले सुनाइन् ।

ममा अझै चासो बढ्दै थियो ।
“‘तिमी त कस्ती टाठी रहिछौ । भविष्यमा के बन्ने विचार छ त तिम्रो ?” सोधेँ ।
“मलाई त ममी–बाबाले डाक्टर हुनुपर्छ भन्नुभा’को थियो, तर मलाई त्यो लाइन त मनै पर्दैन । त्यही भएर म्यानेजमेन्ट पढेकी । १२ सकेर आईएलटीएस गर्ने र विदेशतिर जाने विचार छ ।”
“भनेपछि, तिमी पनि विदेश पलायन हुने ?”
“नाई अंकल, म त बिजनेस एक्सपर्ट बनेर देशमै फर्किने । अनि, कर्नालीमा बिजनेस डेभलप गरेर कर्नालीका सब बेरोजगारहरूलाई रोजगारी दिने हो ।”
उत्तर सुनेर उनको अनुहारतिर हेरेँ, त्यो अन्धकारमा पनि उनको अनुहारमा चम्किलो आभा देखिन्थ्यो । त्यहाँ झुट र बनावटी कुरा अलिकति पनि थिएन ।

मैले प्रसंग मोड्दै भनेँ, “अनि, होस्टेलमा साथीहरूसँग रमाइलो हुन्छ ?”
“रमाइलो हुने त मोबाइलले हो । तर, मोबाइल त हामीबाट लिएर अफिसमा राख्दिन्छ ! बिदाको दिन ४ घण्टा मात्रै दिन्छ वाईफाई जोडेर । अनि, एक्जाम सकेको दिनचाहिँ गर्ल्स होस्टेलका सबै मिलेर रमाइलो गर्छम् । गार्डेन नै भत्किने गरेर नाच्छम्, डीआईले पनि केही गर्दैन त्यस्तो बेला !” सुनाउँदै उनी मज्जाले हाँसिन् ।

उनीसितै कोठामा उनकै छिमेकी जिल्लाकी उनीभन्दा २÷३ वर्ष जेठी साथी बस्दी रै’छन्् । 
उनले सुनाइन्, “यौटा केटासित लभ गर्छे त्यो मोरी । लुकीलुकी त्यो केटासित फोनमा झुन्डिराख्छे ! बाउ–आमाले कति दुःख गरेर पढ्न पठा’का छन् । मोरीलाई भने त्यो केटोसित बोलिराख्न पाए पुग्छ ! लभ पनि कस्तो परेको हो कुनि । म त दंग पर्छु त अंकल ।” उसको हाँसो रोकिएको थिएन ।

“अनि, तिमीचाहिँ के सोच्छ्यौ नि !” सायद, मैले थप अरू पनि जान्न चाहेँ ।
“म त पहिले आफ्नो करियर बनाउँछु । आफ्नै खुट्टामा उभिन्छु अंकल । अनि, यौटा इमानदार केटो खोजेर लभ र बिहे सबै एकैपटक गर्छु । अहिले नै लभसबको चक्करमा लागेर के गर्नु ।” यसपटक उनको बोलीमा गम्भीरता थियो ।

मैले कुरो मोडेँ, “तिम्रो गाउँ रमाइलो कि काठमाडौं ?” 
“ठाउँ त स्वर्ग छ नि हाम्रो गाउँठाउँ ! काठमाडौं त फोहोरको डुंगुर हो ! हाम्रो गाउँका मान्छे फट्याइँ जान्दैनन् । काठमाडौंमा सफा मन भएका मान्छे कहाँ पाउनु ! मेरो गाउँमा यस्तै शिक्षाको सुविधा भएको भए को आउँथ्यो र काठमाडौं ।”
यति भन्दै उनले थपिन्, “शिक्षाको व्यवस्था नभएरै त होला, हाम्रो गाउँघरका केटी सानै उमेरमा बालविवाह गर्छन् । बिहे गर्दा कतिको त महिनावारी नै भएको हुन्न ! बच्चैमा बिहे गरेर ५÷७ वटा सन्तान पाउँछन् । अनि, पाठेघर खसेर चाँडै रोगी हुन्छन् र बूढी देखिन्छन् । कोही सुत्केरी हुन नसकेर अकालमै मर्छन् ।”

मैले सोधेँ, “अनि, तिमीलाई अरू साथीले जस्तै बालविवाह गर्ने दबाब आएन ?”
“म त अलिक जिद्दी छु नि अंकल ! म त बाबा–आमाको कुरा टेर्दै टेर्दिनँ । त्यस्ता अल्लारे साथीसित लागेर बालविवाह गर्छु र ? तर, थाहा छ अंकल, अन्तिममा मेरै कुरा सही साबित हुन्छ । त्यो भएर जति रिस उठे पनि मैले भनेको कुरा काट्नु हुन्न बाबा–ममीले ।” 
कुरा गर्दागर्दै म कति बेला निदाएछु, पत्तै भएन । 

दाङको मौरीघाटमा पुगेर रोकिएको गाडीको खलासीले ‘लौ है, खाना खाने ठाउँ आया । खाना खान झर्नोस्,’ भन्ने सूचना जारी गर्दाको आवाजसँगै म ब्युँझिएँ ।
ती नानी निदाइरहेकी थिइन् ।

मैले “नानी, खाना खाने बेला भयो, उठ...” भन्दै उनलाई नपर्खी झरेँ । 
मैले खाना खाइसक्दा पनि उनी आइनन् ! किन आइनन् ? कता गइन् कुन्नि ? खाना खाने होटेल त त्यहाँ त्यत्ति यौटा मात्रै थियो ।

ड्राइभरले गाडी स्टार्ट गरेपछि म मेरो सिटमा फर्किएँ । ती नानी उठेर बसेकी रै’छिन् ।  
“नानी, खाना खान नगा’को ?” मैले सोधेँ ।
“हैन अंकल, मैले चाउचाउ किनेकी छु । त्यही खाने हो ।” उनले यौटा चाउचाउ देखाइन् ।

“तिमीलाई भोक लागेको छैन ? त्यति जाबो यौटा चाउचाउले पुग्छ र ? दिउँसो गाडी चढ्नुपहिले पनि केही खाएकी थियौ कि ?”
“हजुर । बिहान घरबाट हिँड्ने बेलामै नास्ता खा’की थिएँ । त्यसमाथि गाडीमा मलाई केही खानै मन लाग्दैन ।”
“हैट ! बिहान ७ बजे खाएको नास्ताले अहिले रातको १२ बजेसम्म धान्छ त ? त्यहाँमाथि तेत्रा झोलाहरू बोकेर हिँडेकी ।” मैले हकारेझैँ गरेँ ।
त्यतिविधि पतरपतर बोल्ने केटी, अहिले भने चुप भइन् !
मैले हतारहतार तल झरेर यौटा फ्रुटी र एक बोतल पानी ल्याइदिएँ । उनले पानीको बोतल खोलेर झ्यालबाटै हात धोइन् । अनि, चाउचाउ फोरेर खाँदै फ्रुटीले निल्न थालिन् ।

बिहान १० बजे भात खाएको, दिनभर कुर्सीमा बसेर ५ बजे टन्न खाजा खाएको मैले अहिले फेरि थालभरिको भात खाएको थिएँ । 
दुई सय रुपियाँको लोभ नगरी उसलाई सँगै लगेर खाना नखुवाएकोमा मलाई पश्चात्ताप भयो । ग्लानिले म मरेतुल्य भएँ ! लाजले मैले उनको अनुहार हेर्न सकिनँ !

गाडी हिँड्यो । हामी चुपचाप भयौँ ।

मैले एकपटक कतै पढेको थिएँ, ‘कर्णालीका यी पहाडहरू जियाला छन् । र त यहाँका मानिसहरू पनि जियाला छन् । यस्तो दुःखमा पनि सहजै बाँचिदिन्छन् ।’

तब न यो छोरी पनि जियाली छिन् । आँटिली छिन् । यस्तो दुःखसास्ती खेपेर पनि त्यति पर जाँदै छिन्, आफ्नो भविष्य सुनौलो बनाउन ।

साँच्ची ! यस्ती छोरी पाउनु कर्णालीका लागि गौरवको कुरा हो । एक दिन अवश्य यी छोरी आफ्नो लक्षमा सफल हुनेछिन् । यिनी समस्त कर्णालीकै उज्याली छोरी हुन् । हो, जसले एक दिन सम्पूर्ण कर्णालीमा उज्यालो छर्नेछिन् ।

सोच्दा–सोच्दै म पनि निदाएछु ।

बिहान उज्यालो हुनलाग्दा म झर्ने ठाउँ नारायणगढ आइपुग्यो । गाडीभित्र बत्ती बल्यो । हेरेँ, ती नानी निदाइरहेकी थिइन् । 
मैले उनको निद्रा बिथोल्न चाहिनँ । निदाइरहेकी उनलाई हेर्दै विस्तारै ‘शुभयात्रा छोरी । तिम्रो सपना साकार होस्’ भन्दै फुस्फुसाएँ । अनि, गाडीबाट झरेँ । 

(चितवन)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro