दाङ । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएकी छन् । गएको सोमबार आफू नेकपा (एमाले)मा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी थिइन् ।
बुधबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मोबाइलमा सन्देश पठाएर वलीले आफू माओवादीमै रहेको बताएकी छन् । प्रदेशसभा सदस्य इन्द्रजित चौधरीका अनुसार केसीलाई मोबाइलमा म्यासेज गरेर वलीले आफू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएकी हुन् ।
पति उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको स्थानमा विमला विजयी भएकी थिइन् । गएको मंसिरमा भएको उपनिर्वाचनमा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर–३ (ख) बाट निर्वाचित भएकी हुन् ।