
कथा
कमला रिसाल
रातको १२ बजेको हुन्छ । निद्रा पटक्क लाग्दैन ! यताउति फर्किन्छे । पीडाको भारी बोकेर निदाउन सक्दिन । प्रेम जो गरेकी थिई, सजाय त पाउनु नै थियो ।
मिर्मिरे बिहानीमा झुल्किएको घाम होस् या पुषे कुहिरो, चैतको हुरी–बतास होस् या साउनको झरी या होस् मनको तरेली, कुन ठाउँमा कहाँ छैन ऊ ? अनि, बिर्सनुु पनि कसरी ?
कसैलाई अत्यधिक माया गर्नु पनि आफैँलाई पीडा दिनुरहेछ । नजरसामु एउटा रूप र बाहिर अर्को । कति गाह्रो हुन्छ मान्छे चिन्न । भित्तामा राखेको घडीलाई हेर्छे । समय निकै ढल्किसकेको हुन्छ ।
आँखा चिम्लेर निदाउने कोसिस गर्दा मनभित्रको अशान्तिले कहाँ निन्द्रा पर्थ्यो । जुरुक्क उठेर थर्मसको पानी गिलासमा खन्याउँदै पिउँछे । गिलासलाई टेबलमा राखेर बेडमा पल्टिन्छे ।
मन भारी भएर आउँछ । ऊसँग बिताएका पलहरूले झस्काइरहेको थियो । निद्राबाट ब्युँझाइरहेको थियो । कस्तो माया लगाउन पुगेछु सम्झिँदा पनि पीडा बिर्सिदा पनि पीडा ! सिरानीमा घोप्टो पर्दै रुन्छे करुणा ।
‘किन रोइरहेकी तिमी ?’ त्यो बन्द कोठामा कसैको आवाज सुन्नासाथै झस्किएर उठ्छे । यताउति हेर्छे । कोही देख्दिन र फेरि ओछ्यानमै पल्टिन्छे । मनमा राम्रा–नराम्रा अनेक कुराले डेरा जन्माउँछ ।
तिम्रो र मेरो दूरी धेरै टाढा थिएन । मात्र तिमी टाढा भयौ । तिमी र म हिँडेका गल्लीहरू उस्तै छन् । हामीसँगै मिलेर माछालाई दाना दिएको पोखरी उस्तै छ । तिम्रो काँधलाई सिरानी बनाई लामो यात्रामा हेर्दै हिँडेका सलल्ल बग्ने नदी सुकेका छैनन् ।
ती डाँडा–काँडा हरियाली रूखका पातहरू पतझर भई झरेका छैनन् । सबै उस्तै छन् । बदलिएको केही छैन । मात्र तिमी बदलियौ ! तिम्रो मन बदलियो !
तिमीलाई भेट्दा अथाह खुसी मिल्थ्यो । तिमीलाई देख्दा यो मन एकाग्र भई पूर्णता मिल्थ्यो । त्यो बेला तिमी पनि जिस्किँदै, मायाका मिठा–मिठा कुरा गर्दै, शिरदेखि पाउसम्म चुम्दै, मेरा पैतलाका औँलाहरू सुम्सुमाउँदै, लाडिँदै मेरो अँगालोमा मात्तिन पुग्थ्यौ ।
प्रेमको महासागरमा त हामी दुवैले नै पौडी खेलेका थियौँ नि । फेरि, पीडा मात्र मलाई किन ? रुनुपर्ने म मात्रै किन ?
आफैँलाई भुलेर तिम्रो मायामा हराइसकेकी म ? माया साक्षात्कार त हुन सकेन । मेरो छाया पनि तिमीबाट हराउँदै गइसकेको थियो । म आफैँलाई तिमीभित्र खोज्न थालेँ । कता छु त, म तिम्रो आँखामा हेर्छु । सधैँदेखि नै मेरो छाया, मेरो त्यो माया अहँ पटक्क देख्दिनँ ।
तिम्रो छातीमा शिर अड्याएर तिम्रो धड्कनको चाल सुन्छु । मेरो श्वास अहँ पटक्क भेट्दिनँ ! अब मलाई थाहा भयो मेरो मायाको रङ पहिलाको जस्तो गाढा रहेनछ, उडिसकेछ, फिक्का भएछ ।
अनि त मैले तिमीलाई शंका गर्न थाले । बिनाशंका, बिनाईष्र्या मायाको के नै अर्थ रह्यो र ? जहाँ माया हुन्छ, त्यहाँ शंका त पक्कै पनि हुन्छ । शंका गर्ने बाटो त तिमीले नै बनाएका थियौ । फेरि, दोषजति मलाई मात्र किन ?
झ्यालबाट खुला आकाशमा छरिएका ताराहरूको माझमा टल्पलाउँदो एक्लो जूनसँग प्रश्न गर्दै मन बहलाउन खोज्छे । टुटेको तारासँग केही मागे इच्छा पूरा हुने आशमा आँखा नझिम्काई एकोहोरो हेरिरहन्छे ।
शून्य आकाशमा छरिएका ताराहरू, टुटेका ताराझैँ उसको मन पनि टुटेको छ । झुटो प्रेमकोे तितो यथार्थमा समुद्रको छालझैँ उथलपुथल त्यो मनलाई सम्हाल्ने चेष्टा गर्छे, करुणा ।
तिमीलाई पाएर म धेरै खुसी छु । यति धेरै माया दिने छु कि तिमीले तिम्रो हरेक दुःखहरू बिर्सने छौ, तिमी यसै भन्थ्यौ होइन ? तिमीले भन्दा पनि म धेरै माया गर्छु भन्नेले आज अथाह पीडा दिएर आफू हाँस्न, रमाउन कसरी सकेको ? पुरुष जो पर्यौ तिमी !
बरर्र आँसु खसाल्छे ।
कति रोइरहेकी ? किन रोइरहेकी ? त्यही आवाज, त्यही प्रश्न दोहोरिँदा अब भने करुणाको मन डराउँछ । यो बन्द कोठामा मबाहेक अरू कोही छैन । फेरि, यो आवाज कस्को हुनसक्छ ? सोचाइमा पर्छे । अन्योलमा पर्छे । मनको ढुकढुकी अनायसै बढ्छ । हात–खुट्टा काप्न थाल्छ । म पनि के भएकी, भ्रम पनि त हुनसक्छ ।
शिरानीलाई काखमा राख्दै मनलाई सम्हाल्छे ।
भ्रम होइन, यो सत्य हो । फेरि, एकपटक झस्किन्छे । जुरुक्क उठेर चारैतिर नजर घुमाउँछे । केही नदेखेपछि खाटमा थचक्क बस्छे ।
‘म त तिम्रै काखमा छु । दिन–रातको साथी तिम्रै भिजेको सिरानी ।’
‘यो कसरी हुनसक्छ ? तिमी त निर्जीव वस्तु ।’ उत्सुकताका साथ सिरानीलाई हेर्दै करुणाले प्रश्न गर्छे ।
‘किन हुन सक्दैन ? तिमीले रोपेका बोट–बिरुवा निर्जीव होइन र ? कति माया लाग्छ त्यो बोट–बिरुवाको ? कति स्याहारसुसार गछ्र्यौ ? तिम्रै माया पाएर त्यो हुर्कंदै जान्छ । तिमीले माया गछ्र्यौ र त तिम्रो घर–आँगन हराभरा छ । करुणा ! तिमीलाई थाहा छ ? हरेक रात मलाई अंगालो हालेर मेरो छातीमा शिर राखेर तिमी निदाउँछ्यौ । माया गछ्र्यौ । अनि, मलाई तिम्रो माया लाग्दैन र ? तिम्रो पीडा म बुझ्दिनँ र ! तिम्रो पीडा देखेर मलाई असह्यै भइसक्यो । भन त, तिमी के कारणले दुःखी छौ ?’
‘मलाई मेरो दुःखमा एक्लै रमाउन देऊ । मेरो दुःखमा तिमी पनि दुःखी हुन किन चाहन्छौ ?’ करुणा फेरि प्रश्न गर्छे ।
‘मनमा जति कुरा गुम्सायो त्यति पीडा दिनु हो । दुःख बाँड्दा मन हल्का हुन्छ । तिम्रो घाउलाई निको पार्न नसके पनि दुखाइ कम गर्न त सक्छु नि ।’ सान्त्वना दिँदै भन्छ सिरानी ।
‘गाउँदेखि सहरसम्म, देशदेखि विदेशसम्मका भिडहरूमा हजारौँ मान्छे भेटिन्छन् । तीमध्येमा कोही प्यारो लाग्छ, मनमुटुमा बस्न पुग्छ । अरुण पनि हजारौँमा एक थियो, जो मेरो मनमुटुमा बसेको थियो । मेरो मनलाई छोएको थियो । एउटा प्रेमीले प्रेमिकालाई पाउन कति रिझाउनुपर्छ । मन जित्न सक्नुपर्छ । मेरो मन जित्दै गएको थियो । एकार्काको मायामा चुर्लुम्म डुब्दै गएका थियौँ । तन, मन सबैबाट उसको भइसकेकी थिएँ । उसले पूर्ण रूपले पाइसकेको थियो । रेलको चक्का गुडेझैँ हाम्रो माया पनि गुड्दैगुड्दै गयो । दिन प्रतिदिन हाम्रो माया झांगिँदै गयो । हठात्, उसको मायामा बदलाव आउँछ । त्यसपछि मलाई शंका लाग्छ । यति धेरै माया दियो कि उसको मायामा नै शंका लाग्न थाल्यो । मैले सानो प्रसंग के मात्र उठाएकी थिएँ, सारा सम्बन्ध एक पलमै तोडिन पुग्छ । अरुणले मैले गरेको शंकालाई मात्रै देख्यो, त्यसभित्र लुकेका अनगिन्ती मायालाई कहिल्यै देख्न चाहेन । मलाई लाग्थ्यो– उसको खाली ठाउँमा मात्र म अटाएकी छु । मेरो मनले मलाई नै धोका दिइरहेको पत्तै भएन । ऊ त मबाट टाढा हुने बहाना खोज्दै थियो । आखिरीमा ढुंगा खोज्दा देउता मिलेजत्तिकै भयो उसलाई । उसका लागि शंका नै टाढा हुने माध्यम बन्यो ।’ टोलाउँदै भन्छे करुणा ।
‘त्यसै सिरानी भिजेको रहेनछ ! तिम्रो पीडालाई मैले पनि महसुस गरेको छु ।’ सान्त्वना दिन्छ सिरानी ।
‘बाहिरी घाउ सबैले देख्छ, तर भित्री घाउ जसलाई परेको छ, उसैलाई मात्र थाहा हुन्छ । चरित्र नभएको सम्बन्ध क्षणिक हुन्छ फितलो हुन्छ ।’ झोक्किँदै भन्छे ।
करुणाको आक्रोश देखेर सम्झाउँदै भन्छ, ‘भोलि प्रेम दिवस । जे–जस्तो भए पनि तिमीले माया गरेको मानिस, मनमन्दिरमा सजाएको व्यक्ति, टाढा नै हुनु छ भने पनि एकपटक भेटेर सल्लाहबाटै अलग हुनु ।’
‘म कुनै कुर्सीवाला होइन । मान, पद दिन सक्दिनँ । म धनाढ्य पनि होइन, चाहेअनुसार उपहार दिनलाई । एक थुँगा फूल किनेर दिने हैसियत पनि ममा छैन । के दिऊँ म ? खाली छु । रित्तो छु ।’ करुणा आफ्नो मनलाई रोक्न चाहेर पनि आँसुलाई रोक्न सक्दिन ।
‘फेरि आँसु बगायौ होइन ? कति स्वार्थी रहिछौ । आफ्नो मात्र सोच्ने । तिम्रो आँसुले म पनि निथ्रुक्क भिजेको छु । अनि, कसरी निदाउन सक्थेँ । तिमीजस्तै कयौँ रात म पनि अनिदो भएको छु । ल हेर ! यो बाल्टिनमा के छ तिमीलाई थाहा छ ?’ बाल्टिन देखाउँदै भन्छ भिजेको सिरानी ।
‘के छ यो बाल्टिनमा ? आँसु पुछ्दै प्रश्न गर्छे ।
‘जब म तिम्रो आँसुले निथ्रुक्क भिज्थेँ । म आफूलाई निचोरेर तिम्रा आँसुहरू बाल्टिनमा संगाल्ने गर्थे । त्यसैका प्रमाण हुन् ।’
यो देखेर चकित पर्छे करुणा ।
‘यो बाल्टिनको आँसु लगेर समुद्रमा बगाइदेऊ । त्यहाँबाट जे निस्किन्छ, त्यही उपहार तिम्रो प्रेमी अरुणलाई देऊ । योभन्दा ठूलो अमूल्य उपहार अरू के हुनसक्छ ?’
आज प्रेम दिवस । आजकै दिनको कल्पनामा हिजोको रात छर्लंङ कटाएकी थिई । आज खुसीले दंग परेकी छे । खुसी पनि किन नहोस्, आफूले माया गरेको प्रिय मान्छेलाई भेट्दै छे । मिर्मिरे उज्यालोेमा आकाशतिर हेर्दै मिठो गीत गुनगुनाउँछे । परेवाका दुई जोडी कौसीको डिलमा बसेर माया गरिरहेको देख्छे । यस्तै थियो हाम्रो माया पनि । कति माया गथ्र्यौँ ।
आजको दिन यिनीहरू पनि मायामा लिप्त छन् । कति स्वतन्त्र छ, यिनको माया ! न कुनै डर, न कुनै बाधा अड्चन, न पीडा ।
मुस्कुराउँदै कौसीबाट हतारहतार ओर्लिंदै आफ्नो कोठामा पस्छे । सिसाअगाडि उभिएर आफैँलाई नियालेर हेर्छे । कलेजी रङको कुर्था सुरुवालमा सेतो सल ओढ्दै छेउमा राखेको बाल्टिन हातमा लिएर समुद्रतर्फ लाग्छे ।
बाल्टिनमा भएको आँसु समुन्द्रमा बगाउँछे । बगाउनासाथै चम्किलो मोती निस्किन्छ । खुसी हुँदै मोतीलाई टप्प टिप्छे र पाइला अघि सार्छे ।
नदीझैँ बगेका ती आँसुहरू आज ठप्प रोकिएको छ । खुसीको सीमा नै छ्रैन । दंग परेकी छे । लोलाएका ती नयनले उसको प्रिय अरुणलाई हेर्नु छ । एकपटक उसको अँगालोमा लुटपुटिएर धेरै बेर रुनु छ । खुसीको आँसुले धमिलो मनलाई पखाल्नु छ ।
मनभरि सुनौलो सपना बोकेर अरुणलाई भेट्ने गन्तव्यतिर लाग्छे । बाटोभरि अरुणसँग बिताएका मिठा पल सम्झिँदै ऊ भएको ठाउँसम्म पुग्छे । खुसी हुँदै अरुणको ढोका खोल्छे ।
जे देख्छे, स्तब्ध हुन्छे । दुवै ओठ–ओठले स्पर्श गरिरहेका थिए । एउटै क्यानमा बियरको चुस्की लिँदै एकार्काको अंगालोमा मस्त थिए ! करुणालाई देख्नासाथ तीनैजना हेराहेर गर्छन् ।
असह्य हुन्छ करुणालाई । केही नबोली चुपचाप त्यहाँबाट निस्किन्छे । जसलाई अरुणको अंगालोमा देख्छे, अरू कोही नभएर समरिा थिई । देखिरहेको चिरपरिचित अनुहार । आखिरीमा जे शंका गरेकी थिई, त्यो सत्य नै थियो ।
मनमुटु नै चिसो भएर आउँछ, करुणाको । आँखाले जे देखे पनि मनले विश्वास अझै गरेको छैन । दोहोरो भूमिका निभाउन सिपालु मान्छेलाई चिनोस् पनि कसरी !
छिन–छिनमा आँसु बगाउने करुणा । अहँ, आज उसको आँखाबाट आँसु पटक्क बगेन । मुटुलाई दरिलो पारेर पाइला अघि सार्छे । त्यो सुनसान सडकमा आँखामा ती दृश्यहरू दोहोरिरहन्छन् । कुनै फिलिमका चलचित्रझैँ ।
तिम्रो प्रेमको अथाह सागरमा छाल बनि उछालिएकी म । तिम्रो मायाको ओत नै मेरो जीवनको रंगिन पल, सुखदायी क्षण ठानेकी । मेरो मौनता अनि एक्लोपनमा तिम्रो उपस्थितिले तिमीप्रति विश्वासको दरिलो खम्बा गाडेकी ।
आज सबै काँचका टुक्राझैँ भुइँभरि छताछुल्ल छरियो । तिमीप्रतिको बेहिसाब मायालाई दिलको मझेरीमा कुञ्ज बनाई शिरीषको फूलले पुजेकी थिएँ । तर, आज न कुञ्ज रह्यो न शिरीषको पूmल नै !
तिमीसँग बिताएका ती साँझहरू तिम्रो छातीमा टाउको राखेर छुट्टिँदाको कल्पना गर्दै बगाएका आँसुहरूलाई तिम्रो कोमल हातले पुछिदिँदै, तिम्रो स्पर्शको न्यानोपन, स्मृतिका मिठा पलहरू मेरो मनको क्यानभासमा सजाएर राखेको रंगिन चित्रहरू, मेरा पाइला सार्दै जाँदा ती पनि सबै मेटिँदै गए ।
ऊ आफैँसँग मौन संवाद गर्दै घर पुग्छे । ओछ्यानमा बर्लंङ पल्टिन्छे । कुनै घाइते मानिस लडेझैँ !
‘कस्तो भयो तिम्रो प्रेम दिवस ?’ खुसी हुँदै सोध्छ भिजेको सिरानी ।
‘एक थुँगा गुलाफको फूल अनि मोतीको दाना लिएर पागलसरी खुसी साट्न, मेरो शरीरभन्दा पनि मन दौडिएको थियो । मनसँगै दौडिएकी थिएँ म पनि । त्यहाँ पुगेपछि जिन्दगीको बाटो नै मोडियो । सोच नै बदलियो । नदीको बेगझैँ उसलाई भेट्न कुदेको यो मन ठप्प रोकियो । मेरा आँखाले देखेका स्वप्निल सपना, सपनामा सीमित रहे । मेरा अंग–अंगमा गुञ्जिएका मिठा प्रेमगीतका धुनहरू कुनै चट्टानमा ठोक्किएको ध्वनिझैँ बिलाउँदै गए । आजको प्रेम दिवस मेरो चुनौतीपूर्ण रह्यो ।’
आँखामा छल्किएका आँसु लुकाउँदै फिस्स हाँस्दै सबै घटना सुनाउँछे ऊ, भिजेको सिरानीलाई ।
‘जे भयो राम्रो भयो । हिजोसम्म तिम्रो आँखामा बादल लागेको थियो । आज छर्लंङ भएछ । आकाश खुलेझैँ । न कुनै उदासी, न आँखामा आँसु । हिजोको करुणालाई परै छोडेर आइछ्यौ । खुसी लाग्यो । तिमीलाई भेट्न पठाउनु नै मेरो गल्ती थियो । तर, सत्य त थाहा भयो नि ।’
‘एउटा निर्जीव वस्तुको, एक छिन देखेका पशुपक्षिको त माया लाग्छ भने ऊ त मैले माया गरेको, दिलमा बसेको प्रिय मान्छे थियो । कति माया गरेँ हँुला ! कति डुबेँ हँुला ! त्यसैले त आज मलाई यो पीडा सहन गाह्रो भयो । कति गाह्रो भयो, त्यो मलाई नै थाहा छ ।’
‘तिम्रो चोखो निःस्वार्थ मायालाई चिन्न सकेन । आँसु त सबैका बग्छन्, तर सबै आँसु मोती हुँदैनन् । तिम्रो आँसुको महत्त्व बुझ्न सकेन । तिम्रो माया, तिम्रो आँसु त्यति सस्तो होइन । तिमीले त्यस्तो मानिसका लागि आँसु बगायौ, जो तिम्रो लायक नै थिएन ! आँसु, पीडा त्यस्तो व्यक्तिले मात्र बुझ्छ, महसुस गर्छ, जसले निःस्वार्थ भावनाले साँच्चैको माया गरेको हुन्छ । प्रत्येक रात तिम्रो आँसुले सिरानी भिज्दा, तिमी पीडाले छटपटिँदा कहिल्यै बुझ्ने कोसिस गर्यो ? कहिल्यै पछि फर्केर हेर्यो ? पीडा त उसैले दिएको हो नि । पीडामा तिमी पर्यौ । ऊ त अरूमा रमाउँदै हिँड्यो । तिमीलाई देखाउँदै हिँड्यो । पीडामाथि पीडा दियो । त्यस्तो पापी, निर्दयी मन नै नभएको दुष्ट व्यक्तिलाई सम्झेर आफू दुःखी हुनु भनेकै तिमी मूर्ख हुनु हो । माया गर त्यस्तो व्यक्तिलार्ई जो बौद्धिक होस् । मात्र माया होस् । स्वार्थ, छलकपट नहोस् । तिमीलाई बुझोस् । तिम्रो मायाको, भावनाको कदर गरोस् । सुख र दुःखमा केही दिन नसके पनि तिमीलाई देख्दा कस्तो छ भनेर सोध्न सकोस् । साथ पाउनैपर्छ भन्ने छ्रैन । प्रेम सफल हुनैपर्छ भन्ने छैन । टाढा भएर पनि सम्झिएर खुसी हुन सकोस् । हीर–राँझा, लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन असफल प्रेमका सफल जोडीहरू हुन् । यिनीहरूका प्रेमकथा सुन्दा आङ सिरिंङ भएर आउँछ । तिम्रो मायाको त के कुरा, घृणाको लायक पनि रहेनछ !’ भिजेको सिरानीले सान्त्वना दियो ।
‘म पनि चाहन्थे प्रेम त्यस्तो उदाहरण बनोस् । गुमाउँदा पनि पाएको महसुस होस् । उसँग बिताएका मिठा पलहरूको सम्झनामा रमाउन सकूँ । उसलाई देख्दा गर्व गर्न सकूँ । कुनै दिन ऊ मेरो प्रेमी थियो, माया गरेको मान्छे पो त ! तर, आज उसलाई देख्दा मन पिरो भएर आउँछ । उसको प्रेम प्रस्तावलाई स्वीकार्नु नै मेरो ठूलो भुल थियो ।’ चियाको कप टेबलमा राख्दै मनको कुरा पोख्छे ऊ, भिजेको सिरानीलाई ।
‘आफ्नो स्वार्थ सिद्धिका लागि अरूलाई उपभोग गर्ने मान्छे केही पल सुखी त रहला, तर जीवनभर खुसी रहन सक्दैन । सबै कुरा भुलेर अघि बढ्नु छ तिमीलाई । त्यो तिम्रो अतीत थियो । अतीतलाई भुलेर वर्तमानमा रमाउन सिक ।’ हौसला दिँदै भन्छ भिजेको सिरानी ।
हरेकको अतीत हुन्छ । अतीतबाट जति टाढा भाग्न खोजे पनि छाया बनेर सँगसँगै हिँडेको हुन्छ । यो सत्य हो । अतीतबाट टाढा भाग्न सक्दैन । फरक मात्र यति हो, कुनै मिठा हुन्छन् । कुनै अतीत तिता हुन्छन् ।
ऊप्रतिको अपार माया मेरा प्रत्येक आँसुका थोपाबाट निस्केका मोतीका दानाजस्तै थियो । अमूल्य, अनमोल । रंगमञ्चमा रंगिन खोज्ने कुनै फूल देखे भमरा बनि चुस्न खोज्नेका लागि माया मात्र एउटा खेल लाग्छ ।
माया–प्रेम प्रकृतिले दिएको सुन्दर उपहार हो । नदीमा डुब्नेलाई समुद्रको गहिराइ के थाहा ? म सोच्थेँ– माया कहिल्यै नसुक्ने शान्त सागर हो । तर, मैले बिर्सेछु । त्यही सागरमा डरलाग्दो सुनामी पनि आउँछ भनेर । हो ! मेरो मायामा पनि सुनामी आएकै हो । प्रेमको पवित्र मन्दिरमा ढुंगा प्रहार भएकै हो ।
समय कति चाडै बितेछ । आज प्रेम दिवस, बिछोड भएको पनि एक वर्ष पुगेछ । कसरी भुल्न सक्थी त्यो कालो दिन । तितो यथार्थ । कसरी भुल्न सक्थी पीडाले छटपटिएका ती रातहरू । अनि, निथ्रुक्क भिजेको त्यो सिरानी ।
तर, ऊ आज खुसी छे । समयसँगसँगै आफू पनि परिवर्तन भइसकेकी छे ।
समय त उस्तै नै छ अरुणका लागि पनि । हातमा एक थुंगा फूल लिएर समिरालाई भेट्न जान्छ ।
ढक... ढक...! ढोकामा हान्छ ।
धेरैपछि ढोका खोल्छे समिरा ।
हातमा रातो गुलाफको फूल लिएर ढोकामा उभिरहेको हुन्छ ऊ ।
‘ह्याप्पी भ्यालेन्टाइन डे, डियर !’ फूल दिँदै प्रसन्न मुद्रामा भन्छ अरुण ।
‘अब तिम्रो र मेरो त्यो सम्बन्ध रहेन । अब यो फूलको पनि कुनै अर्थ छैन ।’ झर्किंदै जवाफ दिन्छे समिरा ।
‘के भन्दै छौ तिमी ? आजको दिन बिर्सेको ? किन मजाक गर्दै छौ ?’ हाँस्दै भन्छ अरुण ।
‘बिर्सनका लागि सम्झिनपर्छ । फेरि, मैले सम्झेको नै कहा थिएँ र ? तिमीलाई मजाक लाग्यो होला । यो मजाक होइन । मेरो लागि साँचो हो र सत्य भन्दै छु ।’ रुष्ट हुँदै भन्छे समिरा ।
‘किन यस्तो कुरा गर्दै छौ ? के भयो तिमीलाई ? किन रिसाएकी ? गएको वर्ष हामी एकार्कालाई माया गर्दै कति रमाएका थियौँ । आजकै दिन स्मरण गर न । प्लीज ! हाम्रो प्रेमलाई बुझ न । के तिमीलाई मेरो माया फिल हुँदैन र ? म तिमीलाई धेरै माया गर्छु ।’
‘तिमी कसैको हुनै सक्दैनौ । न त तिमीले कसैको मायालाई फिल नै गर्न सक्छौ । तिम्रो कमजोरी नै तिमीभित्रको चरित्र हो । तिम्रो मन, माया स्थिर रहन सक्दैन । जता पनि होमिन सक्छ । तिम्रो मिठो बोलीमा र तिमीले कसैको प्रशंसा गर्दैमा तिमीप्रति आकर्षित त होलान् नै, तर तिम्रो चरित्रको मूल्यांकन पनि उत्तिकै गरेका हुन्छन् । मैले तिमीलाई सर्वश्रेष्ठ ठानेँ । त्यो बेला म अञ्जान थिएँ । बेखबर थिएँ । आज तिमीलाई बुझ्दै गएँ, चिन्दै गएँ । तिम्रो वास्ताविक कुराहरू ऐनाझैँ छर्लंङ भएको छ । तिमीले भन्ने गर्थ्यौ, मनमा बस्नका लागि गुण र विशेषता हेर्नुपर्छ भनेर । तर, म भन्छु– मनमा बस्नका लागि गुण र विशेषताभन्दा पनि उसको चरित्र हेरिन्छ । चरित्र आगोको झिल्का होे । जहाँ चरित्र छैन, त्यहाँ डढेलो लाग्न बेर लाग्दैन । तिमी अरूको हुँदाहुँदै, अरूलाई प्रेम गर्दागर्दै, मेरो नजिक कसरी हुन सक्यौ ? मसँग कसरी रमाउन सक्यौ ? दुईवटा नाउमा खुट्टा राख्दा लडिन्छ भन्ने थाहा छैन तिमीलाई ? छि ! तिमी यस्तो छौ भनेर मैले सोचेको पनि थिइनँ !’ आक्रोश पोख्छे ऊ ।
‘होइन समिरा ! त्यस्तो नभन न । ती मेरा अतीत हुन् । तिमी मेरो वर्तमान हौ । तिम्रा लागि सबै त्यागेँ । मेरो मनमुटुमा तिमी नै छौ ।’ समिरालाई फकाउँदै भन्छ अरुण ।
‘कति निर्लज्ज ! अझै पनि कति निर्धक्क भन्छौ होइन ? करुणाले पनि तिमीलाई कति धेरै माया गरेकी थिई होली, आफैँलाई भुलेर । कति पीडा भयो होला बिचरी उसलाई, दुुई, तीन वर्ष मायामा डुबाएर चटक्क छोड्दा । कति झड्का लाग्यो होला । उसको पीडा दुखाइको कहिल्यै महसुस गर्यौ तिमीले ? स्वार्थमा टिकेको सम्बन्ध कहिल्यै बलियो हुँदैन । काँचो धागोझैँ जुनै बेला पनि टुट्न सक्छ । म नारी भएकीले म उसको पीडा बुझ्छु । म स्वार्थी बन्न सक्दिनँ । अब म आफ्नै आँगनमा रमाइसकेकी छु । मेरो खुसीको संसार बिथोल्न नआऊ । भोलि करुणालाई जस्तै मलाई पनि तिमीले गर्दैनौ होला भन्ने विश्वास छैन ममा र रहन्न पनि ।’ यति भनिसकेपछि ढ्याम्म ढोका लगाउँछे ।
एक छिनसम्म ढोकामै उभिरहन्छ अरुण । उसलाई सहन गाह्रो हुन्छ । छातीमा सिंगो पहाड ढलेर थिचेझैँ हुन्छ । कति मिठा सपनाहरू जन्माएको थियो मनमा, तर समिरालाई भेटेपछि हुरीसँगै सपनाहरू उडेर जान्छन् ।
अस्ताउँदो घामलाई हेर्दैै पाइला अघि लम्काउँछ । मन विचलित हुन्छ । डाहा अनि छटपटी हुन्छ । कहाँ जाऊँ, कता जाऊँ ? मन दोधार हुन्छ । पोखरीको डिलमा गएर थचक्क बस्छ । मनमा धेरै कुरा खेलाउँछ । एकपटक करुणालाई भेट्ने निर्णय गर्दै जुरुक्क उठ्छ र सरासर करुणाको घरतर्फ लाग्छ ।
सायद, यति बेला सबै कुरा भुलेर करुणा वर्तमानमा रमाइसकेकी होली । मैले उसको मन दुखाएको छु । मप्रति उसले गरेको माया, प्रेम र भावनाको हत्या भएको छ । म अपराधी हुँ । उसको त्यो माया र भावना बुझ्न सकिनँ ।
उसको र मेरो मनमुटु त रहेन नै, एउटा साथीकै नाता सम्झेर उसलाई भेट्नेछु । मेरो अनुहार देख्दा पनि घृणा लाग्दो हो । तर, आज उसले हजारौँ गाली, अपशब्द, जे बोले पनि मेरो लागि शुभकामनाको पुष्पगुच्छा ठानी स्वीकार्नेछु ।
करुणाको आँखा ढोकामा पुगेर अडिन्छ । अँध्यारो झिलिमिली बत्तीमा अनुहार राम्रोसँग ठम्याउन सक्दिन । ऊ सरासर ढोकातिर लम्किन्छे । उही चिरपरिचित अनुहार हुन्छ । एकोहोरो हेरिरहन्छे । पत्यार लाग्दैन, तर त्यो भ्रम पनि थिएन । भित्रभित्रै रिस पनि उठ्छ, तर आफूलाई सम्हाल्छे । आश्चर्य मान्छे, आजको दिन अरुणलाई देख्दा उसको अनुहारमा त्यो खुसी पटक्कै थिएन । ऊ दुःखी देखिन्थ्यो । उदासीपनले भित्र–भित्रै दुखाइरहेको थियो । थाकेका आँखाले हेरिरहन्छ करुणालाई ।
‘तिमीसँग भेट्न मन थियो । स्वीकृतिबिना नै तिम्रो घरमा आएँ । सायद, तिमीलाई डिष्टर्ब गरेँ कि ?’ अप्ठ्यारो मान्दै भन्छ ।
‘मनभित्र गुम्सिएका पीडाहरूले मलार्ई उकुसमुकुस बनाएको थियो, आज तिमीसँग धेरै कुराहरू पोख्नु छ । तिमी खुसीमा आयौ या पीडामा । जे होस्, मलाई सम्झेर आयौ । म बोलिरहन्छु । तिमी सुनिरहनु । सायद, अब हाम्रो भेट होला या नहोला ।’ दुवैजना सोफाको छेउ गएर बस्छन् ।
‘हिजोको दिनसम्म एकपटक पनि पछि फर्केर हेरेनौ । आज कताबाट सम्झिन पुग्यौ ? आजकै दिनको हो त्यो तितो यथार्थ ! मैले बिर्सिएकी छ्रैन ।’
‘हो, करुणा ! मैले तिम्रो मन दुखाएको छु ।’ निराश हुँदै अरुणले धेरै कुरा भन्न खोज्दै गर्दा करुणा बीचमै रोक्छे ।
‘आज मलाई मात्र बोल्न देऊ । तिमी सुनिराख । रुखको हाँगालाई टुक्रा–टुक्रा पारेझैँ मेरो मुटलाई टुक्र्याउँदा पागलसरी तिमीभित्रको माया खोज्दै, भौतारिँदै, तड्पिँदै हिँडेकी थिएँ । मेरा आँसुहरू मभित्र नदी बनि बगेका थिए । तिमीलाई पाउँदाको सुखद अनुभूति र तिमीबाट छुट्टिँदाको पीडा भवसागरभन्दा कम थिएन । डगमगाउँदो डुंगाजस्तो ढलपल भएकी थिएँ । आज म आफूलाई सम्हालेर खडा हुन सकेकी छु । मेरा ती तिता अतीतलाई दोबाटोमै छोडेर वर्तमानमा रमाइसकेकी छु । एउटा अबोध बालकले खेलौना नपाउँदा अलापविलाप गरेर रोएझैँ म पनि तिम्रो मायामा पछारिँदा एकपटक त्यही अबोध बालक बन्न पुगेकी थिएँ । गहिरो घाउ लिएर पीडाले कति छटपटाएकी थिएँ, तिमीलाई के थाहा ? म दुःखी छु या खुसी छु या पीडामा छु, एकपटक पनि बुझ्न चाहेनौ ? तिमीले गरेका माया केवल मिथ्या थिए ? के तिमीले साँच्चै नै डिप्रेसनबाट निस्किनलाई मलाई साधन बनाएका थियौ त ? मैले त यही सुन्दै छु । यो शब्द बोल्दा तिम्रो बोली किन लरबरिएन ? तिम्रो मुटु किन काँपेन ? उफ...! अरुण ! तिमीमा अलिकति पनि मानवता रहेनछ । तिम्रो भलाद्मी, शालीनता र सोझो अनुहारमा तिमीभित्रको डरलाग्दो मन देखेकी नै रहेनछु । तिमीप्रति इज्जत थियो, सम्मान र सद्भाव थियो । तर, तिम्रो तितो शब्दले मनमुटु नै हल्लाइदियो । अलिकति माया बचेको थियो, त्यो पनि जलेर खरानी भयो । तिमीलाई हेर्ने दृष्टिकोण नै फरक भयो । अझ आश्चर्य त के लाग्यो भने, तिमी त मप्रति धेरै आभारी रहेछौ । तिमीलाई डिप्रेसनबाट जो निकालेँ । मेरो मिठो मायामा कति नमिठो सम्झना छाड्यौ । तिमीले आफू पीडाबाट निस्किनका लागि मलाई कति धेरै पीडा दियौ होइन ? कसैको भावनासँग खेलबाड कहिल्यै पनि नगर अब ! अन्तिममा, मेरो माया, मेरो प्रेम र म तिम्रा लागि धन्यवादको पात्र बन्यो । उपहारमा तिमीले दिएको यो धन्यवादका लागि म सधैँ ऋणी हुनेछु ।’
‘समयसँगसँगै मनलाई बलियो बनाइसकेँ । मेरा घाउहरू पुरिसकिए । तिम्रो मायामा म घाइते हुँदा मेरा साथीहरू नै हौसला बनेका थिए । हात समाएर डोर्याएका थिए । उभिन सिकाएका थिए । आज यी नै साथीहरूसँग प्रेम दिवस मनाइरहेकी छु । म धेरै खुसी छु । दुःखमा साथ दिने दिदी–बहिनीजस्तै साथी पाएकी छु । प्रेमी होइन । साथी चाहिएको छ मलाई । तिमीप्रति अब मलाई कुनै गुनासो छैन । रुक्मिणी त धेरैलाई बनायौ, तर राधा बनाउन कसैलाई सकेनौ । म तिम्रो हुँदा पनि अरूलाई माया गरेर हिँड्यौ । तिमी मेरो नभए पनि मैले तिमीलाई नै माया गरिरहेँ !’
अरुण सुनिरहन्छ करुणाका कुरा । भन्न त उसलाई पनि कति मन थियो होला । तर, मनलाई बाँधेर अरुण मौन बस्यो । बोलोस् पनि कसरी ! उसँग कुनै शब्द नै थिएन ।
‘आज प्रेम दिवस । म तिमीलाई केही दिन चाहन्छु ।’ आफ्नो कोठाबाट प्लास्टिकले प्याक गरेको झोला अरुणको हातमा दिँदै भन्छे, ‘जिन्दगीको कुनै न कुुनै मोडमा तिमीलाई पनि यसको आवश्यक पर्न सक्छ । जतन गरेर राख है ! मेरो अमूल्य उपहार तिमीलाई, यो भिजेको सिरानी !’