जनकपुरधाम । मौसम सफा छ । चर्को घाम । छेउमै खोला बगिरहेको छ । खोलामा पानीको बहाव केही कम छ । पानीको भेलले बाँधमा ठक्कर दिइरहेको छ । तीन सय मिटर बाँध भत्किसकेको छ । बाँध छेउकै करिब दश बिघा जमिन बाढीले कटान गरिसकेको छ । बाँध भत्किसकेको ठाउँमा मजदुरहरूले धमाधम काम गरिरहेका छन् । ट्याक्टर र जेसीबीको आवाज परसम्म सुनिन्छ ।
कोही मजदुरहरू प्लास्टिकको बोरामा माटो हाल्दैछन् । कोही तारको जालीमा ढुङ्गा राख्दै छन् । कोही खेतबारीमा काम गरिरहेका छन् भने कोही बाँधको मार्ग भएर ओहोरदोहोर गरिरहेका छन् । यो बिहीबार सबैला नगरपालिका १३ स्थित किरतपुर बाँध क्षेत्रमा देखिएको दृष्य हो ।
बाँधले धान खेत कटान गरिएकै ठाउँमा कृषि कर्ममा भेटिए, किरतपुरका ५६ वर्षीय रामस्नेही यादव । उनले त्यही स्थानीय साहुसँग बटैयामा १६ कठ्ठा जमिन लिएर धान खेती गरेका थिए । तर, बाढीले ९ कठ्ठा खेत कटान गरिसकेका छ, उनको । उनी कटान हुन बाँकी रहेको धान खेतमा उत्पादन बढाउन रासायनिक मल छर्दै थिए । खेत कटान भएको चिन्ताले यादवको अनुहार मलिन बनेको छ । वर्षेनी खोलामा आउने गरेको बाढीले स्थानीय किसानलाई दिएको पीडाले आजित भएका यादव भावुक अवाजमा आफ्नो समस्याको बयान गरे ।
“लदी पर के चास आ गरिब के बास के कोनो ठेगान नही (खोला किनारको खेती र गरिबको बसोबासको कुनै ठेगान हुँदैन),” उनले मलिलो स्वरमा मैथलिमा टुक्का सुनाए । सरकारले समस्या समाधान गर्न अहिलेसम्म ठोस योजना नल्याएको भन्दै बाढीबाट बच्न दिर्घकालीन योजनाको आवश्यकता रहेको उनको भनाइ छ । आफूहरूले जिताएका नेताहरू संवेदशनशील नुहँदा वर्षेनीको बाढीको समस्या समाधान हुन नसकेको उनले बताए ।
“सरकार समस्या समाधानभन्दा पनि कार्यकर्ता पाल्नतर्फ लागेको छ । दीर्घकालीन योजना सरकारले ल्याउँदैन,” उनले भने, “किसानको समस्यासँग सरकारलाई मतलब नै छैन । कमला खोलाले गर्दा कयौँ गाउँ नै जोखिममा छन् ।”
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले कटान भएको जमिनबारे यकिन तथ्याङ्क संकलन नभए पनि दुई ठाउँमा गरी दश विघा जमिन कटान भएको अनुमान गरिएको बताए । किरतपुरमा तीन सय मिटर र पटेर्बामा करिब चार सय मिटर बाँध भत्किएको उनले बताए । बाँध भत्किएर पटेर्बा, किरतपुर र ढोलबज्जाको धान खेती नष्ट भएको छ ।
किन वर्षेनी बाँध भत्किन्छ ?
कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले सरकारले प्रयाप्त बजेट नदिएकाले बाँध भत्किने गरेको बताउँछन् । बालुवा, गिट्टी र ढुङ्गा उत्खननले पनि बाँध भत्किने गरेको उनको भनाइ छ । “नदीको बहाव छेउछाउबाट बालुवा, गिट्टी निकालिएपछि बाँध भत्किएको छ । अवैध उत्खननले नदीको धार नै परिवर्तन भएर पश्चिमतिर आएको छ,” उनले भने, “सरकारले समयमा बजेट नदिँदा बाँधको मर्मत समभार गर्न सकेनौँ । पटक–पटक सरकारसँग बजेट माग गर्दा पनि बेवास्ता गर्यो ।”
स्थानीय रामदेव रजकले पनि जथाभाबी खोलामा उत्खनन गर्दा बाँध भत्किएको बताए । उनले एक महिना स्थानीय सरकारले १८ वटा जेसीबी चलाएको आरोप समेत लगाए । “यहाँको मेयर, उपमेयले एक महिना नियमित खोलमा बाँधकै छेउबाट बालुवा गिट्टी उत्खनन गरेका छन्,” उनले भने, “खोलामा गरिएको उत्खननले वर्षेनी बाँध भत्किन्छ ।”
धनुषा–सिरहाको सीमा क्षेत्रमा रहेको कमलाको दुवैतर्फको बाँध भारत सरकारको लगानीमा निर्माण भएको छ । बाँध बलियो नबनाउने भारतकै रणनीति रहेको कतिपयको टिप्पणी छ । बाँधको मर्मत सम्भार पनि भारत सरकारले नै गर्ने गर्छ । यताको बाँध बलियो बनाउँदा भारतमा पानी पस्ने सम्भावना हुन्छ । त्यसकारण भारतले बलियो बाँध बनाउन नदिएको आरोप लाग्ने गरेको छ ।
‘स्थायी निकास खोज्दै छौँ’
बिहीबार निरीक्षणमा पुगेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कमला खोलाको क्षति रोक्न स्थायी निकास खोजिरहेका बताएकी छन् । उनले कमलामा राम्रो बाँध, कोरिडोर र दुवैतर्फको बाँधमा बृक्षारोपणको गुरुयोजना बनाएर सरकारले काम गर्ने आश्वासन दिइन् । बगरको जगा पनि सदुपयोग गर्नेगरी सरकारले गुरुयोजना बनाउने उनको भनाइ छ । बहुवर्षीय योजना राखेर यसको निकास खोज्नुपर्ने उनले बताइन् ।