धेरै वर्ष नेपाली कांग्रेसका नेताले ‘प्रतिबन्धित नेपाली कांग्रेस’का नाममा पार्टी चलाएका थिए । अहिलेका शीर्ष नेतामध्ये धेरैको राजनीतिक व्यक्तित्व त्यति बेलै बनेको हो । पहिलो जनआन्दोलनपछि भने तिनकै जीवनस्तर र शैली नै बदलियो ।
विसं २०४६ पछि उनीहरू सधैँ सत्ता वा विपक्षमा रहे । तीमध्ये धेरैले कुनै न कुनै रूपमा राज्यकै सुविधा उपभाेग गरिरहे ।
तिनको ‘भाग्य’ नै चम्काउन सबैभन्दा ठूलो योगदान नेपाली कांग्रेस नामको ‘अभागी’ संगठनको छ ।
यही बुझेकाले सबै नेता ‘सुनको फुल पार्ने कुखुरी’ अर्थात् नेपालकी कांग्रेस पार्टी कब्जा गर्ने ध्याउन्नमा लगेका हुन् । क्रियाशील सदस्यता विवादकाे चुरो यही हो । दन्त्यकथाकाे लोभी मालिकले एकैपटक सुनको थुप्राे हात पार्न कुखुरी नै काटेको थियो रे !
यथा, कांग्रेसका ‘आदर्श, त्यागी र सङ्घर्षशील’ नेताहरू पार्टीको वैधानिकता समाप्त भए होस् तर आफ्नो पद नजाओस् भन्दैछन् । नत्र, जिल्ला वा गाउँ विशेषको सदस्यता विवादमा केन्द्रीय भनिएका नेता पक्कै यसरी मुछिने थिएनन् ।
त्यागको कथा
धेरै कांग्रेसी नेताको मुखबाट पार्टीका लागि उनीहरूले ठूलो ‘त्याग’ र ‘बलिदान’ गरेको बखान कार्यकर्ता र सञ्चारकर्मीले सुनेका हुन्छन् । उनीहरू साँच्चै महानै पो रहेछन् कि जस्तो पनि लाग्छ ।
तर, एकछिन गमाै त - कांग्रेस पार्टीमा नलागेका भए तिनीहरू के हुन्थे ? तिनका घरगाउँका दाैँतरी अहिले के गर्दैछन् ? यी दुईथरीको जीवनस्तर र शैलीमा कति अन्तर छ ? कसैले गहिरो खोज गरे गज्जबको पाठ सिकिन्थ्यो होला ।
भाले खान एकमत
नेताहरूले जति नै विवाद देखाए पनि छलछाम गरेर पार्टीलाई यथास्थितिमा राख्न उनीहरूबीच सजिलै र छिटै सहमति भइहाल्छ । चाैधौं महाधिवेशन २०७६ फागुनमै गर्नुपर्थ्यो । सबै मिलेर महाधिवेशन टारे । उतिबेलै दलको वैधतामा प्रश्न उठ्नसक्छ भन्ने थाहा नभएको त होइन ।
गत २०७७ फागुनमा गर्ने गरी महाधिवेशनकाे मिति त तोकियो तर कोभिड-१९ को महामारीलाई बहाना बनाएर स्थगित गरियो ।
त्यतिबेला पनि महाधिवेशन गर्न नपरोस् भन्ने नै यी नेताहरूको अवचेतनमा रहेछ । नत्र, सट्याकसुटुक बाँडिएको क्रियाशील सदस्यता छानबिन उतिबेलै टुङ्ग्याउन सकिने थिएन र ?
क्रियाशील सदस्यता विवादका बहानामा अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ । फलस्वरुप, वडास्तरको अधिवेशन स्थगित गरिएकाे छ । यसको असर माथिल्ला अधिवेशनमा पक्कै पर्नेछ । त्यसमाथि, विवाद समाधान हुन्छ नै भन्ने पनि त अनिश्चितै छ ।
निर्णय र निर्णायक दुवै अवैध
वडा अधिवेशन स्थगित गर्ने निर्णय पनि पार्टीको वैध संरचनाले गरेको होइन । यसले पनि कांग्रेस नेताहरूको पार्टीप्रतिको दृष्टिकोण स्पष्ट गर्छ । उनीहरू नेपाली कांग्रेस नामकाे पार्टीलाई निजी सम्पत्ति ठान्दारहेछन् र तराईका गाउँका ‘पञ्चैती’ जसरी चलाउन खोज्दैछन् ।
नेपाली कांग्रेसकाे विधानमा ‘पदाधिकारी र पूर्वपदाधिकारी’ भन्ने कुनै संरचना देखिँदैन । महाधिवेशनसम्बन्धी निर्णयसमेत विधानमै नभएको निकायको निर्णयबाट गर्ने हो भने विधान चाहियो नै किन? ‘पदाधिकारी र पूर्वपदाधिकारी’ मिलेर नेपाली
कांग्रेस विघटन गर्न खोजेको त होइन ?
महाधिवेशनको मिति तोक्ने अधिकार विधानको धारा १७ ले केन्द्रीय समितिलाई दिएको छ । केन्द्रीय समितिको बैठक बस्न नसकेका बेला आवश्यक निर्णय लिन विधानको धारा २४ मा केन्द्रीय कार्यसम्पादन समितिको संरचना रहेको देखिन्छ । यो ‘पदाधिकारी र पूर्वपदाधिकारी’ को क्लबले कुन अधिकारले निर्णय लिने गरेको हो ?
नेपाली कांग्रेस पाटनका ६ प्रधानले राज्य चलाए जसरी ‘गिरोह’ले चलाउने पार्टी हो ? प्रतिबन्धित कालमा नेताहरूको सल्लाहमा चल्थ्यो भनेर त्यसैको नक्कल गर्न खोजिएको त होइन होला नि !
कथा र व्यथा
एउटै बालकमाथि दाबी गर्ने दुई जना आमाको कथा नेपाली कांग्रेसका नेतालाई सम्झाउन मन लाग्यो । एकजना बालकको जन्म दिने आमा भएको दाबी गर्दै दुई महिला राजाकहाँ फिराद लिएर पुगेछन् । राजाले सत्य पहिल्याउन निसाफको अनौठो उपाय साेचेर भनेछन् - यस बालकलाई दुई फ्याक बनाएर आमाहरू दुवैलाई आधाआधा बाँडिदिनू ! जाली आमाले हुन्छ भनिछन् तर बालककी जन्मदात्रीले रुँदै भनिछन् - म आफ्नो दाबी छाड्छु तर बालकलाई नमारियोस् !
सिंगो पार्टीकै वैधानिकता सङ्कटमा पर्दा पनि केही थान क्रियाशील सदस्यताका लागि रडाको गर्नेहरू त्यही बालककी नक्कली आमाजस्तै हुन् । सक्कली आमा त पार्टी फुटाउनु वा सिध्याउनुभन्दा आफैँ पन्छिन रोज्ने गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईजस्ता हुन्छन् । जस्ले आफूले स्थापना गरेको पार्टीलाई नोक्सान पार्नुभन्दा छेउ लाग्नु श्रेयश्कर ठान्छन् ।