काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले गएको आइतबार सांसद पदबाट एकाएक राजीनामा दिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले रावलको राजीनामा स्वीकृतिको प्रक्रिया अझसम्म थालेका छैनन् ।
सभामुखले रावललाई डाकेर सनाखत गरी संसद्को अर्को बैठकमा त्यसको सूचना दिएमा उनको सांसद पद रिक्त हुन्छ । तर, सभामुख सापकोटा तत्काल त्यसो गरिहाल्ने ‘मुड’मा देखिएका छैनन् ।
“रावलले सभामुखज्यूको हातमै राजीनामापत्र थमाउनुभएको हो, संविधान र कानुनअनुसार सांसदले सभामुखसमक्ष राजीनामा दिएमा सांसद पद रिक्त हुन्छ,” संसद् सचिवालयका एक अधिकारीले भने, “तर, सभामुखले त्यो प्रक्रिया थाल्नुभएको छैन । तत्काल उहाँको राजीनामा स्वीकृत गरिहाल्ने पक्षमा पनि हुनुहुन्न ।”
ती अधिकारीका अनुसार सभामुखले रावलको राजीनामा स्वीकृत गर्न चाहेमा रावललाई डाकेर सनाखत गराउनुपर्ने हुन्छ । सनाखत गरेर रावलले ‘मञ्जुर छु’ भन्ने दोहोर्याएपछि सभामुखले संसद्को बैठकमा त्यसको जानकारी गराउनुपर्छ । त्यससँगै सांसद पद रिक्त हुन्छ ।
त्यसपछि अरु दुईवटा प्रक्रिया बाँकी हुन्छन् । पहिलो, सभामुखले संसद्मा सांसद पद रिक्त भएको सूचना सुनाउनेछन् । त्यो सूचना राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै संसद्ले त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने हुन्छ । संसद्को कार्यकाल एक वर्षभन्दा बढी बाँकी रहेकाले रावलको निर्वाचन क्षेत्रमा उपचुनाव गराउनुपर्ने हुन्छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्छ । अनि, रावलको निर्वाचन क्षेत्रमा उपचुनाव गरिन्छ ।
निर्वाचन आयोगका अनुसार संसद्को आयु एक वर्षभन्दा बढी समय बाँकी रहँदै सांसद पद रिक्त भए उपचुनाव गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यो कानुनी व्यवस्थाको कार्यान्वयन भने सरकारको हातमा छ ।
“प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार संसद्को अवधि एक वर्षभन्दा बढी बाँकी रहँदा सांसद पद रिक्त भएमा उपचुनाव गराउनुपर्ने हुन्छ । तर, त्यो उपचुनाव गराउने/नगराउने सरकारको हातमा हुन्छ,” निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, “निर्वाचन आयोगले सरकारलाई जानकारी गराउन सक्छ । तर, आफूले मात्र चाहेर निर्वाचन गराउन भने सक्दैन ।” सरकारले निर्वाचनको मिति घोषणा गरेपछि भने बाँकी जिम्मेवारी आयोगले लिने उनले बताए ।
भीम रावलको निकट विगत
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता माधवकुमार नेपालसँगको विमतिपछि उनले राजीनामा दिएको बताइएको छ । रावलले भने नेता विशेषको नाम नदिईकन नेतृत्वमा देखिएको चरम सत्तालिप्साबाट राजनीति फोहोरी बनेको भन्दै त्यसबाट आफूलाई अलग राख्न राजीनामा दिएको बताएका छन् ।
भीम रावल तीनै नेता हुन्, जसले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रतिपक्षभन्दा एक कदम अघि बढेर केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको प्रतिद्धतामा प्रश्न उठाएका थिए । रावल तीनै नेता हुन्, जसले सरकार चरम भ्रष्टाचारमा लिप्त भएको र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्न उद्यत भएको आरोप लगाएका थिए । विश्लेषकहरुले त्यस बेला ‘कांग्रेस होइन, भीम रावल हुन् असली प्रतिपक्ष’ भनेर टिप्पणी गर्ने गरेका थिए । उनै रावलले संसद्मा ६३ सिट मात्र रहेको प्रतिपक्षी कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री बन्न र ओलीको विकल्प दिएर संविधान र व्यवस्थाको रक्षक बनिदिन आग्रह गरेका थिए ।
रावलसहितका नेताले गरेका तिनै अनेकन प्रयासस्वरुप गएको जेठ ८ गते १४९ जना सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवाले संविधानको धारा ७६(५) अनुसार राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री बनाउन अस्वीकार गर्दै दाबी नपुगेको भनेर दाबी निवेदन खारेज गरिदिइन् । त्यसपछि रावलसहितका १४६ सांसदले संसद्लाई पूर्ण कार्यकाल चल्न दिनुपर्ने भन्दै देउवालाई प्रधानमन्त्री बनाउन र संसद् र संविधानको रक्षा गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यही रिट सर्वोच्चले जारी गरिदिएका कारण देउवा संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्त भए ।
तर, रावलले देउवालाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा आफ्नो मत माधव नेपाल समूहमा राख्दा नेपालले नमानेपछि राजीनामा दिएका हुन् । उनीजस्तै माधव नेपाल समूहका अरु आठजनाले पनि देउवालाई विश्वासको मत दिनु हुन्न भनेर फरक मत राखेका थिए । तर, नेपालले नमान्दा उनीहरु मत नदिएर तटस्थ बस्ने निर्णयमा पुगे । रावलले भने सभामुखलाई राजीनामा बुझाए ।
राजीनामा बुझाउनुअघि रावलले सभामुखलाई सम्बोधन गरी संघीय संसद् सचिवालयका महाचिव डा. भरतराज गौतमको सिंहदरबारस्थित कार्यालयमा पत्र दर्ता गराउने प्रयास गरेका थिए । तर, रावललाई सुरेन्द्र पाण्डसहितका नेताहरुले रोक्ने प्रयास गरे । पटक–पटक राजीनामापत्र पाण्डेसहितका नेताहरुले खोसेर च्यातिदिएपछि त्यहाँबाट बाहिरिएर रावल सिधै सभामुखलाई बुझाउन संसद् भवन नयाँ बानेश्वर पुगेका थिए ।
संसद् भवन प्रवेशअघि नै रावलको राजीनामाबारे हल्ला चलिसकेकाले पत्रकारले रावललाई राजीनामा दिएको हो ? भन्दैै प्रश्न गर्दा रावलले स्वीकार गरेका थिए । रावलले त्यहीँ मिडियासामु राजीनामापत्र सार्वजनिक गर्न लाग्दा पनि ‘आवेशमा निर्णय नसुनाऔँ, भित्र गएर छलफल गराैँ’ भन्दै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए ।
तर, रावल आक्रोशित हुँदै “साथीहरु मलाई भन्न दिनुस् है !” भन्दै रिसाएपछि पाण्डेसहितका सांसद उनलाई छोडेर संसद् प्रवेश गरेका थिए । रावलले आफ्नो राजीनामापत्र पढेर सुनाइसकेपछि संसद् भवन प्रवेश गरी सभामुखलाई हातैमा पत्र थमाएर पार्टीका कोहीसित छलफल नगरी त्यहाँबाट बाहिरिएका थिए । उनले बाहिरिने क्रममा आफ्नो राजीनामाको एकप्रति पत्रकारलाई समेत दिएका थिए ।