site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महाधिवेशन : ‘अभिभावक’ नहुँदा मनपरी !

दाङ । राष्ट्रिय राजनीतिमै प्रभावशाली दाङका दुई नेता खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ लामो समय एउटै समूहमा रहे पनि अन्ततः नेपाली कांग्रेसभित्रको राजनीतिक ‘धार’ फरक बन्न पुग्यो ।

जिल्लामा आफ्नो एकल प्रभाव कायम गर्न खोजेका उनीहरु एकार्काका विपरीत जस्तै बन्न पुगे । जिल्लामा खड्काको सम्ूह अलगै थियो भने मजगैयाँको अलगै बन्यो ।

आ—आफ्नो समूह निर्माण गररेर कांग्रेसको राजनीतिमा सक्रिय उनीहरु समग्रमा सबै जिल्लाका कांग्रेसीहरुको अभिभावकजस्तै थिए । उनीहरु दुवैजनालाई जिल्लाका हरेक कांग्रेसीले अभिभावकीय भूमिकामा हेरेका थिए ।

Dabur Nepal

उनै ‘अभिभावक’मध्येका एक खड्काको देहान्त भइसक्यो । मजगैयाँ पनि सक्रिय राजनीतिबाट टाढा भइसकेका छन् ।

खड्काको निधन र मजगैयाँको राजनीतिक निष्क्रियताले दाङ कांग्रेसको राजनीतिमा लामो समयदेखिको अभिभावकत्व गुमेको छ । त्यो भूमिका पूरा गर्न सक्ने अरु नेता जिल्लामा देखिएका छैनन् ।

अभिभावकविहीनताको अवस्थामा रहेको कांग्रेसभित्र अहिले व्यक्तिवादी राजनीति हाबी हुँदै गएको स्वयं नेताहरु बताउँछन् । फलतः पार्टीको आसन्न १४औँ महाधिवेशनको जिल्ला नेतृत्व चयनमा कांग्रेसलाई सकस पर्ने जानकारहरु औँल्याउँछन् ।

“दाङ कांग्रेसलाई डोर्‍याउने अभिभावकहरु भएनन्, फलतः हामीहरुले कसैले कसैलाई नटेर्ने भएका छौँ,” कांग्रेस दाङका निवर्तमान सचिव कमलकिशोर घिमिरेले भने, “अहिले हामीभित्र व्यक्तिवादी चिन्तन हाबी भएको छ ।”

कांग्रेसको केन्द्रीयस्तरबाटै पत्याइएका खड्का हस्तक्षेपकारी भूमिकामै प्रस्तुत हुन्थे । उनको प्रस्तावमा असन्तुष्टि जनाए पनि जिल्लामा उनको निर्णयको खिलापमा कांग्रेसका कोही नेताहरु जाने हिम्मत राख्न सक्दैनथे । त्यसैले उनको निर्णय सर्वेसर्वा नै हुने गर्थ्यो ।

“उहाँ पार्टीको केन्द्रीय नेतृत्वले नै पत्याउने नेता हुनुहुन्थ्यो,” घिमिरे भन्छन्, “हस्तक्षेपकारी भूमिकामा अब्बल खुमबहादुरको निर्णय जिल्लामा अस्वीकृत हुने वातावरण कहिल्यै बनेन ।”

खड्काका राजनीतिक समकक्षी बलदेव मात्रै अहिले सक्रिय राजनीतिमा भएको भए पनि जिल्लामा कांग्रेस अभिभावकविहीनताको अवस्थामा हुने थिएन । “बलदेवजी सक्रिय राजनीतिमा रहिरहेको भए दाङ कांग्रेसले अभिभावकविहीनताको अवस्था भोग्नुपर्ने थिएन,” कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीले भने, “उहाँलाई जिल्लाका हरेक तहका नेताहरुले अभिभावक स्वीकार्न तयार छन् ।”

अभिभावकत्वविहीनताको अवस्थाले कांग्रेसलाई नेतृत्व चयनमा सकस पर्ने देखिन्छ । जिल्लाका कांग्रेस नेताहरुबीच सहमति जुटाउन सक्ने र ‘बोल्ड’ निर्णय गरेर अरुलाई शान्त पार्न सक्ने क्षमता कसैमा देखिएको छैन ।

“जिल्लाको कांग्रेस राजनीतिमा खोइ अभिभावकत्व ? कसले भनेको कसले मान्ने ?,” ती नेताले भने, “अभिभावकत्व भएन भने व्यक्तिवादी राजनीति हाबी हुँदै जान्छ र यसले कसैले कसैलाई नटेर्ने परिस्थतिको निर्माण गर्छ ।”

खुमबहादुरको मृत्युपश्चात् पनि बलदेव सक्रिय राजनीतिमै भइदिएको भए जिल्लाको कांग्रेस राजनीति ‘ट्रयाक’मै रहने विश्लेषण जिल्ला नेताहरुले गरेका छन् । जिल्लामा हुने पार्टीगत निर्णय सबै खड्काकै हातमा हुन्थ्यो ।

“खुमबहादुरले राखेका प्रस्तावहरुमा कसैको असहमति भएता पनि उहाँले गरेको निर्णय हरेक कांग्रेसीले मान्नैपर्थ्यो, त्यो हो अभिभावकत्व भनेको,” ती नेताले भने, “बलदेवजी अहिले सक्रिय राजनीतिमा भइदिएको भए पनि दाङ कांग्रेसले खुमबहादुर खड्काको देहान्तपछि पनि अभिभाकत्वविहीनताको महसुस गर्नुपर्ने थिएन ।”

अभिभावकविहीनताकै कारण जिल्लाका कांग्रेस नेताहरु आ–आफ्नै गुट निर्माण गरेर कसरी शक्तिशाली बन्ने भन्ने होडमा देखिन्छन् । यही साउन १२ गते हुने भनिएको पार्टीको वडा अधिवेशनलाई लक्षित गर्दै नेताहरु व्यक्ति विशेषका गुट निर्माणमा सक्रिय भएका छन् ।

“१२ गतेको अधिवेशनका लागि अधिकांशले क्षेत्रीय प्रतिनिधिको उमेदवारका रुपमा आफूलाई हेरिरहेका छन्,” कांग्रेसका अर्का जिल्ला नेताले भने, “उनीहरुलाई रोक्ने नेतृत्व वा अभिभावक जिल्लामा भएन । फलतः उनीहरुले आफूले जे चाह्यो, त्यो हुनुपर्छ भन्ने वातावरण दाङ कांग्रेसमा बनेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro