नेपाली निबन्ध विधामा लामो समयदेखि क्रियाशील युवराज नयाँघरे निबन्धकारकै रूपमा परिचित छन् । तर, उनी नियात्रा विधामा पनि कलम चलाउँछन् । इलाममा जन्मिएका नयाँघरेको निबन्धसंग्रह ‘एक हातको ताली’ले २०६५ सालको मदन पुरस्कार पाएको थियो । पछिल्लो समय उनी निबन्ध र नियात्राको अर्को कृतिको तयारीमा लागेका छन् । प्रस्तुत छ, उनको लेखन र निबन्धकारिताका विषयमा नयाँघरेसँग गरिएको कुराकानीको मुख्य अंश :
बन्दाबन्दीको यो समयमा पनि व्यस्त हुनुहुन्छ !
अँ । यति बेला म दुईवटा किताबको तयारीमा लागेको छु । एउटा आत्मपरक निबन्धको किताब हो भने अर्को नियात्रासंग्रह हो ।
यी दुवैको प्रकाशनमा समय लाग्छ कि चाँडै नै आउँछ ?
यो किताबले समय लिन्छ होला । किनभने, माहोल त्यति सन्तुष्टि दिने खालको छैन । किताबको बजारलाई लिएर यसो भनेको हुँ । त्यसो त छापौँ भन्दा अहिले नै प्रेसमा पठाउँदा पनि हुन्छ । तर, कोरोना कहर, त्यसले सिर्जेको बन्दाबन्दी र निषेधाज्ञाले तत्कालै किताब प्रकाशनमा ल्याउनुभन्दा त्यसको सम्पादनमा समय दिनु ठिक होला भन्ने लागेरै म किताबको मसिनो काममा भिडेँ । मसिनो गरी काम गर्दा धेरै कुरा मिलाउन सकिन्छ । बढी देखिएको प्रसंग काट्न सकिन्छ । अपुग देखिएको छ भने थप्न सकिन्छ । त्यसैले म यसैमा लागिरहेको छु । मलाई लाग्छ, यो वर्षको अन्त्यसम्ममा दुवै किताब प्रकाशनमा आउँछ ।
उसो भए लेखनका हिसाबले निषेधाज्ञाको समय तपाईंका लागि उपलब्धिमूलक रह्यो ? हैन !
ठिक भन्नुभयो । लेखपढका लागि एकाग्र वातावरण चाहिन्छ । अहिलेको विषम परिस्थितिले त्यो अवस्था सिर्जना गरिदियो ! मेरो विषय, विधाको लेखनका लागि समय चाहिन्छ । निबन्ध लेख्न लेखकले आफैँभित्र डुब्नुपर्छ । घोत्लिनुपर्छ । भित्रभित्रै साधना गर्नुपर्छ । तपस्या गर्नुपर्छ । प्रकृति, भूगोल, भाषा, जनजीवन र समाजलाई आफूतिर फर्काएर अध्ययन मनन् गर्नुपर्छ । त्यसका लागि साधना त चाहिन्छ नै । साधना गर्न समय चाहिन्छ । एकान्तवासको समय मिल्दा मात्रै निबन्ध लेख्न सकिन्छ ।
नियात्रा लेखनका लागि भने आफैँभित्र डुब्नुभन्दा घुम्नुपर्छ । बाहिरी संसार डुल्नुपर्छ । संस्कृति र प्रकृति पढ्नुपर्छ । जनजीवन, भाषा, भूगोल र सभ्यताको अध्ययन गर्नुपर्छ । त्यसपछि लेख्नलाई बस्नुपर्छ । हेर्नुुस्, निषेधाज्ञाले, लकडाउनले लेख्नका लागि भनेजस्तै वातावरण तयार गरिदिएको छ ।
हिजोका दिनमा धेरै गन्जागोल, भिडभाड, सामाजिक उरालधुरालले गर्दा निबन्धकारिताको जुन आत्मस्थ पक्ष छ, त्यो बाहिर आउन गाह्रो–गाह्रो हुँदै गएको थियो । जसले गर्दा लेखकहरू झटपटको विधातिर बढी गइरहेका थिए । अहिलेको समय त निबन्ध लेखनका लागि एकदमै उपयुक्त समय भइदियो । किनभने, निबन्धका लागि त आत्मिक मन्थन गर्नुपर्छ । विचार मीमांसा गर्नुपर्छ । त्यसैले पनि यो समय निबन्धकारिताका लागि एकदमै उपयुक्त र सुहाउँदिलो समय हो जस्तो लाग्छ । मैले पनि त्यसैको उपयोग गरेको हुँ ।
यसको अर्थ निबन्धलाई समय दिन नसकेरै नियात्रा लेखनतिर आफूलाई ढाल्नुभएको हो ?
धेरै हदसम्म तपाईंले भनेका कुरा ठिक हो । म अध्ययन गरेर लेख्न रुचाउने मानिस हुँ । समाज, संस्कृति, भूगोल, सभ्यताको अध्ययन गर्न म आफैँ विभिन्न ठाउँहरूमा जान्छु । चिन्तन–मन्थन गर्छु र निबन्ध लेख्छु । पहिले–पहिले थोरै रचना मात्रै नियात्रामा केन्द्रित गर्दै आएको थिएँ । पछि–पछि त निबन्ध लेखनका लागि वातावरण नै भएन । अर्कोतिर, रचनाहरू धेरै मागिन थालिएपछि तत्कालै निबन्ध तयार गर्न नसकिने अवस्था आयो । त्यसका लागि सजिलो बाटो भनेको नियात्रा भइदियो । कुनै पनि यात्रामा जाँदा त्यसको अनुभव र अभिव्यक्ति सर्लक्क उतार्यो र बुझायो ।
गम्भीर निबन्धका लागि त दर्शन र चिन्तन चाहियो । त्यसमा भाषाको चमक चाहियो । शब्दमा खेल्ने चामत्कारिकता चाहियो । गहिरो र सूक्ष्म दृष्टिकोण पनि निबन्धमा हुनुपर्यो । त्यसका लागि सधैँको हस्याङफस्याङ र कुदाकुदले नभ्याउने । त्यसैले पनि तपाईंले भनेका कुरा धेरै प्रतिशत मिल्छ भन्छु म ।
नियात्रा त खर्चालु विधा हो नि ?
सन्तोष, आनन्द र सुख नै त हो, साहित्यको पक्ष भनेको । त्योसँग पैसा र खर्चको त कुरै जोडिँदैन । साहित्य लेख्नु खुसीको विषय हो, आनन्दको र सन्तोषको विषय हो ।
स्वतन्त्र साहित्यमा भाषा पनि आउँछ, दृष्टिकोण पनि आउँछ, चिन्तन र दर्शन पनि आउँछ । यो सबै कुरा पोखिसक्दा सन्तोषको परम अनुभूति हुन्छ । लेखन त्यही हो, जसले सन्तोष दिन्छ । खर्च त सामान्य कुरा भयो ।
हेर्नुस्, यति बेला लेखक आफूले आफैँलाई ऊर्जा दिएर काम गरिरहेको छ । राज्यले केही दिएको छैन । लेखकले त आफ्नो कर्तव्य सम्झिएर काम गरिरहेको छ । साहित्यका लागि हरेक लेखकले परिवारसँगको समय काटिरहेको हुन्छ । गाँस काटिरहेको हुन्छ । केटाकेटीका कतिपय इच्छाहरू मरेका छन् । लेखकले त समाजलाई केही दिउँ भनेरै काम गरिरहेको छ नि ।
सन्तोषको कुरा गर्नुभयो, लेखकीय सन्तोष केमा अनुभूत गर्नुहुन्छ ? निबन्ध या नियात्रा लेखनमा ?
तपाईंको सोधाइले मलाई धरमर–धरमरमा पार्यो ! हेर्नुस्, मानिसको शरीरमा भएका दुई हात, दुई खुट्टा, दुई आँखा, दुई कान, सबैले सन्तुलन मिलाएर काम गरिरहेका हुन्छन् । दुवैको महत्त्व उत्तिकै हुन्छ । र, कदाचित एउटा थोरै कमजोर भयो भने अर्कोको साथ लिएर, सहयोग लिएर हिँड वा सुन वा हेर भनिरहेको हुन्छ । सिर्जना पनि त्यही हो भन्ने लाग्छ मलाई । कतिपय पाठकले निबन्ध मन पराउनुहुन्छ । कतिपयले नियात्रा । मेरो दुवै किसिमका पाठकप्रति उत्तिकै सम्मान र आदर छ ।
म सुख, खुसी र आत्मिक आनन्दका लागि निबन्ध लेख्छु । आत्मप्रकाशको लागि, भाषामा खेल्न सक्ने चमकको लागि निबन्ध लेख्छु । उता, प्रकृतिका कुरा, भूगोलका कुरा, संस्कृतिका कुरा, समाजका कुरा नियात्रामा लेख्दा एउटा बेग्लै सुख पाउँछु म ।
तपाईंले आफ्नो नियात्रामा निबन्ध पोख्नुभयो या भएन ?
पोखियो नि मजाले । मेरा धेरै निबन्धहरूमा नियात्रा आएका छन् । धेरै नियात्रामा निबन्ध समेटिएका छन् । सुरु–सुरुका धेरै निबन्धहरूमा नियात्राका बाछिटा भेट्न सक्नुहुन्छ तपाईंले । त्यो चाहेर आएको भने होइन । स्वतस्फूर्त आएको हो । ‘नीलडाम’ निबन्धसंग्रहभित्रका कतिपय निबन्धमा नियात्राको झल्को भेट्नुहुन्छ । कतिपय नियात्रामा निबन्धको स्वाद पनि भेटिन्छ । त्यसैले पछि गएर मैले निबन्ध र नियात्राको कित्ताकाट नै गर्दिएँ । निबन्ध बेग्लै, नियात्रा बेग्लै लेख्दै गएँ । तथापि, निबन्धको मोह नियात्रामा आउने, नियात्राको मोह निबन्धमा आउने भइरहेको छ । तर पनि म सचेत छु ।
उसो भए तपाईंलाई केले तान्छ ?
साँच्चै भन्नुहुन्छ भने मलाई निबन्धले नै बढी तान्छ । मेरो परिचय, मेरो पहिचान निबन्धले नै दिएको हो । मैले मुलुकका सम्मानित पुरस्कारहरू निबन्धसंग्रहहरूबाटै पाएको छु । मेरा आठवटा नियात्राका किताबहरू आए । त्योभन्दा बढी निबन्धका किताब प्रकाशित छन् । तर, नियात्रामा मैले कुनै पुरस्कार पाएको नै छैन । यति हुँदाहुँदै पनि मेरा लागि यी दुवै विधा प्रेम, इज्जत र आदरका द्योतक हुन् ।
तपाईंको निबन्ध अलि बढी नै क्लिष्ट होइन ?
लेख्न कति गाह्रो हुन्छ भन्ने कुरा लेखकलाई नै थाहा हुन्छ । आफ्नो विचार र दर्शनलाई अभिव्यक्त गर्दै जाँदा कहिलेकाहीँ समाजसँगको उसको अभिव्यक्तिको माध्यम थोरै टुट्न जान्छ । त्यहाँ थोरै अलमल देखिनसक्छ । जबकि, एउटा लेखकले सिर्जना गर्दा समाजले नबुझोस्, समाजले नपढोस् भन्ने चाहेकै हुँदैन । तर, लेखक र समाजबीचको संवाद कताकता टुट्न जाँदो रहेछ । सायद, त्यो क्रमभंगताले गर्दा क्लिष्टजस्तो देखिएको होला ।
मैले जानेको कुरा, महसुस गरेको कुरा, चिन्तन गरेको कुरा नै समाजलाई दिएको हुँ । त्यति गर्दागर्दै पनि कहिलेकाहीँ बढी भावनामा बगिन्छ । त्यही भावनाले बीचमा डट... डट... डट... उत्पन्न गरिदिन्छ ! त्यही पाठकका लागि क्लिष्ट भइदिन सक्छ ।
एउटा लेखकले कहिल्यै पनि पाठकलाई उपेक्षा गरेर लेख्दैन । न त उसले लेखेको कुरो पाठकले नबुझोस्, समाजले नबुझोस् भन्ने नै चाहन्छ । हो, लेखनमा कहिलेकाहीँ हाडे ओखरको कडापन पर्न सक्छ । तर, भित्र त नरम र मिठो नै हुन्छ ।
त्यसो भए हाडे ओखर फुटाउने जिम्मा पाठकको !
अँ ! पाठककै जिम्मा हो त्यो । हेर्नुस्, पाठक नै सबैभन्दा शक्तिशाली हुन्छन् । पाठकलाई सहभागी नगराई, पाठकको उपस्थितिबिना, पाठकको अनुमतिबिना कुनै पनि लेखक पूर्ण हुन सक्दैन । पाठकहरू लेखकभन्दा निकै जान्ने हुन्छन् । पर्यो भने पाठकले लेखकलाई कठघरामा उभ्याउन सक्छन् । लेखकले त जे बुझेको हुन्छ, त्यही लेखिदिन्छ । तर, पाठकले त्यसलाई लिएर तुलना पनि गर्छ । पाठकमा हजार सूर्यको तेज हुन्छ । पाठकलाई बेवास्ता गर्ने त कुरै आउँदैन । पाठकलाई बेवास्ता गरेर लेखेको रचनाको त अर्थै रहँदैन ।
अहिले मूलधारको निबन्ध लेख्नेहरूको अभाव छ, यस्तो किन ?
निबन्ध भनेको आत्मप्रकाशको, चिन्तनको, भोगेको समयको, भोगेको समाजको सूक्ष्मभन्दा सूक्ष्म कुराहरूलाई लिएर लेखिने विधा हो । अझै भनौँ, गहिरो विचार अभिव्यक्तिको विधा हो, निबन्ध । निबन्ध लेख्न ध्यान एकाग्र हुनुपर्छ । अध्ययन, चिन्तन, मनन र व्यापक मन्थन गर्नुपर्छ । आफू आफैँमा घोत्लिनुपर्छ । हिजोका दिनमा विश्वयुद्ध मात्रै थियो र त्यसैमा केन्द्रित भएर निबन्ध साहित्य लेखियो होला । अहिले त छिन–छिनमा युद्ध छ । प्रत्येक छिन–छिनको युद्धलाई निबन्धमा उतार्नुपर्ने समय छ । अझै भनौँ, बालुवामा झरेको सियोलाई टिप्नुपर्ने समय हो, अहिले । अहिलेको निबन्धकारिता त्यतिकै जटिल छ । अर्थात्, समय नै कठिन छ । त्यसैले लेखन पनि जटिल हुँदै गएको छ । सायद, त्यसैले पनि निबन्ध लेखनमा कम साहित्यकारहरु आइरहेका हुन् ।
त्यसो त निबन्धका अन्य हाँगाहरूको प्रयोग हुँदै आएको छ । जस्तो कि, यात्रा, दैनिकी, प्रबन्ध, संस्मरण, अनुभूति । यी सबै निबन्ध लेखनकै पाटा हुन् । तर, गद्यको एउटा शक्तिशाली पाटो भनेको गम्भीर प्रकृत्तिको निबन्ध हो । गद्यमार्फत बोलिने गहनतम कलाकारितायुक्त विचारशील भावना नै निबन्ध हो । तर, खै किन हो दार्शनिक दृष्टिकोणका निबन्धहरू कम आइरहेका छन् ।
प्रस्तुति : राजेश खनाल