site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा
फाइल तस्बिर ।

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

सहकारी संस्थाको पाँच करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा अध्यक्ष सुवेदीसहित २५ जनाविरुद्ध गएको मंगलबार दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

राप्ती–८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले मुद्दा दायर गरेका हुन् । मुद्दा दर्तापछि सहकारीका चार कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् ।

Argakhachi Cement Island Ad

सहकारीका ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मनिराम भण्डारी, लेखापाल विकाश न्यौपाने, सहलेखापाल विक्रम राना र उनकी श्रीमती उषा राना थापा पक्राउ परेका छन् । रकम हिनामिना कार्यमा सहलेखापाल रानाको मुख्य भूमिका औँल्याइएकोले श्रीमतीको समेत त्यसमा मिलेमतोको आशंकामा उषालाई अन्य शीर्षकमा पक्राउ गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरुको बयान बुधबारदेखि सुरु भएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए । बयान सकिएपछि थुनछेक बहस सुरु हुने अदालतका स्रेस्तेदारसमेत रहेका गिरीले बताए ।

सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २० जनालाई प्रहरीले ‘फरार’को सूचीमा राखेको छ ।

सुवेदी सहकारीको लेखा सुपरिवेक्षण समितिमा आबद्ध छन् । संस्थापकको नाताले नाम रहे पनि पछिल्लो समय अध्यक्ष सुवेदीको सहकारीको गतिविधिमा प्रत्यक्ष रुपमा संलग्नता नदेखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

सहकारीको गतिविधिमा सक्रिय छैन : सुवेदी
गाउँपालिकाका अध्यक्ष सुवेदीले संस्थापकको नाताले आबद्धता रहे पनि पछिल्लो समय आफू सहकारीको गतिविधिमा सक्रिय नरहेको बताए ।

लेखापाललगायत केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारीलगायत सबैलाई विपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफूले सुनेको उनले बताए ।

गाउँपरिषद्को बैठकमा सहभागी अध्यक्ष सुवेदीले संक्षिप्त प्रतिक्रिया दिँदै अदालतले बोलाउना साथ आफू उपस्थित हुने र अनुसन्धानमा सघाउने स्पष्ट पारे । “बदमासी जसले गरेको भए पनि संस्थापकको नाताले म उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउनेछु,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्