site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सरकारले हाम्रो भोट चिन्यो, भोक चिनेन’

दाङ । बस्तीलाई वरपरबाट घेरेकोे पहाड । पहाडको फेद भएर बग्ने खोला । खोलाका ढिकमा साना झुपडी । कोही समूह बनाएर त कोही झुपडीको आँगनमा मुर्झाएको अनुहार लिएर बसेका थिए, केही पाउने आशामा ।

घोराही उपमहानगरपालिका–११ का चाचला र खुमकोट गाउँ । निषेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गर्न नारायणपुर उद्योग वाणिज्य संघको टोली चाचलाको सुनछहारी र खुमकोटको खुमकोट टोल पुग्दा देखिएका दृश्य थिए यी ।

घरीघरी राहत आउने बाटोतिर आँखा दौडाइरहेकी सुनछहारीकी लालमती विकले राहत पाउँदा हर्षका आँसु झार्न लजाइनन् । किन रुनुभएको ? भन्ने प्रश्नमा भक्कानिँदै भनिन्, “हाम्रा लागि पनि कोही रहेछन्, राहत पाउँदा त सपनाजस्तो लागेको छ । भोक टार्न गाह्रो भएको थियो, अब त केही दिनलाई ढुक्क भयौँ नि ।” उनी बोल्दाबोल्दै रोकिइन् । बोल्नै सकिनन् । मजेत्रोको एकछेउले आँखामा टिलपिलाइरहेका आँसु पुछिन् ।

“अब कसरी छाक टार्ने हो भन्ने समस्या परेको थियो हामीलाई । धेरै दिन भइसकेको थियो पेटभरि नखाएको, भोक मार्नलाई खान्छौँ । गरिबलाई बाँच्न गाह्रो छ । अझै यस्तै हुने हो भने कसरी बाँचिएला र भोकबाट,” अर्का स्थानीय ताराबहादुरले पीडा सुनाए ।

“अति विकटमा बस्ने हामी अति विपन्न परिवारका छौँ । दैनिक ज्याला मजदुरी नै हाम्रो जीविकोपार्जन हो । लकडाउनले गर्दा काम पनि ठप्प भयो । कतै काम नै पाइएन अनि त अप्ठ्यारो अवस्था परेको हो,” सुनछहारी टोल विकास समितिका अध्यक्ष सुशील विकले भने ।

चाचलाका सुनछहारी टोलमा २४ घरधुरी छन् । ती सबै विपन्न परिवारका छन् । निषेधाज्ञाको समयमा ज्याला मजदुरीको काम नपाउँदा चुल्हो बाल्न नै उनीहरुलाई समस्या परेको हो ।

खुमकोट पनि अति विकट ठाउँ हो । खुमकोटको खुमकोट टोल विकास समितिमा २१ घरधुरी छन् । तीमध्ये १७ घरधुरी अति विपन्नका छन् ।

‘“हामी भोकले मर्न थाल्यौँ । सरकारले हेरेन । कोही राहत लिएर आएनन् । हामी त भोटका लागि मात्र रहेछौँ । सरकारले हाम्रो भोट चिन्यो, भोक चिनेन,” खुमकोटकी जैकली साहुले पीडा र आक्रोश एकैपटक पोखिन् । आँखाभरि जम्मा भएका आँसुलाई रोक्न खोज्दै थिइन् । तर, सकिनन् । आँसु पुछ्दै भनिन्, “अब त केही दिनलाई ढुक्क भयौँ ।”

नारायणपुर उद्योग वाणिज्य संघको टोली त्यहाँ पुग्दा उनीहरु घण्टौँ पहिला आएर राहतको प्रतीक्षामा बसिसकेका थिए । घोराही उपमहानगरपालिका–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेसहित संघको टोली राहत वितरणका लागि चाचला पुगेको थियो ।

“राहत वितरण अभियानअन्तर्गत हालसम्म ३७७ घरधुरीलाई राहत उपलब्ध गराएका छौँ । टोल विकास समितिका अध्यक्षको सिफारिसमा हामीले अति विपन्न परिवार, अपांगत भएका, एकल, बेसहारा परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरेका हौँ । यो अभियानमा साथ दिने सबै सहयोगी मनप्रति हार्दिक आभार प्रकट गर्दछौँ,” संघका अध्यक्ष अभियान बस्नेतले बताए ।

वडाध्यक्षले लामिछानेले उद्योग वाणिज्य संघले विपद्का बेला विपन्नलाई सहयोग गरेर सराहनीय काम गरेको बताए ।

पछिल्लो समय संघले विपन्नका लागि राहत, कोरोना संक्रमितका लागि अटो एम्बुलेन्स सञ्चालन, बिरामीका लागि अक्सिजन व्यवस्थापन तथा विपद्को सारथिजस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro