site stats
बाह्रखरी :: Baahrakhari
देश
भेरी नदीमा बेपत्ता भएकी रुकुम पश्चिमकी किशाेरीकाे खाेजीमा तीन जिल्लाका प्रहरी परिचालन
सांकेतिक तस्बिर

दाङ । मंगलबार भेरी नदीमा बगेर बेपत्ता भएकी रुकुम पश्चिमकी १६ वर्षीय दीपा डाँगीको खोजीको लागि बुधबार तीन जिल्लाका प्रहरी परिचालन भएका छन् । बुधबार बिहानैदेखि दीपाको खोजीका लागि जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका प्रहरीहरू खटिएका छन् । 

जाजरकोट जिल्लाको कुदु प्रहरी चौकी, मटेला प्रहरी चौकी र छेडागाड प्रहरी चौकीबाट ३/३ जना गरी ९ जना पौडीबाज प्रहरीहरू बेपत्ता दीपाको खोजीका लागि खटाएको जाजरकोट प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनले रुकुम पश्चिम प्रहरी र सल्यान जिल्लाको नदी किनारको प्रहरीपनि दीपाको खोजीमा खटिएको जानकारी दिए । प्रहरीले स्थानीयको पनि साथ लिएको छ ।

घटनाको २४ घन्टा बितिसक्दा पनि बेपत्ता दीवा फेला पर्न नसकेपछि अब मोटर गाडीका ट्युबको साहराले खोजी गर्नेबारे छलफल भइरहेको डिएसपी थापाले बताए ।

मंगलबार बिहान साढे ११ बजेतिर भेरी नदीमा बगेर रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १२ दुरनेटाकी दीपा बेपत्ता भएकी थिइन् । नदीमा बगेका दीपाकी बहिनी ११ वर्षीय गीता र १७ वर्षीय दाजु रामबहादुरलाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल जाजरकोट पुर्‍याएका थिए । तर, गीताको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य छ ।

प्रहरीकाअनुसार रुकुम पश्चिमको दुरनेटाका उनीहरू मंगलबार जाजरकोटको भेरी नगरपालिकास्थित १ स्थित रावतगाँउमा आफन्तको मृत्युपछि शुद्धशान्तिका लागि पुगेका थिए। शुद्धशान्तिको कार्यक्रमपछि उनीहरू भेरी किनारको शिवालय मन्दिर दर्शन गर्न गएका थिए । त्यसपछि गर्मी छल्न भन्दै रामबहादुर नदीमा नुहाउन भनेर जान खोज्दा ढुंगामा चिप्लिएर नदीमा खसेका थिए । दाइ बगेपछि दुई दिदीबहिनी दाइलाई उद्धार गर्न नदीमा हामफालेका थिए ।

प्रहरीकाअनुसार मृतक गीता र दीपा सहोदर दिदीबहिनी हुन । रामबहादुर भने उनीहरूकाे अङ्कलका छोरा हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्