site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मृत्युको भट्टीनिकट भोको पेटको आर्तनाद

काठमाडौं । धन्न निषेधाज्ञा छ, धेरैले यो दृश्य हेर्नुपरेको छैन । नत्र, गौशाला तल रिङरोडमा रहेको वाग्मती पुलबाट देखिने पशुपति आर्यघाटका करिब दर्जन बढी घाटहरूमा निरन्तर जलिरहेको लास अनि ति घाटले नभ्याउने भएपछि इलेक्ट्रिक मुर्दाघरको पछाडि सेनाको सक्रियतामा कोभिड–१९ बाट मृत्यु वरण गरेकाको दर्जनौं लास एक तमास जलिरहेको दृश्यले सबैको मन खरानी हुन्थ्यो । बिचरा, आफ्ना गुमाएका सयौं परिवारजन त्यही पुलबाट लासहरूको भिडमा जलिरहेको आफ्नो प्रिय व्यक्तिको शरीर धुँवा बनेको दृश्य हेरेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अश्रुधारा बहाइरहेका हुन्छन् । 

वाग्मती नदीको पुलमा पुग्दा देखिने दृश्यले सबैको हृदय छिया छिया हुन्छ, एकपल्ट गला अवरुद्ध हुन्छ अनि नेपालीलाई यो पीडा किन पर्‍यो भगवान भनेर एकपल्ट पशुपतिनाथलाई सोध्छन् । तर, पीडाको पराकाष्ठा त पुलबाट थोरै माथि पो देखिन्छ, समयमै पुगिएको छ भने । 

Dabur Nepal

वाग्मती पुलबाट विमानस्थलतर्फ जाँदा तिलगंगा आँखा अस्पतालको अगाडि गुहेश्वरीको जंगल छिर्ने कुनामा एउटा खाली ठाउँ छ । त्यो खुला स्थानमा साढे पाँच बजे पुग्ने हो भने तल पुलमा बसेर देखेको दुःख भन्दा बढी छाती पोल्छ । रोग लागेर बितेका भन्दा भोक लागेर खाना खोज्दै आएकाले लाइनमा बसेर एक भाँडा भातले आफ्नो आँत भर्न गरेको संघर्षले अत्यधिक छटपट् हुन्छ । 

ठिक समयमा लहर मिलेर बसे भात र तरकारी राखिएको एउटा ठिक्कको अल्मुनियम फ्वायलको भाँडा र प्लाष्टिकको कपमा दाल पाइन्छ । खाएपछि पानी पनि दिन्छन् खाना बाँड्न आउने मनकारी दिव्य आत्माहरूले ।

हिरा विक्रम परियार तिलगंगा अगाडि बाँडिने खानामा निर्भर रहने एक ४० वर्षीय युवा हुन् । पहिलो लकडाउनपछि नै उनको कुनै आयस्रोत छैन । आफू पहिले ठूलो होटलमा काम गर्थें भनेर आत्मसन्तोष लिन्छन्, तर त्यो कुरा साँचो हो वा होइन भनेर जाँच्नुको कुनै तुक छैन । विगत् १४ महिनादेखि उनी हरेक दिन साढे पाँचबजे सो स्थानमा आउँछन् र डिभाइन पाथ नामक संस्थाले बाँड्ने खाना खाएर दिनभरिको भोक मेटाउँछन् । उनीजस्ता त्यहाँ हरेक दिन डेढ सयदेखि दुई सय व्यक्ति भेला हुन्छन् । 

टाटा सुमोमा विगत् १४ महिनादेखि हरेक दिन खाना भरेर ल्याउने डिभाइन पाथकी अध्यक्ष योगिनी सरितानन्दी पहिलो लकडाउन पश्चात भोका पेटहरूलाई एक छाक खाना खुवाउने काममा उनी र उनका केही साथी निरन्तर लागेको बताउँछिन् । अहिलेसम्म हरेक दिन अखण्ड भोजन चलिरहेको छ र यसरी अनित्य चल्नुका पछाडि उनी भगवानको कृपा सम्झिन्छिन् । कोही न कोही दयालु मनले केही न केही सहयोग गरेर यो अखण्ड भोजन नित्य चलिरहेको छ । 

कहिलेकाहीं खाना धेरै भएर फिर्ता लग्नुपर्ने अवस्थामा उनलाई अलि नराम्रो लाग्छ, तर मान्छे धेरै भएर खाना नपुग्दा भने उनको मनमा आँधी चल्दो रहेछ । जेठ १७ गते आएको भिड सदा भन्दा निकै ठूलो थियो । साना केटा केटी देखि युवा, अधवैंशे र बुढाबुढी सबलाई एक समान भोक लागेको थियो । तर करिब एक दर्जन जति मान्छेलाई खानाको प्याक कम भयो । 

“धन्न हामीले यस्तो पर्ला भनेर चिउराको प्याकेट र बिस्कुट ल्याएका थियौं । केटाकेटीहरू त्यसैमा रमाए । अब उप्रान्त खानाको प्याकेट थप गर्छौं,” उनले बाह्रखरीसँग मनको बह साटिन् ।

उनको टिममा तोया योगी, दिलिप कुमार गुरुङ, प्रिती शर्मा, माधव दवाडी र डा. अर्चना छन् । डा. अर्चना आफैँ केही समय बिरामी भएर अहिले फेरि यो पुण्य कार्यमा सहभागी हुन जोडिएकी छिन् । यस बाहेक केही युवाहरूले पनि स्वयंसेवी बनेर सघाएका छन् । 

डिभाइन पाथको सरकारसँग वा कुनै दातासँग कुनै खास अनुरोध छैन । उनीहरूको अखण्ड भोजन त एक न एक दाताको उदारताको कारण चलि नै रहेको छ । तर उनलाई त्यस्ता निःशुल्क भोजन बाँडनेसँग दिक्क लाग्छ जो कहिले काहीँ मात्र आउँछन् र दुई बजेतिर भोजन बाँडेर हिंडीदिन्छन् । त्यस्तो दिन उनको टोलीले ल्याएको भोजन खेर जान्छ । त्यसैले अरु टोलिले सोही स्थानमा बाँडनुभन्दा अन्त भोका जन भएको स्थानमा लगेर बाँडे धेरैको पेट पनि भरिन्थ्यो र अन्न खेर पनि जाँदैनथ्यो भन्ने योगिनी सरिताको अनुरोध छ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro