site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदनमार्गका जबजविरोधी
फाइल तस्बिर ।

काठमाडौं । गत कात्तिकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विग्रह उत्कर्षमा थियो । प्रधानमन्त्री केपी शर्मा ओली र उनीविरुद्धको ध्रुवमा एकट्ठा भएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहसहित सचिवालय, स्थायी कमिटीका बहुल नेताहरूबीचको अन्तरसंघर्ष कुन बाटो अघि बढ्छ, यसै भन्न सकिँदैनथ्यो ।

कार्यदलको प्रतिवेदन र भदौ २६ को निर्णय अवज्ञा गर्दै, ओली बेलगाम अघि बढेको भन्दै असन्तुष्ट समूहहरूले बैठक माग गरिरहेको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यसलाई टार्दै आइरहेका थिए ।

पार्टी कमिटीको होइन, दुई अध्यक्षको भेटसमेत जटिल–दुरूह बनेपछि सचिवालयका नेताहरू सामूहिक पत्र बुझाउने तयारी गरिरहेका थिए ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल बैठक राख्दै जनताको बहुदलीय जनवादको बहस ब्युँताउन थाले । जबकि, जेठ ३, २०७५ मा पार्टी एकता हुँदा अध्यक्ष ओलीले नै एकता महाधिवेशनसम्म तत्कालीन एमालेको कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अघि सार्दै आएको ‘एक्काइसौँ शताब्दीमा जनवाद’ दुवै स्थगित गर्न राजी भएका थिए । र, एकीकृत पार्टीको अन्तरिम कार्यदिशाका रूपमा जनताको जनवाद तर्जुमा गरिएको थियो ।

पार्टीभित्र विग्रह झाँगिदै र फैलँदै जाँदा प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको बहस सुरु गर्न थाले । पार्टीका कमिटीहरू निस्क्रियप्रायः थिए । केन्द्रीय निकाय, विभागहरू, प्रवास कमिटीहरूले पूर्णता पाएका थिएनन् । एकता प्रक्रिया निष्कर्षमा पुगिसकेको थिएन ।

कात्तिक २० गते प्रदेश नम्बर एकको भर्चुअल भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले आठौँ (बुटवल) महाधिवेशनमा पराजित भएपछिजस्तै मदन भण्डारी फाउन्डेशन सक्रिय तुल्याउन निर्देशन दिए ।

यो निर्देशन भदौ २६ को स्थायी कमिटीको निर्णयको बरखिलाफ थियो । यसकारण कि, भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीका दिवंगत या जीवित नेताको नाममा खडा गरेका प्रतिष्ठानहरूलाई नियमन गर्ने निर्णय गरेको थियो । त्यसलाई पार्टीगत गतिविधिसँग मिल्दो, सुहाउँदो, समानान्तर गतिविधि गर्न निषिद्ध गरेको थियो । संस्थाहरूलाई नियमन गर्नेगरी एकमहिनाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो ।

तर, ओलीले झन् सक्रिय बनाउने र त्यसका नाममा जनताको बहुदलीय जनवादको बहस आधारभूत तहसम्म लैजाने र गुटलाई बलियो बनाउने योजना अघि सारे ।

त्यो पार्टी सत्तामा अल्मतमा परेपछि गुट बलियो बनाउने रणनीति थियो भन्ने कुरा कहीँ कतै नछिप्ने नेताहरू बताउँछन् । बुटवल महाधिवेशनमा पराजित भएपछि ओलीले मदन भण्डारी फाउन्डेशनका गतिविधिमा उपस्थिति बढाउन थालेका थिए । र, फाउन्डेशनकै  सहारामा देशव्यापी शक्ति आर्जन, विस्तार गरेका थिए ।

नेकपा कालमा पनि उनले जबजको मायाले होइन, फाउन्डेसनमार्फत् पार्टी सत्तालाई बलियो बनाउन खोजेका थिए भन्ने घटनाक्रममले पुष्टि गर्छ ।

वास्तवमा ओली जबज रक्षक–मार्गी होइनन् । किनकि, उनका क्रियाकलाप, कार्यशैली जनताको बहुदलीय जनवादी विचारसँग पटक्कै मेल खाँदैनन् । संगती राख्दैनन् ।

विरोधीविहीन पार्टी अर्थात जबजविरोधी चिन्तन

अहिलेको एमालेको प्राण भनेको मदन भण्डारीकृत जनताको बहुदलीय जनवाद नै हो । जनवादका १४ विशेषता छन् । सामन्तवादविरुद्धको संघर्ष हुँदै समाजवादमा संक्रमण गर्नेसम्मको कार्यक्रमिक खाका यसले कोरेको छ । 

जबजको सारतत्त्व भनेको प्रतिस्पर्धात्मक शासन व्यवस्था नै हो । चाहे पार्टी सत्ता होस्, चाहे राजकीय सत्ता, दुवैतिर यसले प्रतिस्पर्धाकै पृष्ठपोषण गर्छ ।

“सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो । यस क्रान्तिको नेतृत्व पनि सर्वहारा–श्रमजीवी वर्गले मात्र गर्नसक्छ । सर्वहारा–श्रमजीवी वर्गको, मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले मात्र गर्नसक्छ । तर, यस कुरालाई केबल सैद्धान्तिकरूपमा उल्लेख गरेर र दस्तावेजमा लेखेर मात्र हुँदैन । त्यसकारण हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छौँ,” जबजका १४ विशेषताको १३ नम्बरको बुँदामा मदन भण्डारीले किटानका साथ भनेका छन् ।

उनले यो पनि भनेका छन्, “सैद्धान्तिक, वर्गीय र रणनीतिकरूपमा सर्वहारा नेतृत्वको अनिवार्यताबारे उल्लेख गर्दा कार्यनीतिकरूपमा अरूसँग नेतृत्वका निम्ति गम्भीर प्रतिस्पर्धा गर्नुपर्ने र पहलकदमी लिनुपर्ने आवश्यकताप्रति बेवास्ता गरेर ढुक्क हुने प्रवृत्ति देखिएको छ । हामी यो प्रवृत्तिलाई हटाउन र तीव्र प्रतिस्पर्धा र सशक्त पहलकदमीमा जोड दिन चाहन्छौँ । त्यसरी नै क्रान्तिपछिको निर्माणकालमा पनि पार्टीले पहलकदमी र प्रतिस्पर्धाबाट नै नेतृत्व हातमा लिनुपर्छ ।”

मदन चिन्तनले राजकीय सत्ता र पार्टी सत्ता दुवैतिर पहलकमदी र प्रतिस्पर्धाबाट मात्रै श्रेष्ठता हासिल गर्न सकिन्छ भन्छ । बहुमतको शासन र अल्पमतको संरक्षण–सम्मान हुनुपर्छ भन्ने आदर्श बोक्छ ।

तर, ओलीको कार्यशैली यो आदर्श आत्मसात गर्दैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्षको भूमिकामा रहेका ओली त विरोधीलाई सखाप पारेर, जिम्मेवारीमा ढिम्कनै नदिएर, अल्पमतलाई निमिट्यान्न बनाएर नेतृत्व गर्न चाहन्छन् भनेर घटनाक्रम नै साक्षी छन् ।

गत सोमबार अध्यक्ष ओलीले २०३९ सालमै पार्टी (तत्कालीन माले) महासचिव बनेका झलनाथ खनाल र मदन भण्डारीको अवसानपछि २०६४ चैत (पहिलो संविधानसभाको निर्वाचन)सम्म नेतृत्व गरेका माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरे । साधारण सदस्यसमेतबाट बर्खास्त गरे । १२ जनालाई स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणमा एमाले आन्दोलनको नेतृत्व सम्हाल्न तम्तयार दोस्रो पुस्ताका नेताहरू पनि छन् ।

यो कारबाही प्रकरणले मात्र नभइ ओलीको बारम्बारको अभिव्यक्ति, ‘समूहगत चिन्तनसँग संवाद गर्दिन’ भन्ने मनोदशा फरक विचार, भावनालाई ठाउँ दिन्न भन्ने नै रहेको एमालेका नेताहरू बताउँछन् ।

नेकपा कालमा मात्र होइन, नवौँ महाधिवेशनबाट नेतृत्व आएदेखि नै उनले विरोधी निमिट्यान्न पार्ने कार्यशैली अपनाउँदै आएको नेताहरूको ठहर छ । २०७२ मा संविधान जारीपश्चात् राजकीय सत्तामा आएपछि त्यो झन् प्रखररूपमा प्रकट भएको उनीहरूको बुझाइ छ ।

२०७४ फागुन ३ सम्म आइपुग्दा त्यो झन् विस्फोटक रूपमा अघि बढेको र अन्ततः त्यसले पार्टी आन्दोलनलाई छिन्नभिन्न तुल्याएको पुगेको उनीहरू निष्कर्ष निकाल्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro