
नयाँ दिल्ली । बुधबार भारतीय चिकित्सकहरुले कोभिड–१९ को अप्रमाणित औषधि बिरामीहरुमा वितरण गर्ने सम्बन्धी छलफल गरेका छन् । हर्याना स्टेटमा निःशुल्क वितरण गरिने भनिएको ‘कोरोनील’ चर्चित योगगुरु रामदेवको कम्पनीले उत्पादन गरेको हो । यसअघि कोरोनीलका उत्पादकहरुले आधुनिक औषधिकै कारण बिरामीहरुको मृत्यु भएको भनेर विवादास्पद बयान पनि दिएका थिए ।
आयुरवेदिक कम्पनी पतन्जलीले गत वर्ष कोरोनीलले कोभिड–१९ को उपचार गर्ने दाबी गर्दै यो औषधि सार्वजनिक गरेको थियो । सरकारले पछि यसलाई कोभिड ठीक गर्ने औषधि नभइ ‘इम्युनिटी बुस्टर’ अर्थात प्रतिरोधात्मक क्षमता बढाउने औषधिका रुपमा बजारमा उपलब्ध गराउन सकिने बताएको थियो ।
कोरोनीलले कोरोनाका बिरामीलाई ठीक गर्न सक्छ भन्ने कुनै वैज्ञानिक आधार नभएको इन्डियन मेडिकल असोसिएसन (आइएमए) उत्तराखण्डका प्रदेश सचिव अजय खन्ना बताउँछन् । संचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले भने, “यदि हर्याना सरकारले यस्तो गर्छ भनेर यो उनीहरुकै क्षति हुनेछ ।”
यसअघि उत्तराखण्डको आईएमए युनिटले योगगुरु रामदेवविरुद्ध मुद्दा चलाउँदै उनलाई आफ्नो विवादास्पद बयानका लागि माफी माग्न भनेका थिए । उनले विज्ञानमा आधारित आधुनिक ओषधिले नै हजारौँ कोभिड बिरामीको ज्यान लिएको भन्ने विवादास्पद बयान दिएका थिए । उनको सो भनाइले देशभरका डाक्टरहरुको ध्यानाकर्षण गराएको हो ।
यस्तोमा आइतबार चौतर्फी दबाब पश्चात् उनले आफ्नो बयान फिर्ता लिएका हुन् । खन्ना भन्छन्, “उनी केबल एक व्यापारी मात्र हुन् । त्यसैले आफ्नो उत्पादन विक्री गर्न त्यस्तो भनेका हुन् । उनले एलोपेथिक औषधि र आयुरवेदबीच लडाईँ सिर्जना गर्न खोजिरहेका छन् ।”
योभन्दा अगाडि पनि भारतीय चिकित्सकको समूहले मानिसहरुलाई अपुष्ट कोरोनाका उपचार नअपाउन भनेका थिए । यसमा उनीहरुले गाईको गोबर लगाएर कोरोना भाग्छ भन्ने विश्वासका पछि नलाग्न आग्रह गरेका हुन्, जसको प्रभावकारिता सम्बन्धी कुनै वैज्ञानिक प्रमाण छैन र उल्टै त्यसबाट अन्य संक्रमण फैलने डर हुन्छ ।
भारतमा अहिले जारी कोरोनाको दोस्रो लहरले देशभर भयावह प्रभाव अवस्था छ । र, त्यहाँ अझैपनि धेरै मानिसहरुमाझ परम्परागत उपचार विधिलगायत औषधि लोकप्रिय छ । स्वास्थ्य सेवाको अभावमा मानिसहरु तिनै विश्वास र पुराना मान्यता अपनाउने गर्दछन् । तर, डाक्टरहरुले वैकल्पिक कोभिड उपचार माथि भरोसा गर्नुका जोखिमबारे बारम्बार चेतावनी दिइरहेका छन् ।
यसले विशेषगरी मानिसहरुलाई सुरक्षित छु भन्ने भ्रममा राखेर ठूलो खतरामा पार्न सक्ने हिन्दुजा अस्पतालका कन्सल्टेन्ट लेन्सेलोट पिन्टो बताउँछन् ।
रोयटर्सबाट