काठमाडौं । जेनेस सोलुसनले ५ करोड ५ लाख लगानी प्राप्त गरेको छ । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रा. लि बाट ५ करोड ५ लाख बराबर रकम लगानी प्राप्त गरेको जनाएको छ । बिजनेस अक्सिजन प्रा. लि वल्र्ड बैंक ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगमद्वारा संचालित ग्लोबल एसएमइ भेन्चर पहलको एक अंग हो ।
मुख्यत : क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्धेश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने जनाइएको छ । यस्ता उद्धेश्यहरुमा आफ्नो सेवा / उत्पादनको दायरा बिस्तार र व्यवसायिक सिपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्ने जनाइएको छ ।
“बिजनेस अक्सिजबाट प्राप्त बित्तिय लगानीलाई हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधिलाइ अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौं । यसले दिर्घकालिन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई नयाँ उचाँइमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ,” जेनेस सोलुसनको संस्थापक अन्जनी फुयाल बताए ।
त्यसैगरी, जेनेस सोलुसनले प्रसन्न पोखरेललाई नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको जनाएको छ ।