काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद शुरु भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले उक्त संवाद पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । साथै उनले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् ।
“नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले)का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु,” उनले भनेका छन् ।
साथै उनले ओलीलाई ४३ औं प्रधानमन्त्री नियुक्ति भएकोमा बधाई पनि दिएका छन् । बिहीबार ओली र नेपालबीचको भेटले पार्टी एकताको दिशामा अघि बढेको नेताहरु बताउँछन् । ओली बिहीबार नै संसद्को ठूलो दलको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।