काठमाडौं । नेपाली चलचित्र उद्योगको पहिलो चलचित्र भारतीय चलचित्र ‘सत्यहरिश्चन्द्र’को नेपाली रूपान्तरण हो । नेपाली भूमिमा बनेको पहिलो चलचित्रका निर्देशक नै भारतीय नागरिक थिए । यो चलचित्रमा प्राविधिक मात्रै होइन, केही कलाकार पनि भारतीय थिए ।
निर्देशक, प्राविधिक तथा केही कलाकारसमेत भारतीय भएकाले भारतीय हिन्दी चलचित्रको ‘फे्लेबर’ देखिनु सामान्य प्रायः थियो ।
पछि प्रकाश थापा, तुलसी घिमिरेजस्ता निर्देशक पनि नेपाली मूलका भारतीय भएकाले उनीहरुले बनाएका चलचित्रमा पनि हिन्दी फिल्मकै ‘फ्लेबर’ आउनु अस्वाभाविक थिएन । पछि नेपालले भारतसँग ‘एमओयू’ गरेर छात्रवृत्तिमा एफटीआईआईमा पढेर आएका निर्देशकहरुले निर्देशन गरेका चलचित्रमा पनि बलिउड फिल्मकै ट्युन देखियो ।
पहिलो चलचित्रदेखि ५० को दशकको मध्यसम्म बलिउड सूत्रमै नेपाली चलचित्र बनेकाले निर्देशक तथा समीक्षक मनोज पण्डित नेपाली चलचित्रको जननी बलिउडलाई मानन्छन् । अहिले पनि कमर्सियल चलचित्र बलिउड सूत्रमै निर्माण भइरहेका छन् ।
छिरिङ रितार शेर्पा, नवीन सुब्बालगायतले चलिरहेको बलिउड सूत्रभन्दा अलग धारका चलचित्र बनाए । छिरिङले ‘मुकुण्डो’ र नवीनले ‘नुमाफुङ’ बनाएर नेपालमा बनिरहेकाभन्दा बिलकुल फरक खालका चलचित्र निर्माण गरे । उनीहरुले नेपाली चलचित्रले आफ्नै फरक पहिचान बोक्नुपर्छ भन्ने उद्देश्यले निरन्तरताको क्रमभंगता गरेका थिए ।
त्यसयता, मनोज पण्डित, दीपक रौनियार, दीपेन्द्र के खनाल, मीन भामलगायतले नेपाली चलचित्रले आफ्नै मौलिक पहिचान निर्माण गर्न सक्नुपर्छ भन्दै फरकधारका चलचित्र बनाए । पछिल्लो समय फिल्म कलेज पढेर आएको पुस्ताका केही मेकरले पनि बलिउड सूत्रलाई अवलम्बन गरेन । यसको उदाहरणका रुपमा निश्चल बस्नेत, नरेशकुमार केसी, विनोद पौडेल, सुजित बिडारीलगायतलाई लिन सकिन्छ ।
पछिल्लो समय बाक्लै रुपमा उठेको आवाज हो, बलिउड सूत्रले नेपाली चलचित्रलाई नेपाली भूगोलमै सीमित गरिदियो । बलिउडकै लयमा नेपाली चलचित्र निर्माण हुनेक्रम नरोकिने हो भने हिन्दी चलचित्र हेरे भइगयो नि, किन हेर्नु नेपाली चलचित्र !
यो भनाइमा निर्देशक मनोज पण्डित सहमत छन् । तर, बलिउडका राम्रा पक्षहरु भने भुल्न नहुनेमा उनको जोड छ । “पछिल्लो समयका नयाँ मेकर हुन् अथवा फिल्म कलेज पढेर आएका विद्यार्थी, उनीहरुको विचार र धारणा सुन्दा नेपाली चलचित्रको विकास गर्ने हो भने आफ्नै टोन विकास गर्नुपर्छ । बलिउडको फर्मुलालाई छोड्नुपर्छ,” निर्देशक मनोज भन्छन्, “समीक्षकहरुको धारणा पनि करिब–करिब यस्तै छ । तर, नेपाली चलचित्रको आफ्नै टोन निर्माण गर्ने क्रममा बलिउडसँग द्वन्द्व हुनसक्छ । त्यसलाई रचनात्मक द्वन्द्वका रुपमा लिनु पनि पर्छ । यद्यपि, बलिउडका राम्रा पक्षलाई भने हामीले भुल्नु हुँदैन ।”
फिल्म मेकिङ पढेर आएका र केही फरक तथा राम्रो गर्छु भन्ने जुनुन् भएका मेकरहरु बलिउडबाट टाढा हुन खोजेको मनोज बताउँछन् ।
आफ्नै टोन हुनुपर्छ भन्नेमा दुईमत नभए पनि नेपाली चलचित्रको आजसम्मको यात्रामा बलिउडको अनुभव र शैलीको योगदानलाई भुल्न नहुने निर्देशक नरेशकुमार केसी बताउँछन् । इतिहासको सम्मान गर्दै अघिल्लो कालखण्डमा भएका कमी–कमजोरीबाट सिकेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
“नेपाली चलचित्र हेर्दा भारतीय चलचित्रको जस्तो झल्को आउनु भएन भन्ने कुरामा सबैको एकमत छँदै छ । आफ्नै विशिष्ट पहिचान नेपाली चलचित्रले विकास गर्दै विश्व बजार घुम्नुपर्छ,” नरेश भन्छन्, “तर, चलचित्रमा वास्तविक जनजीवनभन्दा फरक समाजका जस्ता देखिने हिरो–हिरोइन राख्ने भारतीय चलचित्रको नक्कल हामीले गर्नु भएन । फाइट र गीत जबर्जस्त अनावश्यक ठाउँमा घुसाउनु भएन ।”
बम्बईया शैलीका चलचित्रको आलोचना पछिल्लो समयमा बढे पनि बहिष्कार भने नेपाली दर्शकले नगरेको उनी बताउँछन् । अहिले पनि त्यस्तै भारतीय चलचित्रको व्यग्र प्रतीक्षा गर्ने दर्शकको ठूलो तप्का नेपालमा रहेको सत्यलाई नजरअन्दाज गर्न नसकिने नरेशको धारणा छ ।
निर्देशक दिनेश राउत बोलाइ र गराइमा फरक हुने बताउँछन् । आफ्नै पहिचानसहितको चलचित्र बनाउनुपर्ने भनेर चर्को आलोचना गर्नेहरुकै बोलाइ र गराइमा भिन्नता रहेको उनको भनाइ छ ।
“बोल्नु र काम गर्नुमा फरक छ । लगानी गरिसकेपछि त्यसको रिटन्र्स आउनुपर्छ भन्ने प्रोडुसरको चाहना हुन्छ । त्यसैले व्यवहारमा आउँदा फरक हुन्छ,” दिनेश भन्छन् ।
मुख्य पक्ष सोच र बुझाइको भएको भन्दै उनी नेपाली चलचित्रको परिचय के हो भन्नेमा गम्भीर भएर सोच्नुपर्ने समय आएको बताउँछन् । भारतीय चलचित्रबाट ‘इन्स्पायर’ भएर नेपाली चलचित्रको परिचय बन्न नसक्ने बताउँदै उनी भन्छन्, “भारतीय चलचित्रले विश्वमा आफ्नो परिचय बनाइसकेको अवस्थामा त्यसैलाई पच्छ्याएर नेपाली चलचित्रको परिचय बन्दैन । यसलाई मनन् गर्दै केही मेकर काम गरिरहनुभएको पनि छ ।”
चलचित्र बिजनेस मात्रै होइन, आर्टको फर्म पनि हो भन्ने बुझाइ मेकरमा नआएसम्म आफ्नै पहिचानसहितको चलचित्र निर्माण गर्न नसकिने दिनेश बताउँछन् ।