site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिरो रोक्ने ओली प्रयास !
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कात्तिक २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो दस्तावेज लगे । कम्युनिस्ट पार्टीभित्र यस्ता परिघटना निम्तिएका छन् । आन्दोलनको क्रममा पार्टीभित्रका मतभिन्नता र अन्तरविरोधहरू दस्तावेजका माध्यमबाट मुखर यसअघि पनि नभएका होइनन् ।

यसपटक ओलीविरुद्ध अघि सारिएको दस्तावेज छलफलबाट टुंगोमा पुगेन । बरु, तिक्तता बढेर त्यसले संसद् (प्रतिनिधिसभा)लाई समेत नोक्सान पुर्‍यायो । पुस ५ गतेको परिघटना निम्तियो । प्रधानमन्त्री केपी शर्मा ओली हठात् रूपमा संसद् विघटन गर्ने निष्कर्षमा पुगे ।

त्यसयता प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच संवादको वातावरण बनेको थिएन । त्यसपूर्व पनि ती दुई नेताबीच भेटघाट, वार्ता–संवाद पातलै थियो । संसद् विघटनपछि भने ठप्पै थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीविरुद्ध संघर्षको जेहाद छेडिरहेका माधव नेपालसँग संवादमा जोड्ने ‘सेतु’ पनि निक्लिएनन् । प्रधानमन्त्री ओलीको कदम फागुन ११ गते अदालतले असंवैधानिक ठहर गरिदियो । त्यसपछि दुई नेताको तिक्तता झनै झाँगिएको थियो ।

तर, फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै पार्टी एकता खारेज भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्काइदिएपछि अध्यक्ष ओली र नेता नेपालबीच संवाद हुनुपर्ने थियो । तर पनि संवादहीनता तोडिन सकेको थिएन । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले ओलीले नै संवादको पहल गर्नुपर्ने नेता नेपालको भनाइ थियो ।

Global Ime bank

त्यसो त अदालतको फैसलाले पार्टी एकता खारेज हुनुपूर्व प्रधानमन्त्री ओलीले माधव नेपाललाई जन्मदिनको शुभकामना दिएका थिए । त्यही नै संवादमा जोड्ने सेतु भएको ओली पक्षको बुझाइ छ । नेपाल पक्ष भने अदालतले एकता खारेज गरिदिएर जेठ २ को अवस्थामा फर्काइदिइसकेकाले रिसइबी, तिक्तता बिर्सिएर संवादमा फर्कनुपर्ने र पहल प्रधानमन्त्रीले नै लिनुपर्ने अडानमा थियो ।

अचानक माधव नेपाललाई चियापानको निम्तो आयो
प्रधानमन्त्री केपी शर्मा ओली जब संकटमा पर्छन्, उनले अनेक उपाय पहिल्याउँछन् । नेताहरूलाई मनाउने पहल थाल्छन् । त्यहीमध्येको एउटा हो, ‘डिनर डिप्लोमेसी’ ।

यसअघि, कयौँपटक प्रधानमन्त्री ओलीले बालुवाटारमा भात–भान्छा गराएर नेताहरूलाई मनाउने कोसिस गरेका छन् । उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पटक-पटक निवासमा पुगेका छन् । चिया पिएर फर्किएका छन् ।

फागुन २८ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा पार्टीको दशौँ र एघारौँ बैठक राखेर एकलौटी निर्णय गरेको भन्दै नेपाल पक्ष रुष्ट बनेको छ । नेपाल पक्षले चैत ४ र ५ गते कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलामा स्थायी कमिटी, केन्द्रीय कमिटी, निकायका सदस्यहरू, जनवर्गीय संगठनका नेता-कार्यकर्ता, प्रवास समन्वय, विभिन्न पेसागत संघ–संगठनका केन्द्रीय तहका नेता-कार्यकर्तालाई बोलाइएको छ ।

२८ फागुनको निर्णयका कारण पार्टी सग्लो नरहने भएपछि ओली पक्ष पनि चिन्तित छ । तल्ला तहका कार्यकर्ता पार्टीमा पहिरो जान लाग्यो भनेर नेतृत्वलाई मिल्न दबाब पनि दिइरहेका छन् । उनीहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि दबाब बढाएको निकटवर्तीहरू बताउँछन् । आफ्नै निर्णयका कारण अप्ठ्यारोमा परेका ओलीले मंगलबार चियापानका लागि भन्दै पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा निम्तो दिएका छन् ।

सोमबार साँझ ७ बजेतिर उपमहासचिव विष्णु पौडेलले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरेर छलफलका लागि आग्रह गरेको स्रोत बताउँछन् । “विष्णु पौडेलले साँझ ७ बजेतिर सुरेन्द्र पाण्डेलाई फोन गरेर संवादको पहल लिइदिन आग्रह गर्नुभएको रहेछ,” पाण्डेनिकट स्रोतले बाह्रखरीसँग भन्यो, “जवाफमा पाण्डेले यसरी संवादको वातावरण बन्दैन । छलफल गर्ने हो भने प्रधानमन्त्री ओली माधव नेपालको घरमा आउनुपर्छ भन्नुभएको थियो ।”

पाण्डेले यति भनेपछि पौडेलले कुराकानी लम्ब्याउन चाहेनन् । साँझ घर्किएपछि प्रधानमन्त्री ओलीले आफैँ माधव नेपाललाई चियापानको निम्तो दिँदै एक्ला-एक्लै वार्ताको प्रस्ताव गरेको स्रोतले बताउँछ । ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई पनि फोन गरेका थिए । खनालसँग संवाद हुन नसकेको स्रोतको जिकिर छ ।

फागुन २८ को निर्णयपछि खनाल–नेपाल पक्षले बालुवाटारमा बोलाइएको बैठकमा नजाने अडान राख्दै आएको छ । प्रधानमन्त्री ओलीले पुनः बालुवाटारमै छलफलको प्रस्ताव गरेपछि नेपालले ठाडै अस्वीकार गरेका थिए । “म बालुवाटार आउँदिनँ र एक्ला-एक्लै तपाईंसँग भेट्दिनँ पनि । छलफल नै गर्ने भए टिमसँगै आउँछु । पार्टी कार्यालयमा छलफल गरौँ,” नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्य बताउँछन् । जवाफमा ओलीले पनि ‘पार्टी कार्यालय त आउँदिनँ’ भनेको ती केन्द्रीय सदस्य बताउँछन् । संवाद सुचारु गर्न गरेको फोनमै नोकझोक चलेपछि अन्ततः ओली धुम्बाराहीमै समूहसहित बस्न राजी भएको केन्द्रीय सदस्य बताउँछन् ।

सुरुमा गुलियो, छलफलको उत्तरार्द्धमा टर्रो
संवादमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका तर्फबाट उनका अतिरिक्त उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्मन्त्री प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । नेपाल पक्षबाट उनीका अतिरिक्त भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सरिक थिए ।

ओलीले कुराकानीको आरम्भमा निकै गुलियो कुरा गरेको स्वयम् माधव नेपालले बताएका थिए । “प्रधानमन्त्रीले पार्टी निकै संकटमा छ । हामी निकै अप्ठ्यारोमा छौँ । पार्टी एकता बचाउन सकेनौँ । सरकारले पनि निकै असहज परिस्थितिको सामना गरिरहेको छ । सबै कुरा बिर्सिएर हार्दिकता फर्काएर जानुपर्छ । निर्वाचन आयोगले अझै १५ दिनको समय दिएको छ । अवधि गुज्रिइसकेको छैैन । माओवादीसँग नयाँ शिराबाट एकता गर्न पनि सक्छौँ भन्दै आरम्भमा निकै गुलियो कुरा गर्नुभयो,” छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, “कुराकानी अन्त्यचाहिँ त्यति सुखद्, परिणाममुखी हुन सकेन । उहाँ विगतका गल्तीतिर आत्मालोचित हुने मुडमा देखिनु हुन्न । छलफललाई जारी राख्ने त भनियो । कहिले हुन्छ, त्यो पनि निधो भएन ।”

पार्टी एकतालाई कायम राख्ने, आन्दोलनलाई एकताबद्ध तुल्याउने कुरामा नेपाल पक्षको पनि विमति रहने कुरा भएन । पुस ५ गतेपछि विभाजनकारी मनोदशाका साथ पेरिसडाँडाको बाटो तताए पनि अदालतको फैसलापछि उनीहरू एमालेमै फर्किइसकेका थिए ।

ओलीले फागुन २८ गते बैठक राखेर एकतर्फी निर्णय गरेपछि एमालेभित्रको संघर्षले विग्रहको बाटो समातेको नेपाल पक्षको बुझाइ छ । उनीहरूले पार्टी एकता कायम राख्न २०७५ जेठ २ मै फर्कनुपर्ने सर्त राखेका थिए । त्यो भए मात्रै छलफल अघि बढ्न सक्ने निष्कर्ष सुनाएका थिए ।

तर, ओली त्यसमा राजी नभएपछि कुरा बिग्रिएको घनश्याम भुसाल बताउँछन् । संवादहीनता तोड्न ओलीले वार्ताको पहल गर्दा आफू निकै उत्साहित भए पनि कुराकानीको दौरानमा त्यो अभिव्यक्त नहुँदा निराश बन्न पुगेको उनको भनाइ थियो । ओलीले फागुन २८ गतेको निर्णयबाट पछि हट्न नसकिने अडान पटकपटक दोहोर्‍याएको नेपाल पक्षका नेता बताउँछन् ।

“जन्मिइसकेको बच्चालाई पछाडि फर्काउन मिल्दैन । त्यो बैठक नै हो । बरु, अब कसरी अघि बढ्न सकिन्छ, त्योबारे छलफल गरौँ भनेपछि संवाद अघि बढ्न सकेन । पार्टी अध्यक्ष ओली अहिलेको विवाद समाधान गर्न त्यति गम्भीर हुनु हुन्न,” नेपाल पक्षका नेता भन्छन् ।

नेपाल पक्षका नेताहरूले पुस ५ को कदम र त्यसपछिको निर्णयहरूबारे ओली आत्मालोचित हुनुपर्ने बताएका थिए । आक्रोशित प्रधानमन्त्री ओलीले १९ बुँदे आरोपपत्र पेस गर्ने, साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने, अलग पार्टीको अभ्यास गर्नेलगायतका कृत्यबारे पनि समीक्षा, आत्मालोचना हुनुपर्ने कुरा राखेपछि माहोल तिक्ततामा परिणत भएको छलफलमा सहभागीहरू बताउँछन् ।

ओली रणनीति : चैत ४ को भेलालाई असफल पार्ने
खनाल–नेपाल समूहको भेलालाई कमजोर तुल्याउन ओलीले चियापान कार्यक्रम आयोजना गरेको र त्यसैको पूर्वसन्ध्यामा संवाद गर्न खोजेको खनाल–नेपाल पक्षको बुझाइ छ ।

संवादमा ओली समूह गृहकार्यबिना नै बसेको थियो । उनीहरूसँग ठोस, मूर्त प्रस्ताव नरहेको नेपाल पक्षको निचोड छ । फागुन २८ को निर्णयमा अडान राख्दा नेपाल पक्ष सहमत हुन सक्दैन र छलफलले निष्कर्ष दिँदैन भन्ने उनीहरूले नबुझेका होइनन् । तर पनि धुम्बाराहीमा दुई घण्टा छलफल गरेर देशव्यापी कार्यकर्तामा नेताहरू मिल्दै छन् भन्ने सन्देश प्रवाह गर्न खोजेको हुनसक्ने नेपाल पक्ष लख काट्छ ।

“चैत ४ र ५ गतेको भेलालाई प्रभावित तुल्याउने उनीहरूको रणनीति हुनसक्छ, नेताहरूको पनि यही बुझाइ छ,” केन्द्रीय सदस्य नीरज आचार्य भन्छन् । नेताहरूबीच संवादको थालनी हुँदा कार्यकर्तापंक्तिमा भ्रम सिर्जना हुने र भेलामा कम उपस्थित हुने रणनीतिमा ओली लागेको नेपाल पक्षका नेताहरू बताउँछन् ।

छलफलका क्रममा महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चैत ३ गतेको चियापानमा उपस्थित हुन आग्रह गरेका थिए । चैत ३ गतेको चियापान सार्न आफूहरूले आग्रह गरेको नेता रघुजी पन्त बताउँछन् । छलफलमा पन्त पनि थिए ।

“पार्टी अध्यक्षले नै आयोजना गरेकाले चियापान रोक्नुपर्छ भनेर हामी भन्दैनौँ । तर, फागुन २८ गतेको निर्णय रद्द नगर्दासम्म हामी उपस्थित हुँदैनौँ, हामीले प्रष्ट भन्यौँ,” पन्तको भनाइ थियो । उनले चैत ७ गते बोलाइएको भनिएको केन्द्रीय कमिटी बैठकमा पनि खनाल–नेपाल पक्ष उपस्थित नहुने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement