काठमाडौं । २०५० साल जेठ ३ गते मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भयो । भलै त्यस दुर्घटनालाई भवितव्य मान्न त्यतिबेलाको एमाले पंक्ति तयार थिएन । आज त त्यो इतिहासको गर्तमा विलय भइसक्यो । कृष्णगोपाल श्रेष्ठ बर्सेनि मदन स्मृति दिवसका दिन श्रेष्ठको गला अवरुद्ध सुनिन्छ । मदनको वियोगको आँसु खसाल्छन् । श्रेष्ठबाहेकलाई मदनको देहावसानले कसैलाई छुँदैन, सायद !
त्यतिबेला मदनको गाडी मात्रै त्रिशूलीको बगरमा क्षत्-विक्षत् फेला परेको थिएन, पार्टीका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित एकैपटक त्रिशूलीको भँगालोमा विलय भएपछि एमालेको लय विथोलिएको थियो । बिम्बमा मदन चढेको गाडीजस्तै भएको थियो, एमाले ।
शोकलाई शक्तिमा रूपान्तरित गर्न र पार्टी आन्दोलन अघि बढाउने जिम्मा दोस्रो वरीयताका नेता माधवकुमार नेपालको काँधमा आएको थियो । र, सारथि पाएका थिए केपी ओली ।
तिनताकको परिघटना सुनाउँदै एमालेका नेता विष्णु रिजाल सम्झन्छन्, मदनको अवसानपछि माधवकुमार नेपाल र केपी ओली एउटै जहाज चढ्दैनथे । गाडी चढ्दैनथे । सकभर सँगै यात्रा गर्दैनथे । कटुता झाँगिएर होइन, पार्टीमा नेतृत्व संकट पर्ला भनेर एकले अर्कालाई साँचेका थिए ।
नेपाल र ओलीको सम्बन्धको आयाम पर्गेल्न यति मात्रै घटना र दृष्टान्त काफी हुँदैन । केही दिनअघि बाह्रखरीसँगको अनौपचारिक संवादमा पार्टीका उपमहासचिव विष्णु पौडेलले एउटा तस्बिर देखाएका थिए ।
एक वर्षअघिको मात्रै कुरा हो । प्रधानमन्त्री निवासको पुरानो भवन भत्काइएको थिएन । माधव नेपाल ओलीलाई भेट्न पुगेका थिए । धपेडी होला सायद, त्यसदिन माधवकुमार नेपाललाई रक्तचाप बढेको महसुस भएछ ।
बालुवाटारमा चिकित्सक उपलब्ध नहुने होइनन् । तर, प्रधानमन्त्री ओली आफैँ अघि सरे । र, उपकरण ल्याएर नेपालको रक्तचाप जाँचे । अहिले त्यो तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पनि छ । पौडेल थप्दै थिए, “ओली र नेपालको यस्तो सम्बन्ध थियो । तर, अहिले नेपाल बाटो बिराएर कहाँकहाँ पुग्नुभयो, दुनियाँलाई थाहा छ, उहाँ त पेरिसडाँडा नै पुग्नुभयो ।”
नेपालगन्ज महाधिवेशनपछि नेपाल-ओली सम्बन्धमा दरार आयो । तिक्तता झाँगियो । जनकपुर महाधिवेशनसम्म आइपुग्दा त पानी बाराबारकै अवस्था थियो ।
तर, २०६५ मा जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरित भएको नेकपा (माओवादी केन्द्र) ठूलो पार्टी भएर आएपछि नेपाल-ओली पुनः निकट भएका थिए । तर, एमालेको हकमा, अझ विशेषगरी ओली-माधवको हकमा समय सधैँ उही र उस्तै लयमा अघि बढेन । उतारचढाव आइरह्यो ।
भृकुटीमण्डप महाधिवेशनम आमुनेसामुने भएका उनीहरू गएको प्रदेश-प्रतिनिधिसभा निर्वाचनपछि पुनः नजिकिए । नेपालकै प्रस्तावमा ओली संसदीय दलको नेता बने । तर, माओवादी केन्द्रसँग एकता गरेको तीन महिना (२०७५ असोज) सम्म आइपुग्दानपुग्दै ओली-नेपाल सम्बन्ध नवौँ महाधिवेशनमै फर्कियो । नवौँ महाधिवेशन माधव नेपाल समूहले हारेको महाधिवेशन थियो । ‘हारेकोलाई एकीकृत, स्थूल पार्टीमा किन स्थान दिनु ?’ भनेर ओलीमा अहम् भाव ह्वात्तै बढ्यो ।
विक्षिप्त नेपाल ओलीको नेतृत्व स्वीकार्न तयार थिए
ओलीको कार्यशैली, अहम् भावले निरन्तर पेलानमा परेपछि नेपालले संगठित विद्रोह गरेका थिए । पछिल्लो समय त्यसमा पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल जोडिएका भए पनि विद्रोहको थालनीकर्ता उनै थिए ।
सुरुमा प्रचण्ड ओलीको स्वेच्छाचारिताको फड्के किनारका साक्षी भए । प्रहार आफैँतिर पनि सोझिन थालेपछि उनी पनि ओलीविरुद्धको मोर्चाबन्दीमा सामेल हुन आइपुगेका थिए । एक प्रकारले भन्ने हो भने ओलीबाट अपमानित भएकाहरूको साझा समूह बनेको थियो, प्रचण्ड–झलनाथ–माधव गठबन्धन ।
ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यस समूहले अलग बाटो तताइसकेको थियो । विभाजित मनोदशाका साथ फरक आन्दोलन निर्माणमा हेलिएको थियो ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्यो । २३ फागुनमा नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै त्यही अदालतले माओवादी केन्द्र र एमालेबीचको एकता पनि खारेज गरिदियो । र, अलगअलग पार्टीको हैसियतमा फर्काइदियो । पूर्ववत् पार्टीमा झारिदियो ।
त्यसपछि नेपाल ‘युद्ध हारेको जर्नेल’जस्तै भएका थिए । १२ दिनअघि अदालतले साख फर्काएको भन्दै लड्डु साट्ने नेपाल, अर्को मुद्दामा हराइदियो भन्दै विरुद्धमा उत्रन सकेनन् । र, उनी के गरौँ, कसो गरौँको असमञ्जसमा पुगे । प्रधानमन्त्री ओली एकता खारेज होस् भन्ने पक्षमा नै थिए । पछिल्लो समय उनलाई ‘एमाले’, ‘सूर्य’ र ‘जनताको बहुदलीय जनवाद (जबज)’ प्रिय बन्न लागेको थियो । र, एकता निकै बोझिलो बनेको थियो ।
अदालतले तिनै चिज पुनःस्थापित गरेपछि ओलीले निकै राहत महसुस गरेका थिए । विभाजित मनोदशाका साथ पेरिसडाँडाको बाटो तताइसकेका नेता नेपालले निकै आहत महसुस गरेका थिए । आफूपक्षीय केही नेताहरूले ‘कुनै हालतमा ओलीसँग मिल्नु हुँदैन । आत्मसमर्पण स्वीकार्य छैन’ भनेपछि उनी थप दबाबमा थिए ।
त्यसो त, ओलीको बुहार्तनबाट आजित भएका नेपाललाई एमालेमा कायम रहेर आन्दोलन अघि बढाउन सहज पनि थिएन । र त, नेपाल पछिल्लो समय भारी मन लिएर बसेका थिए । तर, समूहभित्र एमालेमै फर्कनुपर्छ भन्ने मत बलियो भयो । केही केन्द्रीय सदस्यहरूले ‘एमाले’, ‘सूर्य’ र ‘जनताको बहुदलीय जनवाद (जबज)’ लिगेसी बोकेका तलका कार्यकर्ता जोगाउन सकिँदैन भन्ने निचोडमा पुगेपछि उनी एमालेमै रहन राजी भएको उनीपक्षीय केन्द्रीय सदस्य बताउँछन् ।
त्यसो त मौजुदा राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानका कारण पनि झलनाथ-माधवहरूलाई अलग्गिन सहज थिएन । मौजुद रहेको ऐनमा पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्र दुवैतिर ४० प्रतिशतको हिस्सा पुर्याउनुपर्छ । केन्द्रीय कमिटीमा जसोतसो पुग्थ्यो होला, दलमा दुईतिहाइ ओलीतिरै छन् । त्यसले पनि जबरजस्त टाँसिन बाध्य बनाएको थियो ।
तर, ओलीले शुक्रबार औपचारिक रूपमा विभाजनको निम्तो दिएका छन् । नेपाल समूहले पार्टी अध्यक्ष ओलीलाई बैठक बोलाउन दबाब दिइरहेको थियो । ओलीले नेपाल पक्षलाई खबरै नगरीकन बैठक बोलाएर आफूसँगै र आफूभन्दा पनि बढी मत ल्याएर निर्वाचित भएका पदाधिकारीहरूलाई विस्थापित गरिदिएका छन् । र, विधानको सीमा नाघेर रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतलाई पार्टीमा भित्र्याएका छन् ।
विधानविपरीत बाधा अड्काउ फुकाउको झिनो प्रावधानमा टेकेर विधान नै संशोधन गरिदिएपछि झलनाथ-माधव साँच्चै संकटमा छन् । ओलीको अपमान सहेर एमालेमै टाँसिने, या अर्को बाटो हिँड्ने ? आजको निर्णयले दोबाटोमा उभ्याएको छ झलनाथ-माधवलाई ।
जब सुरेन्द्र पाण्डेलाई मोबाइल म्यासेज आयो..
नेता नेपाल पछिल्लो समय केन्द्रीय सदस्य, सांसद, स्थायी कमिटी र आफूनिकट पदाधिकारीसँग निरन्तर, दिनहुँजसो संवादमा छन् । तीन दिनअघि यस्तै जमघट थियो । छलफलमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे थिए । उनको मोबाइलमा अचानक एउटा सन्देश आयो । सन्देश पठाउने पार्टी कार्यालयमा ईश्वरी रिजाल भएको माधव नेपालनिकट केन्द्रीय सदस्य बताउँछन् ।
“फागुन २८ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित हुन अनुरोध छ,” बेहोरोका म्यासेज आएको थियो । सुरुमा सबैलाई म्यासेज आयो, आउँदै होला भन्ठानेका थिए, पाण्डेले । तर, पाण्डे र केन्द्रीय सदस्य राजन राइलाईबाहेक अरूलाई नआएपछि झलनाथ-माधव पक्षको मनमा झस्का त पसेको थियो ।
तर, शुक्रबार यस्तो निर्णय आउला र ओलीले ठूलो आवाजका साथ एकताको ढोका ढप्क्याउलान् भनेर कसैले अनुमान नगरेको नेपाल समूह बताउँछ । ओलीको एकतर्फी निर्णयले नेपाल समूहलाई मूर्च्छित अवस्थामा पुर्याएको छ । आफैँले रगत-पसिना सिँचेर निर्माण गरेको आन्दोलनले आफैँलाई किनाराकृत तुल्याएको छ । पाखामा पुर्याइँदा पनि ओलीको स्वेच्छाचारिताको सिकार हुनुपरेकै छ ।
ओलीको एकपक्षीय निर्णयलगत्तै झलनाथ-माधव समूहनिकट स्थायी कमिटी सदस्यहरू अर्याल होटेल बानेश्वरमा भेला भएका थिए । साँझ ढल्किइसकेपछि खबर भएकाले आजको भेलामा माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसालमात्रै उपस्थित थिए । झलनाथ खनाल, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, मुकुन्द न्यौपानेलगायत नेताहरू उपस्थित थिएनन् ।
भेलाले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी र चैत ४ गते राष्ट्रिय भेला डाक्ने निर्णय गरेको छ । सबै जनवर्गीय संगठनहरूको भेला बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
यो अलग एमाले निर्माणको थालनी भएको उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन् । बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उपाध्यक्ष ज्ञवालीले ओलीसँग सँगै हिँड्ने बाटो बन्द भएको र अलग बाटो हिँड्नु नै अबको विकल्प भएको जिकिर गरे । “ओलीसँगको एकताको सम्भावना सकियो । अब वामपन्थी, प्रगतिशील शक्तिहरू समेटेर नयाँ आन्दोलनको निर्माण गर्नुपर्छ । हामी त्यसको तयारीमा जुटेका छौँ,” ज्ञवालीले भने ।
त्यसो त, झलनाथ खनालको पनि यही निष्कर्ष छ । ओलीले विभाजनको निम्तो दिइसकेकाले उनीसँग सँगै जान नसकिने खनालको ठहर छ । भन्छन्, “ओलीको यो कदम पार्टी विभाजन नै हो । हामी सामूहिक छलफलद्वारा एउटा निचोडमा पुग्छौँ ।”