सुरेन्द्र नेपाल श्रेष्ठ
एक प्यारका नगमा है, मौजों की रवानी है !
जिन्दगी और कुछ भी नहीं
तेरी मेरी कहानी है ।
यो गीत हामीले वर्षौँपहिलेदेखि सुन्दै आएका हौँ । अहिले पनि कहीँकतै बज्यो भने त्यो सूरसँगसँगै अनायासै ओठ गुनगुनाउन थाल्छ ! गीत–संगीत मन पराउनेहरूले यो गीत नसुनेको हुनै सक्दैन । भारतीय फिल्मीजगतमा त यो गीतलाई उच्चस्तरको सम्मान मिलेको छ ।
गीत–संगीतलाई कुनै भाषा वा भूगोलले सीमित पार्न सक्दैन । शब्द नबुझे पनि मन परेको संगीतमा हामी झुम्न सक्छौँ, रम्न सक्छौँ । केही समयका लागि भए पनि आफैँलाई भुल्न सक्छौँ । यथार्थ हो, संगीत सबैको साझा भाषा हो । के नेपाली, नेवारी अथवा हिन्दी, अंग्रेजी । अहिले त स्पानिस वा कोरियन संगीतले पनि विश्व तरंगित भएको छ ।
‘एक प्यार का नगमा है...’ यो गीत ‘शोर’ फिल्मका लागि सन् १९७२ मा लेखिएको थियो । लता मंगेशकर र मुकेशले गाएको यस गीतमा संगीत दिए, लक्ष्मीकान्त प्यारेलालले । गीत गाउनेहरूको नाम बढी प्रचारप्रसार हुने चलन सबैतिरको हो । यस कालजयी गीतलाई रचना गरेका हुन्, गीतकार सन्तोष आनन्दले ।
धेरैलाई थाहा छैन, गीतकार सन्तोष आनन्दको पछिल्लो जीवनबारे । पछिल्लो समय केही भारतीय मिडियाहरूले सर्जक सन्तोषका दुःखका दिनहरूलाई उधिन्ने कोसिस गरेका छन् । विशेषतः प्रेमसम्बन्धी सयौँ गीत रचना गरेका गीतकारको नामअनुसार उनको जीवनले कत्तिको सन्तोष र आनन्द महसुस गर्यो होला ?
लामो समयसम्म बलिउडका स्थापित कलाकार फिरोज खानको घरमा खाना पकाउने काम गरेकी रानु मण्डलले पछि रेल स्टेसनअगाडि गीत गाएर जिन्दगी गुजार्नु पर्यो । उनको गायकी मन पराएर एक संगीतपारखीले उनले गाएको भिडियो सामाजिक सञ्जालमा राखेपछि उनको जीवनले कोल्टे फेर्यो । उनी रातारात सडकबाट महलमा पुगिन् । हिजो हिरोकहाँ काम गर्दा बाहिर नआएको उनको प्रतिभा सडकबाट प्रस्फुटन भयो ।
यसबारेमा त जानकारी होला ? भनी सोधिएको प्रश्नमा सन्तोष आनन्दले दिएको जवाफ मर्मस्पर्शी छ, “होला, मैले लेखेका गीतहरू धेरैले गाएका छन् । को–को कहाँ–कहाँ पुगे, सबैलाई शुभकामना । तर, मसँग भने उनीहरूको तरक्की हेर्ने स्मार्टफोन पनि छैन ।” उनको हालको अवस्थाबारे यो जवाफ नै पर्याप्त छ ।
भनिन्छ, मानिसको उमेरसँगसँगै उसका संघर्षका कथाहरू पातलो हुँदै जान्छ । तर, सन्तोष आनन्दको हकमा भने उमेरसँगसँगै नयाँ–नयाँ समस्याहरू थपिँदै गएको देखिन्छ ।
हालै इन्डियन आइडलले आफ्नो बाह्रौं शृंखलामा सन्तोष आनन्दलाई विशेष पाहुनाका रूपमा आमन्त्रित गर्यो । संयोग, उनको गीतमा सबैभन्दा बढी संगीत भर्ने दुईजनाको जोडी लक्ष्मीकान्त प्यारेलालमध्ये प्यारेलाल त्यहीँ उपस्थित थिए । उनीहरूबीच भेटघाट नभएको पनि लामो समय बितेको थियो । यो भेटमा दुईजनाका व्यक्त नगरिएका थुप्रै भावहरू स्पष्ट देख्न सकिन्थ्यो । लक्ष्मीकान्तको मृत्युपछि सन्तोष आनन्दले फिल्मको लागि गीत लेख्न नै छाडेका थिए । अरू कोही उनीहरूजस्ता संगीतकार पाए काम गर्ने इच्छा भए पनि अहिलेसम्म अरूसँग काम गरेका छैनन् ।
इन्डियन आइडलका एक निर्णायक संगीतकार विशाल डडलानीले उनको बाँकी रहेका गीतमा संगीत भर्ने घोषणा गरे । सन्तोष आनन्दको जीवनका केही घटनाहरू प्रस्तुत भएपछि त्यहाँको वातावरणले अर्कै रूप लिन पुग्यो । निर्णायकमध्येकै एक नेहा कक्करले त्यही अमर गीत गाउँदै उनको समीप पुग्दा उपस्थिति सबैका आँखा रसायो । प्रत्यक्ष उपस्थित दर्शक र कोठा–कोठामा टीभी हेरेर बसेकाहरू पनि भावविह्वल हुन पुगे ।
उत्तर प्रदेशमा सन् १९३९ मा एक मध्यम परिवारमा पाँच सन्तानमध्ये दोस्रो सदस्यका रूपमा जन्मिएका सन्तोष आनन्दको मूल नाम सन्तोषचन्द्र मिश्र हो । सानै उमेरदेखि नै पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उनी तीक्ष्ण थिए । करिब १४ वर्षको उमेरमा उनले पोलियो रोगका कारण एउटा खुट्टा गुमाउन पर्यो । छोराको त्यो अवस्थाले गर्दा अब ठूलो भएपछि दुःख पाउने भयो, के गर्ने होला ? भन्ने उनका पिताको चिन्तालाई दूर गराउने उद्देश्य उनले लिए । आफू जसरी भए पनि स्वाभिमानी बन्ने र परिवारका अन्य सदस्यहरूलाई भारी बोकाउन हुन्न भन्ने कुरामा उनी दृढ बने ।
पुस्तकालय विज्ञानमा बीएस्सीसम्मको अध्ययन पूरा गरेपछि उनी बम्बई पुगे । उनले त्यहीँ नै लाइब्रेरीमा काम पाए । फुर्सदको समयमा कविता लेख्दै कवि सम्मेलनहरूमा जान थाले । उनको कलम राम्रो चल्न थालेको थियो । त्यसै बेला उनलाई साथीहरूले ‘अब फिल्मको लागि गीत लेख्नुपर्छ’ भन्ने सुझाव नदिएका हैनन् ।
उनीसँग मिल्ने एकजना साथी त्यसबेला मनोज कुमारको फिल्म व्यवस्थापकका रूपमा कार्यरत् थिए । उनले सन्तोषको कविता त्यतिकै गीत बनाएर गुनगुनाउने गर्दा रहेछन् । सन् १९७० को एक दिन मनोजले यो कसले लेखको गीत ? भनेर सोध्दा सन्तोषका बारेमा बताएछन् । मनोज कुमारले तुरुन्त भेट गर्ने इच्छा व्यक्त गरे ।
त्यसपछि मनोज र सन्तोषको सम्बन्ध कहिल्यै छुटेन । त्यति बेला ‘पूरब और पश्चिम’को सबै सुटिङ सकिसकेको थियो । तर, एउटा गीत ‘पूर्वा सुहानी आई रे...’ मन परेकोले त्यसै फिल्ममा थपेर सन्तोष आनन्दलाई फिल्मी दुनियाँमा भित्र्याएका थिए ।
सन् १९७२ मा निर्माण भएको ‘शोर’ फिल्ममा सबै गीत लेख्ने जिम्मा उनैले पाए । ‘एक प्यारका नगमा है...’ गीत लेख्न उनलाई धेरै समय लागेको थियो । पहिला श्रीमतीसँग छुट्टिएर बस्दा एक दिन फोन गरेर चित्त दुखाएकी रहिछन् । त्यसै बेला लेखिएको यो अंश पनि यसै गीतमा थपियो,
‘तू धार है नदियाकी, मैं तेरा किनारा हूँ
तू मेरा सहारा है, मैं तेरा सहारा हूँ
आँखोंमें समन्दर है, आशाओंका पानी है ।’
१९७४ मा मनोजकुमार निर्मित फिल्म ‘रोटी, कपडा और मकान’का लागि लेखिएको गीत ‘मै ना भुलुंगा...’ गीतले त सर्वश्रेष्ठ गीतको उपाधिसमेत पायो । १९८१ मा बनेको देशभक्ति फिल्म ‘क्रान्ति’मा उनले गीत लेख्नुका साथै कथा लेख्नमा पनि सहयोग गरेका थिए । ‘जिन्दगीकी न टुटे लडी...’ बोलको गीतले त्यसबखत तहल्का मच्चाएको थियो ।
त्यसै वर्ष निर्माण गरिएको ‘प्यासा सावन’को ‘मेघा रे मेघा रे...’ बोलको गीत पनि अमर बन्यो । वास्तवमा मनोज कुमार र सन्तोष आनन्दको सम्बन्ध यति प्रगाढ थियो कि सन् १९८९ मा मनोजले आफूले बनाएकोे फिल्मको नाम नै ‘सन्तोष’ राखेका थिए ।
सन् १९८२ मा राज कपुरद्वारा निर्मित ‘प्रेम रोग’को गीत पनि सन्तोषको कलमबाटै लेखियो । ‘मुहबत है क्या चिज...’ बोलको गीतबाट उनले दोस्रोपटक उत्कृष्ट गीतकारको उपाधि पाए ।
गीतकार सन्तोष आनन्दले २४ वटा फिल्मका लागि १०९ वटा गीत लेखे । उनका प्रायः सबै गीत हिट भए । उनले फिल्म ‘प्रेम आँगन’का लागि सन् १९९८ मा गीत लेखेका थिए । जुन उनको अन्तिम फिल्म थियो ।
सन् २००० सम्म त उनको जागिर पनि थियो । त्यसपछिको जीवनमा देश–विदेशमा आफ्ना नयाँ–पुराना सिर्जना सुनाउने काममा सक्रिय रहे ।
बिहेपछि सन्तान नभएकोमा सन्तोष दम्पती दुखित थिए । हिन्दु परम्पराअनुसार गर्नुपर्ने सबै भाकल (मन्नत) गरे । प्रायः सबै मठ–मन्दिरमा पुगे । दश वर्षपछि मात्र उनीहरूलाई पुत्रलाभ भयो । त्यसपछि छोरी पनि जन्मिइन् ।
आफ्नो क्षमताअनुसार सन्तानलाई शिक्षादीक्षा दिनमा कुनै कमी गरेनन् । पढाइपछि छोरा गृह मन्त्रालयअन्तर्गत भारतीय प्रशासनिक सेवामा प्रवेश गरे । छोराको बिहे भयो । नातिनी पनि जन्मिइन् । पत्नी, छोरा, बुहारी, नातिनी र एउटी छोरीका साथमा उनको जीवन राम्रैसित बितिरहेको थियो ।
सन् २०१४ अक्टोबर १५ को बिहान एउटा अप्रत्याशित घटना भयो । सन्तोष आनन्दका छोरा–बुहारीले मथुराबाट आइरहेको तीव्र गतिको रेलअघिल्तिर हामफालेर आफ्नो ज्यान दिए । हुन त सानी छोरीसहित सबैले आत्महत्या गर्ने योजना बनाएर उनीहरू आफ्नै गाडीमा गएका थिए । रेल्वे लिकनजिकै गाडी रोकेका थिए । रेल सुरक्षामा खटेका प्रहरीहरूले देखेका पनि हुन् । तिनले सोधे पनि । तर, शौचालय जान रोकेको भन्दै बहाना बनाए ।
केही बेरमै एउटा तीव्र गतिमा रेल आयो । उनीहरू रेलको अगाडि हामफाले ! त्यस क्रममा हातमा बोकिएकी छोरी उछिट्टिएर पर पुगिछन् । सन्तोषका छोरा–बुहारी दुवैको घटनास्थलमै मृत्यु भयो ।
सधैँजसो छोरालाई फोन गर्ने आमाको बानी । त्यो बिहान पनि उनले धेरैपटक फोन गरिन् । तर, फोन उठिरहेको थिएन । धेरै प्रयासपछि फोन त उठ्यो तर बोल्ने आवाज अरू कसैको थियो । प्रहरीले यस घटनाबारे बताउँदा उनलाई संसार नै भास्सिएजस्तो भयो । यति ठूलो दुर्घटनाबाट बाँचेकी सन्तोष आनन्दकी नातिनी हस्पिटलको बेडमा थिइन् । उनको अवस्था गम्भीर भए पनि ज्यानै जानेखालको भने थिएन ।
सन्तोषका छोरा संकल्प कामको सिलसिलामा एउटा ठूलो निर्माण योजनाको ठेक्कापट्टामा संलग्न थिए । करिब २५० करोडको उक्त योजनामा निकै आर्थिक चलखेल भएको र त्यसमा लागेका मुख्य मानिसले सबै दोष संकल्पमाथि लगाएर सताउन थालेछन् । त्यसपछि श्रीमान्–श्रीमती दुवैले सल्लाहमै पूरा परिवारले आत्महत्या गर्ने योजना बनाएका रहेछन् । दुवैजनाको हस्ताक्षर भएको ११ पाना लामो सुसाइड नोटमा सबै कुरा स्पष्ट खुलाएर सम्बन्धित केही व्यक्तिको नाम र नम्बरसमेत उल्लेख गरिएको थियो ।
यो समस्या समाधान गर्न आफू असमर्थ रहेको, आफूसँग भएको सबै नगद सकिएको, धेरै ऋण परेको र भएको जायजेथासमेत सकिने हुँदा दुवैजनाको सहमतिमा तीनैजनाको ज्यान लिने निर्णयमा पुगेको त्यसमा लेखिएको थियो ।
अहिले ८२ वर्षीय सन्तोष आनन्द नातिनी रिधिमा र छोरी शैलीसँगै जीवन बिताइरहेका छन् । प्रसिद्ध गीतकार उनी अझै पनि नयाँ सिर्जनाका लागि नै बाँचिरहेको बताउँछन् ।
सन्तोष आनन्द भन्छन्, “जीवनमा सबै दिएर फिर्ता लिएको भगवान्ले मलाई आजसम्म बचाउनुको पछाडि केही कारण पक्कै हुनुपर्छ । मेरो खुट्टा कमजोर छ । तर, मेरो इच्छा, हौसला अझै भाँचिएको छैन । म मेरी नातिनीका लागि केही समय बाँच्नुपर्छ । त्यतिन्जेल आजसम्म नलेखिएको सबैको गीत लेख्छु ।”
शारीरिक रूपमा कमजोर भए पनि सिर्जनामा सक्रिय सन्तोष आनन्द केही वर्षअगाडिसम्म देश–विदेश पुगेर गीत, कविता सुनाउने गर्थे । बोल्न कठिन भए पनि जब उनी कविता पढ्छन्, सबैलाई चकित तुल्याइदिन्छन् । पुराना दिनहरू सम्झेर त्यही जोस निकालेर उठ्न खोज्छन् । हिँड्न खोजेजस्तो गर्छन् । कहिलेकाहीँ सहयोगीको साथमा केही बेर उठेरै बोल्न थाल्छन् ।
उनको भनाइ छ, “गीत लेख्दा म मेरो आत्मा र मुटुलाई नै बाहिर ल्याउने कोसिस गर्छु । मेरा सिर्जनाहरू केवल कापीमा पोखिएका मसी मात्रै होइन, मेरा आँसु र रगत मिसिएको यथार्थ हो ।”
(बेलायत)