site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सभापतिमा उमेदवारी दिने सुजाताको घोषणा

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनका लागि केन्द्रीय सभापतिमा उमेदवारी घोषणा गरेकी छन् । नेतृ कोइरालाले केही दिनमै सचिवालयसहित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेकी छन् । 

अनामनगरस्थित हनुमानस्थाननजिक सम्पर्क कार्यालय बनाएकी नेतृ कोइरालाले अब देशभरका नेता कार्यकर्तासँग भेटघाट गर्ने र केही दिनमा देश दौडाहामा निस्कने तयारी गरेकी छन् । तीन वर्षअघि क्यान्सर भएका कारण अप्रेसन गरेर ठीक भएपछि जीपी फाउन्डेसनमार्फत देशभर सामाजिक अभियानमा सक्रिय भएर देशभरका कार्यकर्तालाई खटाएकी थिइन् । अहिले उनी स्वस्थ भएको भन्दै अब कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने योजनासहित सभापतिमा उमेदवारी घोषणा गरेकी हुन् ।

“१४औं महाधिवेशनका लागि सभापति चुनाव लड्न सम्पर्क कार्यालय सुरु गरेकी छु, अब सचिवालयले यही सम्पर्क कार्यालयबाट काम सुरु गर्नेछ,” कोइरालाले बाह्रखरीसँग भनिन्, “अब सचिवालयले देशभरका साथीहरूलाई सम्पर्क गर्न थाल्छ । म केही दिनमै देश दौडाहामा निस्कनेछु ।” उनले जिल्ला-जिल्लामा पुगेर त्यहाँको नेतृत्व र कार्यकर्तासँग भेट्ने भन्दै १४औं महाधिवेशनमा आफू सभापति निर्वाचितन हुने दाबी गरिन् ।

“गिरिजाबाबुले छाडेपछि कांग्रेस संगठनविहीन जस्तै बनेको छ, नेताका घरमा हेरियो भने ठूलो संगठन छ, जिल्ला र स्थानीय स्तरमा हेर्‍यो भने संगठनविहीनता छ,” कोइरालले भनिन्, “संगठन भनेको जहाँ चाहिने हो त्यहाँ हुनुपर्छ । नेताको वरिपरि घुम्ने कार्यकर्ताबाट संगठन जोगिन सक्दैन ।” नेताहरूले संगठन गर्न पैसा चाहिने भनेको विषयप्रति कोइरालाको विमति छ । उनले थपिन्, “मैले जीपी फाउन्डेसनका त्यति धेरै कार्यक्रम गरे त्यो सबै जहाँ कार्यक्रम भए त्यहीका साथीहरूले म्यानेज गर्नुभएको हो । नेताले संयोजन मात्र गरिदिने र कार्यकर्ताबीच विभेद मात्र नगरिदिने हो भने जिल्ला र स्थानीय तहमा संगठन कार्यकर्ताले गर्छन् । नेतृत्वविकास पनि त्यहीबाट हुन्छ ।” उनले आफूले कांग्रेस हाँकेपछि फाउन्डेसनमा जस्तै स्थानीय तहमै नेतृत्व विकास गरेर संगठन निर्माण गर्ने बताइन् ।

उनले आफूले कांग्रेसमा अघि बढ्न आफूले सघाएकाहरूले आफ्नो सालिनतालाई कमजोरीका रुपमा अर्थ्याउन खोजेको भन्दै त्यस्ता नेताहरूलाई आफ्नो प्यानलमा वा प्रतिस्पर्धामा आउन चुनौती दिएकी छन् ।

“मैले अप्रेसनबाट ठीक भएपछि लो-प्रोफाइलमा बसेर काम गरिरहेकी छुँ । यो मेरो सालिनतालाई कमजोरीका रुपमा अर्थ्याउने पनि प्रयास हुँदै छ,” सुजाताले भनिन्, “अब म स्वस्थ छु, पार्टीको खुला प्रतिस्पर्धाका लागि सक्षम पनि छु । साथीहरू कोही समर्थनमा आउनु हुनेछ । कोही प्रतिस्पर्धामा आउनु हुनेछ ।” उनले प्रतिस्पर्धामा आउनेहरूलाई स्वागत पनि गरेकी छन् ।

उनले कांग्रेस बिग्रनुका कारणको पहिचान गर्दै समाधानको उपाय पनि सोचेकी छन् । पार्टीको नेता वरिपरि घुम्नेलाई मात्र कार्यकर्ता मान्नु, भ्रातृ तथा शुभेच्छुक संस्थालाई आफैं नेतृत्व छान्ने अवसरबाट वञ्चित गरेर संगठनलाई भागबन्डामा लैजानु, मरिमेटेर संगठन गरेका कार्यकर्तालाई पाखा लगाएर खल्तीबाट झिकेर जिम्मेवारी दिनुजस्ता कारणले पार्टी कमजोर भएको छ ।

“म यो पार्टीलाई गुटहरूको महासंघबाट बाहिर निकाल्ने छु र सिंगो पार्टी बनाउनेछु,” सुजाताले भनिन्, “भ्रातृ संस्थाहरू आफैंलाई महाधिवेशन गराउन दिनेछु र संगठन आफैं चलायमान हुने अवस्था निर्माण गर्नेछु ।” उनले युवा र महिलालाई अघि बढाउन विशेष योजना ल्याउने भन्दै अहिलेसम्म महिलालाई कानुनी बाध्यता टार्नका लागि मात्र विभिन्न पदमा राख्ने गरेको बताइन् ।

“अहिले कानुनको बाध्यता टार्न मात्र महिलाहरूलाई पद दिने अभ्यास गरिँदै छ । यसरी नेतृत्व विकास हुँदैन,” सुजाताले भनिन्, “महिलाहरूलाई गाउँ-गाउँबाट क्रियाशील बनाएर प्रतिस्पर्धाका लागि तयार पार्नुपर्‍यो र खुला प्रतिस्पर्धाबाट महिलाहरू नेतृत्वमा आउने अवस्था निर्माण गर्नु पर्‍यो ।” उनले युवाका सवालमा पनि नेताहरू अनुदार देखिएको भन्दै युवाहरूले बुढेसकालमा पनि नेविसंघ, तरुण दलजस्ता संगठनमा नियुक्ति देलान भनेर आश गरेर बस्ने बाध्यता अन्त्य गर्नुपर्ने बताइन् । “समयमा अधिवेशन गर्ने र नेतृत्व छनोटका लागि स्वतन्त्र मात्र बनाइदिने हो भने युवहरूका धेरै समस्या समाधान हुन्छन्,” सुजाताले भनिन्, “कांग्रेसमा पनि युवापुस्ताबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।” 

महाधिवेशनमा होमिँदै गर्दा सुजाता क्रियाशील वितरणको र क्रियाशील सदस्यहरूको पनि मापदण्ड र दायित्व बनाउनुपर्ने बताउँछिन् । “क्रियाशील सदस्यताको मापदण्ड बनाउनुपर्‍यो । क्रियाशील लिएकाहरूको दायित्व तोकिनु पर्‍यो,” सुजाता भन्छिन्, “उनीहरूलाई प्रशिक्षण र तालिम पनि दिनुपर्‍यो र सामाजिक क्षेत्रमा काम गरेर जनताको मन जित्न प्रेरित गर्नुपर्‍यो ।”

संविधान जारी भइसकेपछि विभिन्न प्रकारका समाजलाई पार्टीले विश्वासमा लिन नसकेको भन्दै हिन्दु, बौद्ध, इसाई, इस्लाम सबै धर्म मान्नेहरूलाई ढुक्क भएर बस्ने अवस्था निर्माण गर्नुपर्ने बताइन् । “संविधानमा धर्म निरपेक्षता राखेपछि हिन्दुहरू धेरै असुरक्षित महसुस गरेको अवस्था देखिएको छ । उनीहरूलाई हामीले आस्वस्त पार्न सक्नुपर्छ,” सुजाताले भनिन्, “अन्य धर्मावलम्बीहरू पनि ढुक्क हुन सकेका छैनन् । हामीले उनीहरूलाई पनि आश्वस्त पार्न सक्नुपर्छ ।” उनले धर्म, सम्प्रदायका आधारमा देश विभक्त हुनु नहुने भन्दै कांग्रेसले त्यसका लागि जिम्मेवारीपूर्ण भूमिकामा बसेर सबैलाई आस्वस्त पार्न सक्नुपर्ने बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro