
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९५ प्रतिशत सम्पन्न भएको करिब एकवर्ष पूरा भएको छ ।
कोरोना संक्रमण सुरू हुँनेबला नै उक्त विमानस्थलको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको थियो । तर अहिलेसम्म पनि पूरा काम हुन सकेको छैन ।
विमानस्थल निर्माण कहिले सम्पन्न हुन्छ भन्न अझै पनि सकिने अवस्था छैन ।
आयोजना सम्पन्न हुने समय सन् २०२० सेप्टेम्बरबाट बढाएर डिसेम्बरसम्म पुर्याइयो । त्यो समय सीमा नाघेको पनि दुईमहिना भइसक्यो ।
यतिधेरै काम सम्पन्न भएर पनि किन पूरा हुन सकेको छैन ? नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार कोभिड–१९ का कारण विदेशबाट प्राविधिक आउन ढिलाइ हुँदा आयोजना सम्पन्न हुन नसकेको हो ।
प्रविधि जडानका लागि अमेरिका, अष्टे«लिया, कोरिया र थाइल्याण्डबाट प्राविधिक आउनुपर्नेछ ।
विमानस्थलमा जडान गर्नुपर्ने प्रविधि जुन कम्पनीले उत्पादन गरेको हो, सोही कम्पनीका प्राविधिकले नै जडान गर्नुपर्ने बाध्यता छ ।
सोही कारण आयोजना केही ढिलाइ हुन गएको पोख्रेल बताउँछन् ।
उनका अनुसार हालसम्म ९५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । अब प्रविधि जडानको लागि सरासर काम गर्न सकिए तीन महिनामा सम्पन्न हुने उनले बताए ।
प्रविधि जडानका लागि दुईजना अमेरिकी र एकजना कोरियाली प्राविधिक नेपाल आइसकेका छन् ।
“एक जना कोरियाली केही समय अगाडि नै नेपाल आएका थिए,” उनले भने, “दुईजना अमेरिकी प्राविधिक पनि मंगलबार आइपुगेका छन् । उनीहरुले प्रविधि जडानको काम अगाडि बढाउँछन् ।”
कोभिड–१९ का कारण प्राविधिक आउन नसक्दा नै आयोजना ढिलाइ भएको उनले बताए ।
“अब काम धेरै छैन । प्राविधिक आइनपुग्दामात्रै अगाडि बढ्न नसकेको हो । महामारी भएको बेलामा जबर्जस्ती गर्न पनि भएन,” उनले भने, “ आयोजना करिब सम्पन्न भइसकेको अवस्था हो । अहिले आएका प्राविधिकले काम अगाडि बढाउँछन् ।”
महानिर्देशक पोख्रेलका अनुसार प्रविधि जडानको बाहेक अन्य सबै काम सम्पन्न भइसकेको छ ।
प्रविधि जडानको काम पनि बाँडिएको छ । कोरियाली, अमेरिकी र थाइल्याण्डका प्राविधिकले फरक फरक प्रविधि जडान गर्नुपर्नेछ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) इक्यूप्मेन्टको जडान गर्ने काम नागरिक उड्डयन प्राधिकरणको जिम्मामा छ । त्यसको मूख्य कम्पनी थाइल्याण्डको हो । तर उनीहरु अझै नेपाल आउन सकिरहेका छैनन् । अमेरिकी र कोरियाली प्राविधिकले जडान गर्नुपर्ने काम सकिए पनि थाइल्याण्डबाट पनि प्राविधिक नआउँदासम्म आयोजनाले पूर्णता पाउने छैन । त्यसका लागि अझै केही समय लाग्ने देखिन्छ ।
प्राधिकरणका अनुसार कम्यूनिकेशसन, नेभिगेसनका उपकरण जडान गर्नुपर्ने छ । अब जडान गर्नुपर्ने उपकरणहरु सबैभन्दा महत्वपूर्ण हुन् । ती उपकरण जडान गर्न न्युनतम तीनमहिना लाग्ने प्राधिकरणले जनाएको छ ।
विमानस्थलका लागि आवश्यक सबै भवनको निर्माण सम्पन्न भइसकेका छन् । विमानस्थलको प्रशासनिक भवन, टर्मिनल भवनको निर्माण सम्पन्न भएर आन्तरिक मार्वल, टायल, सीसीटीभी जडानलगायका काम सकिएको छ ।
विमानस्थलको धावनमार्ग निर्माण पनि सम्पन्न भइसकेको छ । विमानस्थलमा तीन किलोमिटरको एउटा धावनमार्ग छ । यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चारलाख रहेको छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा चारसय यात्रु ह्यान्डलिङ गर्न सकिने आयोजनाले जनाएको छ ।