
काठमाडौं । ‘स्प्रिङ सिजन’ सुरु हुन लागेको छ । यो समयमा विदेशी पर्यटक नेपालको भ्रमण गर्न रुचाउँछन् । तर, नेपालको प्राकृतिक सौन्दर्यता, हिमाल, वातावरण र संस्कृतिसँग भिजेर रमाइलो गर्न नेपाल आउने समय सुरु हुन लाग्दा समेत ‘प्रोटोकल’का कारण बाह्य पर्यटक आउन असहज भइरहेको भन्दै पर्यटन व्यवसायी दुखित छन् ।
विदेशी पर्यटक नआएसम्म पर्यटन क्षेत्रले पुनर्जीवन नपाउने भन्दै कोरोनाविरुद्धको प्रोटोकल ‘लचिलो’ बनाउन व्यवसायीहरुले आग्रह गरेका छन् । खोप लगाएर आउने पर्यटकलाई सहज रूपमा नेपालमा घुम्न दिन उनीहरुको आग्रह छ । “देशभर हजारौँ जनतालाई सडकमा उतारेर आन्दोलन भइरहेको छ,” ट्र«ेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने, “विदेशी पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट ल्याउँदा पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था कसरी मिल्दो भयो ?” उनले कोरोनाविरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिन आग्रह गरे ।
सुवेदीले ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई सात दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने बताए । प्रोटोकललाई लचिलो बनाउँदै नलगे पर्यटन क्षेत्र अगाडि बढ्न नसक्ने व्यवसायीको भनाइ छ ।
यस्तै, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं पनि नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खोप लगाएर आउने पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने र सहज रूपमा नेपाल प्रवेश गर्न दिइनुपर्ने बताउँछन् । “हाम्रो माग भनेको नै नाका खोलौँ र कोरोनाविरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहज रूपमा नेपालमा प्रवेश गर्ने र घुम्ने वातावरण बनाऔँ भन्ने हो,” उनले भने ।
व्यवसायीहरुले अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिसाको व्यवस्था पूर्ववत् गराउन पनि माग गर्दै आएका छन् । धेरै देशहरुले आ–आफ्नो विमानस्थलमा कोभिड–१९ जाँच गर्ने मेसिन राखेर विदेशी पर्यटकलाई स्वागत गरिरहेको भन्दै नेपालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राख्नुपर्ने माग गरेका छन् । यस्तै, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
टानका अध्यक्ष सुवेदीले नेपाल घुम्न आउने पर्यटकले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न/गराउन पाउनुपर्ने व्यवस्था गर्न पनि आग्रह गरे । नाट्टाका अध्यक्ष गुरागार्इंले नेपाल र चीनबीचको सीमानाका यथाशीघ्र खोल्न पहल गर्नुपर्ने बताए । यस्तै, नेपाल–भारतका सिमानाबाट भित्रिने पर्यटकलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्ने गरी आउन सहज बनाउनुपर्ने माग व्यवसायीको छ । अहिले पनि सीमाबाट भारतीय पर्यटक लुकेर आउँदा केही नभएको तर प्रोटोकललाई लचिलो बनाउन सरकारले कुनै पहल नलिएको गुनासो व्यवसायीको छ ।
कोभिड–१९ का कारण समग्र पर्यटन उद्योग नै धरासयी भएको छ । आन्तरिक पर्यटनबाट यस क्षेत्रलाई बचाउन खोजिए पनि अब विदेशी पर्यटकलाई पनि खुला गर्दै लैजानुपर्ने माग उनीहरुको छ । कोभिड महामारीले पर्यटन व्यवसायीलाई परेको मर्काबारे पटक–पटक सरकार एवं सरकारका विभिन्न नियकासँग लिखित र मौखिक रूपमा आग्रह गर्दै आए पनि आफूहरुको कुरा नसुनिएको व्यवसायीले बताएका छन् । सरकारले व्यवसायीको सुझाव पनि नमारेको र पर्यटन व्यवसायीलाई परेको पीरमर्कालाई सम्बोधन पनि नगरेको गुनासो उनीहरुको छ ।
स्प्रिङ सिजन सुरु हुनु अगाडि नै प्रोटोकललाई लचिलो नबनाइए बाह्य पर्यटक नआउने र बाह्य पर्यटक नआए कोभिड–१९ का कारण सिथिल बनेको समग्र पर्यटन क्षेत्रले पुनर्जीवन नपाउने व्यवसायीको भनाइ छ ।