काठमाडौँ । नेपाली सेनाले माघ १८ गते सामाजिक सञ्जालमार्फत एउटा सूचना सार्वजनिक गर्यो– नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार यही माघ १९ गते राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौँ ।”
नेपाली सेनाका प्रवक्तामार्फत सार्वजनिक भएको उक्त सूचनाप्रति टिप्पणी गर्नेहरुमध्ये धेरैले सेनाप्रति आशंका गरेका छन् भने कतिपयले अघिल्ला वर्षहरुमा किन गरिँदैनथ्यो ? माघ १९ कै दिनमा गर्नुपर्ने कारण के ? भर्खरै म्यानमारमा सैनिक ‘कू’ भएको छ नेपालमा किन निस्कनुपर्ने ? लगायतका जिज्ञासा राखेका छन् । तर त्यसपछि सोही विषयमा सेनाका तर्फबाट कुनै औपचारिक जानकारी गराइएको छैन ।
माघ १९ गते राति सेनाका बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथ परिक्रमा गरे ।
त्यसयता लगातारजसो सेनाका गाडी सडकमा देखिएका छन् भने कैयौँ ठाउँमा नियमित गस्तीजसरी नै सेना हिँडेको देखिन्छ ।
अस्थिर राजनीति र गहिरिँदो संकटका बेला सेनाको उक्त क्रियाकलापप्रति धेरैको आशंका छ– सरकारले संकटकाल लगाउन लागेको त होइन ?
एकजना मन्त्रीसँग भएको अनौपचारिक कुराकानीमा उनको टिप्पणी थियो– वैशाखमा जसरी पनि चुनाव हुन्छ ।
वैशाखमा चुनाव भएन भने के हुन्छ ? भन्ने बाह्रखरीको प्रश्नमा उनको जवाफ थियो– एउटा ढोका त बाँकी छ तर त्यो ढोकाको प्रयोग कुनै पनि हालतमा गर्नुहुँदैन ।”
उनको संकेत थियो– संकटकाल ।
तर त्यो अवस्था आउँदै नआउने उनको जिकिर थियो ।
सरकारसँग रहेको उक्त ढोका प्रयोग भएमा मुलुक झनै गम्भीर संकटमा फस्ने उनको भनाइ थियो ।
गहिरिँदो राजनीतिक संकटका बेला नेपाली सेनाले नियमित अभ्यास र सेना दिवसका लागि गतिविधि भइरहेको बताए पनि राजनीतिक र सामाजिक वृतमा भने केही आशंका देखिन्छ ।
केहीदिनअघि पत्रकार दिलभुषण पाठकले आफ्नो ट्विटर अकाउन्टमा सडक दृश्य १, २ र ३ भन्दै व्यस्त सडकमा गुडिरहको सेनाको बख्तरबन्द गाडीको लर्को, हातहतियारसहित सेनाको सडकमा गस्ती र गुडिरहेको बख्तरबन्द गाडीको छोटो भिडियो क्लिप राखे । त्यसमा टिप्पणी गर्दै अर्का पत्रकार अखिलेश उपाध्यायले लेखे– ‘यत्रो हल्ला चलेपछि सम्बधित निकायले खुलासँग बोल्दा राम्रो लोकतन्त्रमा’ ।
पछिल्ला दिनमा सडकमा निस्किएका सेनाका बख्तरबन्द गाडी र गस्तीको दृष्यलाई सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका थिए दुई वरिष्ठ पत्रकारले ।
काठमाडौं उपत्यकामात्रै होइन बाहिर पनि सेनाको नियमित गस्ती भइरहेको छ ।
तर सेनाले यसलाई नियमित र सेना दिवसको कार्यक्रमको तयारी भनेको छ भने सुरक्षा जानकारहरू पछिल्ला राजनीतिक घटनाक्रमका कारण सेनाको सक्रियतालाई अर्थपूर्ण र शंकास्पद ढंगले हेर्नुपर्ने बताउँछन् ।
भारतसँगको सीमा विवाद, रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन र त्यसविरुद्ध सत्तासीन पार्टीकै एक समूहको सडकमा दिनानुदिन भइरहेको आन्दोलनका बीच भइरहेको सेनाको सक्रियतालाई चासोपूर्ण हेरिनुपर्ने टिप्पणी विश्लेषहरुको छ ।
सुरक्षा मामिला विश्लेषक इन्द्र अधिकारी पछिल्ला केही संकेतले गर्दा सेनाको सक्रियतालाई फरक ढंगले हेर्नुपर्ने मत राख्छिन् । “भर्खरै भएको सुरक्षा अंगहरूको सेमिनारमा प्रधानसेनापतिले राजनीतिक नेताहरूले सीमा सुरक्षा सुल्झाउन जरुरी छ भन्ने आशय व्यक्त गरे । यो कुरा सार्वजनिक रुपमा बोल्न जरुरी थिएन,” उनी भन्छिन्, “सेनाले चाहेको भए आफ्नो च्यानलका माध्यमबाट सीमा विवादमा काम गर्न सक्थ्यो ।”
यस्तै, सेनाको मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नियमित अभ्यास भन्दै बख्तरबन्द गाडी गुडाइरहने र परेडका नाममा सक्रियताका देखाउँदा ‘हेर्दा सार्वजनिक सूचना दिएको जस्तो तर सक्रियता देखाएर आममानिसमा डर पैदा गर्न खोजेको सन्देश प्रवाह भएको’ उनको तर्क छ ।
तर सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल सार्वजनिक रुपमा उठिरहेका विषयलाई नकार्दै फागुन २७ को सेना दिवसको तयारीका लागि सेनाको बख्तरबन्द गाडीलगायत जवानले परेडको अभ्यास गर्न बाहिर निस्केको बताउँछन् ।
उनी भन्छन्, “बाइती ब्यारेकबाट जवान पबेलियनमा परेड गर्न आउने र त्यहाँबाट फर्किंदा देखेको गाडीलाई अन्य कुरासँग गतिविधि जोडेर नेपाली सेनाको सक्रियता बढ्यो भन्न मिल्दैन । यो हाम्रो नियमित कार्य हो । गत वर्ष पनि भएको थियो । यसरी सेना दिवस मनाएको २०औँ वर्ष भइसक्यो । अनावश्यक शंका गर्न मिल्दैन ।”
यति मात्र होइन, सेनाले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कार्यालयमै वाई क्याटगोरीको सुरक्षा दिएको बारे सोध्दा प्रवक्ता पौडलले नेपाली सेनाका तर्फबाट भी, एक्स वाई कुनै पनि प्रकारको सुरक्षा नदिएको दाबी गरे ।
उनका अनुसार नेपाली सेनाका तर्फबाट विशिष्ट सुरक्षा बल भन्ने हुन्छ । जसबाट एडीसीसहित पाँचजनाको टिमले प्रधानमन्त्री, राष्ट्रपति तथा उपराष्ट्रपतिलाई ‘क्लोज प्रोटेक्सन’ दिइन्छ ।
पौडेलका अनुसार प्रधानमन्त्रीलाई यो तीनवटा रिङमा सुरक्षा दिइएको हो ।
जम्मा पाँचजनाको समूहले दिने सुरक्षा ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७’ मा उल्लेख भएअनुसार दिइएको हो । यस कार्यविधिअनुसार प्रहरी वरिपरि जान पाउँदैनन् । कार्यविधिमा प्रहरी जान नपाउने ठाउँमा हामीले नियन्त्रण गर्न खोज्दा टकराव भयो प्रवक्ता पौडेलले बताए ।
उनले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई समेत पाँचजनाको समूहबाट ‘क्लोज प्रोटेक्सन’ दिँदै आएको जिकिर गर्दै भने, “बाँकी त्यसदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिन आउँदा बढी सुरक्षाकर्मी देखियो ।”
तर सेनाले जम्मा पाँचजना मात्रै सुरक्षाकर्मी खटाएको उनको दाबी छ ।
यसपटक सेना दिवसका दिन करिब १७ सय सैनिक परिचालन गरी सेनाका विभिन्न गतिविधि देखाइँदै छ । पहिले तीन हजारको संख्यामा सैनिक सहभागी हुने दिवसमा कोभिड प्रोटोकलले गर्दा सैनिक र गाडीको संख्या घटाउन लागेको सैनिक मुख्यालयले जनाएको छ ।
फाइल तस्बिर