site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसलाई मासिक १ रुपैयाँभन्दा कम तलबमा इरान पुर्‍याइयो
SkywellSkywell

काठमाडौं । के तपाईं मासिक एक रुपैयाँका लागि काम गर्नुहुन्छ ? त्यो पनि नेपालमा होइन, विदेश गएर । केही नेपाली यसरी नै ठगिएका छन् । रुपन्देहीका सन्तोष गुरुङ र खम्बरसिंह डाला मासिक १ रुपैयाँभन्दा कमको श्रम स्वीकृति लिएर इरान पुगे । त्यहाँ उनीहरु १८ महिना काम गरेर खाली हात नेपाल फर्किएका छन् । मासिक एक लाखभन्दा बढी तलब हुने आश्वासन देखाएर बुटवलको एजेन्टले उनीहरुलाई रोजगारीको लागि इरान पठाएको हो ।

आफूहरु ठगिएकाले उजुरी गर्न उनीहरु काठमाडौं आए । सन्तोष र खम्बर उनीहरुसँगै जाने अरु तीनजनालाई पनि एउटै एजेन्टले ठगेको बताउँछन् ।

काठमाडौंको नयाँबजारको एक होटेलमा उनीहरुलाई भेट्न पुग्दा बुटवलमा भएको कार्यालयले न्याय नगरेकाले वैदेशिक रोजगार विभागमै उजुरी गर्न आएको बताए । ‘‘एजेन्टले रुपन्देहीबाट जाने पाँचैजनालाई एउटै पानीजहाजमा काम लगाउने बताएको थियो,’’ ठगिएकामध्ये खम्बर भन्छन्, ‘‘इरानमा मानिस बोक्ने जहाजमा काम हुन्छ र तिमीहरुको काम किचनको हुन्छ भनेको थियो ।’’

KFC Island Ad
NIC Asia

इरानमा रहेको पोर्टमा पुगेपछि भने उनीहरुको काम फरक-फरक पानीजहाजमा सामान बोक्नेमा पर्‍यो । कामकै लागि गएकाले उनीहरुले भनेजस्तो काम परेन भनेर सुरुमा त एजेन्टलाई ‘कम्प्लेन’ गरेनन् । काम सुरु गरेको एक महिना बित्दा पनि उनीहरुको तलब आएन ।

किन तलब आएन ? भनेर उनीहरुले इरानको पोर्टमा काममा लगाउने एजेन्टलाई प्रश्न गरे । हामीलाई सुरुमा ‘‘भारतमा रहेको एजेन्टले पैसा दिन्छ’’ भने । आफूहरुले भारतको कुनै एजेन्टलाई नचिनेको सुनाए । त्यसपछि ठगिएको थाहा पाए ।

Royal Enfield Island Ad

एजेन्टले भन्यो, ‘‘तिमीहरु प्रतिमहिना ३५० इरानी मुद्रामा काम गर्न आएका हौ ।’’ एजेन्टको त्यो जवाफ सुनेर उनीहरु छाँगाबाट खसेजस्तो भएको बताउँछन् । इरानमा राम्रो कामको अवसर र कमाइ पनि लाखभन्दा माथि नै हुन्छ भनेर खम्बरले अढाइ लाख बुझाएका थिए । सन्तोषले भने आफूले ६ लाख १५ हजार रुपैयाँ एजेन्टलाई बुझाएर गएको बताए ।

यसरी ठगिए
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३, ड्राइभरटोलका खम्बरसिंह डाला एसएलसीपछि रोजगारीका लागि भारत लागे । त्यहाँको होटेलमा पाँच वर्ष काम गर्दा उनी चाइनिज, इटालियन खाना बनाउन सक्ने भए । त्यहीँ काम गर्दागर्दै बुटवलका एजेन्ट बाबु थापासँग भेट भयो । उनी बुटवलमा बीएन्डबी मेडिकल सेन्टर सञ्चालक हुन् । उनी यसैको आडमा मानिसलाई विदेश पठाउने गर्थे ।

थापाले खम्बरलाई यत्तिको काम गर्न जान्ने मानिस इरान गयो भने लाखभन्दा धेरै कमाइ हुने आश्वासन दिए । ‘सी म्यान’का लागि पठाउने बताएपछि उनले आफ्नो पासपोर्टलगायतको कागजात उनैलाई बुझाए । ‘प्रोसेसिङ’ को काम थापाले नै गरिदिने बताए । विदेश जाने पक्का भएपछि उनी भारतबाट फर्किए ।

उनीसँगै इरान पुगेका सन्तोषको कथा पनि त्यस्तै छ । उनी एकपटक दुबई बसेर आएका थिए । त्यहाँ राम्रो कमाइ नहुँदा फर्किएकाले उनलाई पहिलेको ऋण तिर्नु थियो । इरानमा मासिक लाखभन्दा धेरै कमाइ हुने भनेपछि गाउँमा नै ऋण गरेर ६ लाख १५ हजार एजेन्टलाई बुझाए ।

‘‘हामीले भिसा नआउन्जेल पैसा नदिने भन्यौं,’’ बुटवलबाट हुने सबै प्रक्रिया सकेपछि काठमाडौं आएको र पैसा सबै परिवारमार्फत बुटवलमै बाबु थापालाई बुझाएको सुनाउँदै खम्बर भन्छन्, ‘‘भिसा फ्लाइट हुनेभन्दा केही घण्टाअगाडि मात्र एजेन्टले देखायो । उता, चेकमार्फत पैसा बुझाउँदा लिनै मानेन ।’’

समयमा पैसा नबुझाएको बहानामा उनीहरु एक साता ढिला गरी ०७६ जेठमा नगद (क्यास) बुझाएरै इरान उडे ।

इरानको दुःख
उनीहरु काम गर्ने ठाउँ इरानको खुर्रमसहर पोर्टमा पुगे । ‘‘नेपालबाट किचेनमा काम लगाउने भनेको थियो,’’ तर, त्यहाँ पुगेपछि सामान बोक्ने जहाजमा भारी बोक्ने काम लगाएको सुनाउँदै खम्बर भन्छन्, ‘‘गएकै दिन ह्‍वाइट सिमेन्ट बोक्नेमा परियो ।’’

नेपालमा भने एउटै जहाजमा काम लगाउने बताए पनि आफूहरुलाई फरक-फरक जहाजमा काम लगाइएको उनीहरु बताउँछन् । उनीहरुले त्यहाँ पुगेर सिमेन्ट, ऊँटका लागि भुसले भरिएको कन्टेनर लोड-अनलोड मात्र होइन, जहाज रोक्न डोरीसमेत बाँध्नुपर्थ्यो ।

गएको एक साता पनि नभइ जहाज नै डुबेको सम्झँदै खम्बर भन्छन्, ‘‘म त सबैभन्दा माथि सुतेको थिएँ । खुट्टामा पानी परेको थाहा पाएपछि झोला बोकेर भागेँ ।’’

जहाजमा पानी पस्नुभन्दा अघिल्लो दिन उनी सुतेको जहाजमा १२ सय टन ह्‍वाइट सिमेन्ट र चारवटा गाडी लोड भएको थियो ।

०००

भात देख्‍नका लागि उनीहरुलाई हप्तौं कुर्नुपर्थ्यो । बिहान-बेलुकी सधैं खबुजले पेट भर्नुपर्‍यो । ‘‘कति दिन त त्यही खबुज पनि खान पाइएन,’’ खम्बर भन्छन्, ‘‘त्यही खबुज पनि अरुले ल्याइदिए पो खानु ।’’

भन्टा, टमाटर, आलु त धेरैजसो काँचै खाएको उनीहरु सुनाउँछन् । पैसा भएका बेला भने उनीहरु अन्डा किनेर खान्थे । ‘‘पैसाका लागि भारी बोक्नै पर्‍यो,’’ खम्बर भन्छन्, ‘‘घरमा र दूतावासमा फोन गर्न मुस्किलले पुग्थ्यो ।’’

त्यहाँको गर्मीले उनीहरुलाई बसीखप्‍न दिँदैन्थ्यो । अझ तातो हावा चलेर हैरान । गर्मी छल्न उनीहरुसँग एउटा मात्र उपाय थियो, लुगा समुद्रको पानीमा भिजाउने र लगाउने ।

‘‘हामीले कतिपटक भारतलगायत देशबाट गएकाहरुसँग पैसा मागेरसमेत भोक मेटाएर आयौं,’’ खम्बर भन्छन्, ‘‘आफूसँग भएको सबै कुरा गुमाएपछि थाहा हुनेरहेछ जीवनको महत्त्व ।’’

जहाज उनीहरुका लागि खाने, बस्ने, दिसा-पिसाब गर्ने, लुगा धुने ठाउँ भएको थियो । अझ त्यो १८ महिनामा उनीहरुको शरीरमा नेपालबाट लगेको लुगाभन्दा नयाँ केही परेन । पोर्टलाई सबैतिर तारबारले बारेको थियो । गेटमा सुरक्षाकर्मीले पहरा दिन्थे । त्यहाँबाट उम्कने उनीहरुसँग कुनै विकल्प थिएन ।

उनीहरु भन्छन्, ‘‘हामीले पोर्ट र समुद्रभन्दा बाहेक अरु केही देख्‍न पाएनौं । कहिले-काहीँ फुर्सद मिल्यो भने कसरी सकुशल फर्कने मात्र कुरा हुन्थ्यो ।’’

सुलेमानी मारिएपछि झन् तनाव
उनीहरु इरान पुगेको केही महिनामै अमेरिकाले कासिम सुलेमानीको हत्या गर्‍यो । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको इरानी मेजर जनरल कासिम सुलेमानी ३ जनवरी २०२० मा इराकको बग्दाद इन्टरनेसनल एयरपोर्टअमा ड्रोन हमलामा मारिए । त्यसपछि त इरान-अमेरिका युद्ध नै भयो ।

हुन त त्यहाँका मानिसहरु खुलेआम नै बन्दुक बोकेर हिँड्छन् । अझ सुलेमानि मारिएपछि उनीहरुले बन्दुकको आवाज नसुनेको दिन भएन । यसै त ठगिएको मानिस, पैसा त कहाँ हो कहाँ, ज्यान पनि सकुशल फर्कन्छ कि फर्कंदैन भन्ने चिन्ताले उनीहरुलाई सताउँथ्यो ।

‘‘सुलेमानीको हत्यापछि त हड्ताल नै भयो । सामान पनि किनिनसक्नु महँगो । हामी जाने बेलामा एक लिटर पेट्रोलको मूल्य १० हजार इरानी थियो, त्यो बढेर ९० हजार प्रतिलिटर भयो । घरमा कुरा गर्न एक महिनाको नेट प्याक ६० हजार खर्च । त्यस्तो ठाउँमा ३५० रुपैयाँ तलब लिएर के गर्ने ?’’ सन्तोषले भने ।

इरानमा नेपाली दूतावास छैन । केही समस्या पर्‍यो भने पाकिस्तानमा रहेको दूतावासलाई खबर गर्नुपर्छ । ‘‘मैले सीएसएम सिसल कम्पनीमा काम गरेको सबै कागजात छ,’’ पाकिस्तानमा रहेको नेपाली दूतावासलाई आफूसँग भएको सबै कागजात देखाएको सुनाउँदै उनी भन्छन्, ‘‘सबै कागजात देखाए पनि दूतावासले भने ‘तिमीहरुको तलब जम्मा ३५० इरानी छ, यसको नेपाली रुपैयाँ जम्मा ९५ पैसा मात्र हुन्छ’ भन्यो ।’’

नेपालबाटै त्यति तलबमा आएपछि दूतावासले आफूले केही गर्न नसक्ने बतायो । ‘‘अब हामीले कसलाई समाउने ?’’ उनीहरु भन्छन्, ‘‘कसलाई गुहार गर्न जाने ?’’ आफूहरुसँग बोल्ने ठाउँ नै नभएको उनीहरु बताउँछन् ।

ठगिएको थाहा पाएपछि उनीहरुले जसरी हुन्छ घर फर्कने सोच बनाए । तर, फर्कन पनि पैसा चाहियो । उनीहरुले फेरि दूतावासमा सम्पर्क गरे । ‘‘यतिका समय काम गरियो, घर फर्कनलाई मात्र पुग्ने पैसा भए पनि दिन्छ कि ?’’ भनेर कुरा राखे । तर, प्रयास खेर गयो । दूतावासले भन्यो, ‘‘कागजअनुसार तिमीहरुको तलब १८ रुपैयाँ हुन्छ, त्यो लिएर घर जान्छौ र ?’’

‘‘पोर्टको आईएसपीएस, पोर्ट व्यवस्थापनको कार्यालय, अन्तर्राष्ट्रिय यातायात मजदुर संघ (आईटीएफ) मा उजुरी लिएर पुगें । त्यही उजुरीका आधारमा जहाज सञ्चालकलाई घर पठाउने भए पठाउनू, नत्र जहाज जहाज अरेस्ट हुन्छ भनेपछि मात्र हामीलाई घर फर्काउने भयो,’’ खम्बरले बताए ।

त्यसपछि एकजनालाई जहाज मालिकले आफ्नै खर्चमा नेपाल फर्काउने भयो । सुरुमा खम्बरले नै जहाज मालिकविरुद्ध उजुरी गरेकोले दसैंको टीकाको दिन नेपाल फर्कायो ।

खम्बर दसैंमा खाली हात फर्किए । खम्बर नेपाल फर्किएपछि उनका साथीहरुलाई पनि नेपाल फर्काउन सुरु गरियो । तर, १८ महिना काम गरेको पैसाविनै ।

ठगिएको धन कसरी फिर्ता होला ?
आफूलाई नेपालबाट एजेन्टले ठगेर विदेश पठाएको उजुरी लिएर बुटवलका कार्यालयहरुमा धाउँदा-धाउँदै थाकेर उनीहरु गएको शुक्रबार काठमाडौंको महानगरीय अपराध महाशाखामा पुगे ।

त्यहाँ पनि ठगीको यथेस्ट प्रमाण नपुगेको कारण उनीहरुको सुनुवाइ त्यहाँ नहुने बताइयो । महाशाखाले उनीहरुलाई वैदेशिक रोजगार विभागबाट केही हुन सक्ने भन्दै पठायो । गत शुक्रबार खम्बर र सन्तोष विभाग गए । आफूहरु ठगिएको भन्दै एक रुपैयाँभन्दा पनि कम तलबमा भएको श्रम स्वीकृति देखाउँदै कार्यालयको प्रत्येक झ्यालमा पुगे ।

विभागमा उनीहरुको केही सीप चलेन । विभागका महानिर्देशकलाई आफूहरु ठगिएको कुरा सुनाउँदा केही हुन्छ कि भनेर ढोकाअगाडि पुगे । तर, गार्डले भित्र जान दिए पो ! उनीहरुको फाइल नै दर्ता गर्न विभागले मानेन । गार्डले नै रोकेपछि आशा निराशामा परिवर्तन भएको खम्बर गुनासो गर्छन् ।

खम्बर र सन्तोषको अन्तिम आशा विभागका महानिर्देशक नै थिए । त्यही आशाले गएको आइतबार कार्यालय खुल्ने समयभन्दा अगाडि नै विभाग पुगे । हाकिम भेट्ने अनुमति मागे । तर, बिहानैदेखि मिटिङ चलेकाले उनीहरुको भेट दिउँसो मात्र भयो ।

उनीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीको लागि गएको र एजेन्टलाई पैसा बुझाएको कुनै पनि प्रमाण नपुगेको कारण विभागले उजुरी लिन मानेन ।

विभागका महानिर्देशक कुमार दाहालले दलालहरुले विदेश जाने धेरै युवाहरुलाई यसैगरी ठगी गर्ने गरेको बताए । दाहालको कुरा सुनेपछि होटेलमा बसेर खर्च बढाउनुभन्दा ‘नाइट बस’ चढेर घर फर्किएकै बेस भनेर उनीहरु नयाँ बसपार्कतर्फ लागे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro