
पोखरा । हालसम्मको प्रगति र योजनाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने देखिएको छ । हालसम्मको प्रगति र योजनाअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख इन्जिनियर विनेश मुनंकर्मीले बताए । विमानस्थलको भौतिक प्रगति ६८ प्रतिशत भएको छ ।
२ हजार ५ सय मिटरको धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ भने यसमा लाइट राख्ने काम बाँकी छ । यस्तै, टावर, ७ वटा भवन निर्माण सम्पन्न भइसकेको छ भने फिनिसिङको काम हुँदै छ ।
कोभिड–१९ का कारण करिब ३ महिना पूर्ण रुपमा काम रोकिएको थियो । चिनियाँ कामदार आफ्नो नयाँ वर्ष मनाउन चीन गएका र सो समयमा चीनमा देखिएको कोरोनाका कारण उतै रोकिएका थिए । पछि उनीहरुलाई नेपाल ल्याएपछि नेपालमा पनि कोरोना संक्रमणका कारण काम रोकिएको थियो ।
कोरोनाका कारण सीमानाका बन्द हुँदा निर्माण सामग्री पनि रोकिँदा काम प्रभावित भएको उनले बताए । तर पनि हालसम्मको प्रगति हेर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुने देखिएको उनले बताए । ठेकेदार कम्पनीले म्याद थप गर्नुपर्ने विषयमा केही नभनेकाले पनि तोकिएकै समयमा आयोजना सम्पन्न हुने विश्वास आयोजनाको छ । सन् २०२१ को जुन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजना प्रमुख मुनंकर्मीका अनुसार ५० प्रतिशत बढी प्रविधि आइसकेको र थप सामग्री आएको ६ महिनामा जडानको काम सम्पन्न हुनेछ । प्रविधि जडान गर्ने प्राविधिक ल्याउने विषयमा पनि करिब तयारी पूरा भइसकेको उनले बताए ।
“प्रविधि जडानका लागि आवश्यक पर्ने विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको छ र उनीहरु आउनेक्रममा छन्,” उनले भने । प्रविधि जडानका लागि विदेशी प्राविधिक नै आवश्यक पर्ने जनाइएको छ । चिनियाँसहित युरोप, अस्ट्रेलियाबाट पनि प्राविधिक ल्याउनुपर्नेछ ।
हालसम्म भौतिक प्रगति ६८ प्रतिशत हुँदा वित्तीय प्रगति ५०.२७ प्रतिशत छ । भौतिकभन्दा वित्तीय प्रगति कम देखिनुको कारण ठेकेदारलाई ‘भोलुम बेस’मा नभई ‘माइलस्टोन बेस’ भुक्तानी हुने भएकाले कम देखिएको उनले बताए । अर्थात् तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारले पैसा पाउँछ, सोही कारण वित्तीय प्रगति कम देखिएको उनले जानकारी दिए ।
ठेकेदारसँग भएको सम्झौताअनुसार तोकिएको काम सम्पन्न भएपछि मात्रै भुक्तानी गरिँदै आएको छ । आयोजना प्रमुख मुनंकर्मीका अनुसार विमानस्थलभित्र बनेका भवनको फाउन्डेसनको बाहेक अरु निर्माणको पैसा ठेकेदार कम्पनीले पाएको छैन । सम्झौतामा नै ‘सिभिल वर्क’ सकिएपछि ५५ प्रतिशत पाउने भनिएको छ । ‘सिभिल वर्क’को काम सम्पन्न हुन झ्याल, ढोका र पेन्टिङ बाँकी छ ।
“अब झ्याल, ढोका र पेन्टिङ गरेपछि मात्रै कम्पनीले ५५ प्रतिशत पैसा पाउँछ । प्रविधि जडान गरेपछि बाँकी ४५ प्रतिशत रकम पाउँछ,” उनले भने ।
४० मिटर अग्लो डाँडा काटिँदै
विमान उडान एवं अवतरण गर्नेक्रममा धावनमार्गलाई अवरोध गर्ने एउटा डाँडा काट्ने तयारी भइरहेको छ । विमानस्थलनजिकै रिट्टेपानीमा रहेको डाँडा काट्नुपर्ने छ । यसको ईआईए प्रतिवेदन एक महिनाभित्र आइसक्ने र ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
आयोजना प्रमुख मुनंकर्मीका अनुसार विमान अवतरण एवं उडान गर्ने मार्गमा नै यो डाँडा परेकाले काट्न परेको हो ।
“४० मिटर ‘अप्स्ट्रयाकल’ परेको हुनाले डाँडा काट्नु परेको हो । धावनमार्गको ‘अप्रोच’मा परेको र त्यसले उडान तथा अवतरणमा अवरोध पुर्याउने भएकाले काट्न परेको हो,” उनले भने ।
उनकाअनुसार अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’बाट हुनेछ भने आन्तरिकतर्फ रनवेको दुवै तर्फबाट उडान तथा अवतरण हुनेछ । अन्तर्राष्ट्रिय उडान पश्चिमतर्फबाट गर्दा सराङकोट डाँडा रहेकाले अन्तर्राष्ट्रिय उडान पूर्वतर्फबाट मात्रै हुने उनले बताए । तर, आन्तरिक उडान भने पूर्व र पश्चिम दुवै तर्फबाट गर्न मिल्छ ।
पोखरामा विमानस्थलमा विमान अवतरणका लागि सिमराबाटै प्रवेश गर्नेछ । अहिले काठमाडौं विमानस्थलमा अवतरण हुने विमान सिमराबाटै प्रवेश गर्छन् ।
क्यानले नै सञ्चालन गर्ने
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरणले नै सञ्चालन गर्ने भनिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि प्राधिकरणले नै सञ्चालन गर्नेछ । यद्यपि, यस विषयमा प्राधिकरणले निर्णय भने गरिसकेको छैन । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले नै सञ्चालन गर्ने निर्णय भइसकेको छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उपयुक्त कम्पनी सञ्चालनका लागि आएमा नेपाल सरकारले निर्णय गर्न सक्ने तर अहिलेसम्मको अवस्थामा पोखरा पनि प्राधिकरणले नै सञ्चालन गर्ने बताए ।
हालको एयरपोर्टको प्रयोग कसरी हुन्छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको विमानस्थलको प्रयोग कसरी गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।
प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेको विमानस्थलको प्रयोग कसरी गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताए । तर, यो विमानस्थल सञ्चालनमा आएपछि सोही विमानस्थलबाटै आन्तरिकतर्फको पनि उडान हुनेछ ।
आयोजना प्रमुख मुनंकर्मी अहिलेको विमानस्थलमा अल्ट्रालाइटजस्ता टावरको कन्ट्रोलनमा हुने अन्य गतिविधि हुन सक्ने बताउँछन् । “अहिले नै यही हुन्छ भन्ने निर्णय नभए पनि टावरको कन्ट्रोलनमा हुन सक्ने गतिविधि त्यो (अहिलेको) विमानस्थल प्रयोग हुन सक्छ ।”
भविष्यमा नयाँ विमानस्थल ‘बिजी’ भएको अवस्थामा आन्तरिकतर्फको दुर्गम क्षेत्रका उडान अहिलेको विमानस्थलबाट गराउने सकिने सम्भावना रहेको पनि उनले बताए ।
विमानस्थलमा ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । यसमध्ये तीनवटा अन्तर्राष्ट्रिय, ४ वटा एटीआर प्रकारका जहाज र ४ वटा ट्वीनअटर जहाज पार्किङ गर्न सकिने आयोजना प्रमुख मुनंकर्मीले बताए । “अन्तर्राष्ट्रियतर्फ पनि ‘सी’ प्रकारका विमान १ र ‘डी’ प्रकारका २ वटा विमान पार्किङ गर्न सकिन्छ ।”
आन्तरिकतर्फ दैनिक ४८ उडान र अवतरण एवं अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान एवं अवतरण हुनेछ । पिक आवरमा ८ वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने उनले बताए । करिब ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको लागत करिब २२ अर्ब रुपैयाँ छ । यो विमानस्थलबाट वार्षिक ८ लाख यात्रुलाई सेवा दिइने उनले बताए ।
विमानस्थल निर्माणमा नेपालीसहित २२० कर्मचारी खटिएका छन् । १६० चिनियाँ र ६० नेपालीले काम गरिरहेको आयोजनाले जनाएको छ ।