site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ वर्षले जगायो आन्तरिक पर्यटन चलायमान हुने आशा, भारतीय पर्यटक पनि आउन थाले
Tiktok banner adTiktok banner ad

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को सुरुवातसँगै आन्तरिक पर्यटनमा आशा जगाएको छ । विशेषगरी ‘न्यु इयर इभ’ को समयमा देश विभिन्न भागमा पर्यटकको उपस्थितिले व्यवसायीलाई उत्साही बनाएको छ । आन्तरिकसँगै भारतीय पर्यटकहरुको समेत उपस्थितिले नयाँ वर्षमा आशाको सञ्चार गराएको व्यवसायीहरुले बताएका छन् । 

करिब १० महिना ठप्प रहेको नेपालको पर्यटन क्षेत्र अब विस्तारै ‘बौरिने’ संकेत देखिएको पोखरामा होटेल व्यवसाय गर्दै आएका नरेश भट्टराई बताउँछन् । उनले तीन दिन आयोजना गरिएको ‘पोखरा सडक महोत्सव’ मा सहभागी आन्तरिक एवं भारतीय पर्यटकको उपस्थितिले उत्साह बनाएको बताए । तर, यो उत्साहलाई कायम राख्‍न पर्यटकीय गतिविधिलाई निरन्तरता दिँदै जानुपर्नेमा उनले जोड दिए । त्यसका लागि स्थानीय, प्रदेश, संघीय सरकार र निजी क्षेत्र मिलेर विभिन्न प्याकेज ल्याउनुपर्ने उनले बताए । 

“गण्डकी प्रदेश सरकार, स्थानीय सरकार एवं निजी क्षेत्रका संघ संस्थाको सहयोगमा आयोजना गरिएको सडक महोत्सवमा देखिएको आन्तरिक पर्यटकको सहभागिताले आशा जगाएको छ,” उनले भने, “जागेको आशालाई मूर्तरुप दिन पनि स्थानीय, प्रदेश, संघीय सरकार र निजी क्षेत्र मिलेर विभिन्न प्याकेज ल्याउनुपर्छ । नाफा नै गर्न नसकिए पनि आन्तरिक पर्यटकबाट खर्च मात्रै भए पनि धान्न सकिन्छ भन्ने देखाएको छ ।” आन्तरिक पर्यटनलाई चलायमान बनाउन दुई दिनको सार्वजनिक बिदाको अवधारणालाई कार्यान्वयनमा ल्याउन सकिए त्यसले पनि आन्तरिक पर्यटनलाई थप चलायमान बनाउने उनको विश्वास छ । विगतका पोखरा सडक महोत्सवमा विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति हुने गरे पनि यसपटक भने आन्तरिक पर्यटक र केही भारतीय पर्यटकसमेत सहभागी भएको भट्टराईले बताए । पोखरामा केही भारतीयसहित तेस्रो मुलकका केही पर्यटकसमेत देखिएका थिए । 

‘न्यु इयर इभ’ मा भारतीय पर्यटकहरुसमेत आएकाले विभिन्न प्याकेज ल्याएर भए पनि उनीहरुलाई समेत आकर्षित गर्न सकिने व्यवसायीको भनाइ छ । ‘न्यु इयर इभ’ का बेलामा पोखराका लेकसाइड, वरपरका डाँडाहरुमा खोजिएको होटेल, रिसोर्टमा अकुपेन्सी राम्रो भएको भट्टराईले बताए । कतिपय होटेलहरुमा त शत्‌प्रतिशत अकुपेन्सीसमेत भएको व्यवसायीले बताए । आन्तरिक हवाई सेवा कम्पनीहरुले ल्याएका प्याकेजसहितको छुट योजना, होटेल तथा रेस्टुरेस्ट व्यवसायीहरूले सार्वजनिक गरेका छुट योजनाले पनि आन्तरिक पर्यटनलाई चलायमान बनाउन सहयोग पुर्‍याएको व्यवसायीहरुको भनाइ छ । यस्ता छुट तथा अफरलाई निरन्तरता दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

पोखरा मात्रै होइन नयाँ वर्ष सन् २०२१ को अवसरमा काठमाडौं, सौराहा, लुम्बिनीलगायत पर्यटकीय स्थानमा आन्तरिकसहित भारतीय पर्यटकको पनि बाक्लो उपस्थिति रहेको व्यवसायीहरु बताउँछन् । भारतीय पर्यटकसमेत आउँदा अब सुरक्षाको मापदण्ड पालना गराएर सीमा पनि खुला गर्नुपर्ने आवाज व्यवसायीहरुले उठाएका छन् । हाल नेपाल-भारतबीच ‘एयर बबल’ माध्यमबाट दुई देशका नागरिकलाई मात्रै हवाई सेवा प्रयोग गरिँदै आएको छ । नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक/एक उडान गर्दै आएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पनि नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रम र पर्यटकको उपस्थितिले आन्तरिक पर्यटन चलायमान हुने आशा पलाएको बताए । विदेशी पर्यटक तत्काल आउने सम्भावना नदेखिए पनि आन्तरिक पर्यटकबाट पनि यस क्षेत्रलाई चलायमान बनाउन सकिने देखिएको उनले बताए । आन्तरिक पर्यटन प्रवर्द्धनमै लाग्नुपर्ने देखाएको उनले बताए । 

“अहिलेको अवस्थामा गरिएका कार्यक्रममा आन्तरिक पर्यटकको संख्याले उत्साह थपेको छ,” उनले भने, “अब स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गर्दै पर्यटकीय गतिविधि बढाउनुको विकल्प छैन ।”

सीमा नखोल्दा पनि पोखरा, चितवनलगायत गन्तव्यमा भारतीय पर्यटकको संख्या राम्रो देखिएको भन्दै उनले यो नेपालको पर्यटनका लागि सकारात्मक सन्देश भएको बताए । उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर सीमा खुला गरिए भारतीय पर्यटकको संख्यामा वृद्धि आउने पनि बताए । “नेपाल आउँदा पीसीआर गरेको रिपोर्ट अनिवार्य गराएर सीमा खुला गर्ने हो भने भारतीय पर्यटकको संख्यामा वृद्धि ल्याउन सक्छ,” उनले भने ।   

कोभिड १९ को असर कहिलेसम्म पर्छ भन्ने आकलन गर्न नसकिएको र तत्काल विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटनलाई नै प्रर्वद्धन गरिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । व्यवसायीहरुले पर्यटन गतिविधि बढाउन विभिन्न प्याकेजसहित धार्मिक एवं अन्य गन्तव्य खुला गर्न पनि आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro