काठमाडौं । गत दुई हप्तामा मात्रै ट्राफिक प्रहरी महाशाखाले ४४ वटा मोटरसाइकल फेला पारेर धनीलाई बुझायो । राजधानीका विभिन्न क्षेत्रबाट चोरिएका मोटरसाइकल फेला पारी बुझाएको थियो ।
पछिल्लो समय ट्राफिक पोसाक नलगाई सादा पोसाकमा खटिने ट्राफिक प्रहरीले अनुसन्धानको दायरा बढाएको देखिन्छ ।
सादा पोसाकमा खटिएका प्रहरी जवान श्रीधर पुरीका अनुसार इन्जिन नम्बर र चेजी नम्बरको आधारमा मोटरसाइकल पत्ता लगाउने गरिन्छ ।
‘‘सार्वजनिक स्थल वा पार्किङ क्षेत्रबाट हराएका मोटरसाइकल धनीले दिएको निवेदनअनुसार सोही क्षेत्रबाट खटिने गरेका छौँ,’’ उनले भने, ‘‘निवेदन महाशाखामा दर्ता हुन्छ । खोजतलास सुरु गर्छौँ । मोटरसाइकलको इन्जिन नम्बर, चेजी नम्बर पहिचान गरी कन्ट्याक सिस्टममा महाशाखामा राखिएको हुन्छ । त्यही कन्ट्याक सिस्टमअनुसार बाहिर खटिने हो ।’’
आफूहरुले बाटोमा गुडिरहेको वा पार्किङ गरिरहेको शंकास्पद सबै मोटरसाइकल चेकजाँच गर्ने र चोरीको पाइए नियन्त्रणमा लिने गरेको उनले बताए ।
सादा पोसाकमै खटिएका अर्का प्रहरी जवान भुपेन्द्र कार्कीले लाइसेन्स, परिचयपत्र चेक गरेर पनि पत्ता लगाउने गरेको जानकारी दिए । ‘‘कतिपय मोटरसाइकल क्रस चेक विधिबाट पत्ता लाग्ने गरेका छन्,’’ उनले भने, ‘‘हेर्दैमा थाहा हुन्छ, नम्बर प्लेट परिवर्तन गरिएको मोटरसाइकल ।’’
मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरिए पनि इन्जिन नम्बर र चेजी नम्बर परिवर्तन गर्न गाह्रो हुन्छ ।
‘‘महाशाखामा मोटरसाइकल दर्ता भएअनुसार मोटरसाइकलको अनुसन्धान थाल्ने गरेका छौँ । मोटरसाइकलको नम्बर प्लेट त परिवर्तन हुन्छ नै । तर, इन्जिन नम्बर र चेजी नम्बरको आधारमा ट्याली गर्दा उक्त सवारी हराएको महाशाखाको रेकर्डमा देखियो भने चोरीको मोटरसाइकलसहित मानिसलाई पनि पक्राउ गरेर ल्याउँछौँ,’’ उनले भने, ‘‘सादा पोसाकमा पार्किङ क्षेत्रमा लुकेर बस्ने, मोटरसाइकल चोर्ने मानिस आएपछि समात्ने पनि गरेका छौँ ।
ट्राफिक प्रहरीका अनुसार कम्पनीले बनाएको मोटरसाइकल र मानिसले शो रुममा बनाएको मोटरसाइकल अलग्गै थाहा हुन्छ । कतिपय मोटरसाइकल चोर्ने मानिसले मोटरसाइकलको हुलिया नै परिवर्तन गरेका हुन्छन् ।
‘‘मोटरसाइकल चोरी हुनेबित्तिकै नजिकैको प्रहरी कार्यालयमा निवेदन दिनुपर्छ । त्यसकै आधारमा महाशाखाले चोरीको मोटरसाइकल पत्ता लगाउने गर्छ,’’ प्रहरी जवान कार्कीले भने, ‘निवेदन हुँदा खोजतलास गर्न सजिलो हुन्छ ।’’
यही पुस ३ गते बा७७प ७४७४ नम्बरको मोटरसाइकल हराएको थियो । उक्त मोटरसाइकलकी धनी वनस्थलीमा बस्ने साङ्भु शेर्पा हुन् । किनेको दुई महिनामै मोटरसाइकल हरायो । उनले महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवदेन दिइन् । मोटरसाइकल फेला प¥यो ।
उनी भन्छिन्, ‘‘अब मोटरसाइकल भेट्टाइँदैन सोचेकी थिएँ । तर, भेट्टाइयो ।’’
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनकप्रसाद भट्टराईका अनुसार अघिल्लो साता २२ वटा मोटरसाइकल धनीलाई बुझाइएको थियो । अहिले पनि २२ वटै मोटरसाइकल फेला परेका छन् । मोटरसाइकल चोर्ने मानिसलाई पक्राउ गरेर मुद्दा चलाउने हेतुले विभिन्न प्रहरी कार्यालयमा बुझाइएको छ ।
‘‘काठमाडौंमा चोरी भएका मोटरसाइकललाई बाहिर जिल्ला पुर्याउने गरेको तथ्यांकले देखाएको छ,’’ उनले भने ।
मोटरसाइकलमा साइरन ताल्चा लगाउन, सुरक्षित स्थानमा मोटरसाइकल राख्न उनी सुझाव दिन्छन् ।