site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेट्रोलियम पदार्थको बिक्री लकडाउनअघिकै बराबरीमा फर्कियो

काठमाडौं । कोरोना भाइरस प्रभाव कम हुन थालेयता बढेको सवारी आवागमनसँगै विविध गतिविधि बढ्न थालेपछि इन्धनको खपत लकडाउनअघिकै अवस्थामा फर्किएको छ । मंसिर महिनामा मात्रै लकडाउनअघि अर्थात् गत फागुनको भन्दा बढी पेट्रोलियम पदार्थ खपत भएको हो ।

नेपाल आयल निगमका अनुसार गत फागुनमा पाँच करोड ३४ लाख तीन हजार लिटर पेट्रोल खपत भएको थियो । चैत सुरु हुँदै देशभर आह्‌वान गरिएको लकडाउन, हवाई उडानमा रोक, अत्यावश्क वस्तु तथा सेवा प्रवाहबाहेक सबै गतिविधि ठप्प हुँदा इन्धनको माग एकचौथाइसम्म घटेको थियो । तर, जोखिम उत्तिकै रहे पनि विस्तारै सहज हुन थालेको जनजीवनले इन्धनको माग पूर्ववत् अवस्थामा फर्काएको हो ।

जसको उदाहरण हो, मंसिरमै पाँच करोड ५२ लाख ६ हजार लिटर पेट्रोल खपत हुनु । यस्तै, गत फागुनमा १५ करोड १६ लाख ७९ हजार लिटर डिजेल बिक्री भएकामा मंसिरमा त्योभन्दा बढी अर्थात् १५ करोड ३८ लाख ७९ हजार लिटर उपभोक्ताले प्रयोग गरेका छन् ।

हवाई उडान भने पूर्ण रुपमा सञ्चालन नभएको अवस्थामा हवाई इन्धनको बिक्री पूर्ववत् विन्दुमा फर्किएको छैन । निगमका अनुसार फागुनमा एक करोड ५० लाख ५५ हजार लिटर हवाई इन्धन बिक्री भएकामा मंसिरमा ६९ लाख ५५ हजार लिटर मात्र बिक्री भएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंसिर महिनाको पेट्रोलियम पदार्थ खपत गत फागुनको भन्दा धेरै छ । सरकारले आवागमनमा लगाएको प्रतिबन्ध खुला हुनु, जोरबिजोर प्रणाली हट्नुले खपत बढेको उनले बताए ।

बाह्रखरीसँग उपाध्यायले भने, “मंसिरमा पेट्रोल र डिजेलको बिक्री परिमाण गत फागुनको भन्दा बढी छ । मंसिरमा फागुनको भन्दा १८ लाख लिटर बढी पेट्रोल र २२ लाख लिटर बढी डिजेल बिक्री भएको हाम्रो बिक्री तथ्यांकले देखाउँछ ।”  लकडाउन खुलेर विद्यालय, होटेल आदिको गाडी नचले पनि बिक्री परिमाण बढेको उनको भनाइ छ ।

प्रवक्ता उपाध्यायका अनुसार असोजदेखि इन्धन खपत ह्‌वात्तै बढेको हो । मालवस्तु ढुवानी यथावत् रहनु, उद्योग तथा विकास निर्माण पुरानै अवस्थामा फर्किएपछि इन्धनको माग बढेको उनले दाबी गरे ।

निगमको तथ्यांकअनुसार वैशाखदेखि साउनसम्म औसतमा तीन करोड नौ लाख लिटर मात्र पेट्रोल, नौ करोड ८७ लाख लिटर मात्र डिजेल र १६ लाख लिटर हवाई इन्धन खपत भएको छ । पुसको पहिलो साताको तथ्यांकअनुसार पनि इन्धनको माग मंसिरबराबर नै रहेको देखाउँछ ।

कुन महिनामा कति तेल बिक्री ?
फागुन :

५ करोड ३४ लाख ३ हजार लिटर पेट्रोल

१५ करोड १६ लाख ७९ हजार लिटर डिजेल

एक करोड ५० लाख ५५ लिटर हवाई इन्धन

वैशाख-साउनसम्मको औसत

तीन करोड ९ लाख ४१ हजार लिटर पेट्रोल

९ करोड ८७ लाख २ हजार लिटर डिजेल

१५ लाख ४० हजार लिटर हवाई इन्धन

असोज

४ करोड ६५ लाख ४९ हजार लिटर पेट्रोल

११ करोड ९२ लाख ६५ हजार लिटर डिजेल

५७ लाख १३ हजार लिटर हवाइ इन्धन

कात्तिक

४ करोड ९३ लाख ५८ हजार लिटर पेट्रोल

१२ करोड २५ लाख १० हजार लिटर डिजेल

६१ लाख ७५ हजार लिटर हवाइ इन्धन

मंसिर

५ करोड ५२ लाख ६ हजार लिटर पेट्रोल

१५ करोड ३८ लाख ७९ हजार लिटर डिजेल

६९ लाख ५५ हजार लिटर हवाई इन्धन

पुस पहिलो साता

१ करोड २७ लाख ९० हजार लिटर पेट्रोल

३ करोड ९७ लाख ४४ हजार लिटर डिजेल

१६ लाख ५२ हजार लिटर हवाई इन्धन

निगमलाई आउने १५ दिनमा १३ करोड ५२ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण

बिक्री बढे पनि निगमलाई पेट्रोलियम पदार्थ बिक्रीमा घाटा छ । समायोजित मूल्यअनुसार आउने १५ दिनको बिक्री अनुमानका आधारमा निगमलाई १३ करोड ५२ लाख रुपैयाँ घाटा हुने अनुमान छ ।

निगमका अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा घाटा छ । जसबाट १५ दिनमा निगमलाई पाँच करोड रुपैयाँ घाटा हुन्छ । यस्तै डिजेलबाट प्रतिलिटर ६२ पैसाका हिसाबले १५ दिनमा ४ करोड ६५ लाख रुपैयाँ घाटा हुन्छ । मट्टितेल र हवाई इन्धनमा भने निगम निगम नाफामा छ ।

एलपीजीमा निगमले प्रतिसिलिन्डर ११४ रुपैयाँ ६२ पैसा घाटा बेहोर्छ । जसबाट निगमलाई १५ दिनमा १५ करोड ३४ लाख रुपैयाँ घाटा छ ।

अझै बढ्छ बिक्री

वीरगन्ज-रक्सौल सीमामा अहिले पेट्रोलियम पदार्थको मूल्य अन्तर ३० रुपैयाँभन्दा बढी छ । भारतमा भन्दा नेपालमा डिजेल नेपाली रुपैयाँ ३७ र पेट्रोल नेपाली रुपैयाँ ३२ सस्तो छ । तर, नेपालको अन्तर्राष्ट्रिय सीमानाका कडाइ अझै खुलेको छैन ।

यसअघि नेपाल-भारत सीमामा तेलको मूल्यअन्तर उच्च हुँदा भारतीय सवारी नेपाल आएर तेल भर्थे भने जर्किनमा समेत बोकेर जान्थे । सीमामा आवतजावत सहज हुँदा निगमको बिक्री झनै बढ्ने बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro