काठमाडौं । डोजरले उकासेको कालो माटो । पिँधमा हरियो देखिने पानी । छेउछाउमा सुक्न लागेका रूख । माछा मार्न प्रयोग गरिने बल्छी र गाडिएका भाटाहरु । कंक्रिट, ढुंगा बालुवा सिमेन्टले बन्दै गरेका पर्खाल । पोखरी परिसरभित्रै राधेराधे सत्सर्ग केन्द्र र प्रहरी चौकी छ । यही छ अहिले कमलपोखरीको अवस्था ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते पोखरी पुनर्निर्माण शिलान्यास गरेका थिए ।
रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्दा सर्वत्र विरोध भएको थियो । अभियन्ताको सर्वत्र विरोधको दबाबले काम रोकियो । परम्परागत पानीपोखरी विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने उपाय सुझाए । तब मात्रै रानीपोखरी आफ्नो पहिलाको स्वरुप पाएको थियो । अहिले निर्माणाधीन कमलपोखरी पनि निर्माण हुनुभन्दा पहिलाको रानीपोखरीजस्तै छ । जुन अहिले कंक्रिट ढुंगा, बालुवा र सिमेन्टको प्रयोग गरी निर्माण भइरहेको छ ।
काठमाडौं महानगरपालिका वडा १ का अध्यक्ष भरतलालले महानगरले बनाएको डिजाइनअनुसार पोखरी पुनर्निर्माण गरिने बताए ।
परिसरमा व्यायाम क्षेत्रका साथै ब्यामिन्टन र बास्केटबल कोर्ट रहनेछ । साँझपख पार्कमा चहलपहल होस् भनेर बिजुली-बत्ती जडान गरिनेछ । पोखरी वरिपरि ढुंगाका सिँढी बनाइनेछन् । पार्कको सम्पूर्ण क्षेत्रमा ढुंगाका सिँढी राखिनेछन् । पोखरीको बीच भागसम्म जान मिल्ने गरी पुल बनाइनेछ । चारैतिर कमलका फूलसहित बीचमा फोहोरा निर्माण गरिनेछ । पोखरी परिसरमा रहेको राधेराधेको सत्सर्ग भवन र प्रहरी चौकी हटाएर पार्क बनाउने योजना महानगरको छ ।
पोखरीको नाममा करिब ४० रोपनी थियो । कहिले प्रहरी चौकीका नाममा त कहिले भवन निर्माणका नाममा अतिक्रमण हुँदा अहिले २२ रोपनीमा खुम्चिएको छ ।
त्यही रहेको विजय स्टोर्सका ५५ वर्षीय समीर अधिकारीले आफूले देख्दादेख्दै पोखरीको स्वरूप परिवर्तन भएको बताउँछन् । उनी २०औं वर्षदेखि कमलपोखरीछेउमा बस्दै आएका छन् । सानोमा आउँदा कमलको फूल फुलेको देखिन्थ्यो भन्दै उनी कमलपोखरीमा माछा मार्न जाने गरेको सम्झना सुनाउँछन् । “वरिपरि धेरै रुख थिए । जहाँ विभिन्न चराको स्वर सुन्न पाइन्थ्यो । पानी हाँस पाइन्थे,” उनले भने, “सबै व्यवस्थित थियो, पछि अतिक्रमणमा पर्दै जाँदा यस्तो कमलपोखरी देख्नुपर्यो । अहिले उजाड कमलपोखरीको दुर्दशा देख्दा त्यस छेउछाउ जान पनि मन लाग्दैन ।”
अहिले पुनर्निर्माण भइरहेको महानगरपालिकाले पोखरी पहिलाजस्तो प्राकृतिक होस् भन्ने उनको चाहना छ । ‘‘महानगरपालिकाको डिजाइन हेर्दा पहिलाको पोखरीजस्तै बनाउने तयारी रहेछ, यो देख्दा खुसी लागेको छ,’’ उनी सुनाउँछन् ।
प्राकृतिक सम्पदाविद् भने पुनर्निर्माणका नाममा पोखरी सुकाउन नहुने बताउँछन् । कमलपोखरीमा महानगरको कंक्रिट ढुंगा सिमेन्टको प्रयोग गरी निर्माण भइरहेकामा उनीहरुको असन्तुष्टि छ । ढुंगा र सिमेन्ट प्रयोग तुरुन्त रोक्नुपर्ने अभियन्ताहरूको माग छ । पोखरी भनेको पानी हो, पोखरीको अस्तित्वलाई जोगाउन पानी सुकाउन हुँदैन भन्ने उनीहरुको तर्क छ ।
परम्परागत पानी पोखरी व्यवस्थापन विज्ञ प्रकाश अमात्यले पहिले कमलपोखरीको महत्त्व बुझ्नुपर्ने बताउँछन् । “अहिले कमल पोखरीको बाँकी पिँधमा रहेको पानी हरियो छ । जसको कारण हो पोखरीको पानी चलायमान हुन नपाउनु । यसले जल प्राणीको अस्तित्व समाप्त हुन्छ,” उनले भने, “यो सिमसार क्षेत्र हो । सरकारले बनाएको सिमसार नीतिको परिभाषाभित्र यो पोखरी पनि पर्छ । जथाभावी निर्माण सामग्री प्रयोग गरी पोखरी सुकाउन पाइँदैन ।”
पानीको गुणस्तर फस्फोरस र नाइट्रोजन नामक तत्त्वले गर्दा चलायमान हुन नसकेको उनको गुनासो छ । “अहिले पोखरीमा डोजर लगाएर कालो माटो बाहिर निकालिएको छ । त्यो पनि आवश्यक थिएन,” उनी भन्छन् । उनका अनुसार काठमाडौंमा पोखरी बनाउनुका तीन-चार कारण छन् । सहरी बाढी-पहिरो नियन्त्रण गर्न, बोटविरुवा र जनावरको अस्तित्वलाई जोगाइराख्न, बर्खे ढल व्यवस्थापन गर्न, बोरिङको पानी सहजै रिचार्ज गर्न ।
“सिमेन्ट प्लास्टर गर्दा पानी जमिनमुनि जान पाउँदैन । मानिसलाई पनि समस्या हुन सक्छ । हाम्रैअगाडि यस्तै कारण भैंसेपाटी डुबेको ज्वलन्त उदाहरण छ,” उनले भने ।
परम्परागत पोखरी निर्माणविज्ञ आलोकसिद्धि तुलाधरका अनुसार कमलपोखरी जीवजन्तुहरू बाँच्ने आधार हो । त्यही पानी खान्छन् । “पर्यावरणीय हिसाबले पनि पोखरीको महत्त्व छ,” उनले थपे, “अहिले वातावरण संरक्षण ऐनलाई मिचेर पानी नै सुकाउने गरी काम भइरहेको छ । यस्तो काम तत्काल रोकेर नयाँ संरचना तयार होस् ।” उनले रानीपोखरीमा भएको गल्तीबाट महानगरपालिकाले नसिकेर कमलपोखरीमा फेरि गल्ती दोहोर्याएको बताए ।
“महानगरपालिकाले रानीपोखरीको ऐतिहासिकता मास्न लागेको थियो । हामीले बारम्बार दबाब दिएपछि पहिलाकै स्वरुपमा निर्माण भइसकेको छ । रानीपोखरीमा महानगरले पहिले नै गरेको गल्ती फेरि कमलपोखरीमा दोहोर्याएको छ । महानगर नसुध्रिएको देख्दा हामीलाई निकै दुःख लागेको छ,” उनले भने ।
भरतलालको आफ्नै तर्क छ । उनी भनछन्, “बीचमा कमलको फूल आकारको फोहोरा बनाउन पानीले बाधा पार्ने भएकाले पोखरी सुकाइएको हो । माछाको जिम्माचाहिँ नजिकैको स्पोर्टस् क्लबलाई थियो,” सिमेन्ट र आधुनिक सामग्री प्रयोगबारे उनी भन्छन्, “यो पोखरी त्यति पुरातात्त्विक होइन । पोखरीको सौन्दर्य परिवर्तन गर्न कंक्रिट प्रयोग भएको हो ।”
पोखरीको ऐतिहासिकता नमास्ने गरी पुनर्निर्माण गरिने उनको भनाइ छ । पोखरीको सौन्दर्य परिवर्तन गर्न क्रंक्रिट प्रयोग गरिएको उनको दाबी छ ।
यसमा आलोकसिद्धि थप्छन्, “रानीपोखरीकै उदाहरण हामीसामु छ । भक्तपुर ललितपुरले हाम्रैअगाडि परम्परागत शैलीमा पोखरी बनाएर देखाएको छ ।” महानगरले पोखरी परम्परागत शैलीमा बनाउन लोभ गरेको उनको टिप्पणी छ ।
संविधानको धारा ३० ले स्वच्छ वातावरणको हक सुरक्षित गरे पनि त्यसको बेवास्ता गरिएको छ ।
महानगरपालिकाले पोखरी निर्माण गर्न नौ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । जय धनञ्जय र कँडेल जेभी, रानीबारी काठमाडौंले यसको ठेक्का लिएको छ । ठेक्का सम्झौता २०७६ असार ६ गते भएको थियो । २०७७ असार १५ गते नै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, अहिलेसम्म पोखरी निर्माणले गति लिन सकेको छैन ।