site stats
बाह्रखरी :: Baahrakhari
विशेष
भ्रातृ संस्थामा अस्तव्यस्त- ‘कम्युनिस्टका कमजोरीमा मात्र टिकिरहेको छ कांग्रेस’

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश भ्रातृ संगठनहरु अस्तव्ययस्त अवस्थामा छन् । मजदुररुको संगठनका रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसबाहेक अधिकांश भ्रातृ संस्था अवैधानिक अवस्थामा गुज्रिरहेका छन् ।

कांग्रेसको नर्सरी मानिने नेपाल विद्यार्थी संघ २०७३ सालमा महाधिवेशन भएपछि तदर्थ समितिको म्याद थप्दै गुज्रिरहेको छ । गत वर्ष माघ १६ गते ६ महिनाभित्र महाधिवेशन गर्नेगरी राजीव ढुंगानाको अध्यक्षतमा बनेको नेविसंघको ६ महिना बितेपछि पार्टीले म्याद थपिदिएको छ । तर, महाधिवेशन गर्न कार्यसमिति विस्तारको काममा समेत नेताहरु नै तगारो बनिरहेका छन् । 

युवाहरुलाई आकर्षित गर्दै संगठनमार्फत युवाका समस्या सम्बोधन र पार्टी संगठन निर्माण गर्ने भन्दै गठन भएको नेपाल तरुण दल ०७३ सालदेखि नै ‘विलखबन्दको अवस्था’मा छ । पाँचजनाको कार्यसमिति बनाएकामा अध्यक्ष र महासचिवको द्वन्द्वले महासचिव भुपेन्द्रजंग शाही स्थानीय चुनावअघि नै कारबाहीमा परे । त्यसयता जितजंग बस्नेतको नेतृत्वमा जम्मा चारजना मात्र कार्यसमितिमा छन् । त्यो कार्यसमिति विस्तार गरेर संगठन निर्माणको जिम्मेवारी दिनुको साटो कांग्रेसले पटक-पटक केन्द्रीय समितिबाट कार्यसमितिको म्याद थपिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महिलाका समस्यामा आवाज उठाउने, उनीहरुका सम्बोधनको खाका तयार पारी सम्बन्धित क्षेत्रलाई दबाब दिनेगरी गठन भएको महिला संघ अहिले आफ्नै अधिवेशन गर्न होइन बैठक बस्नसमेत नसक्ने अवस्थामा छ । २००४ सालमा मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएर महिला आन्दोलन अघि बढाएको महिलासंघसँग २०१० सालदेखि महिलाहरुलाई मताधिकार स्थापना गरेको गर्विलो इतिहास छ । तर, महिला संघले संगठन सञ्‍चालन तथा जिम्मेवारी बाँडफाँडका लागि बनाएर पेस गरेको विधान तीन वर्षदेखि कांग्रेसले अनुमोदनसमेत गरिदिएको छैन ।

‘‘हामीले विधानको मस्यौदा बनाएर पार्टीलाई दिएको तीन वर्ष भएको छ, अहिलेसम्म पार्टीले त्यो विधान अनुमोदनसमेत गरिदिएको छैन,’’ महिला संघकी अध्यक्ष उमा रेग्मीले भनिन्, ‘‘विधान नहुँदा हामी अहिलेसम्म संघीय संरचनामा प्रवेश गर्नसमेत पाएका छैनौं ।’’

गिरिजाप्रसादकै पालादेखि पार्टीका प्रतिपक्षमा हुँदा भ्रातृ संस्थाको अधिवेशन समयमा नगराएको र पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारेको भनेर आफ्नो समूह बढाउँदै लगेको सभापति शेरबहादुर देउवाले सुशील कोइरालाको निधनपछि गत ०७२ सालमा भएको १३औं महाधिवेशनबाट सभापतिमै निर्वाचित भए । निर्वाचित भए पनि २०७३ सालमा नेविसंघ र महिला संघको महाधिवेशन गराएकामा तरुण दल दलको विधानविपरीत नेताहरुको खल्तीबाट मनोनयनमार्फत नेतृत्व छानिएको थियो । त्यसरी बनेको कार्यसमितिलाई समेत कांग्रेसले संगठनको स्वरुपमा काम गर्ने वातावरण दिएको छैन । संघीय संरचनाअनुरुप बनाइसकेको विधानसमेत अनुमोदन नगरिदिँदा कार्यसमिति खुम्चिएर बस्न बाध्य छ ।

‘‘हामीले भ्रातृ संगठनको विधान हेर्न बनेको केन्द्रीय ससदस्य एनपी साउद नेतृत्वको समितिलाई विधानको मस्यौदा गत वर्ष नै बुझाएका हौं, तर, अहिलेसम्म हामीले विधान पाएका छैनौं,’’ अध्यक्ष जितजंग बस्नेतले भने, ‘‘विधान नहुँदा न संगठन विस्तार गर्न पाएका छौं, न त अधिवेशनको गहकार्य गर्न नै ।’’ उनले महत्त्वपूर्ण जिम्मेवारीमा रहेर पनि आफ्नो भूमिका देखाउने र संगठन चलायमान बनाउने वातावरण नपाएको गुनासो गरे ।

‘‘विधान हातमा हुने र कार्यसमिति पनि पाउने हो भने मैले आफ्नो क्षमता देखाउने मौका पाउँथें र देखाउन पनि सक्ने थिएँ, तर विधान र कार्यसमिति दुवै नपाउँदा आफूमा र साथीहरुमा पनि उत्साह बढ्न सकेको छैन,’’ अध्यक्ष बस्‍नेतले भने । 

कांग्रेसका चलायमानमध्येका भ्रातृ संस्थाको अवस्था यस्तो छ भने किसासँग जोडिएको नेपाल किसान संघ ‘मृत’ संस्थामा परिणत भएको छ । १४ वर्षसम्म अधिवेशन गर्न नसकेको संगठनलाई मातृ पार्टीले प्रश्न सोध्ने, अधिवेशन गर्न लगाउने वा नयाँ नेतृत्व ल्याउने कुनै विकल्प खोजेको छैन । बरु संगठन प्रमुखका रुपमा दिनुपर्ने मर्यादा पुरानै नेताहरुलाई दिएर उपेक्षा गरेको छ ।

दलित समुदायलाई कांग्रेससँग जोडेर बनेको नेपाल दलित संघमा त्यसबेला नै पार्टीको केन्द्रीय सदस्य रहेका मीन विश्वकर्माले चुनाव जितेका थिए । २०६९ सालमा दलित संघको अध्यक्ष भएका विश्वकर्मा २०७२ सालको महाधिवेशनबाट पुन: केन्द्रीय सदस्य निर्वाचित भए । विगत आठ वर्षमा उनै विश्वकर्माको अध्यक्षतामा नेपाल दलित संघ छ । तीन वर्षमा महाधिवेशन गर्नुपर्ने दलित संघ, किसान संघको त कांग्रेसले तरुण दल, नेविसंघजस्तो पटक-पटक कार्यकाल थपेर वैधिानिकता दिने कष्टसमेत गरेको छैन ।

कांग्रेसको भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व गरिसकेका नेता बालकृष्ण खाँण पार्टीका हरेक नेताको स्वार्थ जोडिँदा भ्रातृ संगठनले संगठनको हैसियत नै गुमाउन लागेको बताउँछन् । ‘‘भ्रातृ संगठनलाई अधिवेशन गर्न नदिने, उनीहरुको विधान बनाउन नदिने, बनाएर पठाएको विधान अनुमोदन नगरेर बन्दी बनाउनेजस्ता काम भएका छन्, त्यही कारण कांग्रेसको संगठन बर्बाद भएको छ,’’ खाँणले भने, ‘‘कांग्रेस आफ्ना कर्मले सशक्त हुने भन्दा कम्युनिस्टहरुको दुस्कर्मको फल खाएर बस्नु दुर्भाग्यपूर्ण हो ।’’

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०९:३५
प्रतिक्रिया दिनुहोस्