site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पीडा आफ्नै, विभाग भन्छ- ठगिएको भए उजुरी गर्नुस्
SkywellSkywell

काठमाडौं । विमला अधिकारी रोजगारीका लागि दुई वर्षअघि कुवेत पुगिन्र । त्यहाँ उनले घरेलु कामदारका रुपमा ६ वटा बच्चा हेर्ने काम पाइन् । बच्चा हेर्नुका साथै उनले घरको सबै काम गर्नुपर्थ्यो ।

काम त गरिन् तर तलब त के खानासमेत दिनमा एकपटक मात्र मिल्यो । अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा आफूले पाएको दुःख सुनाउँदै उनले भनिन्, ‘‘तलब पनि घरमा मान्छे बिरामी भनेर बहाना बनाएर मात्र पाइयो ।’’ समयमा खाना नपाएकाले उनी लुगा धुँदै गर्दा एकपटक त बेहोस पनि भइन् ।

‘‘साहुनीले गरेको ज्यादतिको त  भनिसाध्य नै छैन । साहुले उनी पनि काम गर्नकै लागि भनेर टाढाबाट आएको भनेर सम्झाउँथे । साहुनीले उल्टो झपार्थिन् । र भन्थिन्- काम गर्नेलाई पुल्लुल्याएर राख्नु हुँदैन,’’ अधिकारीले सुनाइन् । उनलाई घरमा फोन सम्पर्क गर्नसमेत निकै गाह्रो भएको थियो । ‘‘शुक्रबार घरमा फोन गर्नकै लागि पनि केही दिनअघि देखि नै साहुनीलाई फकाउन धेरै काम गर्नुपर्थ्यो,’’ उनले भनिन् ।

KFC Island Ad
NIC Asia

कुवेत पुगेको महिनौँ बित्दा पनि साहुनीको खप्की सहन नसकेर उनले नेपालबाट कामका लागि पठाउने एजेन्टलाई खबर गरिन् । तर नेपालबाट सोचेजस्तो सहयोग भएन । घरको अवस्थाका कारण पनि उनलाई भागेर नेपाल फर्कन मनले मानेन । ‘‘तलाईं त मैले पैसा तिरेर कामका लागि ल्याएको भन्दै दमन गर्न थाले,’’ उनले कुवेतको साहुनीले दिएको दु:ख सम्झँदै भनिन् ।

त्यहाँको अत्याचार सहन नसकेर उनी भागेर दूतावास पुगिन् । २ महिना दूतावासको शरणमा बस्दा काम लगाइदिन अनुरोध पनि गरिन् । दूतावासले खान बस्न त दियो तर काम लगाउन नमिल्ने बतायो ।

Royal Enfield Island Ad

‘‘दूतावासमा पुगेपछि काममा फर्कन नपाइने रहेछ,’’ त्यहीं बस्दा काम गर्ने साहुले मुद्दा हालेको सुनाउँदै उनले भनिन्, ‘‘दुईवटा जेलमा गरेर एक हप्ता बिताएँ ।’’ उनलाई जेलले नै टिकट काटेर नेपाल फर्काइदियो । कोरोनाकै बीच उनी नेपाल त आइपुगिन् तर विमलासँग विदेश जाँदाको ऋण पनि सँगै आइपुग्यो । अहिले उनलाई ऋण कसरी तिर्ने भनेर पिरोलिरहेको छ ।

०००
रोजगारीका लागि चार वर्षअघि रेनु रावत माल्दिभ्स पुगिन् । उनलाई त्यहाँ जान आफ्नै बहिनीले सघाएकी थिइन् । कोरोनाको संक्रमण फैलनुअघि सम्म उनको काम र कमाइ राम्रै थियो । कोरोनाको कारण भने ६ महिनाको तलब आधा मात्र आयो । त्यो तलबले उनलाई नेपालमा रहेका दुई छोरी पढाउन त के कोठाभाडा र घर खर्चमै सकिने भयो ।

‘‘काम गर्ने ठाउँबाट मलाई नेपाल नै फर्कन दबाब दिन लागे,’’ माल्दिभ्समा दूतावास नभएका कारण के गर्ने भनेर समस्या परेको सुनाउँदै रेनुले भनिन्, ‘धेरै प्रयासपछि श्रीलङ्‌काको दूतावाससँगको समन्वयमा म कोरोनाकै बीच नेपाल फर्किएँ ।’’उनलाई त नेपालमा पनि समस्या पर्दा काँध थापिदिने कोही छैनन् । श्रीमान्‌ले छाडेका कारण छोरीको लालनपालन आफैंले गर्नुपर्ने समस्या उनलाई छ ।

यी त प्रतिनिधि  पात्रका मात्र हुन् । वैदेशिक रोजगारीका गएका धेरै नेपालीहरुले कोरोनाको कारण रोजगारी गुमाएर स्वदेश फर्कन बाध्य भए ।

नेपाल फर्किएका अधिकांश नेपालीले आफूले पाउनुपर्ने महिनौंको तलब माया मारेर स्वदेश फर्कनुपरेको छ । उनीहरुको तलबका लागि सम्बधित पक्षले समन्वयकारी भूमिका नखेलेको सरोकारवालाहरुको गुनासो छ ।

गैरकानुनी ढंगबाट रोजगारीका लागि प्रतिबन्धित मुलुकममा कामदार पठाउने र उनीहरुलाई अप्ठ्यारो परेको समयमा सहयोग नगरेको अधिकारकर्मीहरु बताउँछन् ।

गैरकानुनी रुपमा गएका कामदारको अभिलेख नभएकाले उजुरी गर्न गाह्रो भयो :  पौरखी नेपाल
धेरैजसो महिला कामदारहरु गैरकानुनी रुपमा रोजगारीका लागि विदेशिएको र समस्या पर्दा कानुनी उपचार खोज्‍न गाह्रो भएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ बताउँछिन् ।

‘‘धेरैजसो महिलालाई वैकल्पिक बाटोबाट रोजगारीका लागि प्रतिबन्धित देशहरुमा पुर्‍याइएको छ,’’ रोजगारदाताहरुले समेत उनीहरुलाई समान ज्याला नदिएको सुनाउँदै भनिन्, ‘‘नेपालबाट रोजगारीका लागि जाने धेरै महिलाहरुले पुरुषबराबरकै काम गरे पनि ज्याला भने पुरुषभन्दा न्यून दिने गरेका छन् ।’’

शोषणमा परेका श्रमिकले उजुरी गर्नु : महानिर्देशक
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी विभागमा महानिर्देशक कुमार दाहालले शोषणमा परेका श्रमीकहरुलाई उजुरी गर्न आग्रह गरेका छन् ।

उनले वैदेशिक रोजगार विभाग श्रमिकहरुकै पक्षमा काम गरेको बताउँदै ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उल्लेख्य भूमिका खेल्ने बताए ।

‘‘कुन देशमा जाँदै छु, कुन म्यानपावरबाट जाँदै छु भनेर श्रमिकहरु आफैंले पनि ख्याल गर्नुपर्छ,’’ सरकारले तोकेभन्दा धेरै  रकम दलाललाई नदिन अनुरोध गर्दै दाहालले भने, ‘‘तोकेको रकमभन्दा धेरै माग भयो भने तुरुन्त प्रहरी वा विभागलाई खबर गरौं ।’’

पछिल्लो समय युरोपलगायत राम्रा देशहरुबाट समेत रोजगारीको अवसर आएको महानिर्देशक दाहाल बताउँछन् । साथै उनले बिनासीप रोजगारीका लागि गएकाहरु धेरै समस्यामा परेको सुनाए । ‘‘नेपालमा सीप सिकेर मात्र रोजगारीमा जाऔं,’’ उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro