काठमाडौं । सिरहाका सन्तोष साह यूके मास्टरसेफको सेमिफाइनलमा पुगेका छन् । उनले पस्कने परिकारमा नेपालमा नै पाइने टिमुर, सिस्नु, गहुँको रोटी, जेरी, बुनियाँ, आलुको अचारलगायत परिकारहरु छन् ।
आफू पस्कने परिकारमा कलात्मकता थपेपनि स्वाद भने नेपाली नै रहेको उनी बताउँछन् । प्रतिस्पर्धामा नेपाली खानाहरु पस्कँदै अहिले उनी टप १० मा पुगेका छन् ।
“सानैमा बुवाले छाड्नुभयो । दाजुहरु पनि आ–आफ्नो बाटो लागे,” सानो उमेरमा नै धेरै दुःखको पहाड चढेका साह भन्छन्, “आफ्नाहरु नै बाटो लागेपछि आमाको मात्र आड–भरोसाले के नै पो गर्न सकिने रहेछ र ?”
सानै उमेरमा बाबु गुमाएका साहले आर्थिक अभावकै कारण होटलमा भाँडा माझ्ने कामदेखि गाउँमा नै पोलिथिन र पाउरोटी बेचेर अध्ययन गरे । उनलाई पढाइमा मन त थियो । तर, एसएलसीको नतिजा उनले सोचेको जस्तो भएन । उनी तीन विषयमा फेल भए । राम्रो पढौँला, जीवनमा केही उन्नति गरौँला भनेर सोचेका साहलाई चाहनाले भन्दा बाध्यताले पिरोल्यो र १५ वर्षकै उमेरमा भारत पसे ।
“म गाउँकै साथीहरुको पछि लागेर भारतको गुजरात पुगे,” राम्रो पढाइ नभएको कारण सोचेजस्तो काम नपाएको सुनाउँदै साह थप्छन्, “खान दिने र मासिक ९०० सय भारु दिन्छ भनेपछि म होटलमा भाँडा माझ्न र सरसफाइमा लागँे ।”
उनलाई होटलमा काम गर्दा सेफले लगाउने अग्लो टोपी र सेतो पोसाकले नै मन लोभ्याएको थियो । अझ आफूले ९०० भारु र त्यहाँका सेफले १६ हजार भारु पाउने थाहा पाउँदा सेफको पहिरनमात्र होइन, तलबले पनि सेफ कसरी बनिएला भनेर सोच्न थाले ।
“एक दिन म सेफलाई भेटेर आफूलाई पनि सेफ बन्ने इच्छा व्यक्त गरेँ,” उनलाई एक्जिक्युटिभ सेफ सरोज दासले काँधमा हात राख्दै भने, “तिमीलाई सेफ नै बन्नु छ भने भोलिदेखि नै ज्वइन गर्नू ।”
एक्जिक्युटिभ सेफले नै भोलिदेखि आउनू भनेको दिन आफू जीवनकै धेरै खुसी भएको दिनको रुपमा उनी सम्झन्छन् । खुसी नहुन् पनि कसरी ? उनलाई अब साथीहरुले भाँडा माझ्ने, सफा गर्ने केटो होइन, ‘सेफ’ भनेर सम्बोधन गर्ने थिए ।
उनी यतिमा मात्र खुसी थिएनन् । उनी त पहिले–पहिले आमालाई पठाउने पैसाभन्दा धेरै गुणा बढी पैसा पठाउन सक्ने हुँदै थिए । साह त्यही सपना देख्दै भोलिपल्टदेखि तन्दुरी रोटीको लागि आटा मुच्छ्ने, रोटी बनाउन सुरु गरे ।
उनले त्यहाँ काममात्र होइन, डिग्रीसमेत पाएको बताउँदै भन्छन्, “काम सुरु गरेको केही महिनामा नै म बस्नेनजिकैको होटल इन्स्टिच्युटमा काम गरेँ । र, त्यहीँबाट डेढवर्षे डिप्लोमा सकाएँ ।’’
पढाइ सकेपछि उनले त्यहीँको एक पाँचतरे होटलमा काम सुरु गरे । त्यतिबेलासम्म उनले सोचेका धेरै सपना पूरा भइसकेका थिए । आमालाई पठाउने पैसा पहिलेभन्दा धेरै थपिएको थियो । तर, सन्तोषले त्यतिमा मात्र सन्तोक मानेनन् । उनी अझै अगाडि बढ्न चाहन्थे । आफूमा अंग्रेजी भाषा कमजोर भएको ठानेर एकैपटक तीन ठाउँमा भाषा पढ्न सुरु गरेको उनी बताउँछन् ।
“कामसँगै भाषा पनि उत्तिकै जरुरी रहेछ । भाषा सिकेपछिमात्र एक्जिक्युटिभ सेफ भएँ,” उनले सुनाए ।
भारतकै होटलहरुमा काम गर्दागर्दै उनलाई अरु देशमा जाने सोच आयो । उनी मोन्टेनिग्रो उडे । तर, उनी त्यहाँ धेरै समय बस्न सकेनन् । भारत नै फर्किए । “म भारत फर्किएको केही समयमा लन्डनमा होटल चलाउँदै आएका एकजनाले सम्पर्क गरे । त्यही दिन नै उनलाई भेट्न उनको घर गएँ,” उनले सम्झिए ।
त्यहीँबाट सुरु भयो, उनको लन्डन यात्रा । गुजरातीले लन्डन जानको लागि आवश्यक कागजात मिलाउन र आवश्यक खर्च आफैंले व्यहोर्ने बताएपछि साह खुसी नहुने कुरै भएन । गुजरातीसँग भेट भएको केही समयपछि अर्थात् सन् २०१० मा लन्डन पुगे ।
सन्तोषले गुजराती साहुको नराम्रो व्यवहारको कारण लन्डनमा धेरै समय काम गर्न सकेनन् । तर, अरु अवसरले डो¥यायो । उनले लन्डनकै अर्को होटलमा काम गर्न सुरु गरे । त्यहाँ काम गर्दागर्दै उनी अहिले मास्टरसेफको प्रतिस्पर्धामा छन् । “अहिले कडा प्रतिस्पर्धा छ । यूके मास्टरसेफ जित्छु वा हार्छु थाहा छैन । तर, नेपाली खानालाई नयाँ उचाइमा पु¥याउने कोसिसमा छु,” धेरै वर्ष अरु देशका खाना बनाएका र चाखेका साह भन्छन्, “नेपाली खाना अरु देशको खानाभन्दा युनिक छ ।”
आफूले प्रतिस्पर्धामा नेपाली परिकारहरु नै पस्कँदै आएको उनले बताए । भन्छन्, “यदि, मेरो उद्देश्य प्रतिस्पर्धा नै जित्ने थियो भने त २० वर्ष काम गरेको भरतीय खाना नै पस्कन्थेँ नि !” नेपाली परिकारहरु केही परिमार्जन गरेर विश्वसामु चिनाउन सकिन्छ भन्ने हौसलासँगै आत्मविश्वास भएको उनी बताउँछन् ।