काठमाडौं । हामी बाल्यकालदेखिकै साथी । उनको खास नाम सीताराम हो । पछि राजनीतिक रुपमा पनि सक्रिय हुँदै गएपछि सूर्यबहादुर केसीको नाममा परिचित भए । पेशागत रुपमा उनको बुबा निर्माण व्यवसायी हुनुहुन्थ्यो । पोखराकै पहिलो निर्माण व्यवसायी भन्दा पनि फरक पर्दैन । पोखरामा विभिन्न सरकारी निर्माण कार्यहरुमा लागेर यो व्यवसायलाई अगाडि बढाउनुभएको थियो ।
कुलो, नहर, सिंचाई, सडक, पुल निर्माणमा कृतिबहादुर केसी (स्व. सूर्यबहादुर केसीका बुबा) ले हात हाल्नुभएको थियो । हाम्रो पारिवारिक सम्बन्ध रह्यो । उहाँ व्यवसायी भएको र मेरो बुबा पहिलेदेखि नै समाजमा एउटा प्रतिष्ठित व्यवसायीको नाताले कृतिबहादुर केसीको हाम्रो घरमा आवतजावत थियो ।
पोखरा बजारभन्दा झन्डै ६ किलोमिटर पर मझेरीफाँटमा बस्नुहुन्थ्यो । कामको सिलसिलामा वा लेनदेनको अवस्था आइपर्यो भने नियमित रुपमा बुबासँग सल्लाह गर्नुहुन्थ्यो र बुबासँग त्यही रुपमा पहिचान थियो ।
...
कृतिबहादुर केसीको जेठो छोरा हो, सूर्यबहादुर केसी । सूर्यका अरु भाइहरु पनि छन् । कृतिबहादुर केसी आफू नपढेको र सुरुदेखि नै व्यवसायमा लागेकाले आफ्ना छोराहरुलाई पढाउनुपर्छ भन्ने मनसाय थियो ।
सोही कारण पोखरामा स्थापित गण्डकी बोर्डिङ्ग स्कुलमा सूर्यबहादुरले पढे । छुट्टीमा घर आएको बेलामा उनको बुबाले सूर्यलाई जहाँ जहाँ काम भइरहेको त्यहाँ त्यहाँ लैजाने गर्नुहुन्थ्यो । ्र त्यो पृष्ठभूमिको कारणले सीतारामको सुरुदेखि नै कामप्रति अपनत्व रह्यो र काम गर्नेतर्फ नै बढी रुची रह्यो ।
कालान्तरमा उनले पढाईभन्दा पनि काममा नै बढी रुची देखाउँथे ।
सोही कारण उनले केसी कन्स्ट्रक्सन भनेर व्यवसाय स्थापित गरे । कम्पनी बुबाको नाममा राखे तर सबै काम आफैँले गरे । काम गर्न सानै उमेरदेखि उनी तल्लीन रहन्थे । व्यवसायमा अभिरुची, लगन, मेहेनतका साथ निरन्तर काम गर्दै पोखराको सबैभन्दा ठूलो निर्माण व्यवसायीको रुपमा स्थापित हुन सफल भए ।
उनको सबैभन्दा महत्वपूर्ण गुण मैले देखेको कुनै किसिमका अवसर देख्नासाथ त्यो मौकालाई आफ्नो हातबाट बाहिर जान नदिने थियो ।
सकेसम्म त्यो काम आफ्नै हातमा पार्ने उनको दृढता जहिले पनि देखिन्थ्यो । जसरी पनि यो काम मैले लिनुपर्छ, मैले गर्नुपर्छ भन्ने थियो । त्यसैले अधिकांश धेरै ठूला ठूला निर्माणका कार्यहरु उनले आफ्नै कम्पनीमार्फत गर्दथे । यसरी उनी व्यवसायमा होमिए ।
कुनै पनि अवसरलाई आफू एक्लै वा साथीहरुसँग मिलेर भए पनि सफल बनाउने उनको बानी थियो । त्यही कारणले पोखरामा भएका विभिन्न खालका व्यवसाय साझेदार गरेको थुप्रै उदाहरण छन् । चाहे त्यो रारा चाउचाउको कुरा होस् वा माछापुच्छ«े बैंकको कुरा, धेरै ठाउँमा साझेदारको रुपमा स्थापित भएको पाउँछौं । र, आफ्नो व्यवसायलाई उनले त्यही रुपमा अगाडि बढाएको अहिलेको प्रमाण हो । सोही कारण राम्रो व्यवसायीको रुपमा स्थापित हुन सफल भए ।
...
उनको एउटा सोच समाजमा आफ्नो व्यक्तित्व बढाउनुपर्छ भन्ने पनि थियो । कहीँ न कहीँ आफ्नो पहिचान बनाउने, व्यक्तित्व बनाउने काममा लाग्नुपर्छ भन्ने उनमा थियो । त्यही कारणले होला २०४१ सालतिर पोखराको नगर पञ्चायतमा त्यसबेलाका प्रधानपञ्चले आफ्नो कार्यकालमा गरेको गतिविधिमा अनियमितता भयो, भ्रष्टाचारका कामहरु भए भनेर त्यसविरुद्ध नेतृत्व सुरु गरे ।
केसीले जोविरुद्ध लडेका थिए पछि उनैलाई विस्थापित गरे ।
केसी प्रधानपञ्च भएका बेला २६–२७ वर्षको हुनुपर्छ । सोही उमेरमा उनी प्रधानपञ्च बने । त्यसरी उनले राजनीतिक पृष्ठभूमिलाई व्यक्तित्वको रुपमा स्थापित गर्न पहिलो कडिको रुपमा अगाडि बढे ।
२६–२७ को उमेरमा काम गर्ने जाँगर, उत्साह निकै थियो । तर कसरी, के काम गर्ने भन्ने कुराले उनलाई सताउँथ्यो पनि । धेरैपटक मसँग पनि के काम गर्ने भन्ने विषयमा छलफल गर्न आउँथे । हामी सरसल्लाह पनि गर्दथ्यौं । र, प्रधानपञ्च निर्वाचित भइसकेपछि मैले उनलाई पोखराजस्तो ठाउँमा एउटा सभागृहको निर्माण गरौं भन्ने प्रस्ताव गरेँ ।
उनले बडो अभिरुचीका साथ सभागृह बनाउने भनेर विभिन्न निकायसँग मिलेर सभागृह निर्माण गर्न समिति गठन ग¥यौं । अञ्चलाशीध अध्यक्ष, केसी प्रधान पञ्चको हैसियतले उपाध्यक्ष र म पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतले सदस्य सचिव भएर सभागृह निर्माण समिति गठन गरेर कामलाई अगाडि बढायौं ।
राजनीतिमा प्रवेश गरिसकेपछि उनमा लगनशीलताको विकास भइसकेको थियो । त्यसैले मेहनत गर्ने बानी र पोखरालाई केही न केही उपहार दिनुपर्छ भन्ने कुरालाई मनन्का साथ यी कुरालाई अगाडि बढाए ।
सोही कारण काठमाडौंपछि पोखरामा सभागृह निर्माण गर्न सफल पनि भयौं । त्यो सफल भइसकेपछि फेरि महेन्द्रनगरमा पुरानो पुल थियो । त्यो पुललाई विस्थापित गरेर नयाँ पुल बनाउन लाग्यौं । महेन्द्रपुलमा नयाँ पुल बनाउन प्रधानपञ्चको हैसियतमा पुल निर्माण समितिको अध्यक्ष सूर्य, सचिव उपप्रधानपञ्च र म कोषाध्यक्षको रुपमा महेन्द्रपुल निर्माणलाई सफल बनायौं । पोखरालाई नमुनाको रुपमा स्थापित गर्नको लागि कुनै योजना आउनासाथ त्यसलाई जसरी पनि अगाडि बढाउने तत्परमा उनमा थियो ।
र, बहुदलीय व्यवस्थाको सुरुवात भइसकेपछि स्वतः उनी पञ्चायतको क्याडर भएको हुनाले बहुदलीय व्यवस्थामा पनि उनले पञ्चायतकै रुपमा आफूलाई स्थापित गरेर राप्रपाको सदस्य निरन्तर पछिसम्म हुन गए । बहुदलीय व्यवस्था आइसकेपछि उनले आफूलाई नयाँ रुपमा परिणत गर्न नसकेको हुनाले राप्रपाबाटै आफ्नो महत्वाकांक्षा पूरा गर्न सकिन्छ कि भन्ने उद्देश्यले निरन्तर राप्रपामै लामो समयसम्म रहे ।
२०७४ सालको निर्वाचनभन्दा अगाडि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसमा प्रवेश गर्नुको पछाडि दुइवटा कारणहरु देखिन्छन् । पहिलो, जब माओवादीको सशस्त्र युद्ध सुरु भएको थियो, त्योबेला उनलाई निकै चेतावनी, धम्की आउने गरेको उनले बारम्बार भन्ने गर्दथे ।
र, आफूलाई असुरक्षित भएको महसुस गर्दथे । त्यो बेलासम्म आफ्नो कामको सिलसिलामा निकै ठूलो व्यवसाय पनि भइसकेको थियो । धेरै ठाउँमा लगानी गरेको सबैले थाहा पाइसकेका थिए त्यही कारणले होला आफूलाई असुरक्षित भएको महसुुस गरेको बताउने गर्दथे ।
त्यसैले संरक्षण खोजिरहेका थिए । राप्रपामा लागेपछि पार्टीको माथिल्लो तहमा पुग्छु, मन्त्री हुन्छु भन्ने महत्वाकांक्षा पनि उनमा थियो । त्यसैले राप्रपालाई समातेर बसेको हो ।
तर, अन्तिम अवस्थामा त्यसबाट सुरक्षित हुने अवस्था नदेखेको र राजनीतिक रुपमा पनि राप्रपामा भविष्य नदेखेको हुनाले २०७४ सालको चुनाव भन्दा अगाडि नेपाली कांग्रेसमा प्रवेश गरे । स्थानीय चुनावका बेला अरु पार्टीले पनि उसलाई आफ्नो पार्टीमा प्रवेश गराउन लागि परेका थिए । नेकपा एमालेले पनि मेहेनत गरेको थियो । नेपाली कांग्रेसमा प्रवेश गरेपछि अवसर पनि उनले प्राप्त गर्यो । समानुपातिकमा प्रतिनिधि सभाको सदस्य भए । आमन्त्रित केन्द्रीय सदस्यको हैसियत पनि प्राप्त गरे ।
उनको एउटा इच्छा प्रत्यक्ष चुनाव लडेर मन्त्री हुने अवसर पाइन्छ कि भन्ने थियो । अरुसँग पनि यस्तो कुरा गरे होलान्, मसँग पनि त्यस्ता कुरा गरेको अनुभूतिहरु छन् । सम्भवतः उनी बाचिरहेको भए अर्को चुनावमा चुनाव लड्ने सम्भावना पनि थियो ।
...
व्यवसायलाई विस्तार गरिसकेपछि, बढाइसकेपछि सामाजिक रुपमा पनि चर्चित हुने खालको एउटा स्वभाव र आतुरता उनमा रहेको थियो । धेरै संघ, संस्थाहरुलाई आर्थिक सहयोग गर्ने, चन्दा दिने, सहयोग गर्न तदारुकता उनले देखाउँथे । खासगरी धेरै ठाउँमा नारायण पोखरेललाई बोलाएर जुन किसिमका महायज्ञहरु हुने गर्दथे, ती महायज्ञ हुने ठाउँमा उनलाई आमन्त्रण गर्ने चलन बढेको थियो । किनभने उनले जहाँ पनि पुगेर त्यस्ता यज्ञमा सहयोग गर्ने, चन्दा दिने गर्दा धेरै ठाउँमा सहयोग गर्ने मान्छेको रुपमा स्थापित भए । संघ, संस्था, राजनीतिकर्मीदेखि सबैलाई जति सकिन्छ सहयोग गर्ने बानी उनमा थियो ।
उनले शिक्षा क्षेत्रमा सहयोग गरे । कालिका स्कुलमा अन्तिम अवस्थासम्म अध्यक्ष भएर नै बसे । आफ्नो घर नजिकै सार्वजनिक जग्गा लिएर क्याम्पस स्थापना गर्न निकै ठूला मेहनत पनि गरेका थिए । र, हामीसँगसँगै मिलेर पोखरा बहुमुखी क्याम्पस स्थापना गर्यौं । त्यसरी उनको रुची सामाजिक क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने थियो ।
व्यवसायिक रुपमा कुनै किसिमको अवसर आउनासाथ नछोड्ने उनको बानी थियो । सायद सोही कारणले होला हरेक क्षेत्रमा असफलता देख्नु परेन । सोही कारणले उनमा महत्वाकांक्षी झन् झन् बढेर गयो । जहाँ हात हाले पनि राम्रै गर्छु, सफल नै हुन्छु भन्ने उनमा थियो ।
तर, पछिल्लो कालखण्डमा आएर उनले लगानी गरेको ठाउँमा विवाद पनि निस्किए । आफ्नै साथीहरुसँग मन मिल्न सकेन । के कति कारणले हो, त्यो उनीहरुले नै जानुन् ।
जे जस्तो भएता पनि सूर्यबहादुर केसीले आजसम्म पोखरामा बसेर जुन किसिमको व्यवसाय वा सामाजिक रुपमा आफूलाई स्थापित गर्न सके, मलाई लाग्छ, त्यो उनको बुबाको स्वभावको कारणले गर्दा भएको हो ।
उनको बुवाले निर्माण क्षेत्रमा सँगसँगै लगेर नदेखाएको भए, नसिकाएको भए सम्भवतः अवस्था अर्कै पनि हुन सक्थ्यो ।
सानै उमेरदेखि व्यवसायमा लाग्न अभिप्रेरित गर्नको लागि उनको बुवाको ठुलो योगदान छ ।
सूर्यबहादुर केसीको अस्वाभाविक निधनले हामी स्तब्ध हुनु स्वभाविकै हो । समाजको लागि सहयोग गर्न जहिले पनि तत्पर देखाउने व्यक्तिको रुपमा, व्यवसायमा लगानी गर्नको लागि इच्छा देखाउने व्यवसायिक व्यक्तिको रुपमा र राजनीतिमा पनि कार्यकर्तालाई सहयोग गर्ने व्यक्तिको रुपमा उनलाई सम्झिरहन जरुरी हुन्छ । उनको असामयिक निधनले राजनीतिक, सामाजिक र व्यवसायिक क्षेत्रमा ठुलो क्षति पुगेको छ ।