काठमाडौं । राजनीतिलाई धेरैले फोहोरी खेल भन्छन् । हामी त्यही खेलमा थियौं । चुनावका बेला सूर्यबहादुरजीसँग कुनै तितामिठा कुरा भए होलान् त्यो बाहेक हामी एकले अर्काको निकै सम्मान गर्थ्यौँ । पोखराले जनताको प्यारो मान्छे गुमाएको मैले महसुस गरेको छु । सूर्यबहादुरजीले पोखरामा रारा चाउचाउ खोलेर पोखरालाई थप चिनाउन ठूलो सहयोग गर्नुभयो ।
म नगरपालिकामा हुँदा गरेका केही जनपक्षीय निर्णयले पनि त्यहाँ त्यसबेला केही विवाद उठाउन खोजियो । वास्तवमा भन्ने हो भने सूर्यबहादुरजी र म दुवैलाई पोखराका जनताले रुचाएका हुन् । पदमा पुगिसकेपछि विकासका काम गर्दा कहिलेकाहिँ अलि अप्ठेरो पनि हुँदो रहेछ । जनताले उहाँलाई नगरप्रमुख बनाए, मलाई सांसद र मन्त्री बनाए । यहाँका जनताले लगाएको ठूलो गुन हो त्यो ।
सूर्यबहादुरजीसँग व्यावसायिक सम्बन्ध पनि थिएन । कसैको बारेमा लेख्ने, टिकाटिप्पणी गर्दिन । धेरै मान्छेले मलाई घरमै आएर पार्टीमा जानुप¥यो भन्छन्, म एक्सपोज भएको छैन र हुन पनि चाहन्न । जे नहुनु थियो भइहाल्यो, उहाँको परिवारले शोक धारण गर्ने शक्ति प्रदान गरुन । आत्माले शान्ति पाओस । मेरो कामना यही छ ।
अहिले पनि सूर्यबहादुरजीको परिवारसँग राम्रो सम्बन्ध छ । उहाँका छोराहरुले जहाँ भेट्यो त्यहीँ सम्मान गर्छन् । कतिपय विषयमा सूर्यबहादुरजीको निधन भइसकेपछि मेरो नाम पनि जोडियो । त्यो विल्कुल गलत थियो । म संसद सदस्य र मन्त्री समेत भएको हुँ । जनताले पत्याएर नै भएको हुँ नि । जनताले विश्वास गरिरहेकै छन, गरेता पनि अहिले स्थिर राजनीति छैन । जसले जे पायो त्यही बोलेका छन्, यस्तो बेलामा एक्सपोज हुन चाहन्न ।