काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा यसपटक राम्रो पक्ष वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानअनुसार स्वत: अध्यक्ष बन्दै छन् । नराम्रो पक्ष नेतृत्वका लागि राजनीति नहोस् भनेर महासंघको विधान परिवर्तन गरिएको थियो तर अब यो राजनीति वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने र नबनाउने भन्नेतिर सरेको छ ।
शेखरको राम्रो पक्ष उनी व्यावसायिक घरनाबाट आएका हुन् । व्यवसाय बुझेका छन् । तर, स्वत: अध्यक्ष बन्दै गर्दा निष्पक्ष भई महासंघमा राजनीति प्रभाव कम गर्ने प्रयास गर्नुपर्नेमा शेखरले वरिष्ठ उपाध्यक्षका आंकाक्षी उमेदवारबीचको गुटमा छिरेका छन् । देखिएका छन् ।
महासंघमा पहिले सक्षम वा अक्षम जो-कोही अध्यक्ष निर्वाचित हुँदा तीन वर्ष झेल्नुपर्ने हुन्थ्यो । तर, अहिले वरिष्ठ उपाध्यक्ष अक्षम परे भने ६ वर्ष झेल्नुपर्ने अहिलेको अवस्था छ । यसले गर्दा राजनीति भयो भनेर परिवर्तन गरिएको विधानले निजी क्षेत्रलाई अझ कमजोर बनाउने जोखिम देखिएको छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानको व्यवस्थालाई सफल बनाउन पनि महासंघमा योग्य र व्यवसाय बुझेको निजी क्षेत्रका लागि लबिइङ गर्न सक्ने नेतृत्व जानु आवश्यक छ ।
अहिले नेपालको निजी क्षेत्र पहिलेभन्दा कमजोर अवस्थामा छ । अर्थतन्त्र बिचौलियाको दबदबामा छ । सरकारको नीति-नियम निजी क्षेत्रलाई अगाडि बढाउने होइन भूमिका खुम्च्याउनेतर्फ गइरहेका छन् । निजीकरण, आर्थिक उदारीकरण, आर्थिक सुधार, सुशासन पछाडि परेका छन् । विदेशबाट प्राप्त रेमिट्यान्सले मात्र अर्थतन्त्र चलायमान बनिरहेको छ । यो अवस्थामा निजी क्षेत्रको पक्षमा लबिइङ गर्न सक्षम, आर्थिक उदारीकणको पक्षधर मजबुत टिम महासंघको नेतृत्वमा आउनुपर्छ । व्यवसायमा असफल र परम्परागत सोच राख्ने समूहले अबको निजी क्षेत्र हाँक्न सक्दैन ।
उद्यमी व्यवसायी चाहे कुनै जिल्लामा पसल राखेर व्यवसाय गर्ने नै किन नहुन् निजी क्षेत्र र आर्थिक उदारीकरणलाई बढावा दिने नीति आयो भनेमात्र सबैलाई फाइदा हुने हो ।
महासंघमा विनोद चौधरी र त्यसपछि पद्म ज्योति हुँदासम्म आर्थिक नीतिबारे छलफलहरु हुन्थे । निजीकरण, नेपालका पक्षमा उदार मानिएको नेपाल-भारत वाणिज्य सन्धि पनि त्यहीवेला भयो । तर, त्यसपछि महासंघमा आफ्नो पक्षका उमेदवार सार्ने प्रवृत्ति देखियो महासंघ पनि कमजोर हुँदै गयो । यसमा पनि उद्योग व्यवसाय कमजोर भएका व्यक्ति महासंघको नेतृत्वमा पुग्दा निजी क्षेत्रको भूमिका नै खुम्चियो । यही देखेर महासंघको जिल्ला उद्योग वाणिज्य संघको हैसियत पाएको नेपाल चेम्बर अफ कमर्सले समेत महासंघलाई छाड्यो ।
महासंघमा कमजोर नेतृत्व आउँदा संस्था पनि कमजोर हुन्छ भन्ने थुप्रै उदाहरण छन् । केही वर्षअघि उद्योग व्यवसायीको एक समूह कोलकाता भ्रमणमा थियो । त्यहाँ व्यवसायीको व्यवहार देखेर महावाणिज्य दूतले भनेका थिए यो टोली त मलाई व्यवसायीको होइन मजदुर नेताको जस्तो लाग्यो । हल्काफुल्का प्रस्तुत हुने प्रवृत्तिले व्यवसायीलाई नोक्सान पुर्याएको छ ।
जिल्ला होस् वा केन्द्र देशभरका व्यवसायीले पटक-पटक आफ्नो विवेक प्रयोग गरेर सही नेतृत्व छानेका पनि छन् । कुशकुमार जोशीले अध्यक्षमा जित्नु, प्रदीपजंग पाण्डेले उपाध्यक्ष र अध्यक्ष चयन हुनु यसका उदाहरण हुन् । यसपटक पनि यही आशा गर्न सकिन्छ ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर प्रधान समूह नै बनाएर चुनावी दौडाहामा लागेका छन् । प्रतिस्पर्धा हुने भएपछि उचाल्ने खेलाडीहरु देखिनै नै भए । यी उमेदवारलाई बोकेर भिडाउने समूह पनि मैदानमा छ ।
प्रधानले महासंघलाई बलियो बनाउने अभियानमा आफू पुजारी बन्न उमेदवारी दिएको दाबी गरेका छन् । नेपालको निजी क्षेत्र बलियो हुँदा मात्र महासंघ बलियो हुने हो । त्यहाँ पुजारी गएर बलियो हुने होइन । आइपरेमा निजी क्षेत्रका पक्षमा कडा लबिइङ गर्न सक्ने सक्षम टिम महासंघमा आवश्यकता छ । यसको आशय सरकारको विरोधी नै हुनुपर्छ भन्ने होइन । व्यवसायीले सरकारसँग निकट भएरै आफ्ना मुद्दाहरु पूरा गराउन लबिइङ गर्ने हो । व्यक्तिगत प्रभाव पार्न महासंघमा जान खोज्नु वा त्यहाँभित्र बसेर राजनीति गरिरहने दुवै प्रवृत्तिले निजी क्षेत्रलाई फाइदा पुग्दैन ।
चन्द्र ढकालको विशेषता उनी व्यवसायमा सफल व्यक्ति हुन् । उनले देशभित्रै रोजगार वृद्धि निजी क्षेत्रको भूमिका विस्तारको कुरा उठाएका छन् । तर, एउटा राम्रो टिम भयो भने मात्र ढकालले उठाएका मुद्दामा महासंघले काम गर्न सक्छ । अहिलेकै जस्तो राजनीति रहने हो भने ढकालले उठाएका राम्रा मुद्दाको पनि कुनै अर्थ रहँदैन ।
नेपालको पुरानो व्यावसायिक घरनाका शेखरले महासंघ अध्यक्ष बन्नलायक छन् । तर, उनको चुनौती पनि कस्तो टिम आउँछ भन्ने नै हो । आफू सफल हुन गोल्छाले पहिले निजी क्षेत्र गुटबन्दीबाट आफूलाई अलग गर्नुपर्छ । एउटा योग्य टिम ल्याउन उनले पहल गर्नुपर्छ । आनन्द बगरागिया, अन्जन श्रेष्ठ, सौरभ ज्योति, रञ्जित आचार्य, साहिल अग्रवाललगायत अन्य युवाको समूह महासंघभित्र व्यवसायीका मुद्दामा सक्रिय हुनुपर्छ ।
शेखरले सरकारको समाजिक सुरक्षा योजना कार्यक्रमको तारिफ गर्दै लेख लेखेको थिए । उनले त्यसरी प्रस्तुत हुनु हुँदैनथ्यो । त्यो कार्यक्रम अहिले आलोचनाको घेरामा परेको छ । निजी क्षेत्रले नै रुचाएको देखिँदैन । निजी क्षेत्रभित्र आर्थिक नीतिमा बृहत् छलफल नहुँदा उक्त कार्यक्रमबारे निजी क्षेत्रनै अल्मलिएको हो । शेखरलाई यस्तो अर्को गल्ती गर्ने सुविधा अब हुँदैन ।
प्रभावका दृष्टिले महासंघलाई विनोद चौधरी र पद्म ज्योतिले छाडेको स्थितिमा कसरी पुर्याउने अहिलेको मुख्य चुनौती हो । सरकारलाई निजी क्षेत्रको हितमा काम गर्न दबाब दिन सक्ने व्यवसायी नेतृत्वमा जानुपर्छ । त्यसैले महासंघको यो चुनाव उदार पक्षधर र यथास्थितिवादीका बीच हुँदै छ । निजी क्षेत्रको हितका लागि उदारपक्षधरले हार्नु हुँदैन ।