काठमाडौं । मेरो नाम सुन्दैमा मान्छेको मुख रसिलो भएर आउँछ । सायद यतिबेला तपाईं पनि यहीं कल्पना गर्दै हुनुहुन्छ । नेपाली परिकारमा मलाई मिठाईको उपमाका रुपमा लिइन्छ । देख्दा म जति स्वादिलो देखिन्छु त्यतिकै पौष्टिक पनि छु ।
शरद ऋतुसँगै नेपाली समाजमा चाडबाड पल्लवित हुन थाल्छन् । यस समयमा मलाई ज्यादा याद गर्ने गर्छन्, मानिसहरु । चाडबाडमा मलाई धेरै नै खोज्ने गरेको मेरा निर्माताहरुको अनुभव छ । तपाईंमध्ये धेरैले मेरो स्वाद त कैयन्पटक चाख्नुभएको छ होला तर मेरो बनोट प्रक्रियाको अनुभव थोरैले मात्र सँगाल्न भ्याएका छन् । त्यसैले आज मेरो जीवनको आत्मकथा बताउँदै छु ।
मलाई बनाउनमा धेरै मिहिनेत लाग्दैन । परिमाणअनुसार आधा घण्टाभन्दा कम समयमा मलाई तयार पार्न सक्नुहुनेछ । जान्नेहरुका लागि मेरो बन्ने प्रक्रिया सरल छ तर नयाँका लागि भने उत्तिकै कठिन छ । लामो समयको सीप र अनुभवले मात्र मलाई तयार पार्न सक्नुहुनेछ । मलाई तयार पार्दा तपाईंबाट अलिकति पनि चुक भएमा परिणाम अर्कै निस्कन पनि सक्छ ।
मेरो जीवनचक्र दूधका रुपमा प्रारम्भ हुन्छ । दूधलाई फलामे कराहीमा राखेर निरन्तर आगोले सेकेपछि मेरो बन्ने प्रक्रिया पूर्ण हुन्छ । यद्यपि दूधलाई आगोमा बसाल्दैमा मेरो बनोट पूर्ण हुँदैन । जति-जति चुलोमामा आगो दन्किँदै जान्छ उति उति म जवान हुँदै जान्छु । मेरो जवानी छछल्किन थालेपछि मेरा निर्माता सजग भएर मलाई बिस्तारै चलाउँछन् । म परिपक्व हुँदै जान्छु । मेरा निमार्तालाई मेरो परिपक्वतामा विश्वास लागेपछि आगो कम गर्छन् । राप ज्यादा भए मेरो स्वरुप डढ्छ भन्नेमा उनीहरु पूर्ण सचेत जो रहन्छन् ।
चुलोमा आगो मथ्थर भएसँगै म पनि शान्त हुँदै जान्छु र आफ्नो स्वरुप परिवर्तन गर्दै एक ढिक्कामा परिणत हुन्छु । यस प्रक्रियालाई मान्छेहरु ‘खुवा घोट्ने’ भनेर उच्चारण गर्छन् । मेरो बनोट चरण समाप्त हुन थोरै समय अरु लाग्छ ।
चुलोमा पिल्सिएको मलाई शान्त पार्न खुला हावाको स्पर्श चाहिन्छ । तपाईं मलाई आफूले चाहेको आकार दिएर छायामा राख्न सक्नुहुनेछ । यहाँनेर अलिक चनाखो हुनुहोस् है तपाईंले जत्तिकै प्रेम मलाई कुकुर र बिरालोले पनि गर्छन् । कतै तपाईंभन्दा अगावै उनीहरु मसमक्ष आफ्नो प्रेम प्रस्ताव लिएर आउलान् र म उनीहरुलाई रोक्न नसकुँला ।
अन्यत्रसँगै काठमाडौं उपत्यकामा मेरा पारखी धेरै भेटिन्छन् । त्यसैले उपत्यकाको काँठ क्षेत्र मेरो जन्मघर होभन्दा अनर्थ नलाग्दा ।
मेरा जीवनदातामध्येका एक हुन् दक्षिणी ललितपुरका सुदामा सापकोटा । उनले मलाई जीवन थालेको करिब पाँच वर्ष बित्यो । सुदामाले आफूसँगै अन्य २२ जनाको दूध लिएर हरेक दिन मलाई एक नयाँ जीवन प्रदान गर्ने प्रयत्न गर्छन् ।
सापकोटा दैनिक बिहान ५ बजे उठ्छन् र मेरो निर्माणमा जुटिहाल्छन् । मेरो निर्माणमा, उनी दैनिक १२० लिटरभन्दा धेरै दूधको उपयोग गर्दै आएका छन् । सुदामासँगै उनकी श्रीमती गीताको पनि मप्रतिको लगावउत्तिकै सराहनीय छ । आफ्ना सन्तानलाई स्याहार गरेभन्दा ज्यादा उनी मेरो शृंगारमा व्यस्त रहन्छिन् । मलाई अन्माउनुअघि मेरो बनोट तौल सही भए नभएको राम्रो ख्याल गर्छिन् ।
सुदामाले मलाई खुवा रुपको जीवन दिएपछि उनको कर्म सकिन्छ । त्यसपछि मेरो अर्को यात्रा आरम्भ हुन्छ, उपत्यकाका विभिन्न व्यावसायिक घरहरुको । ललितपुरको चापागाउँ तथा काभ्रे बनेपासम्मका व्यापारीहरु मलाई भित्र्याउन पुग्छन् ।
व्यापारीहरुले दिएको नवस्वरुपमा खरिदकर्ताहरु मेरो चुम्बकीय आकर्षणको परिबन्धमा पर्छन् । मेरा पारखीहरुको दृष्टिमा म परिहालेछु भने मेरो जीवनको अर्को अध्याय या भनौं अन्तिम यात्रा सकिन्छ । त्यसपछि म उनीहरुको जिब्रोसँग लडिबुडी खेल्दै मस्तिकमा सम्झना बनेर रहन पुग्छु ।