दसैंको सम्झना भनेकै अधिकांशतः बाल्यकालकै स्मृतिमा हुन्छ । उमेर पुगिसकेपछि त्यो सामान्य भइदिन्छ ।
मेरो बाल्यकाल सर्लाहीको हरिवनमा बित्यो । बाल्यकाल र किशोरकालको रमाइलो पनि त्यही समयमा भोगियो पनि । त्यसबेलाका कतिपय कुरा अहिले पनि स्मृतिमा छन् ।
गाउँमा हाम्रो दसैंको तयारी दुई महिना अगाडिदेखि नै हुन्थ्यो ! कसरी भने, साउनको अन्तिम वा भदौको पहिलो सातातिर खेतबारीका मकै भाँचिन्थ्यो । अनि मकै भाँचिसकेपछि सिला खोज्ने काम हुन्थ्यो । छुटेका मकैहरू खोज्नलाई हामी तन्मयताका साथ लाग्थ्यौँ ।
सिला किनभने, दसैंमा बा-आमाले दिने लुगाफाटो त आफ्नो ठाउँमा छँदै छ । त्यसबाहेक आफ्नो फुर्माइस गर्न चाहिने केही पैसाको जोहो हामी त्यही सिला खोजेर त्यहाँ भेटिएका मकैबाट गर्थ्यौं । आफूले खोजेको सिला-मकैमा अलिअलि त घरकै पनि मिसाइन्थ्यो ।
र, त्यो बेचेर दसैंका समयमा आफ्नो मनलाग्दी गरिन्थ्यो । मनलाग्दी के त भने, मिठाई खाने, गुच्चा किन्ने, गुच्चा खेल्दा सानोतिनो बाजी राख्ने । यी-यस्ता काममा त्यो पैसा खर्च गरिन्थ्यो ।
अर्को कुरो, नयाँ लुगा र जुत्ता नलगाई दसैं त हामीलाई आउँदै आउँदैनथ्यो । त्यसैले भदौदेखि नै आफूलाई चाहिएको लुगाका लागि घरमा फुर्माइस गरिन्थ्यो ।
हाम्रो बसाइचाहिँ काठमाडौं र सर्लाहीमा बराबरजसो हुन्थ्यो । मेरो आमा सर्लाहीमै बस्नुहुन्थ्यो । त्यसैले पनि म सर्लाही बसेँ । दाजु काठमाडौं बस्नुहुन्थ्यो । बुबा पनि कहिले काठमाडौं कहिले सर्लाही बस्नुहुन्थ्यो । त्यो बेलामा चाहिँ आफ्नो फर्माइस पठाइन्थ्यो, चिठी लेखेर । किनभने त्यसबेला मानिस त्यति काठमाडौं जाँदैनथे । टेलिफोनको सम्भावना थिएन । त्यसैले हुलाकबाट दाजु र बुबालाई चिठी लेखेर पठाइन्थ्यो, ‘मलाई यसपालिको दसैंमा यो-यो लुगाहरू ल्याइदिनुस्’ भनेर ।
दसैंकै बेला आमालाई फकाएर बजारमा चलेको मधेसतिरको जखमले खसीको झैँ लर्कने कानजस्तो कलर भएको एउटा सर्ट सिलाइन्थ्यो । दसैंका लागि दाजु र बुबा गाउँ पुग्नुहुन्थ्यो । तर रमाइलो के हुन्थ्यो भने, बुबा र दाजुहरूको प्रतीक्षाभन्दा पनि प्रतीक्षा उताबाट किनेर ल्याइने लुगाको हुन्थ्यो । मेरो केटाकेटीको दसैं यसैगरी बितेको हो ।
त्यसबेला दुर्गाको मूर्ति थापेर पूजा गर्ने चलन हरिवनमा चलिसकेको थिएन । त्यहाँ त पिङ र रोटेपिङको चलन थियो । पिङ हाल्नलाई मोटो डोरी चाहिन्थ्यो । त्यसैले उमेर पुगेका गाउँका केटाहरू खर काट्नलाई हिँड्थे । यसरी खर खोज्न पनि सामूहिक रूपमा हिँड्ने चलन थियो ।
तिनले खर खोजेर ल्याउँथे र एउटाको घरमा त्यसको डुङ्गुर लगाउँथे, अनि खर भिजाउँथे । बिहान-दिउँसो तिनीहरू आफ्नो-आफ्नो खेती किसानीमा लाग्थे । बेलुका भएपछि उनीहरू सबै खर राखेको ठाउँमा जम्मा हुन्थे र दुई-चार घण्टा डोरी बाट्नमा बिताउँथे । तिनले मोटा-मोटा डोरी बाँट्थे, पिङका लागि । यसरी गाउँमा दुई-चार ठाउँमा पिङ हालिन्थ्यो ।
मलाई सम्झना छ, काठको रोटेपिङ बनाएको । किनभने काठको रोटेपिङ बनाएपछि त्यो दुई-चार वर्षलाई चल्थ्यो । पिङको बीचका खामालाई जस्ताको त्यस्तै राख्ने गर्थे । बाँकी भने दसैं सकिएपछि झिक्थे र अर्को वर्ष फेरि लगाउँथे ।
दसैंमा खसी-बोका काटिनु त सामान्य भयो । प्रायः हरेक घरमा खसी-बोका काटिन्थ्यो । कहिलेकाहीँ दसैंका लागि भनेरै पाँच-छ महिनादेखि खसी-बोका घरमै पालेर राखिन्थ्यो । कहिलेकाहीँ त दुई वर्षका पुराना खसी पनि हुन्थे ।
दसैंका खसी खुइल्याउन खरानी पानी तताइन्थ्यो, ठूलो भाँडामा । खसी-बोका मार हान्ने मानिसले गाउँको एउटा छेउबाट सुरु गरेर अर्को छेउसम्मै मार हानेर सिध्याउँथे । तिनले खसी मार हानेबापत के पाउँथे, मलाई थाहा छैन ।
यसरी खसी वा बोका मार हान्दा केराका थामहरू तल राखिन्थ्यो । त्यहाँ हुने पूजाका विधि त भइहाल्थ्यो । तर हाम्रो आकर्षण भने अर्कै हुन्थ्यो । त्यो के भने, कि त काट्ने बेलाको खसी-बोकाको डोरी समाउने, कि त रक्ती थाप्न एउटा भाँडा लिएर टुक्रुक्क बस्ने ।
दसैंमा टीका र पैसाको आकर्षण त छँदै छ । तर हामी भने सिला खोजेरै दसैंका लागि फुर्माइसी खर्चको व्यवस्था गर्थ्यौं ।
हामी दसैंका बेलामा त मकैको सिला खोज्थ्यौँ नै । अरू बेला पनि सिला खोज्थ्यौँ । जस्तो तोरीको सिजनमा तोरीको सिला, धानको सिजनमा धानको सिला ।
खासगरी धानको बेलामा सिला खोज्नु खतरा हुन्थ्यो । के भने, मुसाले धान जति जम्मै माटोमुनि दुलोमा राखेको हुने । हामी दुलो खोज्दै जान्थ्यौं । तर खतरा के हुन्थ्यो भने सर्प पनि त्यस्तै दुलामा हुन्थे । त्यसैले एकदमै डरलाग्दो र जोखिमपूर्ण सिला खोजाइ हुन्थ्यो, धानको ।
तर मुसाको दुलामा सिला पाउँदा कहिलेकाहीँ राम्रै धानका बाला भेटिन्थ्यो । यसरी अनेक गरेर सिलामा भेटिएका मकै, धान, तोरी पसलमा गएर बेच्थ्यौं र फुर्माइसी खर्च चलाउँथ्यौँ ।
सर्लाहीको हरिवन, चुरेमा अडेस लगाएर फाँटतिर खुट्टा पसारेर बसेको ठूलो बजार हो । लालबन्दी, नवलपुर, नयाँरोड त पछि विस्तार भएका हुन । हरिवन त केन्द्र नै हो, राजमार्गको ।
यो त्यत्तिकै शिक्षित ठाउँ पनि हो । मलाई सम्झना छ, म हरिवन बस्दा, त्यहाँ एक सय प्रति गोरखापत्र बिक्री हुन्थ्यो । जबकि सदरमुकाम मलंगवामा २५ प्रति मात्रै गोरखापत्र जान्थ्यो !
(कवि/गीतकार दिनेश अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)