site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आजै तीन मन्त्रीको शपथ खुवाउन नेपाल पक्षको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले जसरी हुन्छ बैठक बस्ने र विश्वासको मत प्राप्त गर्ने तरखरमा लागेका छन् ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले समान निष्कर्ष दिन नसकेपछि मुख्यमन्त्रीसमेत रहेका शाहीले दलको बैठकबाटै विश्वासको मत जितेर पद जोगाउने प्रयासमा लागेको प्रदेशसभाका सदस्यहरूले जानकारी दिएका छन् ।

Argakhachi Cement Island Ad

बैठक अहिले ११ बजे भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन । दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वमाओवादी केन्द्रका तीनजना सांसदहरू उपस्थित नहुने धर्मराज रेग्मीले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीनिकट आठजना सांसदहरू पनि नजाने बताइसकेका छन् ।

मुख्यमन्त्री स्रोतले दिएको जानकारीअनुसार दलका नेता शाहीले बैठक राख्‍ने र आफ्नो पक्षमा बहुमत देखाएर बैठक रोक्ने पक्षमा छन् ।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने आजै मन्त्रीको शपथ खुवाउनुपर्ने माग गरिरहेका छन् । असोज २७ गते मुख्यमन्त्री शाही र नेपाल पक्षबीच तीनजना मन्त्री र सचेतक दिने गरी सहमति भएको थियो । नेपाल पक्ष अविश्वासको प्रस्तावको समर्थन फिर्ता लिन राजी भएको थियो । सहमतिअनुसार कालीकोटका कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् । दैलेखका अमरबहादुर थापा, जाजरकोटका करवीर शाही र मुगुका चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने सहमति भएको थियो । त्यही सहमति आजै कार्यान्वयन गर्न नेपाल पक्षले दबाब दिइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार मुख्यमन्त्री शाही र नेपाल पक्षबीच बिहीबार पनि कुराकानी भएको थियो । त्यहाँ पनि नेपाल पक्षले मन्त्री बनाइहाल्न माग गरेको थियो । शाहीले भने आलटाल गरिरहेको ओली पक्षका सांसदहरूको जिकिर छ ।

कर्णाली रडाको : प्रचण्ड-ओली पक्षका सांसद् भन्छन्- दलको ढोका बन्द गरिए संसद्‌ जान्छौं

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ११:१८
प्रतिक्रिया दिनुहोस्