site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 समकालीन नेपालको अर्थ राजनीति : डा. महतको दृष्टिमा 
Sarbottam CementSarbottam Cement

नेपालको राजनीतिमा विचारकको खडेरी परेको र केही औंलामा गन्न सकिने व्यक्तिले लामो समयसम्म वैचारिक विमर्शको जिम्मेवारी बोकेर अघि बढेको परिप्रेक्ष्यमा डा. रामशरण महत आर्थिक र राजनीतिक विचारधाराको सेतु स्थापना गर्ने क्रममा अघि बढेका छन् । उनको हालै प्रकाशित पुस्तक ‘समकालीन नेपालको अर्थ राजनीतिः परीक्षण, कम्पन र आशा’मा डा. महतले राजनीतिक विचारमार्फत अर्थ राजनीतिक नीति र कार्यक्रमको रुपान्तरण एवं नेपालको विकासका क्रममा देखिएका विभाजित आर्थिक र राजनीतिक द्वन्द्वले देशको विकासमा कस्तो प्रभाव पर्‍यो भन्ने अध्ययन पेस गरेका छन् । यो पुस्तक सोही नामको यही वर्ष प्रकाशित अंग्रेजी पुस्तकको अनुवाद हो । आर्थिक पत्रकारिता जगतमा विशेष स्थान बनाएका गजेन्द्र विष्टले अनुवादकको कार्य गरेका हुन् । 

पञ्चायतको पतनपश्चात वि.सं. २०४७ देखि नेपालको विकास मोडलमा के कस्ता नीतिहरू अवलम्बन गरिए र तिनले देशको विकासमा कस्तो सकारात्मक वा नकारात्मक असर पारेर गए भन्ने विषयमा बुझ्न डा. महतको यो पुस्तक सहयोगी हुनसक्छ । 

कुनै पनि आर्थिक नीति राजनीतिक विचारधाराको धरातलमा नटेकी अघि बढ्न सक्दैन र अर्थतन्त्र उकास्न लिइएका नीतिहरूमा राजनीतिक विचारधाराको प्रभाव के कस्तो हुन्छ भन्ने देखाउन डा. महतले प्रयास गरेका छन् । पुस्तकको सुरुमा नै समाजवादी दृष्टिकोणको उत्पत्ति, यसको विकास र आधुनिक विश्वमा यसको प्रयोगका विषयमा छलफल गरेर नेपालको अर्थराजनीतिक नीति निर्माणको जग कसरी बन्यो भन्ने भूमिका प्रस्तुत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वि.सं. २०४६ सालको जनआन्दोलनपश्चात २०४८ सालको नेपाली कांग्रेसको सरकारको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र त्यस पश्चात लामो समयसम्म अर्थमन्त्री बनेर डा. महतले नेपालमा उदारवादी अर्थतन्त्र स्थापना गर्न ठूलो भूमिका खेले । नेपाली कांग्रेसको निजीकरणको अभियानमा देखिएका केही त्रुटिलाई औँल्याउँदै नेपालका कम्युनिस्टहरू विभिन्न समयमा निर्वाचनमार्फत सरकारमा आए पनि मूलतः उदार अर्थतन्त्रको मेरुदण्डलाई सम्पूर्णरुपमा भत्काउन सकेका छैनन् । तथापि, देशको अर्थतन्त्रमा अनेक प्रकारका प्रयोग गरेर विकास क्रमलाई सुस्त बनाउने कार्य भएको स्पष्ट तस्बिर यस पुस्तकमा चित्रण गरिएको छ । 

नेपाली कांग्रेस समाजवादी झुकाव भएको राजनीतिक दल भए पनि यसले प्रजातान्त्रिक समाजवाद अपनाऐको र कम्युनिस्टहरूजस्तो ‘वर्ग संघर्षमार्फत पुँजीवादलाई परास्त गरेर समाजवाद ल्याउने’ कार्ल माक्र्सको सूत्रमा नअलमलिएको तर्कबाट अघि बढेर उदार अर्थतन्त्रमा नेपालको प्रवेशको विषयलाई यस पुस्तकमा तार्किक शैलीमा पैरवी गरिएको छ । 

Global Ime bank

नेपाली कांग्रेसका संस्थापक तथा नेपाली राजनीतिका शीर्ष पुरुष बीपी कोइराला प्रजातान्त्रिक समाजवादका पक्षधर हुन् । पुस्तकमा डा. महतले आफूलाई बीपीको आर्थिक मोडलविपरीत उदार पुँजीवादी अर्थतन्त्रका अन्धभक्त नभएको स्पष्ट पार्न बीपीको समाजवाद र नेपाली कांग्रेसले अवलम्बन गरेको विसं २०१५ साल देखिका नीतिको विश्लेषण तथा समीक्षा पनि गरेका छन् । बीपीले समाजवाद र साम्यवादको फरकबारे स्पष्ट धारणा राखेको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ भनेको विषयलाई महतले गाँठो बाँधेको देखिन्छ । जीवनको उत्तरार्धतिर बीपी गान्धी र जर्मन दार्शनिक सुमाकरको दर्शनबाट प्रभावित भएको र प्राकृतिक साधनको अत्यधिक दोहनबाट हुने विकास दिगो नहुने विषयमा उनको स्पष्ट धारणा भएको उदाहरण पेस गर्दै डा. महतले आफ्नो आर्थिक विकासको मोडल भविष्यद्रष्टा बीपीको विचारबाट अभिप्रेरित भएको छनक दिएका छन् ।

आधुनिक नेपालको आर्थिक दिशा निर्धारण

वि.सं. २०४७ अघिको नेपालको अर्थतन्त्र सम्पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको र देशको अर्थतन्त्र निकै संकुचित थियो । नयाँ संविधानको निर्माण र निर्वाचनपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारले खुला र बजारमुखी आर्थिक नीतिमार्फत निजी तथा गैरसरकारी क्षेत्रको भूमिकालाई प्रस्फुटन गरायो । त्यस समयसम्म लाइसेन्स प्रथा रहेको, कतिपय क्षेत्र निजी क्षेत्रलाई खुला नगरिएको र केही अवस्थामा परिमाणात्मक बन्देज लगाइएकोमा नेपाली कांग्रेसको सरकारले आमूल परिवर्तन गरेर देशलाई आधुनिक विकासको पथमा अघि लम्काएको विषयमा डा. महतले गरेको जसको दाबी अनुचित छैन । 

वास्तवमा नेपाली कांग्रेसको सरकारले बनाएको बाटोमा नहिँडेको भए न त अहिलेको जस्तो निजी क्षेत्रको विकास हुन्थ्यो न सरकारसँग देश संचालनका लागि राजस्वको अवस्था अहिलेको जस्तो हुन्थ्यो । डा. महतले कुन कुन क्षेत्रमा के कस्ता ऐन, नियम र व्यवस्था परिवर्तन गरियो सोको विवरण स्पष्ट ढंगले उजागर गरेका छन् । त्यसैले, यो पुस्तकले डा. महतको योगदानमात्र होइन नेपाली कांग्रेसले देशमा केही पनि गरेन भन्नेहरूका लागि पनि उत्तर दिएको छ । वास्तवमा सरकारले ऐन, नियममार्फत जनतालाई काम गरेर खान र आफ्नो जीवनस्तर सुधार्न उपयुक्त वातावरण बनाइदिने हो जुन कुराको सशक्त थालनी नेपाली कांग्रेसको कार्यकालमा भएको थियो । 

कांग्रेसले अघि बढाएको सुधार कार्यक्रममा कम्युनिस्ट पार्टीले बीच बीचमा जति नै भाँजो हाले पनि मूलधारमा खासै परिवर्तन गर्ने क्षमता नभएका कारण देश विकासको मूलबाटो अहिले पनि उदार अर्थ व्यवस्था र लोकतान्त्रिक राजनीतिक व्यवस्था नै रहेको छ । यसबाट अहिलेसम्म देशको आर्थिक र राजनीतिक अवस्थामा के कस्ता परिवर्तन भए भन्ने विवरणमा लेखकले निकै मेहनत गरेर तथ्य प्रस्तुत गरेका छन् । 

राजनीतिक परिवर्तन र टिप्पणी

माथि भनिएजस्तै राजनीतिक विचारकको खडेरी परेको वर्तमान अवस्थामा देशको राजनीतिको ‘पोस्टमार्टम’ गरेर नेपाली कांग्रेसको वैचारिक धारको एक नेतृत्वका रुपमा डा. महतले आफूलाई अघि सार्ने प्रयास पनि यस पुस्तकमार्फत गरेका छन् । यस पुस्तकमा माओवादीको विद्रोह र शान्ति प्रक्रियाका विषयमा लेखकले एक अध्याय खर्च गरेका छन् । माओवादीको विद्रोहताका सरकारमा रहेका र उच्च नेतृत्वसँग सामिप्यमा रहेका डा. महतले माओवादीको विद्रोहलाई द्वन्द्वको नाम दिएर सो विद्रोहको पृष्ठभूमिमा सामाजिक असमानता र अन्याय रहेको विषयलाई मौन स्वीकृति दिएको देखिन्छ । तर, अध्यायको पेटबोलीमा भने माओवादीका हिंसात्मक क्रियाकलापले देशलाई कसरी त्रस्त पार्‍यो र समाजले कति घाटा सहनुपर्‍यो भन्ने वयान गरिएको छ । डा. महत आफैँ सरकारमा भएको समयको कुरा भएकाले त्यसबेलाको सरकारी पक्षको आन्तरिक अवस्था ल्याउन सकेको भए यो अध्याय अझै सबल बन्न सक्थ्यो । 

राजनीतिक इतिहासमा टिप्पणी गर्ने क्रममा डा. महतले देशमा नयाँ संविधानमार्फत संस्थागत भएको संघीय व्यवस्थाका सन्दर्भमा पनि एक अध्याय लेखेका छन् । राजनीतिक विचारकका रुपमा संघीयताको पक्ष वा विपक्षमा खासै स्पष्ट ढंगले कलम चलाउन नसकेको यस अध्यायमा स्पष्ट हुन्छ । तथापि, उनले संघीयतालाई मानेर अघि बढ्नुपर्ने आफ्नो वैचारिक मान्यता अघि सारेका छन् । संघीयताको सन्दर्भमा सुशासन र उत्कृष्ट वित्तीय व्यवस्थापन गरिनुपर्छ भन्ने निष्कर्ष दिएरमात्र डा. महतको अभिभारा पूरा हुँदैन । संघीयताको राजनीतिक, आर्थिक, सामाजिक र मौलिक अधिकारको सुरक्षाको पाटो र लोकतान्त्रिक समाजवाद स्थापनामा यसको भूमिका कस्तो हुनुपर्दछ र कस्तो हुँदैछ भन्ने विषयमा पनि लेखकले कलम चलाउन सकेको भए पुस्तक वैचारिक दिशामा थप सशक्त बन्न सक्थ्यो । 

केही समय परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेका डा. महतले नेपालको परराष्ट्र सम्बन्धको विषयमा कलम चलाउनु पनि स्वाभाविक हो । उनले एक अध्याय नेपालको परराष्ट्र सम्बन्ध, क्षेत्रीय शक्ति सन्तुलन र भूराजनीतिको सम्बन्धमा खर्च गरेका छन् । समकालीन भूराजनीतिक अवस्थाको चित्रण भएको यस अध्यायमा डा. महतले नेपालले अझै पनि आफूलाई ‘दुई ढुंगाबीचको तरुल’ मानेर सोहीअनुरुप परराष्ट्र सम्बन्धमा सन्तुलन कायम गर्नुपर्ने तर्क अघि सारेका छन् । 

पुस्तकको अन्तिम केही अध्याय अबको आर्थिक अवस्था के कस्तो हुनुपर्छ ? कुन कुन क्षेत्रमा नेपालले केकस्तो महत्त्व दिनुपर्छ ? विप्रेषण अर्थतन्त्रको विषयलाई कसरी हेर्ने ? जस्ता विषयमा समर्पित छ । विप्रेषण अर्थतन्त्रको विषयमा लेखकले सकारात्मक दृष्टिकोण राखेका छन् तर यसले देशमा ‘डच डिजिज’ नल्याओस् भन्ने विषयमा सजग हुनुपर्ने उनको धारणा देखिन्छ । यो आर्थिक रोगकोे विषयमा केही हरफ अझ स्पष्ट पारिदिएको भए सर्वसाधारणलाई सहज हुन्थ्यो । डच डिजिज भनेको विदेशबाट विदेशी मुद्रा आउने स्रोत पर्याप्त भएका कारण अन्य आर्थिक क्षेत्रमा आउने उदासीनता हो । (नेदरल्यान्डस्ले सन् साठीको दशकमा पेट्रोलियम उत्खननपश्चात अन्य उत्पादनशील क्षेत्रमा गरेको बेवास्ताले ल्याएको समस्याका कारण यो नाम रहेको हो ) ।

अन्त्यमा,

डा. रामशरण महतले प्रस्तुत पुस्तकमार्फत देशको आर्थिक क्षेत्रको नेतृत्वमा आफू रहँदा भएको उल्लेखनीय कार्यलाई सफलताका साथ उतारेका छन् । लेखकले उल्लेख गरेका कतिपय विषयमा त्यही समयमा अत्यधिक विवाद भएका थिए, तथापि उदार अर्थतन्त्र र खुला बजारका सन्दर्भमा डा. महत सही थिए भन्नेमा आर्थिक क्षेत्रका विज्ञ र उद्यमी, व्यवसायीबीच खासै मतभिन्नता छैन । यस विषयमा लेखकले यसअघि पनि एक पुस्तक प्रकाशित गरिसकेका छन् । उक्त पुस्तक राजाको शासनको समयमा (वि.सं. २०६१) आएको थियो र नेपाली कांग्रेसले सर्वत्र गलत काम गरेको भनेर कुप्रचार भइरहँदा लोकतन्त्रको समर्थनमा आएको सो पुस्तकले निकै ठूलो प्रभाव पारेको थियो । अहिले नेपाल कम्युनिस्ट पार्टीले देशमा शासन गरिरहँदा नेपाली कांग्रेसको शासन कमजोरै भए पनि सर्वथा गलत थिएन भन्ने भाव जनताको मनमा आइरहेको अवस्थामा महतको यो पुस्तकले पक्कै पनि उनको दललाई राजनीतिक लाभ प्रदान गर्ने देखिन्छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement