काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले कोरोना महामारीका बेला सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ताका लागि संसदीय दलबाटै निर्णय गर्नुपर्ने बताउन थालेका छन् । एक्ला-एक्लै भत्ता फिर्ता गर्नेभन्दा दलको बैठक बसेर एकमुष्ट कांग्रेसका सबै सांसदहरुको भत्ता फिर्ता गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । दसैंभत्ता फिर्ताका लागि संसदीय दलको निर्णयको प्रतीक्षामा रहेको सांसदहरुले बताएका छन् ।
संघीय संसदका सांसदहरुहरु र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता दिइएपछि कांग्रेस सांसदहरुले त्यसको विरोध गरेका हुन् । कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले संसदीय दलको बैठकबाटै निर्णय गरेर दसैंभत्ता फिर्ता गर्नुपर्ने बताएका छन् । कांग्रेसका प्रतिनिधिसभा सांसद मीनेन्द्र रिजालले संसदीय दलकैतर्फबाट कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने निर्णय गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, “दसैं भत्ता एक-एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्वजनिक गर्नेभन्दा संसदीय दलकै तर्फबाट नेपाली कांग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं । पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔं । मैरो आग्रह र निर्णय यहीअनुरुप हुनेछ ।”
त्यस्तै, कांग्रेस सांसद प्रकाशमान सिंहले कोरोना महामारी सुरु भएपछि संसद विकास कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्न आफूहरुले जोड दिएको बताए । उनले आफूले दसैंभत्ता नलिने र पार्टीलाई संसदीय दलबाटै भत्ता फिर्ताको निर्णय गर्नका लागि आग्रह गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै, कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले पनि कोरोना महामारीका बेलामा दसैंभत्ता दिने सरकारको आलोचना गर्दै फिर्ताका लागि संसदीय दलको निर्णय पर्खिरहेको बताएका छन् । मानवीय संवेदनालाई आत्मसात् गर्दै कम्युनिस्ट सरकारले सांसदहरूलाई दिएको दसैं भत्ता बहिष्कार गर्न र भत्ताबाट सङ्कलित रकम कोभिड १९ विरुद्धको अभियानमा लगाउन उनले आग्रह पनि गरेका छन् ।
“महामारीको संग्राममा नागरिक आधारभूत स्वास्थ्य सेवा पनि नपाएर, प्राथमिक उपचारको अभावमा मर्न बाध्य भएको अवस्थामा सरकार आफ्ना आसेपासेलाई दसैं भत्ता र बोनस वितरण गरिरहेको छ । यसले सरकारको मैमत्ता पारा र नागरिकप्रतिको गैरजिम्मेवार मात्र होइन सत्ता, शक्ति र सम्पत्तिको लोलुपमा चुर्लुम्म डुबेको देखिन्छ,” उनले भने, “सिटामोल नपाएर नागरिक मर्दै गर्दा सरकारी हनुमानहरु दसैं उत्सव मनाउन दाम बुझिरहेका छन् । जुन शर्मनाक त छँदै छ अमानवीय र लोकतन्त्रको मर्मविपरीत पनि छ ।” भत्ता फिर्ताका लागि कांग्रेस संसदीय दलको निर्णयको प्रतीक्षामा रहेको उनले बताए ।
सांसदहरुले दसैंभत्ता फिर्ताका लागि संसदीय दलको बैठकबाट निर्णय गर्न माग गरे पनि प्रमुख सचेतक बालकृष्ण खाँणले भने आइतबार एक्लै भत्ता फिर्ताका लागि संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले जनताले कोरोना महामारीका कारण समस्या भोगिरहेका बेला दसैंभत्ता दिने सरकारको निर्णय अनुचित रहेको र जनउत्तरदायी नभएको भन्दै आफनो नाममा आएको रकम सरकारी कोषमै जम्मा गर्न आग्रह गरेका छन् ।
अर्का, कांग्रेस सांसद गगन थापाले दसैंभत्ता बापतको ६४ हजार ७० रुपैयाँ रकम नगद नै फिर्ता गरेका थिए । सांसदहरुले एक्लाएक्लै दसैंभत्ता फिर्ता गर्न थालेपछि अन्य सांसदहरुले भने संसदीय दलले नै निर्णय गरेर फिर्ता गर्नुपर्ने बताएका हुन् ।